सहरको एक छेउमा छ त्यो चियापसल । सहरबाहिर भएकोले ग्राहकहरू त्यति आउँदैनन् । नजिकै रहेको एउटा पुरानो छापाखाना, फर्निचर उद्योग अर्को एक प्रायः बन्द रहने कारखानाका कामदारहरु नै चिया पसलका ग्राहकहरु हुन् ।
चिया पसल्नी ठुल्दिदी । ठुल्दिदीले चिया पसल चलाउन थालेको दश वर्षभन्दा बढी भयो अनि उनले आफ्नो लोग्नेको मुख देख्न नपाएको त्योभन्दा धेरै भयो । दिदीको लोग्ने कहिले बम्बईमा देखिन्छ रे अनि कहिले पन्जाबतिर बरालिन्छ रे ! दिदीले यस्तै खबर सुन्दै आएकी छन् ।
दिदीकी एउटी छोरी छे– अर्चना । पसलभन्दा १-२ वर्ष मात्र जेठी छे अर्चना । अर्चना त्यही चिया पसलमा हुर्कंदै छे । सलक्क परेको जीउ सुकोमल मुहार, मुस्कुराइरहने बानी सिनेमाकी हिरोइन जस्तै छ रे ऊ । पसलमा चिया नास्ता खान आउनेहरू त्यस्तै भन्छन् ।
बिहान सबेरै ठुल्दिदीको पसलमा चियानास्ता खानेहरू आउँछन् । अर्चनाले आमालाई सघाउँछे । दिउँसो अर्चना स्कुल जान्छे । साँझपख उसको पसलमा अलिअलि लोकल रक्सी पनि बिक्छ । रक्सी खानेहरू मात्तिएका हुन्छन् भनेर ठुल्दिदीले अर्चनालाई पसलमा आउन दिन्नन् । साँझपख ऊ पसल छेवैको कोठामा बसेर पढ्छे, टि भी हेर्छे । मनपर्ने मान्छेहरू भए कहिलेकाहीँ ऊ चिया पसलमा निस्केर आमालाई सघाउँछे ।
अर्चना सानैदेखि चुल्बुले थिई अनि राम्री पनि थिई । छापाखानाको कम्पोजिटर, फर्निचरको मिस्त्री र राइस मिलको ड्राइभर लगायत धेरैजनाले अर्चनालाई औधी मन पराउथे । काखमा राखेर म्वाईँ खान्थे, काँधमा राखेर यताउता डुलाउँथे । अर्चना कसैको लागि खेलौना बनेकी थिई, कसैको छोरी बनेकी थिई अनि कसैको लागि बाल्यकालको सम्झना बनेकी थिई ।
अर्चना बिस्तारै यौवनावस्थाका प्रारम्भिक खुकिलामा उभिएकी छे। शरीरभरि यौवन फर्किंदैछ । उसलाई लाज लाग्न थालेको पनि ५-६ वर्ष भैसक्यो । अचेल उसलाई म्वाइँ खाने कुरा गर्दा पनि शरीरभरि काउकुती लाग्छ, कसैले उसको शरीरमा छुँदा पनि उसलाई अनौठो भयको अनभूति हुन्छ । अचेल पनि चिया पसलका ग्राहकहरूले पहिले नै काखमा नराखे पनि छेवैमा बसाल्न खोज्छन, म्वाइँ खाने कुरा गर्छन् । नजानेझैँ गरी शरीरमा मुसार्न पनि खोज्छन् तर ऊ अचेल ती कुरादेखि तर्किएर भाग्छे ।
अर्चना बढेपछि दिदीको व्यापार पनि बढ्न थालेको छ । बिहान र साँझपख अलि बढी नै ग्राहकहरूको चहलपहल हुन्छ ।
“ठुल्दिदी, अर्चना भान्जी छैनन् ?” एका बिहानै चिया खान आउने बुढो मिस्त्रीले अर्चनालाई नदेख्दा सोध्छ ।
“अर्चना नानीलाई सन्चै तो छ ?” यताउति हेर्दै छापाखानाको कम्पोजिटरले पनि सोध्छ ।
“हैन हाम्री सानी छोरी कता गई, नाकमुखै देख्न पाइन्न त ?” कहिलेकाहीँ अर्चनालाई देख्न नपाउँदा फेक्ट्रीको पालेले पनि सोध्छ । सबैले अर्चनालाई माया गरिदिँदा ठुल्दिदीलाई साह्रै खुसी लाग्छ । उनले पनि त अर्चनालाई साह्रै माया गर्छिन् । माया नगरेर पनि के गर्नु आखिर उनको आफ्नो भन्ने नै को छ र त्यो सहरमा ?
