“बाजे प्रभालाई स्कूल छोडीदेऊ है ।” स्कूलमा भर्ना गरेको भोलीपल्ट गाईवाजेलाई प्रभाको आमाले भनेकी थिइन् ।
गाईबाजेको हात समातेर टुकुन टकुन हिँड्दै प्रभाव पहिलो पटक स्कूल गएकी थिई ।
गाईबाजे कहिलेदेखि त्यहाँ हिँड्दैछ भन्ने उसलाई थाहा थिएन । प्रभाले आँखा देख्ने भएदेखि नै गाईबाजेलाई देख्दै आएकी थिई । गाईबाजे अचम्मकै मान्छे थिए । उनले चप्पल कहिल्यै लगाउन्नथे । टाउकोमा फेटा बाँधेजस्तै गरेर कुनै न कुनै कपडा सधैँ बाँध्थे । जाडो, गर्मी जे भएपनि उनको शरीरमा यौटा लुङ्गी र मैलो टिसर्ट हुन्थ्यो । काँधमा लामी लठ्ठी र लठ्ठीको एक छेउमा कपडाको सानो पोको झुण्डिएको हुन्थ्यो । गाईगोरु, बाच्छा बाच्छी चराउन उनी जङ्गल जान्थे । उनी हिँड्ने बाटो छेउछाउका सबै केटाकेटीहरुले उनलाई ’गाईबाजे’ भन्थे ।
गाईबाजे जङ्गल जाने र घर फर्कने समय सधैँ यौटै हुन्थ्यो । गाईबाजेका गाई देखेपछि सबैलाई हतार हुन्थ्यो । गाईबाजे आईसके, अबेर हुन लाग्यो ’घरधन्दा गर्ने गृहिणी, स्कूले विद्यार्थी र काममा जानेहरु हतारिन्थे । उनीहरुको लागि गाईबाजे र गाईहरु ’घडी’ जस्तै थिए ।
“गाईबाजे आउने बेला भयो, छिटो गर ।“ प्रभाको आमा विहानपख सधैँ प्रभालाई सम्झाउँथिन् । खाना खाईवरी चिटिक्क परेर प्रभा बाटोमा उभिन्थी र गाईबाजे आएपछि उनैसँग प्रभा स्कूल जान्थी ।
“प्रभा नानी ! ऊ त्यो रातेले हान्छ है अगाडि नजानू… प्रभा नानी तँलाई कुन गाई मन पर्छ ?… तँ आज कति चिटिक्क परेकी…” गाईबाजेले यस्तैयस्तै कुरा गर्थे, प्रभाले बुझ्दीनथी ।
“तेरो जिन्दगी कसरी बिल्ला खै ? हिँड्न नभ्याउँदै थाकिहाल्छेस् ” प्रभा हिँड्न नसकेको बेलामा गाईबाजेले भन्थे अनि उनले प्रभालाई आफनो चौडा काँधमा राखेर हिँड्थे । प्रभाले खुट्टा हल्लाउँदै काँधमा बस्थी ।
कहिलेकाहीँ भन्थी, “गाईबाजे ऊ त्यो बाच्छीलाई पनि बोक न । हेर त हिँड्नै सकेन ।”
गाईबाजे हाँस्थे, प्रभाको कुरा सुनेर ।
समय बित्दै गयो । प्रभा विस्तारै ठूली हुँदै गई र गाईबाजे अझ ’पाका’ हुँदै गए । प्रभाले पाँचकक्षा पास पनि गरी । गाईबाजेले गाई चराउन छोडेका थिएनन् र प्रभाले गाईबाजेको साथ छोडेकी थिइन । हो, प्रभाले गाईबाजेको काँधमा चढेर स्कूल जान भने छोडेकी थिई । गाईबाजेका गाई गोरु, बाच्छा बाच्छीले प्रभालाई चिनिसकेका थिए, त्यसैले बाटोमा हिँड्दा तिनीहरुले एकपटक प्रभाको घरतर्फ अवश्य पनि हेर्थे ।
“बाजे तिम्रो घर कहाँ हो ?” स्कूल जाँदा प्रभाले पहिलोपटक गाईबाजेलाई सोधेकी थिई ।
“जहाँ बस्यो त्यहीँ हो मेरो घर ।” गाईबाजेले भनेका थिए ।
गाईबाजेले प्रभालाई निकै माया गर्थे । विहान आउँदा उनका टेक्ने लठ्ठीमा झुण्डिएको पोकामा केही न केही खानेकुरा हुन्थ्यो । स्कूल जाने बेलामा गाईबाजेले केही न केही प्रभाको खल्तीमा हालिदिन्थे । छुट्टीको दिन प्रभासँग भेट नहुने भएकोले उनले घर नजिक गएर चिच्याउने “प्रभा नानी आज त जान्नेस् हैन ?“ आवाज सुनेपछि प्रभा बाटोमा निस्कन्थी । प्रभालाई देखेपछि मात्र गाईबाजे बाटो लाग्थे ।
