यति बेला म ठिक सडक बीचमा उभिएको छु । हो म त्यही सडक बीचमा छु जसले जीवनलाई एक दुरीदेखि अर्को दुरीको यात्रा तय गर्छ ।
भयभीत हुनुपर्ने हो तर ममा त्यो किञ्चित देखिँदैन । मेरो हातमा रगतले लतपतिएको एउटा चक्कु छ जुन म प्रत्येक पटक तरकारी काट्दा प्रयोग गर्थें । चक्कुको टुप्पो जमिनतिर सोझिएको छ । टुप्पोबाट आलै रगत जमिनमा चुहिरहेको छ तप्प …. तप्प ।
सडक सुनसान छ । रात छिप्पिंदो क्रममा छ । सडकको बत्तीको मधुरो उज्यालो छरिएको छ । सडकको छेउछाउमा साना-साना रुखहरू छन् । मन्द बतासमा ती झुमिरहेका छन् अथवा भनौं सुस्तरी हाँगासँगै पात हल्लिरहेका छन् ।
अहँ ! ममा रत्तीभर त्रास छैन । लाग्दछ म शून्यतामा छु । जसमा आफू हुनुको कुनै चेत छैन । कहिले लाग्दछ – म, म होइन । कोही अरू हो । किनभने म जस्तो काँतर कसरी खुङ्खार हत्यारा हुन सक्छ । म सम्झँदै छु – कस्तो बीभत्स तरिकाले एकोहोरो उसको पेटमा निरन्तर चक्कु प्रहार गरिरहेँ । ऊ चिच्याउँदै यसो भनिरहेको थियो, “तिमि को हौ ? मलाई किन मारिरहेका छौ ? म तिमीलाई चिन्दिन पनि ।” ऊ यति बोल्दाबोल्दै डङ्ग्रङ्गै ढलेथ्यो ।
यति नै बेला एउटा बिरालो “म्याउँ” गर्दै मेरो छेउ आयो र सडकमा चुहिएको रगत स्वादिलो मानेर रसपान गर्न लाग्यो । ममा त्यो बोली पनि छैन जसले गर्दा बिरालो भागोस् । खुट्टालाई चलायमान राख्न खोज्दा बिरालो झस्किएर कुलेलम ठोक्यो । बिरालो भागेसँगै मेरो आँखाले बिरालोलाई पच्छ्यायो । पच्छ्याउँदै जाँदा एउटा ठूलो घरमा पुग्यो ।
ठूलो घरको सानो कोठाको सेतो पर्दामा बत्तीको उज्यालो ठोक्किएको थियो । त्यो कोठाको बत्ती घरी बल्ने घरी निभ्ने क्रम चलिरहेको थियो । त्यस बखत एउटा छाया पर्दामा यताउता गरिरहेको देखिन्थ्यो । सायद उसको हातमा किताब छ र ऊ किताबमा घोत्लिइरहेको छ । उसको कद ठ्याक्कै म जत्रै छ । घुङ्रिएको कपाल घरीघरी चलाइरहन्छ मजस्तै । त्यो पर्दामा देखिएको आकृति म नै हुँ लाग्छ ।
म त्यो दृश्य चुपचाप हेरिरहेको छु । ऊ एकैछिन हरायो अनि फेरि देखियो । उसले मुखमा केही चिज लगेझैँ गर्यो अनि मुखबाट धुवाँ उडेझैँ कोठाभरी मडारियो । सायद ऊ चुरोट तान्दैछ ।
म त्यहीँ मन्छे हुँ झैँ लागिरहेछ । किनकि उसको हाउभाउ दुरुस्तै मेरो छ । के म त्यहीँ मान्छे हुँ ?