नजिकैको छापाखानाले नयाँ रुप फेरेको छ । छापाखानामा अखबारहरू छापिन्छन् त्यसैले त्यहाँ पहिलेभन्दा बढी नै मानिसहरु आउँछन् । समाचार लेख्नेहरु विज्ञापन दिनेहरु, पैसा उठाउने र माग्नेहरू अरू कोको हो, को को । अर्चनाले सबैलाई चिन्दिन । छापाखानाका सबैजनाले उसकै पसलमा चिया नास्ता खान्छन् । चिया खान आउने पत्रकारहरूले देश विदेशका कुरा गर्छन् रमाइला कथा भन्छन्, कविता पनि भन्छन् । उनीहरूका कुरा नबुझे पनि कुरा सुन्न अर्चनालाई रमाइलो लाग्छ । कहिलेकाहीँ त राम्रा कुरा गर्ने ती पत्रकारहरू टेबल ठटाएर झगडा गर्छन् त्यसबेला भने अर्चनालाई निकै डर लाग्छ ।
ठुल्दिदीको चिया पसलका एउटा ग्राहक थपिएको छ । ऊ कम बोल्छ तर धेरै लेख्छ रे ! ठुल्दिदीले यस्तै सुनेकी छन् । छेवैको छापाखानामा काम गर्छ ऊ । ऊ पत्रकार हुनुपर्छ । बोलीचालीबाट ठुल्दिदीले यस्तै लख काटेकी छन् । ठुल्दिदीले नाम पनि थाहा पाएकी छन् । योगेन्द्र हो रे उसको नाम ।
योगेन्द्र अर्थात ठुल्दिदिको नयाँ ग्राहक चियापसलमा आउन थालेपछि ठुल्दिदीमा अनौठो खुसीको अनुभूति भएको छ । ठुल्दिदीले योगेन्द्रलाई देखेपछि आफ्ना पुराना दिनहरू सम्झन थालेकी छन् । योगेन्द्र जस्तै थियो रे ठुल्दिदीको भाइ । ठुल्दिदी बिहे गरी भागेर आउँदा भाई सानै थियो । अहिले ऊ कत्रो भएको छ ? ठुल्दिदीलाई थाहा छैन । माइती नगएको पनि १३-१४ वर्ष भैसक्यो । भाइसँग भेट्न रहर योगेन्द्रलाई देखेपछि पूरा भए झैँ लागेको छ । ठुल्दिदीलाई माइती भेटे झैँ लागेको छ । त्यसैले खुसी छन् उनी ।
“दिदी..” पहिलो पटक उनको पसलमा आएर योगेन्द्रले बोलाएको थियो । वर्षौं पहिले उनको भाइले पनि त्यसैगरी उनलाई बोलाउँथ्यो । त्यही सम्झेर उनका आँखा रसाएका थिए त्यसबेला ।
“म तपाईँलाई भाइ भन्छु है ?” एकपटक डराईडराई ठुल्दिदीले योगेन्द्रलाई प्रस्ताव राखेकी थिइन् । स्वीकृतिमा योगेन्द्रले केही नबोली टाउको हल्लाएको थियो । ठुल्दिदीको लागि त्यो दिन निकै खुसीको दिन बनेको थियो ।
योगेन्द्र दिनमा एकपटक मात्र ठुल्दिदीको चिया पसलमा आउँथ्यो, बाँकी समयमा धेरै पटक उसलाई छापाखानाभित्रको उसको अफिसमा चिया पुर्याउन दिदी आफैँ जान्थिन् । अफिसमा योगेन्द्रसँग कुराकानी हुँदैनथ्यो तर पनि ठुल्दिदी खुसी हुन्थिन् । योगेन्द्रलाई देख्दा उनले त्यो सहरमा भरोसा र सुरक्षाको महसुस गर्न थालेकी थिइन् ।