समयसँगै धेरै कुरा बदलियो । बाजे बुढा र प्रभा फक्दो कोपीला भै देखिन थाली । गाईबाजेका गाईगोरुहरु धेरै फेरिए, धेरै पटक गाईगोरुको सङ्ख्यामा घटबढ भयो । घरहरु थपिए, बाटो पिच बन्यो । तर पनि गाईबाजे र प्रभाको सम्बन्ध उस्तै रह्यो ।
“गाईबाजे तिम्रो घरमा को को नी ?” गाईबाजेसँग हिँड्न थालेको धेरै वर्ष पछि एकदिन प्रभाले सोधी ।
गाईबाजे केही बोलेनन् ।
“भन न गाईबाजे…” प्रभाले अनुरोध गरी । फेरि पनि गाईबाजे केही बोलेनन् । हिँड्दा हिँड्दै टक्क उभिएर उनले टाढा क्षितिजमा हेरिरहे । प्रभाले अड्डी छोडिन । बाजेलाई भन्न करै लाग्यो ।
वर्षौं पहिले गाईबाजेको आफ्नो घरपरिवार रहेछ, छोराछोरी रहेछन् । एकपटक हैजा फैलिँदा उनको स्वास्नी, छोराछोरी सबै बितेछन् । आफन्तको वियोग सहन नसकेर धन सम्पत्ति सबै छोडेर भौँतारिँदै गाईबाजे प्रभाको गाउँ भन्दा केही परको गाउँमा आएका रहेछन् । कुनै जमिन्दारको घर बसेर गाउँलेहरुको गाई चराउने र त्यसबापत गाउँलेहरुले गाईबाजेलाई अलि अलि ज्याला दिँदा रहेछन् । बाजेले आफ्नो बारेमा सबै कुरा प्रभालाई सुनाए ।
“अब त यो संसारमा मेरो आफन्त भन्नु यी गाईबाच्छा बाहेक अरु कोही छैन ।” सबै कुरा भनिसकेपछि गाईबाजेले भने ।
त्यसो भन्दा बाजेको गला अवरुद्ध भएको थियो । बाजेले रोक्न खोज्दा खोज्दै पनि उनको आँखाभित्र आँसु छचल्किएको थियो । बाजेको कुरा सुन्दा प्रभालाई निकै नरमाइलो लाग्यो । गाईबाजेको व्यथित आवाजले प्रभालाई पगाल्यो ।
थाहै नपाई प्रभाको मुखबाट फुस्किहाल्यो “म तिम्रो आफन्त होइन र ?”
प्रभाको कुरा सुनेपछि बाजेको अनुहारमा केही चमक देखियो । उनले निकै माया गरेर प्रभाको टाउको मुसारे । प्रभाले गाईबाजेको हात समातेर हिँड्न छोडेको बर्षौं भएको थियो । त्यसदिन भने उसले बाजेको हात समातेरै स्कूल गई प्रभा दश कक्षामा पुगेपछि भने गाईबाजेसँग स्कूल जाने काम टुट्यो । कहिले टयूशन अनि कहिले कोचीङ्ग पढ्न दौडिरहनु पर्ने भएपछि गाईबाजेसँग भेट पनि त्यति हुन्थेन । गाईबाजेलाई प्रभा व्यस्त हुनुपर्ने कारण थाहा थियो तैपनि उनको बानी छुटेको थिएन । प्रभाको घर अगाडि पुगेपछि ’प्रभा नानी’ भनेर बोलाउन गाईबाजेले कहिल्यै बिर्सिंदैनथे।
प्रभाले एस.एल.सी. पास गरी । अब ऊ निलो फ्रक र सेतो सर्ट लगाएर स्कूल जाने ’केटी’ रहिन । प्रभाको कलेज यात्रा सुरु भयो । कहिलेकाही गाईबाजेसँग भने उसको भेट भैरहन्थ्यो । प्रभाले गाईगोरुको हिसाब बुझ्दिनथी अनि गाईबाजेले प्रभाको किताबको अर्थ बुझदैनथे तैपनि भेट हुँदा दुःख सुखका कुरा हुन्थे । गाईबाजेले प्रभालाई पुरानो कुरा सुनाइरहन्थे- -प्रभा काँधमा बसेको कुरा, गाईबाजेसँग पछि लागेर जङ्गल गएको कुरा, बाच्छीको पुच्छर तान्दा प्रभाले लडेको कुरा, यस्तै यस्तै धेरै कुरा । अनि गाईबाजेले लामो सुस्केरा छोड्दै भन्थे “प्रभा नानी अब त तँ पनि ठूली भैसकिस् पहिले जस्तो कहाँ रह्यो र ?“
