‘हेलो दिदी, म जेनी बोल्दैछु त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलबाट । मैले यशोधरालाई खोजेको ।’ काठमाडौँ एयरपोर्टमा ओर्लनासाथ फोन गरेँ ।

तर मलाई त्यहाँ अचम्म के भयो भने एयरपोर्टमा एकाएक भिड थियो । नेपालमा भिड हुनलाई कुनै कारण चाहिँदैन भन्ने अनलाइन मिडियामा पढ्न पाएकी थिएँ । आजको कारणचाहिँ म चढेर आएको विमान काठमाडौँमा पहिलोचोटि ल्यान्ड हुनु थियो । त्यो बेलुन जस्तो । पारदर्शी थियो अनि एउटा यानमा दुईजना यात्री । म र पाइलट । हेरे, सबैले । विमानलाई हेरे, अचम्मित परेतर तिनले मलाई हेरेनन् र चिनेनन् पनि ।

गजबको कुरा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले पनि मलाई चिनेनन् । उनी पनि त्यहीँ आएका थिए चिनियाँ राजदूतलाई बिदाइ गर्न ।

म लामो समयदेखि यशोधरालाई भेट्न खोजिरहेकी थिएँ । यसपटकमात्र तारतम्य मिल्यो । उनको टेलि

बाँस्काेटा धनञ्जय

फोन कस्मिक सर्वरबाट सर्च गरेर भेटाएकी थिएँ ।

म यशोधरा नै बोल्दैछु । हजुर को बोल्नुभा ? आवाज नयाँ लाग्छ नि त ! नम्बर पनि नयाँ छ । अम्रिकानेजस्तै लाग्छ नि त आवाज ! उनले निस्ङ्कोच भनिन् ।

‘हजुर, म जेनी । मेरो घर जर्मनी हो तर बसोवास लन्डनमा छ । अस्ति मैले मेल पठाएकी थिएँ नि, म तपाईँसँग भेट गर्न चाहन्छु भनेर । आज आएँ । कुरा धेरै छन् ।’ मैले निर्ढक्क उत्तर दिएँ ।

‘बहिनी, तपाईँले दिदी भनेपछि मैले पनि बहिनी भनेँ, ल? उनले शिष्टाचारपूर्ण तरिकाले भनिन् ।

‘राम्रै साइतमा हिँडेछु घरबाट । खुसी लाग्यो । तपाईँलाई नै सम्झेर आएकी हुँ । ल एयरपोर्टमा आउनुस् है, त्यहीँ भेटेर गफ गरौँला ।’

०००

नेपालमा थुप्रै राजनैतिक दलहरू माक्र्सको नाम जोडेर स्थापना भएकाछन् भन्ने सुनेपछि मैले नेपाल भ्रमण गर्ने विचार गरेकी थिएँ । एमाले भन्ने दलले त स्थानीय चुनावमा दुईदुईपटक त तहल्कै मच्चाएछ । पहिलो पार्टी भएछ र तिनले मेरा माक्र्सलाई श्रद्धाकासाथ लिएका रहेछन् । एउटी श्रीमतीलाई यो भन्दा ठूलो खुसीको क्षण अरू केही पनि हुन सक्तैन । हरेक नारी आफ्नो श्रीमान्को ठूलो वृक्षको फेदीमा शीतल तापेर आनन्द लिन चाहन्छन् । मलाई पनि त्यही भयो । मेरा श्रीमान्को यो उदात्त नाम र राप देखेर आनन्दित बनिरहेकी छु आज ।

अर्को नेकपा माओवादी पार्टी पनि नाम माओवादी भए पनि दर्शनको श्रोत भनेको त माक्र्सवाद नै रहेछ । तिनले त झन् दश वर्ष देशमा राप र ताप उत्सर्जन गरेछन् तर मान्छे मार्ने इजाजत पत्र चाहिँ थिएन त्यो दर्शन । आफैँ जान्ने भएर माक्र्सको सिद्धान्तको अर्थ लगाएछन्, दुःख लाग्यो ।