लाग्छ, कसैले मेरो पिछा गर्दै छ । हो मेरो पिछा गर्दै कोही मेरो नजिकै आइसकेको छ । अब मलाई पछाडिबाट कोट्याउने छ र भन्ने छ “मैले तँलाई भेटें ।” अनि ऊ खुसीले अट्टहास हाँस्नेछ । म यति सोची नसक्दै हठात् पछाडि फर्कन्छु । पछाडि फर्कंदा सोचेझैँ कोही देखिन्न । जोडजोडले धड्किरहेको मुटु ठाउँमा आयो । फेरि आँखा घुमाउँदै त्यहीँ पर्दाभित्र पर्यो जहाँ अघि देखि म जस्तै आकृति किताब पढिरहेको छ । ठिक त्यसको तल सडकमा एउटा बुढो छाया अगाडि बढ्दै थियो । त्यसले ठूलो बोरा बोकेको छ । बोरामा खत्र्याङखुत्रुङ सामान राखेको छ ।
ऊ बिस्तारै आफ्नो पाइला चाल्दै छ । ठिक मेरो समानान्तरबाट अघि बढ्नै लाग्दा उसले बोरा भुइँमा राख्यो । ज्याकेटको गोजी छाम्यो अनि चुरोट निकालेर सल्कायो । निस्सन्देह, निस्फिक्री धुवाँ वातावरणमा मिल्कायो ।
त्यति बेला पो म झसङ्ग भएँ – जब उसको चुरोट तान्ने शैली ठ्याक्कै मेरो जस्तो भयो । हो, त्यो बुढो मान्छे मजस्तै लाग्दै छ । उसको हिंडाइ म जस्तै छ ।
म रन्थनिंदै गइरहेको छु । मेरो वरिपरिका आकृतिमा आफूलाई पाइरहेको छु । ओहो ! यो के भइरहेको छ ? म भित्र कालो बादल मडारिंदैछ । म कुनै अदृश्य अवयवको घेराभित्र थुनिंदैछु । लाग्दै छ म एउटा घनघोर जङ्गलको बीचमा फसेको छु ।
आँखा चिम्म गर्छु । आँखा चिम्म गर्दा रोमन अक्षर “डी” “आर” “पी” यत्रतत्र, छरपस्ट उडिरहेका छन् । अरू अक्षरहरू पनि छन् तर प्रस्ट देखिंदैन । म अझै अचम्मित हुँदै गइरहेको छु । आँखा चिम्म गर्दा किन ती अक्षरहरू नाचिरहेको पाउँछु ? हो म कुनै भयानक चङ्गोलमा फँस्दैछु, जसको कुनै बाहिर निस्कने द्वार छैन । यस्तै यस्तै प्रश्नको उत्तर खोज्न बुढोतिर लम्किन्छु । उसको समीपमा पुगेर कोट्याउन खोज्छु । ऊ झर्केर यसो भन्छ, “मलाई छुन मिल्दैन । अहँ ! मिल्दै मिल्दैन ।”
फेरि प्रश्नहरूले लखेट्न थाल्छन् । उसलाई किन छुन नमिल्ने ? उसलाई छुन खोज्दा किन ऊ त्यसरी रिसायो अथवा डरायो ? के उसलाई छुँदैमा उसको सर्वस्व लुटिने हो ? बिलाउने हो ?
ऊ भुन्भुनिंदै अगाडि बढ्यो । रातको अँध्यारोमा एकैछिनमा ओझेल पर्यो ।
झल्याँस्स मेरो हातको चक्कुको याद आयो । चक्कुमा लागेको रगत जमिसकेछ । बल्ल चाल पाएँ । मजस्तो हाउभाउको बुढो मान्छे मदेखि किन हच्कियो ? किन डरायो ?
तर उसले मतिर एक नजर पनि हेरेको होइन । उसले कसरी थाहा पायो कि मेरो हातमा चक्कु छ भनेर ? ऊ चाल नै नपाई मदेखि डरायो ? ओहो ! कस्तो अचम्म ! होइन होइन उसले चाल पाएकै हो । नत्र किन डराएर, रिसाएर हत्तपत्त भाग्थ्यो ? हत्तपत्त बोरा बोकेर हिंड्थ्यो ?
म फेरि चक्कुलाई आँखा अगाडि ल्याएर हेर्छु । चक्कुमा लत्पतिएर सुकिसकेको रगत हेर्छु । रगतसँगै फेरि त्यो घटना ताजा बन्छ ।
मैले कस्तरी त्यसको पेटमा चक्कु प्रहार गरें । उसले कुनै प्रतिरक्षा गरेन । मानौँ उसैले “मलाई मार” भनेझैं मैले प्रहार गरिरहेँ । अझै सम्झँदै छु । म उसको नजिक पुग्दा ऊ फोनमा बोलिरहेको थियो । मैले उसलाई पछाडिको मोहडाबाट देखेको हो । उसले सुकिलो लुगा लगाएको थियो । ऊ कोट पाइन्टमा चिटिक्क देखिन्थ्यो । जब ऊ र म आम्नेसाम्ने भयौं तब ऊ मुसुक्क मुस्कुराएथ्यो । उसलाई कुनै छनक नै थिएन कि म उसलाई चक्कु प्रहार गरेर बीभत्स तरिकाले मार्नेछु । लाग्दछ ऊ खुशी भएथ्यो जब म उसको छेउ परेँ । तर मैले एक्कासि उसको पेटमा चक्कु प्रहार गरेँ । उसको मुहारमा पिडा, दर्द, आश्चर्य एकै पटक देखियो ।
आफैलाई प्रश्न गर्दै छु – त्यस्तो शालीन, भलाद्मीलाई कस्तरी मारेँ । उसको मुस्कान आँखै अगाडि झलझली नाचिरहेको छ । त्यसको मुस्कान कस्तो निर्दोष थियो । कतै छलकपट देखिन्न ।
म त्यस बखत खुब खुशी भएको थिएँ । किनकि उसलाई सजिलै मार्न सफल भएँ । खुशीले तत्क्षण बुरुक्कै उफ्रिए झैँ भएको थियो । उसको मुस्कान । ओहो ! म झसङ्ग भएँ । हो उसको मुस्कान मेरो छ । यो के भइरहेको छ ? मैले मलाई मारेँ ?