साँच्चै नै सबै थोक बदलिई सकेको थियो । प्रभा यौवनको उच्चतम मार्गमा यात्रा गर्दै थिई । ऊ आफ्ना दौतरीहरुसँग बढी रमाइलो गर्न सिकेकी थिई । नजानिँदो किसिमले प्रभाले गाईबाजेलाई भुल्दै गएकी थिई । गाईबाजेसँग उसको भेटघाट पातलिई सकेको थियो । गाईबाजे बुढेसकालको यात्रामा तल्लीन थिए । बुढ्यौलीले गर्दा उनी पहिले झै फूर्तिसाथ हिँड्दैनथे । प्रभाले चिन्ने साना बाच्छाबाच्छीहरु पनि बुढा भैसकेका थिए ।
“ प्रभा नानी ! सन्चै छस् ?“ धेरैपछि एकदिन बाटोमा प्रभासँग भेट हुँदा गाईबाजेले सोधे । प्रभाले पनि सन्चो बिसन्चो सोधी ।
“गाई गोरु त धेरै कम भएछन् ।” कुरै कुरामा प्रभाले भनी । “अचेल सबैजना धनी भए, गाईगोरु पाल्नै छोडे । मालिकले यौटा गाई दिएका थिए, अहिले त्यही गाईका सन्तानहरु मात्र छन् । यिनै गाई गोरुसँग खेल्छु । दिन बिताउँछु ।” गाइबाजेले जबर्जस्ती हाँस्दै भने । गाईबाजेको हाँसो भित्रको व्यथा प्रभाको नजरदेखि लुक्न सकेन ।
“अब त बुढो पनि भयौ, सधैँभरि गाईगोरुको पछि कति दौडिन्छौ ?“ प्रभाले सल्लाह दिई “यी सबै गाई गोरु बेचेर बसे पनि त हुन्छ नी ।” गाईबाजे केही मलिन देखिए ।
“यी गाई गोरु त मेरा सन्तान छोरी छोरी हुन् नि । आफ्ना सन्तान बेचेर म कसरी बाँच्ने ?” गाई बाजेले शुष्क स्वरमा भने । प्रभा केही बोलिन । उसलाई व्यर्थै गाई गोरु बेच्ने कुरा गरिछु जस्तो लाग्यो ।
“बाँचुञ्जेल यिनीहरुसँगै हिँड्छु । म मरे भने यिनीहरुले दुःख पाउने त होलान नि ?” गाई बाजेले फेरि भने ।
उनको कुरा सुन्दा प्रभालाई नरमाइलो लाग्यो ।
===
एकदिन गाईबाजे आउँदा प्रभाको आमा उनैलाई कुरेर बाटोमा उभिएकी थिइन ।
“प्रभा नानी कता छे अचेल ?“ सधैझैं गाईबाजेले सोधे ।
“हिजो प्रभाको बिहेको कुरा छिन्यौंँ । सोमवार विहे हो । विहेको जग्गेमा हरियो पातका टपरी चाहिन्छ । म जङ्गल जान भ्याउन्न, अलिकता सालको पात टिपेर ल्याइदेऊ न है ।” प्रभाको आमाले भनिन् ।
“ए ! प्रभा नानीको विहे हुने भो ?” गाईबाजेको अनुहारमा एक्कासि अनौठो भाव झल्कियो ।
“हिजै जस्तो लाग्छ मेरो हात समातेर हिँडेको ।” गाईबाजेले सुस्तरी भने ।
“बाजे पनि बुढो भयो नि ।” प्रभाको आमाले हाँस्दै भनिन् ।
आफ्नो अतीत र वर्तमान सम्झेर बाजे पनि मुसुक्क हाँसे । साँझपख घर फर्किंदा बाजेको लठ्ठीमा सानो पोको होइन पातको भारी नै झुण्डिएको थियो । त्यसदिन उनले प्रभाको घरै गएर प्रभालाई भेटे । गाईबाजे मेरो विहेमा जसरी पनि आऊ है ।”