अर्चनाले आफ्नो बाउलाई कहिल्यै देख्न पाइन । ऊसँग आफ्नो बाउको एउटा धमिलो सादा फोटो छ अनि आमाको मुखबाट सुनेका वा सम्बन्धी केही वर्णनहरु । अर्चनाको बाउ होचा र मोटा थिए, कम बोल्थे, मिठो गरी हाँस्थे, आँखा निकै राम्रा थिए, ओठमाथि बाक्ला जुँगा थिए । उसले यस्तै सुनेकी छे । योगेन्द्रलाई पहिलो पटक देख्दा उसलाई आफ्नो आमाले वर्णन गरेको उसको बाउझैँ लागेको थियो । उसले चिया पकाउने निहुँमा पहिलोपटक योगेन्द्रलाई लुकीलुकी हरेकी थिई ।
“आमा, हाम्रा बा कस्तो हुनुहुन्थ्यो ?” धेरै पटक सोधिसकेको प्रश्न त्यसदिन अर्चनाले आफ्नो आमालाई सोधेकी थिई । अनि आमाले पनि पहिले आफ्नो लोग्नेको बारेमा वर्णन गरेकी थिइन् ।
“पत्रकार अंकल जस्तै हुनुहुन्थ्यो ?” सकारात्मक उत्तरको अपेक्षा गर्दै अर्चनाले सोधेकी थिई ।
“यस्तै देखिनुहुन्थ्यो तर यति अग्लो हुनुहुन्थेन ।” ठुल्दिदीले भनेकी थिइन्, “तेरो मामा भने ठ्याक्कै यस्तै भएको छ होला कहाँ होला कुन्नी ?” सानोमा सँगै हुर्केको भाइलाई सम्झेर लुकेर आँसु झारेकी थिइन् ।
अनि अर्चनाले आफूले देख्न नपाएको बाउलाई सम्झेर रोएकी थिई । त्यस रातभरि दुबैले एक अर्कालाई अँगालेर सुते तर निन्द्रा भने दुवैलाई लागेन ।
योगेन्द्रको आगमन अर्चनालाई राम्रो लागेको थियो । योगेन्द्र चिया पसलमा पुग्दा अर्चनाले सबै काम छोडेर उसैलाई हेरिरहन्थी । अर्चना चाहन्थी, अरुको बाउले झैं योगेन्द्रले उसलाई माया गरोस् , काखमा राखेर टाउकोमा स्नेहका हातहरू घुमाओस् अनि कतै घुम्न लैजाओस् । यही चाहनामा अर्चना योगन्द्रको अगाडि पर्थी तर योगेन्द्रलाई भन्न उसले सकेकी थिइन । योगेन्द्रसँग राम्रो उठबस र बोलचाल नभएपनि अर्चना खुसी नै थिई । योगेन्द्रलाई हेरेर अर्चनाले मनमनै भन्थी , “मेरा बा यस्तै हुनपर्छ ।”
***********
योगेन्द फेरि एकपटक झस्किएको थियो । घरदेखि धेरै टाढा आउँदा पनि उसले आफ्नो अतीत रत्तिभर भुल्न पाएन । अर्चनालाई देख्दा उसलाई आफ्नी प्राणप्यारी गायत्रीको झझल्को लागेको थियो । योगेन्द्रकी गायत्री ठ्याक्कै अर्चना जस्तै थिई । सेतो सर्ट, निलो फ्रक लगाएर स्कुल जाने गायत्रीलाई योगेन्द्रले अर्चना जत्रै हुँदा भेटेको थियो । गायत्रीले यौवनमा पाइला नटेक्दै अनि योगेन्द्रले प्रेमको अर्थ नजान्दै दुवै जना एक अर्काप्रति मोहित भैसकेका थिए । दुवै जनाले एकै साथ स्कुल छोडे । क्याम्पस पढ्दासम्म उनीहरूको प्रेम सम्बन्ध निकै गाढा भयो ।