मलाई के कुरामा अचम्म लागेको हो भने मेरो श्रीमान् जन्मिएको देशमा र जीवनको लामो अवधि बिताएको वेलायतमा पनि उहाँको नाममा दलहरू खुल्ने इच्छा राख्दैनन्, मात्र केही समर्थकहरू छन् । नेपालमा त उनको राजनैतिक दर्शनलाई औधी श्रद्धा गर्छन् भन्ने चाल पाएर पनि यहाँ नआएर नसक्ने भएँ म ।

परबाट फोनमा उनले आफ्नो हुलिया बताएबमोजिम म पर्खिएर बसेँ एयरपोर्टमा । उनी आइपुगिन्, उनलाई देखेपछि म एयरपोर्टबाट बाहिर निस्किएँ । लामो लुङ्गी र माथि चोली लगाएकी सानो कम्मर भएकी, राता गाला, ओभल आकारको अनुहार, टम्म परेका वक्षस्थल, अति लामो तर सिधा कपालको मुठोमा थिइन् उनी । गाला गोला र राता थिए । शरीर पोटिलो, गोरो र चिल्लो देखिन्थ्यो उनको । शरीर कतै झरेको, कतै लत्रेको जस्तो देखिएन । उनले मैले जस्तो सात सात जना छोराछोरी जन्माएर मुन्टा चुँडिनेगरी चुसाउनु परेन । यसैले होला उनी सग्ली थिइन् ।

‘जेनी भन्ने हजुर नै हो नि क्यारे ।’ उनी मेरै छेउमा आइपुगेर लामो स्वास फेर्दै भनिन् ।

‘हो नि त !’ मैले उत्तर स्वाभाविक रूपमा दिएँ तर उनी बढी उद्विग्न थिइन् । उनको चञ्चलता देखेपछि मलाई टिठ लागेर आयो । उनको मुस्कानमा जादु थियो । छोटो नाकका छेउमा ठुला गाला र दायाँ गालामा मुस्कुराउँदा पर्ने खोपिल्टो जादूमय थियो । उनको अनुहारको तरङ्ग, रङ र अभिव्यक्ति अनुपम थियो । यसरी मुस्कुराउने मान्छे मैले आजसम्म देखेकी थिइनँ ।
हामी यसरी मुस्कुराउन सक्तैनौँ भन्ने लाग्यो । यस्तो मुस्कान त हाम्रो समाजमा सम्पत्ति बन्छ कला सिर्जना गर्न । यी त ग्रिक पुराणमा वर्णित ‘हेलिकन’ रहिछन् अर्थात् सिर्जनाको स्रोत । मोनालिसा भन्दा रहस्यमय मुस्कान रहेछ यिनको । केवल छालाको रङ्ग होइन रहेछ सुन्दरता भन्ने कुरा । त्यो त रहस्य पो रहेछ भन्ने लाग्यो आज । यति राम्री श्रीमतीलाई राति एक्लै छाडेर हिँड्ने लोग्नेलाई मान्छेले देउता भनेको सुन्दा उनलाई कस्तो लाग्दो हो ? यो समाज कति निष्ठुरी छ, है ?
मैले सम्झेँ, मलाई पनि माक्र्सले भनेकै थिए ‘जेनी यो सहरकी सबैभन्दा सुन्दर केटी हुन् ।’  तर उहाँले याशोधरालाई देख्नुभएको भए त्यो वाक्य उनैलाई जाने रहेछ भन्ने लाग्यो ।

‘के सम्झिरहनुभएकी बहिनी ? बौद्धमा मेरो डेरा छ, त्यहीँ गएर गफ गर्ने होला नि क्यारे !’ उनको लवजमा आनन्द लाग्यो । हामी त कस्तो ठाडठाडै औपचारिक र सिधा कुरामात्र बोल्नाले सुनिने ? खो भाषाबाट आजित थिएँ म आजसम्म । उनको लवजले मलाई तानिरह्यो ।

‘हवस् त, हामी अब वहीँ जाने है त बहिनी ।’

हामी ट्याक्सीमा चढेर जाने विचारले बाहिर आयौँ एयरपोर्टबाट । बाहिर ट्याक्सीको बजार थियो । अनि मान्छेलाई तिनै ट्याक्सीलाई सकारेर बाँच्ने भिड देख्यौँ । कसैले मेरो झोला ताने । कसैले यशोधराको ताने । त्यहाँ अनेकौँ संवाद सुनियो ।

‘दिदी, मेरो ट्याक्सी छ । एकदम नयाँ ।’

