प्रेम कसरी सफल बन्छ ? वा  कसरी असफल बन्छ ? यदि मापन गर्नै पर्ने हो भने हाम्रो प्रेम पनि त गंगाको जल भन्दा कम चोखो थिएन । कमलको फूल भन्दा कम पवित्र थिएन । हो त्यस्तै नै थियो हाम्रो पहिलो प्रेम पनि । चोखो अनि पवित्र ।

माया गर्नु पाप होइन । माया गलत होइन भने म पनि गलत थिइनँ । र, गलत हुन पनि त सक्दैन ।

मेरो सम्बन्ध फेसबुकको स्ट्याटसबाट सुरु भएको थियो । वास्तवमा जिन्दगी एक यात्रा न हो । जहाँ सहयात्रीहरू धेरै भेटिन्छन् । यहीँ जिन्दगीलाई म आफू फेसबुकमा पोस्ट गर्दै थिएँ । कैयाँ प्रतिक्रियाहरू आएका थिए । जहाँ मेरा हजारौँ साथीले कमेन्ट गरेका थिए । त्यहीँ हजारौँको भिडमा एउटा खास साथीसँग मेरो भेट भयो । सुरुसुरुमा हाम्रो त्यति धेरै कुराकानी हुँदैन थियो । कहिलेकाहीँ मात्र हुन्थ्यो । एक दिन उसले मलाई कुराकानी गर्ने क्रममा “हामी कहिले भेट्ने ?” भनेर प्रश्न गर्यो । त्यो प्रश्न दोहोरिइरहन्थ्यो उसले ।

ऊ काठमाडौं बस्थ्यो, म पोखरा । मैले “म काम परेको बेला आउँछु । त्यो बेला भेटौँ ।” भनेर जवाफ दिन्थेँ । त्यतिकैमा रोमान्सहरू झल्को बनेर आउँथ्यो । मनभरि झलझली । त्यस्तै-त्यस्तैमा हाम्रो प्रेम प्रगाढ बन्दै गयो ।

काम विशेषले म काठमाडौँ पुगेँ । कामको व्यस्तताले गर्दा तीन दिनमा नै फर्किनु पर्ने थियो । मलाई नभेटी नजाऊ भन्ने उसको आग्रहलाई मेरो बाध्यताले रोक्न सकेन । अन्ततः हाम्रो भेट भयो ।

अग्लो अनि मिलेको ज्यान । उसको आकर्षक शरीर र अनुहार देख्दा मलाई ऊ धेरै नै मन पर्यो । हामीले संवादलाई कफीको स्वादसँगै अघि बढाइरहेका थियौं ।

एकटक नजरले हेरिरह्यो र भन्यो मलाई, “तिमी कति सुन्दर है ?”

मैले पनि गफै गफमा भनिदिएँ, “लभ पर्ला नि फेरि ।”

उसले “लौ परेको होइन र हाम्रो लभ ?” भन्दै जिस्कायो ।

यतिकैमा मेरो पनि फर्कने समय भयो । फेरि भेट्ने बाचा गर्दै हामी छुटिएर गन्तव्यतिर मोडियौँ ।

कामको सिलसिलामा म फेरि पनि काठमाडौँ पुगेँ । हाम्रो भेट हुने कुराले खुशीको सीमा नाघिसकेको थियो । हामीले कोटेश्वरमा भेट्ने सल्लाह गर्यौं । ऊ पनि बिहानै कोटेश्वर आइपुग्यो । हाम्रो भेट भयो ।

होटेलमा पस्यौँ । चिया नास्ता खायौं कुरा गर्दै । एकार्कालाई पनि बुझ्दै प्रेमको गहिराइ महसुस गर्दै थियौँ । एक अर्कामा हराइरहेका थियौं । मिठामिठा कुराहरूले हामी बिचको सम्बन्धहरू निकट भइरहेको थियो । प्रेमको बहावमा हामी बिच एक अर्कामा जुठो खाना खाएर त्यो समय प

प्रेमिल बनाउँदै व्यतीत गर्यौं । त्यो उज्यालो मुहार, त्यो अविस्मरणीय क्षण अनि सुन्दर स्वरूप मेरो आफ्नै हो, जस्तो लाग्न थाल्यो । त्यो प्रेम कहिल्यै अन्तिम हुन्छ जस्तो लाग्न छाड्यो ।

समय बितेको पत्तो नै भएन । कति छिट्टै छुटिने समय पनि भएछ । हामी त्यहाँबाट निस्कियौँ ।

उसले मलाई बसपार्क पुराइदियो ।  मायाले होला बस पार्कसम्म नै आएको थियो । हामीलाई छुटिन निकै गाह्रो भयो । मन नै मानेको थिएन । त्यो स्वाभाविक थियो । तर, बाध्यताले छुटाएरै छाड्यो ।