एकदिन योगेन्द्रले गायत्रीलाई सुटुक्क बिहे गरेर आफ्नो घरमा ल्यायो । तर बिहे धेरै दिन टिक्न पाएन । गायत्रीलाई उता माइतीले छुटाएर अन्तै पुर्याए । योगेन्द्र एक्लै भयो । वर्षौंसम्म ऊ पागलझैँ भयो । सम्हालिँदा पनि उसको मनमा गायत्रीको सम्झना ताजै थियो । अझ अर्चनालाई देख्दा उसलाई पुराना घटनाहरू एक एक गरी याद भयो । उसले अर्चनाभित्र गायत्री देख्यो । योगेन्द्रलाई अर्चना भर्खर फकन लागेको बैंसमा भएको गायत्रीझैँ लाग्यो ।
ठुल्दिदीको चियापसलमा गएको बेलामा उसले चोर आँखाले अर्चनालाई खोज्थ्यो । अर्चनासँग बोल्न खोज्थ्यो तर गायत्रीका आफन्तले ऊसँग गरेको व्यवहार सम्झेर ऊ झस्कन्थ्यो । अर्चनालाई हेर्दै ऊ कहिलेकाहीँ बर्बराउँथ्यो, “गायत्री तिमी फेरि किन मेरो जीवनको आएकी ?”
समय यात्रा जारी थियो अनि ठुल्दिदीको चिया पसल पनि । ठूल्दिदीसँग छिल्लिन खोज्नेहरूको कमी थिएन, अर्चनाको शरीर स्पर्श गर्न चाहनाका पनि कमी थिएन । त्यसो त एक कप चिया मात्र खानको लागि ठुल्दिदीको चिया पसलमा जानेहरू पनि प्रशस्तै थिए । योगेन्द्र अर्चना र दिदीको सम्बन्ध उस्तै थियो । अर्चनाले आफ्नो मनको चाहना योगेन्द्रसामु व्यक्त गर्न सकेकी थिइन । योगेन्द्र गायत्रीको छायाँबाट बँच्न चाहन्थ्यो त्यसैले ऊ सकेसम्म अर्चनाको सामु पर्न चाहन्नथ्यो । ऊ चिया पसलमा कमै जान्थ्यो, धेरैजसो उसले आफ्नै अफिसमा चिया मगाउँथ्यो । कहिले ठुल्दिदी चिया लिएर पुग्थिन् भने कहिले अफिसकै पियनले ल्याउँथ्यो । कहिलेकाहीँ अर्चना जान्थी । किन हो कुन्नी, अर्चनालाई देख्ने बित्तिकै योगेन्द्र आत्तिन्थ्यो । कहिलेकाहीँ त सन्चो बिसन्चो सोधिहाल्थ्यो कहिले भने टाउको उठाएर पनि अर्चनालाई हेर्दैनथ्यो ।
“अर्चनालाई सन्चो छैन ।” एक दिन चिया छोड्न जाँदा ठुल्दिदीले खबर छोडिन् ।
“ ओह…” योगेन्द्र छट्पटायो ।
साँझपख योगेन्द्र आफैँ ठुल्दिदीको चिया पसलमा पुग्यो ।
“आज कताबाट साँझपख यता बाटो लागेछ ?” कहिलेकाँही बिहानपखमात्र आउने योगेन्द्रलाई फरक समयमा पसलमा देखेर ठुल्दिदीले हाँस्दै भनिन् ।
“एक कप चिया खाऊँ कि भनेर ?” योगेन्द्रले पनि जबर्जस्ती बोलीमा मुस्कान मिसायो ठुल्दिदीले चिया पकाउन थालिन् । योगेन्द्रले अर्चनालाई चोर आँखाले खोज्यो, तर कतै देखेन ।
“अर्चना खै त ?” आखिर उसले ठुल्दिदीलाई सोध्यो ।
“४-५ दिनदेखि सन्चो छैन । टाइफाइड भएको छ रे । साह्रै गलेकी छे कोठामा सुतेकी थिई, निदाएकी छे कि ?” ठुल्दिदीले एकै सासमा सबै कुरा बताइन् ।