फेरि आँखा चिम्म गर्छु । अहिले झन् रोमन अक्षरहरू बेतोडले दौडिरहेका छन् । ती मध्ये केही यस्ता थिए । “एस” “एल” “जी” ।
ती यस्तरी दौडिरहेका छन् कि मानौँ तिनीहरू म्याराथनका सहभागी हुन् ।
मेरो आँखा फेरि ठूलो घरको सानो कोठामा पर्छ । कोठाको बत्ती अझै बल्ने निभ्ने क्रम चलिरहेको छ । कोठामा पुग्ने फलामको भर्याङ छ जुन सर्पझैँ बटारिएर अझै उँभो तन्किएको छ । भर्याङको फेद सडक छेउमा अडिएको छ ।
कोठाभित्र छाया अझै चलिरहेको छ । अहिले उसको एउटा हातमा किताब छ र अर्को हातमा पनि केही छ । सायद अर्को हातमा गिलास छ । उसले गिलास मुखतर्फ बढायो अनि टाउको मज्जाले झट्कायो । मानौँ ऊ सोमरस पिउँदै छ ।
मलाई पनि सोमरसको तल्तल लाग्दै आयो । र त तानिंदैछु ठूलो घरको त्यहीँ सानो कोठातर्फ । हुन्हुनिंदै म अगाडि बढ्दै छु । अहिले ममा छुट्टै जोश छ । छुट्टै तृष्णा छ । छुट्टै चुम्बकीय बलको प्रभाव छ । हो अहिले ममा एउटा आशक्तिको लोभ छ । जुन आशक्ति आफैमा ठूलो हुँदै होइन तर पनि…. ।
म अहिले फलामको भर्याङ उक्लँदै छु । भर्याङको रेलिङ चिसा छन् हातै ठिहिराउने । म रेलिङ समाउँदै माथि उक्लिंदैछु । जति जति म माथि उक्लिँदै छु त्यति नै भर्याङ अजङको लाग्दै छ । अथवा भनौं म आफूलाई सानो हुँदै गइरहेको महसुस हुँदै छ । कस्तो अचम्म ! सडक बीचमा हुँदा पनि देखेको मैले यो भर्याङ । यस्तो विचित्रको लागेको थिएन त्यति बेला । अब मलाई भर्याङको रेलिङ समाउन पनि हम्मेहम्मे पर्दै छ । खुट्किलो चढ्न पनि गाह्रो हुँदै छ । बाहिरबाट देख्या यो सानो कोठा, मात्र दोस्रो तलामा थियो । तर यो के भइरहेको छ ? निकै माथि आएझैँ लाग्छ आफूलाई । एक नजर तल हेर्छु । चक्कर लागेझैँ हुन्छ । म त धेरै माथि कता हो कता माथि पाउँछु ।
बल्लैले भर्याङ चढें ।
अहिले म त्यहीँ सानो कोठाको ठिक ढोका अगाडि उभिएको छु । तर ढोका अजङको लाग्दै छ । ढोका ढकढकाउँछु । ढोका आफै खुल्यो । ढोका खुल्ने बित्तिकै यस्तो देखियो । एउटा अजङको आकृति किताब पढिरहेको छ । उसको हातमा अझै गिलास छ । किताबको पाना पल्टिन अब धेरै बाँकी देखिन्न । किताबका पानाहरू पनि विशाल लाग्दै छन् ।
जब मेरो आँखा एक कुनामा पर्यो, झसङ्ग भएँ । कौतुहलताले एक्कासि थिच्यो । अचम्मित भएँ । बुढो मान्छे जसलाई केही बेर अघि मात्र भेटेको हुँ । जसको हाउभाउ ठ्याक्कै मेरो थियो । ऊ अहिले कुनामा छ । बुढो मान्छेको आकार सानो-सानो हुँदै गइरहेको छ । म पनि आफूलाई अझ सानो आकारमा परिणत हुँदै गइरहेको महसुस गर्दै छु । किताब पढिरहेको मान्छेको आकार भने बढ्दै गइरहेको छ । मैले देखिरहेको छु । बुढो मान्छे बिस्तारै हावामा उडिरहेको छ । आफू पनि बुढोलाई पच्छ्याउँदै हावामा उड्न थाल्दछु । म आफू हुनुको स्वामित्व गुमाउँदै गइरहेको छु । म बिस्तारै सूक्ष्म रूपमा परिणत हुँदैछु । मेरा अगाडि ठूल्ठूला अक्षर सामुन्ने भएर गुज्रिन्छन् । मेरो अस्तित्व बिस्तारै मेटिंदैछ । म बिस्तारै शून्यतामा बिलाउँदैछु ।
एक्कासि मेरा अगाडि बडेमानको रोमन अक्षर आइपुग्छन् । डी, ए, आर, के, पी, एस, वाइ, सी, एच, ओ, एल, ओ, जी, वाइ, – “डार्क साइकोलोजी” । किताब बन्द हुन्छ । फ्यात्त टेबलमा बजारिन्छ । किताबको कभरमा “डार्क साइकोलोजी बाइ दुत्तोन टेइलर” लेखेको प्रस्ट देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।