मन नभए पनि बाध्यताले बस चढायो मलाई । पोखरा फर्किएँ । तर, हरेक क्षण मैले उसलाई नै सम्झिन्थें । किनकि हामी बिचमा विश्वास थियो । माया थियो । त्यहीँ भरमा म थिएँ । मैले मनबाट साँच्चिकैको विश्वास गरेको थिएँ । त्यसैले ऊ बारम्बार झल्को बनेर आइरहन्थ्यो ।  मेरो मनभरि भरिभराउ भएर ।

समय बित्दै गयो ।

उमेरले हामीलाई परिपक्व भएको संकेत गरिरहेको थियो । दिन दिनै हाँस्ने, खेल्ने र रमाउने उमेरले पार पाउँदै थियो । जिन्दगी न हो । दिन दिनै समयसँगै बगिरहन्छ । हाम्रो जिन्दगीले नि निकै डाँडा पार गरिसक्यो । अब यसरी जिन्दगी नचल्ने भयो । मलाई दिन दिनै भविष्यको चिन्ताले सताउन थाल्यो । त्यसैले हाम्रो प्रेमलाई भरोसा युक्त विश्वासमा बदल्न प्रस्ताव गरेँ । उसको जवाफमा “पख न पख ।” भनेर टार्दै गयो । उसले “स्नातक तह सकेर विवाह गरौँ ।” भनेर जवाफ दिन्थ्यो । उसको हरेक बहानामा म विश्वास गर्थे । मलाई लाग्थ्यो “कति बुझ्ने मान्छे ।”

जीवनमा सुख देखेको थिइनँ । दुःखै दुःखबाट हुर्किएकी छोरी म । त्यसैले हरेक जिम्मेवारीसँग म परिचित थिएँ । कर्तव्यलाई बिर्सन सक्दिन थिएँ ।

ऊ भने समयसँगै बदलिँदै गयो । मेरो म्यासेज र कललाई बेवास्ता गर्न थाल्यो । मैले भन्थें “किन तिमी बदलिँदै छौ ? किन तिम्रो मन परिवर्तन हुँदै छ ?” यसरी नै सम्झाउँथे । उसले भने कहिले समय नभएको त कहिले पाहुना आएको भनेर बहानामा टार्दै गयो । हाम्रो कुराकानी कम हुँदै गइरहेको थियो । उसले मलाई गर्ने व्यवहार सकारात्मक थिएन । उसले गरेको व्यवहारले म भित्र भित्रै टुटिसकेको थिएँ ।

म पीडाले छट्पटिन्थे । मैले एक दिन कर गरेरै सोधें, “तिमीमा के समस्या छ ?”

उसले भन्यो, “त्यस्तो केही समस्या छैन । अब हामी छुट्नु पर्छ । तिमीलाई म अब धेरै झुटो आशामा राख्न सक्दिनँ ।”

उसको निर्णयले मलाई विक्षिप्त बनायो । बनाउने नै पनि त भयो । किनकि मैले उसलाई अति नै माया गरेको थिए । विश्वास गरेको थिए । उसको निर्णयको प्रतिक्रिया दिन सकिन ।

“यो निर्णयको कारण के हो ? किन अहिले आएर यस्तो धोका दिन खोज्छौ ?” हिम्मत जुटाएर सोधें ।

“अब मेरो अरू नै केटीसँग विवाह हुने पक्का भइसकेको छ ।” जवाफ आयो ।

त्यो जवाफ सुन्दै गर्दा पागल नहुने कुरै भएन । म पागलझैँ भएँ । केही सोच्न सकिनँ । हजारौं कुराहरू खेल्न थाले मनमा । मलाई लाग्यो “मिठो सपना देखाएर कसरी ऊ अरूसँगै पूर्ण हुन सक्छ र ?”

मेरो मनमा पिडाको बज्र बज्रियो । आफूले विश्वास गरेको मान्छेबाट धोका पाउँदा कति मनमा पीडा हुन्छ ? त्यो मैले महसुस गरें । बिस्तारै उसले मलाई फेसबुकमा पनि ब्लक गरिसकेछ । फोन पनि कालोसूचीमा राखेछ । अब भने उ साँच्चिकै टाढा सम्झनु पर्ने दिन आयो । बाध्यताले त्यहाँ पुरायो । कसरी सम्झाऊँ उसलाई मैले ? सबै आशाका बाटोहरू बन्द भइसकेका थिए ।

बिस्तारै उसको सबै तिरबाट म ब्लक भएँ । यो नगर त्यो नगर भन्दा भन्दै पनि सुन्न चाहेन । अब भने दिनहरू वैराग्य बन्दै गयो । औचित्यहीन बन्दै गयो । तरपनि हजारौँ जिम्मेवारीलाई सम्झिएँ । बाध्यताहरू आइलागे । म फेरि उही मेरो एक्लो गन्तव्यमा फर्किएँ । केवल मनमा प्रश्न नै प्रश्न मात्र बाँकी रह्यो । जुन अनगिन्ती प्रश्नहरूको जवाफ मेरा निम्ति त्यहीँ एउटा सर्प्राइज मात्र बाँकी रह्यो ।