‘पैसा पर्दैन हजुर । मेरो ट्याक्सी छ ।’

तिनले झोला तानातान गर्न थाले । हामी केही बोल्न सकेनौँ । एउटा बुढोजस्तो देखिने मान्छेको पुरानो ट्याक्सी देखेँ मैले । उसका जुँघा र दाह्रीले छोपेको निन्याउरो अनुहारले पुलुक्क हेऱ्यो मलाई । उसको चाउरिन लागेका गालामा कुनै कान्ति थिएन । मेरो मनले उसैलाई रोज्यो । मैले यशोधरालाई यही ट्याक्सीमा जान भनेँ ।

हामी सिटमा बस्यौँ ।
बुढो तर उमेरले जवान ड्राइभर मतिर धेरैचोटि पुलुक्क पुलुक्क
हेऱ्यो । उसलाई मेरो विदेशी अनुहारले उत्सुक बनायो क्यारे । यशोधराले गाडीमा चढ्नेबित्तिकै रिँगटा लाग्ने भएर होला, आँखा चिम्म गरिन् । म नेपालको राजधानीका प्रत्येक अवयव अध्ययन गर्न थालेँ । बाहिर धुलो र धुवाँको समागममा बनेको काठमाडौँको पहिचान मैले पत्रपत्रिकामा मात्र पढेकी थिएँ । आज साक्षात्कार हुन पाएँ । खुसी लाग्यो ।

‘ह्वेअर आर यु फ्रम, म्याम ? ‘ उसले अङ्ग्रेजीमा मेरो ठेगाना सोध्यो । उसले ठान्यो होला मलाई नेपाली आउँदैन तर नेपाल आउने योजना बनाएदेखि नै मैले नेपाली भाषा सिकेकी थिएँ । यसर्थ मैले उत्तर नेपालीमै दिएँ ।

‘म जेनी । लन्डनबाट आएकी । यशोधरासँग भेट्नुथियो, भेटेँ । केही दिनमा फिर्छु ।’

‘……………….’ उसको गला अवरुद्ध भयो । आँखाभरि आँसु झरेछन् । सुरिलो शरीरमा टाटैटाटा भएको सर्टले उसको हजारौँ विवशता उद्बोध गरिरहेको थियो । मैले बुझेँ, ऊ जीवनसँग बेखुसी छ । मलाई उसको मनसँग साक्षात्कार गर्न मन लाग्यो ।

‘भाइ, म तपाईँलाई भाइ भन्छु ल ? उमेरले जे बताए पनि म दाइभन्दा भाइ भन्न मन पराउँछु ।’

‘म पनि दिदी भनुँला । मेरा कुनै दिदी छैनन् ।’ उसको सौहार्द्र मलाई औधी राम्रो लाग्यो ।
‘भाइ, तपाईँ बेखुसी हुनुहुन्छ, हो ? यो ट्याक्सी तपाईँको हो नि ?’
‘…………….यो ट्याक्सी मेरो होइन । साहूको ।’

‘घरचाहि कहाँ हो ?’

‘थियो, अहिले छैन । गाडी पनि थियो, अहिले छैन ।’
‘के भयो त ?’
‘………………………………..’

‘के भयो ?’
‘मेरी स्वास्नी………..’

‘आफ्नो सबैभन्दा प्यारो मान्छे श्रीमती नै होइन र भाइ ?’
‘मलाई पनि त्यस्तै लाग्थ्यो तर यथार्थ त्यो होइन ।’

‘कसरी, भाइ ?’
‘राजश्व ठग्न महिलाको नाममा जग्गा र घर राख्न भन्दै उसको नाममा पास गरेर राखेँ । बिहे गरेको एक वर्षमा कोरिया गएर तीसलाख रुपैयाँ उसको नाममा पठाएँ । दुई वर्षपछि नेपाल आउँदा त्यो पैसा पनि थिएन । ऊ पनि थिइन । मैले पैसा माया मारेर भएपनि उसलाई पाउने आँट गरेँ तर त्यो पनि भएन ।’

