कथा ६० को दशकको हो ।
कालेबुङको कञ्चन र नोभेल्टी सिनेमा हल मन्दिर, मस्जिद, गिर्जा र गुम्बाहरूभन्दा महत्त्वपूर्ण थिए हाम्रो जमानामा । आजजस्तो टिभी च्यानल, मोबाइल, सिडी आदि कुनै साधन थिएनन् सिनेमा हेर्नलाई । राम्रा सिनेमाहरू आएको बेला हप्तादिन जस्तो हाउसफुल रहन्थे । सिनेमाका टिकटहरू सबै ब्लयाकमा बिक्री हुन्थे । ब्लयाकरहरूको ठुलै धन्दा थियो आयश्रोतको । पार्टटाइम ब्ल्याकहरू पनि थिए, स्कुलका बदमास विद्यार्थीहरू यस धन्दामा लिप्त हुन्थे । विशेष शनिबार र आइतबारका दिन कुनाका टिकटहरूको दाम दोब्बर हुन्थ्यो, कारण डेटिङमा आएका जोडीहरू कुनामा बस्न रुचाउँथे ।
उसको नाम निम छिरिङ । एस.यु.एम.आई. स्कुलको कक्षा दशमा पढ्छ । कालेबुङ होम्सको रैथाने हो ऊ । उसका बुबा डा.ग्राहम्स होम्समा कुल्लीहरूका सरदार । कुखुरे बैँसले भेटेको छ निम छिरिङलाई । फुर्सदको समयमा घरको ठुलो ऐनाअघि बाल मिलाइरहेको देखिन्छ हरदम । भर्खरै एउटी गर्लफ्रन्ड पनि बनाएको छ, कालेबुङ गल्र्स हाई स्कुल पढ्ने । नक्कले छ निम । चुस पेन्ट, कमिजको कलर ठाडो, भेस्लिङ लगाएर पफ बनाउको कपाल, चुच्चो जुत्ता । आफैँलाई ‘एलविस प्रिसले’ भन्दा कम मान्दैन ऊ । गर्लफ्रेन्ड पनि उत्तिकै बान्की परेकी राम्री छे ।
आज उसको फस्ट डेटिङ छ, कञ्चन हलमा सिनेमा हेर्ने । तर आफूसित भनेजस्तो पैसा छैन, हप्ताभरि स्कुल जाँदा आमाले टिफिन खान भनी दिएको पैसा जम्मा गर्दा पनि मात्र दुई रुपियाँ छ । एउटा टिकटको दाम मात्रै पुग्छ । आमालाई कति दङ्गायो । अँह, आमासित फुटेको कौडी छैन, दिन सकिनन् । आज बिहानदेखि पन्ध्रपल्टसम्म आफैँलाई ऐनामा हेरिसकेको छ निमाले । इस्त्रीको धार बसेको पेन्ट र कमिज, टिलिक्क जुत्ता, भेस्लिङले सेपेको कपाल, तर पैसाको अभावले चिन्तित छ । के गर्ने हो ? कुनै उपाय थिएन ऊसँग पैसा जोहो गर्ने । हठात् दैलोपछाडि लडिरहेको बुबाको पुरानो क्रयाप्सोलको जुत्ता देख्छ । उसका आँखामा चमक बड्छ अनि दिमागको बत्ती बल्छ । जुत्ता लगेर गोठमा गई जुत्ताका दुवैवटा र्क्यापसाेल उप्काउँछ र पोको पार्छ र हिँड्छ त्रिपाई डाँडातिर, हडिया मोचीको दोकानतर्फ । धेरै बेरसम्म तोलमोल गर्दा दुईवटा क्रयापसोलको दाम एक रुपियाँ दिन राजी हुन्छ हडिया । निमालाई चाहिएको पनि त्यति नै थियो । टिकटको दाम तिरेर पनि हाफ टाइममा बदाम र आलुदम ठिक्क पुग्थ्यो ।
मोचीहरूले र्क्यापसाेल सजिलै किन्थे । फाटेको जुत्ताहरू टाल्नलाई काम लाग्दो कुरो । आजजस्तो नाना थरिका जुत्ता टाल्ने क्यामिकलहरू थिएनन्, भए तापनि ज्यादै महँगो । उनीहरूले क्यापसोल अलिकति पेट्रालमा डुबाएर सलुसन बनाउँथे र फाटेका जुत्ताहरू टाल्थे । आजको डेन्ड्राइटभन्दा पक्का हुन्थ्यो र्क्यापसाेल सलुसन ।
दिलिपकुमार अभिनीत ‘दिल दिया दर्द लिया’ कञ्चन सिनेमा हलमा चलिरहेथ्यो । सिनेमा हल भीडभाड रहे तापनि उसैको साथी पार्टटाइम ब्लयाकरले कुनामा एच-वान एच-टु टिकट हातमा थमाइदियो । दुवैजनाले आफ्नो पहिलो डेटिङमा रोमान्चित बन्दै मनोरञ्जन उठाए सिनेमा हेरेर । इन्टर्भलमा एक एक खाची बदाम र हरियो पातमा पोको पारेको कञ्चनको रातो स्वादिष्ट आलुदमको पनि स्वाद मच्च्याए दुवैले । निमालाई थाहा थियो कि कञ्चनको रातो-पिरो आलुदम भनेपछि गर्ल्स हाई स्कुलमा केटीहरू हुरुक्कै हुन्छन् भनेर ।