प्रभाले आफ्नो विहेको निम्तो दिँदै भनी ।
गाईबाजे केही बोलेनन् । उनले एकपटक आफैलाई हेरे- मैलो शरीर, थोत्रे पहिरन, जीर्ण शरीर ।’ यस्तो मान्छे पनि विहेमा आउन मिल्छ र भनेर उनले आफैलाई मनमनै प्रश्न गरे ।
“बाजे आऊ है । तिमी आएनौ भने म कहिल्यै पनि तिमीसँग बोल्दिनँ ।” प्रभाले घुर्की देखाई ।
बाजेको आँखा वरिपरि फेरि पुराना दृश्यहरु पनि घुमे । सानी छँदा प्रभा धेरै पटक गाईबाजेसँग रिसाएकी थिई । रिसाउँदा ऊ गाईबाजेसँग पटक्कै बोल्दिनथी । गाईबाजे सँगसँगै हिँडे पनि उसको मुखबाट बोली निस्कँदैनथ्यो । आखिरमा बाध्य भएर गाईबाजेले नै प्रभालाई फकाउनु पर्थ्याे । गाईबाजेले उही पुराना घटना सम्झिए ।
प्रभाको टाउकोमा हात राख्दै गाईबाजेले सुस्तरी भने, “तँ अझैपनि उस्तै छेस् प्रभा नानी ।”
विहेमा आउने बचन दिएर गाईबाजे गए ।
प्रभाको घरमा जोडतोडसँग विहेको तयारी चल्न थाल्यो । विहेमा चाहिने टपरी दुना बनाउन बाजेले दुई दिनसम्म पात ल्याइदिए ।
तेस्रो दिन गाईबाजे देखिएनन् ।
बीसौं वर्षदेखि समय सूचक बन्दै आएका गाईबाजेलाई र उनका गाईलाई नदेख्दा सबैजनाले अचम्म माने ।
“आजसम्म गाईबाजे नआएको कुनै दिन नै थिएन । कतै गाईबाजे मर्न त मरेनन् ?” सबैले यस्तै शङ्का गरे । प्रभाको घरमा पनि गाईबाजेको बारेमा चर्चा चल्यो ।
प्रभाको मनमा अज्ञात भय उब्जियो । उसले मनमनै प्रार्थना गरी “गाईबाजेलाई केही नहोस् ।” भोलिपल्ट पनि गाईबाजे र उनका गाई देखिएनन् । प्रभालाई निकै नरमाइलो लाग्यो । गाईबाजेको बारेमा केही थाहा पाइन्छ कि भनेर दिउँसोपख ऊ सुटुक्क चोकसम्म पुगी ।
“मैले बसबाट देखेको, गाईबाजे हिँड्दै कतै जाँदै थिए ।” कसैले खबर ल्याई पुर्यायो ।
खबर प्रभाले पनि सुनी । गाईबाजे सकुशलै भएको खबर थाहा पाएर ऊ खुसी भई । यौटा प्रश्न भने उसको मनमा उब्ज्यो “ गाईबाजे कता गए होलान ?”
विवाहको दिन-
प्रभाको घरमा मानिसहरुको चहलपहल निकै थियो । झिलीमिली टेन्ट र रङ्गीन बत्तीहरुले प्रभाको घर दुलही झैं बनेको थियो । दुलही बनेकी प्रभा आफ्नो कोठामा सिङ्गारिएर बसेकी थिई । उसले झ्यालबाट बारम्बार हेरिरहन्थी-को आयो ? को आएन भनेर ।
जन्ती आइपुगेका थिएनन् । बाहिर निम्तालुहरुको भीड थियो । कोठामा प्रभा र उसका केही साथीहरु थिए । त्यही बेलामा बाहिरबाट कसैले ढोका ढकढकायो । प्रभाकी साथीले ढोका खोली, “हेर त प्रभा को आएको छ ?” ढोकामा उभिएकी प्रभाको आमाले भनिन् ।
प्रभाले देखी – उसकै गाईबाजे उभिएका थिए । उस्तै लुगी उस्तै टिसर्ट, टाउकोमा फेटा, हातमा लठ्ठी अनि लठ्ठीमा सानो पोको ।
“बाजे भित्रै आउन ।” प्रभाले आग्रह गरी । भित्र जान सङ्कोच मानेर गाईबाजे ढोकामा उभिइरहे ।
प्रभाले आफै उठेर गाईबाजेलाई डोर्याएर कोठामा ल्याई । गाईबाजेलाई देखेर प्रभाका साथीहरु हाँसे । प्रभाले सङ्केत गरेर चुप लाग्न लगाई ।