‘अनि के भयो त त्यसपछि ?’
‘उसले पुरानो घर पनि बैङ्कमा राखेर पैसा निकालेकी रहिछे । एउटा किस्ता पनि नतिरेपछि, ब्याज पनि नदिएपछि बैँकले लिलाममा मेरो घर बेच्ने सूचना गऱ्यो । मैले पैसा निकाल्न सकिनँ । घर लिलाम भयो । आज म अर्काको ट्याक्सी कुदाउँदै छु । आइमाई मान्छेको त मुख पनि हेर्न मन लाग्दैन ।’

उनी अगाडिमात्र हेरेर कुदाउँदै थिए । तिनले मलाई पनि घृणा गरेकोजस्तो भान भयो । केही बोलिनँ । यशोधरा मग्न विचारमा थिइन् । उनी बोलिनन् पनि ।

‘भाइ, आफैँलाई भरोसा गर्नू । फूलबारीका सबै फूलहरू फुल्दैनन् । मान्छे पनि यस्तै जात हो । सबै भरोसायोग्य हुँदैनन् । अब हामी ओर्लन्छौँ । आफ्नो ख्याल राख्नु है ।’ मैले सान्त्वना दिएँ ।

‘हवस् त, दिदी ।’
हामी बौद्धमा ओर्लिएर यशोधराको घरतिर लाग्यौँ।
उनको घरअगाडि अग्लो बुद्धको मूर्ति थियो । उता फर्केर यशोधराले एकपटक नमस्कार गरिन् ।
हामी बैठक कोठामा बसेर गफ गर्न थाल्यौँ ।

‘दिदी, कति कामले आउने कष्ट गर्नुभयो रुकिन मलाई नै भेट्ने विचार गरेकी नि ? केही खास काम पऱ्यो कि ?’ उनले मुस्कुराउँदै सोधिन् ।

‘मैले नेपालमा मेरा श्रीमान्का धेरै समर्थक छन् भन्ने सुनेकी थिएँ । तिम्रा श्रीमान् पनि भगवान् भएका थिए भन्ने पनि सुनेकी थिएँ । मेरा श्रीमान्लाई विचारक बनाउन मेरो र तिम्रो श्रीमान्लाई भगवान् बनाउनमा तिम्रो भूमिकाको अभिलेख कतै छ त दिदी ?’ मैले निर्ढुक्क बोलेँ ।

‘हो नि त, बहिनी ! तिम्रो श्रीमान् त जे भए पनि जीवनभरि तिमीसँग बस्नुभयो । एउटा मन ओछ्याएर अर्को मन ओढेर सुत्नुभयो । एउटा मन तिम्रो थियो, अर्को तिम्रा श्रीमान्को । मेरो यो अँगालो र यो ओछ्यान उहाँ हिँडेपछि चिसिएको चिसियै भयो ।’ उनको बोलीमा पीडा थियो ।

‘तपाईँको श्रीमान्लाई क्रान्तिबाट समाज परिवर्तन गर्ने ताप र रापको रूपमा लिन्छन् विश्वले तर तपाईँको भावनाको कसैले कदर गरेको मैले बुझेकी छैन । श्रीमान्को सफलतामा श्रीमतीको भूमिका हुन्छ भन्ने यी कुनै पनि लोग्नेमान्छेहरूले बुझेनन् ।’  उनले सहानुभूति प्रकट गरिन् ।

‘मैले पनि महसुस गरेकी छु । मेरा श्रीमान्का फोटा झुन्ड्याएर, उनकै नाममा राजनैतिक दल खोलेर तिनले आफूलाई अब्बल राजनेता बनाउने प्रयत्न गरिरहेका छन् तर तिनलाई मेरो बारेमा किञ्चित थाहा छैन । दुःख लाग्छ नि दिदी ।’  मेरो कुण्ठा उकुसमुकुस भएर आयो