योगेन्द्र अर्चना सुतेको कोठामा गयो । एउटा पुरानो पलङमा अर्चना निकै अस्तव्यस्त भएर सुतेकी थिई । कपाल जीङ्रिङ्ग थियो । लगाएका कपडाले मुस्किलले लाज छोपेका थिए । धेरै दिनको बिरामीले गर्दा अर्चनाको अनुहार फुङ्ङ उडेको थियो । अर्चना निदाएकी थिई त्यसैले उसले योगेन्द्रलाई देखिन । योगेन्द्रले ढोकामै उभिएर अर्चनालाई हेरिरह्यो । अर्चना उसलाई बिछट्टै राम्री लाग्यो, ठ्याक्कै गायत्री जस्तै ।
चिया पिएर योगेन्द्र फर्क्यो ।
“योगेन्द्र आएका थिए ।” साँझपख ठुल्दिदीले अर्चनालाई सुनाइन् । “तँलाई हेर्न आएका रैछन्, सन्चो नभएको थाहा पाएर ।” योगेन्द्र अर्थात् आफ्नो कल्पनाको बाउ आएको खबरले अर्चना खुसी भई तर उसलाई हेर्न नपाएकोमा भने अर्चनालाई थक्कथक्क लाग्यो ।
“भोलि म अफिस गएर पत्रकार अंकललाई भेट्छु ।” अर्चनाले मनमनै भनी ।
भोलि योगेन्द्र भाइलाई भनेर अर्चनालाई राम्रो अस्पताल लैजानु पर्ला । ठुल्दिदीले योजना बनाइन् ।
अर्चनालाई हेरेर फर्केपछि योगेन्द्रको मनमा छटपटी भैरह्यो । रातभरि उसले गायत्रीलाई सम्झिरह्यो. गायत्रीसँग बिताएका रमाइला क्षणहरु उसको आँखा वरिपरि नाचे अनि गायत्रीसँग छुट्टिनु पर्दाका पीडादायक क्षणहरु पनि उसले महसुस गर्यो ।
“भोलि दिनभरि गायत्रीसँग बस्छु।” उसले राति योजना बनायो ।
भोलिपल्ट बिहानै योगेन्द्र चिया खाने गरी ठुल्दिदीको पसलमा पुग्यो ।
“कस्तो छ उनलाई ?” बाहिरबाटै योगेन्द्रले सोध्यो ।
“अनुहार उज्यालो देखिएको छ । हिजो तिमी आएको कुरा सुनेर खुसी भएकी छे । ” ठुल्दिदिले नढाँटी भनिन् ।
“चिया पकाउनुभएको छैन ?” योगेन्द्रले सोध्यो ।
“हिजो ग्यास सिद्धियो, नजिकमा रहेनछ, बजारमै पर्ने भयो ।” ठुल्दिदीले समस्या बताइन् ।
योगेन्द्र केही बोलेन ।
“तिमी बस्दै गर म सिलिण्डर लिएर आउँछु ।” ठुल्दिदीले आफ्नै भाइलाई झैँ आदेश दिइन्
“आज खाना यतै खानुपर्छ है ।”
खाली सिलिण्डर लतार्दै ठुल्दिदी बाहिर निस्किन् । योगेन्द्रले बोल्ने मौका पाएन वा भनौँ बोल्ने आवश्यकता नै ठानेन ।
योगेन्द्र अर्चनाको कोठामा गयो । कोठामा कोही परिवर्तन आएको थियो । कोठाका सामानहरू व्यवस्थित थिए । पलङमा कपडाहरू मिलाएर बिच्छ्याइएको थियो । अनि पलङमा सुकिला कपडा लगाएर अर्चना सुतेकी थिई । आज उसको अनुहार उज्यालो देखिएको थियो । साँच्चै भन्ने हो भने ऊ हिजोभन्दा निकै राम्री देखिएकी थिई ।
योगेन्द्रलाई देखेर अर्चना उठ्न खोजी । तर योगेन्द्रले उठ्न दिएन । अर्चना सुतेको पलङको एक छेउमा योगेन्द्र बस्यो । धेरैबेरसम्म दुवैले एक अर्कालाई हेरिरहे मात्र केही बोलेनन्।