दुई बजेको मेटिनी-सो समयमै छुट्यो । गरम महिनाको लामो दिन भएकोले दुवैजना हिँड्दै एस.यु.एम.आईको जङ्गलको बाटो होम्सतर्फ लागे । यसरी पहिलोचोटि आफ्नो गर्लफ्रन्डसँग हिँड्न पाउँदा सातौँ आसमानमा थियो निम छिरिङ । ठिक कालेबुङको त्रिपाई डाँडाको बरपीपल फेदमुनि आइपुग्दा उसले देख्यो-हडिया मोची दिनभरिको काम सकेर आफ्नो समान र बक्सा थन्काउँदै रहेछ ।
निमालाई देख्ने बित्तिक्कै हडिया आफ्नो ओछ्याएको बोरा टकटकाउन छोडेर कराउन थाल्यो ।
“ओ भाइ, अघि तुमीले किरिप सोल तिम्रो बाउको राम्रै जुत्ता फटाएर ल्याएछौ । कम्ती झमेला मचाएको होइन तिम्रो बाउले यहाँ आएर, मलाई एक झापड कसेर पुरानो जुत्ताको पाँच रुपे लिएर गयो । अब तुमीलाई छाड्नि, त्यो पैसा मलाई दिनै पर्छ । मेरो के दोष ? किरिप सोल तुमी ल्यायो, मैले किनेँ, थोडै चोरेको हो मैले ।” निमाले आफ्नो गर्लफ्रन्डको छेउमा जति हडियालाई चुप लगाउन खोज्छ, ऊ उति जोड जोडले कराउन थाल्छ ।
साँच्चै, हडियाको देब्रेपट्टि गालामा पाँच औलाको छाप प्रस्ट देखा परिरहेको थियो । निम छिरिङले चिनिहाल्यो, त्यो उसकै बाउका औँलाको छाप भनेर …
निमाले माफ माग्दै बल्लतल्ल बिस्तारै बिस्तारै सप्पै बाँकी तिर्छु भन्दा छुटकारा पायो ।
आफूसित हिँड्दै आएको उसको गर्लफ्रेन्ड वरिपरि खोज्दा कहिल्यै डाँडा काटी सकिछ ।
बल्ल बल्ल पट्याएको गर्लफ्रन्ड बाउको क्रयापसाेलले डाँडा कटाइदियो ।
अब घर कसरी पस्ने ? बाउको रिस आगो छ, जानेकै हो । लात घुस्साको कुराबाहेक अरु बोल्दैनन् । मोचीको गालामा मोटो मोटो औँलाको छाप छर्लङ्ग देलिहाल्यो । उसले मनमनै भन्यो—“हुन पनि मेरै गल्ती हो । त्यो र्क्यापसाेल लुकाएर जुत्ता चाहिँ गोठमै फ्याँकेको थिएँ, बुढाले देख्यो होला । डाँडा कटाउनुपर्थ्यो ! बुढाले सधैँ भन्नेगर्थ्यो डा.ग्राहम्स होम्सको पुरानो हेड मास्टर, मिस्टर मिन्टोले इङ्गल्यान्डबाट ल्याइदिनुभएको पुरानो चिनो हो त्यो क्रयापसाेलको जुत्ता ।”
एकलिस प्रिसले निम छिरिङ घरछेउ बाँसघारीमा पुगेर धेरै घोरियो । फेरि अब घर नगएर कहाँ जाने ? आँटै गरेर घरतिर लाग्यो । झमक्क साँझ परिसकेको थियो । ठिक्क बाउको ढुङ्ग्रो तान्ने बेला !
पाठकवृन्द, त्यसपछि के भयो तपाईंहरू आफैँ विचार्नुहोस् । एलविस प्रिस्लेको जीवनमा घटेको त्यो मार्मिक घटना । म यहाँ कसरी लेखूँ ।
केही दिनपछि निमाको चिट्ठी बोक्ने सानी बहिनीले राम्ररी प्याक गरेको पार्सल उसका हातमा दिई । हतार हतार खोलेर हेर्दा-पुरानो र्क्यापसाेल भएको फाटेको जुत्ता रहेछ । सानो चिट्ठी पनि जुत्तामा सिउरिएको रहेछ- “यो मेरो बुबाको फाटेको जुत्ताबाट सोल उप्काएर हडियाको रिन तिरिदिनुहोला । – अलबिदा, लुसी ।”
शमसेर अलीको कथा सङ्ग्रह “हुटिट्याउँ”बाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।