‘हो नि, बहिनी । मेरा श्रीमान्को मूर्ति बनाएर उनका उपदेश र धर्मले रङ्गिएका मान्छे आज धेरै छन् । अहिंसा र शान्तिको दूतमात्र नभएर एशियाको प्रकाश भन्न पनि भ्याएका छन् मान्छेले । ती बुद्ध धर्मावलम्बी भए तर तिनले मेरो अस्तित्वको ख्यालसम्म गरेनन् । मेरो बलिदानबाट मात्र उनी भगवान् बुद्ध बनेको कुरा पनि तिनले बुझेनन् । मैले तातो ओछ्यानबाट अँगालाभरिको श्रीमान्लाई निकालेर सदाका लागि त्यागेँ । उनी त्यसपछि मेरो आलिङ्गनमा कहिल्यै पनि आएनन् । दुईतिहाई जीवन उनको जीवनको कल्पना गरेर बिताएँ । उनी अरूका भएस शिष्यका भए, जनताका भए, अनुयायीहरूका भए तर उनी मेरा कहिल्यै पनि भएनन् र पनि म बाँचेँ । मेरो जीवन त्यसै छचल्किएर सकियो । सुकेर सकियो । यसको मूल्य मैले कहाँ खोज्ने ? आज मान्छे सिर्फउनको दर्शनको व्याख्या गर्छन् तरत्यो दर्शनको स्रोत म किनाराकृत भएकी छु । सिद्धार्थलाई मैले नै कैयौँपटक दरबारमा मारकाट गर्नु हुँदैन भनेकी थिएँ । सबै प्राणीलाई माया गर्नुपर्छ भनेकी थिएँ । आज यिनै कुरालाई बुद्ध दर्शनभन्दा उदेक लाग्छ । कस्ता पाखण्डीहरूरुूउनको पीडा छचल्कियो ।

‘मलाई पनि मेरा श्रीमान्को समाजको चरित्रको व्याख्या र समाज परिवर्तनको योगदानबारे पश्चिमाहरूले प्रश्न उठाएकोमा दुःख लागेको थियो तर नेपालीहरूले उहाँलाई औधी श्रद्धा गरेर उहाँको दर्शनको प्यासी भएको देखेर खुसी लाग्यो । संविधानसभाको निर्वाचनमा मेरा श्रीमान्को आदर्शलाई नेपाली जनताले मन पाराएर भोटमा निकै उत्साह प्रकट गरेको हुनाले मेरो नेपाल भ्रमण अर्थपूर्ण होला भन्ठानेर काठमाडौँ आएकी हुँ ।’

जब म एयरपोर्टमा उत्रिएँ र मेरो पासपोर्ट र भिजा देखाएँ, कसैले पनि मलाई चिनेनन् । बल्खुमा, पेरिस डाँडामा मेरा श्रीमान्को नाममा बनेका राजनैतिक दलका बोर्ड पनि देखेँ । कैयौँ मान्छे यताउता गर्दैथिए । तिनले मेरो अनुहारमा हेर्न पनि जरुरी ठानेनन् । परिचय लिन पनि आवश्यक ठानेनन् । मेरा पनि श्रीमान्का जस्ता लामा लामा दाह्री भएको भए, मैले पनि सर्वहाराको मुक्तिका कुरा श्रीमान्लाई सेयर नगरी आफैँ मेरो नाम लगाएर छापेको भए मेरो पनि नामसँगै राखेर ‘नेकपा — जेनीवादी’ नामको बोर्ड झुन्डिन्थ्यो होला । मेरो नाममा संसारका मान्छे भावुक हुन्थेहोलान् । मैले उनको नाममा मेरो भविष्य साटेँ । त्यो साटेको उनको नामले सदियौँसम्म मेरो नाम मेटिदियो ।’

त्यसपछि सन्नाटा …..अनि ।
मैले यशोधरालाई भनिदिएँ सबै कुरा । उनी मभन्दा करिब तेइससय वर्ष जेठी हुन् तर टाइम मेसिन र सापेक्षताको सिद्धान्तको सहायताले म अतीत र भविष्यमा जान सक्ने भएकी छु । त्यसैले यी मान्छेले हामीलाई देख्दैनन् पनि र चिन्दैनन् पनि ।

‘यशोधरा दिदी, मलाई यी नेपालीहरूले बिर्से पनि मेरो श्रीमान्लाई सम्झेछन् । हुन सक्छ’ तिनले भन्लान्, ‘माक्र्स त्यागी थिए । तिनले बिहे गर्नसमेत भ्याएनन्।’

तर मलाई गुनासो हुने छैन, किन कि आजकल मान्छे पढ्दैनन्, गफ र गाली मात्रै गर्छन् । तिनलाई के थाहा, समाजवादको व्याख्यामा मेरो भूमिका ? म भुक्तभोगी हुँ । सर्वहाराको हुनुको पहिलो अनुभूति मैले नै गरेकी थिएँ, जसले माक्र्सलाई यसको व्याख्या गर्न सहयोग पुग्यो । ?