छि कस्तो गोबर गोबर गन्हायो ! भन्दै- प्रभाका सबै साथी बाहिर निस्के । कोठामा प्रभा र गाईबाजे मात्र बाँकी रहे ।
“बाजे सोफामा बस न ।“ प्रभाले भनी तर बाजे भुँइमा कार्पेटमा बसे । प्रभा पनि सँगै बसी ।
“हिजो अस्ती कहाँ गएका थियौ र ?” प्रभाले सोधी । बाजेले कुनै जवाफ दिएनन् ।
गाईबाजेले लठ्ठीको टुप्पामा बाँधिएको पोको फुकाए । प्रभाले देखि त्यहाँ दुईवटा सुनका बाला थिए ।
“अब त टाढा हुनेभइस् । मैले नदेखे पनि यिनीहरुले त तँलाई देख्लान् नि । यो मेरो चिनोलाई आफूसँगै राख है ।” गाईबाजेले सुनका बाला प्रभाको हातमा राखिदिँदै भने ।
“बाजे, यो बाला… ? ” प्रभा अचम्म परी-बाजेले सुनको बाला कहाँबाट ल्याए भनेर । तैपनि उसले सोध्ने हिम्मत गरिन ।
“मैले गाई बेचिदिएँ ।” बाजेको स्वर ओसिलो बन्दै थियो ।
गाईबाजेले आफ्नो सन्तान जस्तै ठान्ने गाई गोरु बेचेको कुरा सुन्दा उसलाई विश्वास नै लागेन ।
“म अब बुढो भएँ, धेरै हिँड्न सक्दिन । कुन दिन मर्छु थाहा छैन, त्यसैले मैले गाई गोरु सबै बेचिदिएँ ।” बाजेले रोकिई रोकिई प्रभालाई सुनाए ।
बाजेले जे भनेपनि प्रभालाई सुनको बाला किनिदिनको लागि बाजेले आफ्ना सन्तानजस्तै गरेर पालेका गाईगोरु बेचेका थिए । यो कुरा अनुमान गर्न प्रभालाई गाह्राे भएन ।
“मलाई केही चाहिएकै थिएन । तिमीले गाई गोरु नबेचेको भए पनि त हुन्थ्यो नी ।” गाईबाजेको नजिकै उभिएर प्रभाले भनी ।
“अब त म एक्लै हुने भएँ प्रभा नानी ।” निकै व्यथित स्वर थियो गाईबाजेको ।
गाईबाजेको लागि उनका गाईगोरु कति महत्त्वपूर्ण थिए भन्ने कुरा प्रभालाई राम्ररी थाहा थियो । गाईबाजेलाई एक्लै हुन नदिनको लागि उनका गाई गोरु किनेर फिर्ता ल्याउने योजना प्रभाले मनमनै बनाई ।
प्रभाले सोधी, “सबै गाई गोरु कसले किन्यो त ?“
गाईबाजे केही बोलेनन् ।
“भन न गाईबाजे ” प्रभाले आग्रह गरी ।
“अचेल त्यस्ता गाई गोरु कसले पो किन्छ र ? इन्डियातिरको मुसलमान कसाही रहेछ, उसैलाई बेचिदिए ।” गाईबाजेले बल्लतल्ल वाक्य पूरा गरे । प्रभालाई मुटुमा तातो भिरले छेडे जस्तो महसुस भयो । आफ्ना बाल्यकालका साथी बनेका अनि गाईबाजेका सन्तान जस्ता गाईगोरु कसाहीको हातमा पुगेको कुरा सुन्दा प्रभा स्तब्ध भई ।
’बाजे.. ’प्रभाले वाक्य पूरा गर्न सकिन । उसले गाईबाजेको हात समाती । गाईबाजे ऊतर्फ फर्किए । गाईबाजेका आँखाबाट आँसुका भेल बगिरहेका थिए । रोक्न खोज्दा खोज्दै पनि उनी सुँक्क सुँक्क गर्दै रोइरहेका थिए । त्यो कारुणिक क्षणमा प्रभाले पनि आफूलाई सम्हाल्न सकिन । उसका आँखा पनि रसाउँदै गए। आँसु भरिएका आँखाले उसले हातको सुनको बाला हेरिरही अनि आफ्ना बाल्यकाल सम्झिरही । कुन बेला गाईबाजे बाहिर निस्के, प्रभाले थाहै पाइन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।