“कस्तो छ तिमीलाई ?” योगेन्द्रले मौनता तोड्यो ।
“ तपाईँ सन्चै हुनुहुन्छ ?” अर्चनाले उल्टै प्रश्न गरी ।
योगेन्द्रले अर्चनाको निधार छाम्यो। ज्वरो अझै थियो । उसले अर्चनाको टाउकोबाट हात हटाएन, विस्तारै अर्चनाको मैलो कपाल खेलाइरह्यो । योगेन्द्रले टाउकोमा हात राख्दा अर्चनाले अनौठो अनुभव गरी । उसलाई आफ्नै बाउ आएर नजिक बसेझैं लाग्यो । योगेन्द्र हुँदा उसलाई डर लागेन । छापाखानाको कम्पोजिटर, पाले , फर्निचरको मिस्त्रीले छुँदाझैँ शरीर सिरिङ्ग पनि भएन, अनि काउकुती पनि लागेन । अर्चनाले आफूलाई निकै हलुका महसुस गरी । उसलाई अपनत्वको अनुभूति भैरहेको थियो अनि स्वर्गीय आनन्द प्राप्त गरेझैँ लागिरहेको थियो । अर्चनाले जीवनमा पहिलो पटक यस्तो खुसीको महसुस गर्न पाएकी थिई ।
अर्चनाले खुसी थाम्न सकिन । आँखाबाट बरर आँसु झरे । गालाबाट तप्तप गर्दै सिरानीमा आँसु झर्यो ।
आफूले नदेखेको आफ्नो बाउलाई सम्झेर अर्चना रोइरही । योगेन्द्रसँग छट्टिनुपर्दा गायत्री यसैगरी रोएकी थिई । योगेन्द्रले अर्चनालाई गायत्री देख्यो, उसलाई गायत्री रोएझैं लाग्यो । मन थाम्न सकेन । उसको आँखा रसाए, आँखाका डिलले आँसुको भेल रोक्न सकेनन् ।
“तिमी नरोउ न…” योगेन्द्रले वाक्य पूरा गर्न सकेन ।
अर्चना झन् सुँक्कसुँक्क गर्दै रून थाली ।
योगेन्द्र बिस्तारै अर्चनाको आँसु पुछिदियो । ढोकामा फैक्ट्रीको पाले उभिएको रहेछ । अर्चना र योगेन्द्रले देखेनन् तर पालेले भने योगेन्द्र अर्चनामाथि ढल्केर म्वाइँ खान लागेझैँ देख्यो ।
“अर्चनाले हामीलाई हात समात्नसमेत दिन्ने तर योसँग भने….।” पहिलेका कुरा सम्झेर पाले मुर्मुरियो
“आज योगेन्द्र भाइलाई मासु ख्वाउनु पर्छ ।” ठुल्दिदीले बजारबाट फर्कंदा सोचिरहेकी थिइन् ।
योगेन्द्र र अर्चनाको सेखी झार्नुपर्छ आज । बुढो पालेले योजना बनाइरहेको थियो ।
पाले बाहिर निस्केर चिच्याउन थाल्यो, “लौ न हजुर यी आँखाले के देख्नु पर्यो, पापीले बिरामी बच्चीलाई समेत बाँकी राखेन । लौ न गुहार…।”
क्षणभरमै ठुल्दिदीको चियापसल वरिपरि मान्छेहरु जम्मा भए ।
ठुल्दिदीले भाइलाई ख्वाउने मासु किन्दै थिइन् अनि कोठाभित्र अर्चनाले बाउको मीठो स्पर्श महसुस गर्दै थिई।अनि योगेन्द्र गायत्रीलाई सम्झेर आँसु झार्दै थियो । यी तीन प्राणीलाई बाहिर के भैरहेको छ भन्ने पत्तै थिएन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।