‘कसरी गऱ्यौ त त बहिनी सर्वहाराको अनुभूति अरूभन्दा पहिले ?’

‘किनकि मैले जीवनमा धेरै हन्डर खपेँ जुन बिरलै महिलाले खप्छन् ।’

म जेनी भोन वेस्टफालेन, पर्सियन कुलीन परिवारमा जन्मिएकी धनी बाबुकी छोरी । मेरा बुबा लुडिग भोन चार छोराछोरी भएपछि विधुर भएका थिए । हजुरबा फिलिप सात वर्षे युद्धका बेलामा ड्यूक फर्डिन्यान्डका प्रमुख कर्मचारी थिए । उनको दाजु एड्गर कार्ल माक्र्सका साथी थिए तर अर्को दाजु ब्यारोन फर्डिन्यान्ड रुढीवादी थिए ।

‘म कार्ल माक्र्ससँगै बाल्यकालदेखि हुर्केकी हुँ । हामी घनिष्ठ साथी भयौँ । मेरा बा पनि माक्र्सको बाका साथीमात्र नभएर माक्र्सका पनि साथी भए । उनी माक्र्ससँग दर्शन र अङ्ग्रेजी साहित्यको बारेमा छलफल गर्थे । माक्र्सले भनेअनुसार म त्यो सहरकै सबैभन्दा सुन्दर केटी थिएँ र पछि मेरो विवाह कार्ल माक्र्सँगै भयो जो म भन्दा चार वर्ष कान्छा थिए । दुवै साहित्य पढ्थ्यौँ । हाम्रो विवाह सेन्ट पोल चर्चमा भयो । त्यसपछि हामीहरू पेरिस गयौँ जहाँ जर्मन कवि हेनरिच हिनीसँग भेट भयो ।’
हाम्रा सातजना छोराछोरी जन्मिए । छोरी जेनी क्यारालिन् जो क्यान्सरले अठतिस वर्षमै बिती र अर्की छोरी जेनी लौराले आत्महत्या गरी छैसठी वर्षको उमेरमा । छोरो चार्लस एडगर आठ वर्षमै बित्यो । अर्को छोरो हेनरी उन्नाइस वर्षमै बित्यो । छोरी एभिलिन् एक वर्षमात्रै बाँचिन् भने अर्की छोरी जुलिया इलेनरले त्रिचालिस वर्षको उमेरमा आत्महत्या गरी र अन्त्यमा एउटा बच्चा जन्मिनासाथ बित्यो । हाम्रो निर्वासन जीवनको कुनै रङ्ग थिएन । फ्रेन्च प्रहरीले माक्र्सलाई निष्काशन गरेपछि हामीहरू ब्रसेल्स गयौँ । त्यहाँको पुलिसले हैरान लगाएपछि हामीहरू फ्रान्स फर्कियौँ र कोलन गयौँ । युरोपभरि र जर्मनीमा पनि क्रान्ति भइरहेको हुनाले पर्सियाका अधिकारीहरूले माक्र्सलाई फ्रान्स फर्किन आदेश दिए । त्यसपछि हामीहरू सपरिवार लन्डन गएर र त्यहीँ बस्न थाल्यौँ । हामीहरू लन्डनको ग्रयाफ्टन टेरेसमा बसोबास गर्न थाल्यौँ जहाँ मेरी आमाले आफूदेहान्त हुँदा दिएको पैसाबाट जीविकोपार्जन चल्न थाल्यो, जुन ज्यादै दयनीय
थियो ।

पछिल्ला दिनहरूमा म लिभर क्यान्सरको पीडित भएँ । अहिले म सत्सठी वर्षकी भएँ र यसवर्ष काट्दिनस् भनेर डाक्टर र ज्योतिषले भनेका छन् । यो वर्ष सायद म यो संसार छोड्छु होला । त्यसैले एकपटक तिमीलाई भेटेर मेरो फेहरिस्त तिमीलाई सुनाएर मन हलुका पारेर यो संसारबाट बिदा हुने मेरो जीवनको अन्तिम धोको थियो र त्यो पनि अब पूरा भयो । सारै खुसी लागेको छयाशोधरा । मेरो हाइगेट्मा अन्त्येष्टि गरियोस् भन्ने मेरो इच्छा छ ।

म भन्दै गएँ मेरा कायाकैरन, मेरो मन हल्का बन्दै गयो । मैले थपेँ —
‘नेपालका क्रान्तिहरू रापमा भए । सात सालको विराटनगर मजदुर आन्दोलनको ताप मेरा श्रीमान्को मन्त्रबाट भएको थियो । अठ्ठाइस सालमा टाउका काट्ने होस् वा जनयुद्धमा मान्छे मार्ने होस् वा गणतन्त्र ल्याउनेमा होस्, मेरा श्रीमान्को मन्त्रको योगदान छ । त्यो मन्त्रमा भएको मेरो योगदान छोपियो मात्र भनेकी हुँ मैले, दिदी । त्यसपछिका हरेक आन्दोलनहरूमा र समाज रूपान्तरणमा यो बाटो सही साबित पनि भएको छ ।’

मैले यति भन्दै गर्दा यशोधराले मन अर्कोतिर लगेर मेरो कुरालाई बेवास्ता गरेजस्तो लाग्यो । मेरो कुरामा उनको उत्साह थिएन ।

‘दिदी, केही भन्न चाहनुभएको छ, हो ?’

‘हो बहिनी, तिमीले श्रीमान्को काखमा जीवन बितायौ तर पनि धेरै कुण्ठा छ । त्याग अब त्यो कुण्ठा । सिद्धार्थलाई छिमेकीसँग पानीको निहुँमा झगडा नगर्नू भन्ने मै हुँ । हिंसाको बाटो नअपनाउनू पनि भनेँ । कसैलाई मार्नु वा दुःख दिनु हुँदैन पनि भनेँ । पानीको निहुँमा झगडा गरेर आएपछि उनी हिँडेका थिए मध्यरातमा घर छाडेर । आज उनी चाहिँ अहिंसावादी भए । सबैलाई माया गर्ने भए । शान्तिवादी भए । अन्ततः भगवान् भए । म त कुहिराको काग भएँ । मेरो विचारको कुनै मोल रहेन । त्यो त नरहे पनि नरहोस् तर मेरो जीवनको व्याख्या कस्ले गरिदेला ? राहुल सानै थियो । म आमाको साइनोबाट टाढा थिएँ भने त्यो राहुललाई माया मारेर म पनि घर छाडेर गयातिर गएर ध्यान गरेको भए अवश्य पनि भगावान् बन्थेँ । आमा हुनु मेरा लागि अभिशाप भयो । उसैले मलाई बाँध्यो । मेरो सारा जीवन उसको कारणले कहिल्यै फुलेनस कहिल्यै रसिलो, भरिलो र मलिलो भएन । त्यो सिरुबारीजस्तै बाँझो र रुखो भइरह्यो । तिम्रो त कम्तीमा त्यो भोगाइ रहेन नि, बहिनी ।’कम दार्शनिक भइनन् यशोधरा ।

‘दिदी, हाम्रो जिन्दगी ! जनावरको नाम आउला तर हाम्रो आउँदैन यो दुनियाँमा । तिमी नै हेरन, हरेक कम्युनिस्ट पार्टीहरूले मेरा श्रीमान्को फोटालाई पार्टी कार्यालयहरूमा झुन्ड्याउन बिर्सेका छैनन् । हरेक कार्यक्रममा उनको फोटामा फूलको माला पनि लगाइदिन्छन् । उनलाई सम्झेर मौन धारण पनि गर्छन् र उनको श्रद्धा र सम्मानमा ती भावपूर्ण हुन्छन् । मेरा श्रीमानको विचारलाई उनीहरू विज्ञान ठान्छन्स उद्वेलित हुन्छन् । सुन्दर सपना बुनेर जनतालाई एकाकार गराउन सफल भएका छन् । सात दशकदेखि भौतिक चेतनामा मात्र समाज परिवर्तनको कल्पना गर्न सकिन्छ भन्ने भौतिकवादलाई त यिनले वेद सम्झेर पढे, मनन गरे, संसारलाई विश्वका सर्वहारा एक हौँ भने । वर्गीय समानताको कुरा गरे । राज्यको सक्रिय भूमिकाको कुरा गरे ।’

‘तर बहिनी, एकचोटि, सोच्ने कि रुअब तिम्रा श्रीमान्को ग्ल्यामर रहिरला त रु त्यो विचार अहिले कोरा कल्पना साबित हुँदै गएको छ । देखियो नि, क्रान्तिको अन्तिम पाटो शान्ति हो रहेछ । तिम्रा मान्छेले मान्छे मारेर दुनियाँ बदल्न खोजे, सके ? बाहुनका चुल्होमा रक्सी तताए । संस्कृत पढाउने र वाचन गर्नेहरूलाई झुन्ड्याएर मारे । मन्दिरमा थुक्न र मुत्न लगाए । आखिरी शान्तिको बाटोमा नआई धरै भएन । शान्तिको बाटोमा आउनु नै थियो भने यी सब किन ? तिमी जोसमा बाँच्यौ, म होसमा । तिमी आवेगमा परिवर्तन खोज्ने, म चेतनामा । दुनियाँ पिछलग्गु छन् शान्तिको । मेरा शालिक कति छन् यो संसारमा, तिम्रा त तिमी जन्मेको ठाउँमा पनि वेवास्ता गर्छन् तिमीलाई । तिमी तिम्रा श्रीमान्को सस्तो प्रशंसा छोडिदेऊ । संसार मेरो श्रीमान्को बाटोमा हिँड्न खोज्दा त मैले उनको प्रशंसा गरेकी छैन, किनभने तिनले मलाई धोका दिएर आफूमात्रै अघि बढे । तिनले मलाई छिर्के लगाएर लडाएका हुन् भन्ठान्छु ।’ यशोधरामा यति धेरै ज्वालामुखी देखेर म छक्क परेँ ।

‘म तिम्रा कुरामा सहमत छु, किन पनि भने सभ्यता, जीवन र जगत्को अन्तिम पाटो र अन्तिम अभिनय भनेको शान्ति नै रहेछ । आज सबै क्रान्ति जप्नेहरू पनि यही अभिनयमा व्यस्त छन् । मैले यो महसुस गरेँ । मेरा श्रीमान्ले यो महसुस गर्न पाएनन् । दुःखको कुरा यही भयो तर पनि सारमा भन्नुपर्दा, हाम्रो परिचयको हत्या भएकै हो, दिदी ।’

०००

भोलिपल्ट हामी लुम्बिनी गयौँ । यशोधराले राजा शुद्धोधनको दरबारमा लगिन्स भव्य थियो । उनको कोठामा लगिन् । त्यहाँको सुन्दर वातावरण, भव्य र कलात्मक दरबार देखेर लोभ लाग्यो । पच्चिस सयवर्ष अघि पनि कति विकास भएको ?

‘सिद्धार्थ यही ओछ्यानमा सुतेका थिए मसँग । राति यही झ्ययाल उघारेर भागे अनि तिनै धोकेवाज भगवान् भएर फर्किए । दुनियाँ यस्तो छ, बहिनी ।’ उनले बाक्लो झ्याल छेउको ओछ्यान देखाउँदै भनिन् ।

‘भैगो हुन्देऊ । समयले भोलि हाम्रो पनि मूल्याङ्कन गर्ला रहामी सीमान्त हुनबाट जोगिऔँला ।’

‘हो नि दिदी, समय आएपछि सबै कुराको सही मूल्याङ्कन हुने नै छ ।’

त्यो बेलुका त्यहीँ बसेर म भोलिपल्ट बेलायत फर्कें । यशोधराले विमानस्थलमा आएर बिदा गरिन् । यशोधरा त खुसी होलिन् भनेर बुझ्यन नेपाल आएकी थिएँ म तर उनी मभन्दा पनि दुःखी रहिछन् । अब म यही अनुभूति गरेर फर्किदैछु । माथि विमानबाट देखेँ, स्वयम्भूको गुम्बामा बुद्धको प्रार्थनामा ठुलो भिड थियो । यशोधरा छेउमा उभिरहेकी थिइन् तर तिनलाई कसैले पनि नजर लगाइरहेका थिएनन् । ती सीमान्त बनेर उभिएकी उभियै थिइन् ।
मजस्तै । सीमान्त ।