
नरेन्द्रमान असी काटिसके पनि हिजोसम्म तन्नेरीहरू जति उफ्रिउफ्री काम गर्थे । आज बिहान आफ्नै घरको करेसाबारीमा झिनामसिना काम गर्दै थिए । एकाएक असिनपसिन भएर त्यहीँ ढले । उनलाई कर्डियक अरेस्ट भएको थियो । धन्न, ठूली दुलही, सुमित्रा आफैँ नर्स भएर सिपिआर गर्न जानेकी थिई । ठीक समयमा डाक्टर र उपकरणसहितको एम्बुलेन्स पनि आइपुग्यो । झण्डै पन्ध्र दिनसम्म उनलाई अस्पतालमा राखियो । बल्ल, घर फर्किने अनुमति पाएका छन् । डाक्टर भन्छन्, “उनको मुटुको कार्यक्षमता आधी भएको छ ।”
आफ्नो जीवनमा सुगर र प्रेसरबाहेक केही नभोगेको मान्छेलाई दिनको थप आधा दर्जन औषधी खानु पर्ने बाध्यता आइलाग्यो । विभिन्न समाजिक बैठकहरूमा दिनभरि व्यस्त रहने मान्छेलाई घरबाहिर गोडा टेक्न बन्देज लाग्यो । प्रत्येक साँझ उनी टोलकै एक चिया पसलमा चिया खाँदै समकक्षी बुढाहरूसित बात मार्ने गर्थे । त्यो थातथलो पनि खोसियो । आफ्नो करेसाबारीमा बिहानको दुई घन्टा समय बिताउँथे, त्यति गर्न पनि अनुमति पाएनन् । उनको अवस्था नजरबन्दीजस्तो भएको छ । बिचरा छोराबुहारीहरूले पनि के गरून् ? डाक्टरको आदेश नै त्यस्तो छ, “समस्या अलि कडा नै छ । ध्यान दिनु भएन भने केही पनि हुन सक्छ ।”
छोरो सहकुल खानेपानीमा प्रबन्धक छ भने बुहारी सुमित्रा सञ्जवनी अस्पतालमा कार्यरत छे । उनीहरू केही दिनसम्म नरेन्द्रमानको सेवामा अहोरात्र लागिरहे । तर कति दिनसम्म काम नगरेर बस्थे, ‘भुखे पेट होवे ना गोपाला’, काममा जान थाले । तथापि दिनमा तीन चारपटक भिडियो कलमार्फत् हालखबर लिइराख्छन् । साथै उनको सेवामा एक जना सुसारे राखिछोडेका छन् । नरेन्द्रमानकी श्रीमती, नन्दिनीको ज्यान आफैँ रोगिलो छ, घुँडाहरू काम गर्न छाडेका छन् । “यो नखाइसियोस्, त्यो मात्र खाइसियोस् । यता चिसोमा नबसियोस् । गोडामा चप्पल खोई ?” निकै कडा निगरानी छ श्रीमतीको पनि ।
बाथरूम जानलाई उठ्न खोज्दा सुसारे उफ्रिँदै आइपुग्छ, हात समाउन खोज्छ । बाथरूमको ढोकैमा गएर उभिदिन्छ । आधा घन्टा बित्न पाएको हुँदैन, रङ्गरूप, स्वाद क्यै नभएको खानेकुरो आइपुग्छ । अनि नाई भन्न नमिल्ने । नाकमुख खुम्च्याएर खानै पर्ने । बिहान–बेलुका ब्लडप्रेसर, पल्सरेट, अक्सिजन लेबल र तामक्रम जाँच्ने मान्छे पनि आइराख्छ । नरेन्द्रमानको सबैभन्दा जेठो नाति, अभिमन्यु बैङ्लोरमा मास्टर्स गर्दै छ । हजुरबा सिकिस्त छन् भनेर थाहा भएपछि ऊ कुद्दै आयो, एक साता बसेर फर्कियो । उसलाई पनि आफ्नो परीक्षाको तैयारी गर्नु पर्ने । दुई जना नातिनातिना अझै छन्, उनीहरू दिनभरि स्कुलकलेजमै हुन्छन् । दिउँसोको बेला उनको छेउमा बसेर गफिनेहरूमध्ये श्रीमतीबाहेक कोही हुँदैन । एकछिनको गफपछि श्रीमती पनि अघाउँछिन् ।
साँझ एकएक गरी सबै जना फर्किन्छ । हालखबर सोध्छन्, समयमै औषधी र खानेकुरो लिनुभयो कि भनेर थाहा गर्छन् । एकछिनपश्चात् सबै जना आफ्नो दुनियामा पुनः हराउँछन् । कोही टिभीमा व्यस्त हुन्छ, कोही कुनै मित्रको जन्मदिन अथवा वैवाहिक वर्षगाँठको पार्टीमा हिँड्छ । कोही आफ्नो कोठामा पल्टिएर साथीहरूका साथ गफिन थाल्छ । नातिनी, कृतिका कहिलेकाहीँ आफ्ना हजुरबाका साथ अलि रमाइलो गर्न खोजी भने उफ्रिँदै उसका अभिभावकहरूमध्ये कोही न कोही आइपुग्छ, “हजुरबालाई किन हैरान पारेकी ? उहाँलाई सञ्चो छैन । अस्ति नै सम्झाएको होइन ।” तानेर अन्यत्र लान्छ ।
नातागोताका मान्छे भेट्न आउँदा आँखाभरि दया र सहानुभूतिका भाव बोकेर आउँछन् । सबैको अनुहारमा बाह्र बजेको हुन्छ, मानौँ मर्न आँटेको मान्छेलाई भेट्न आएका होउन् । सबै जना एउटै पाराका प्रवचन दिन्छन्, “अब धेरै दायाँ बायाँ दिमाग नलगाउनोस्, शरीर र मनलाई प्रयाप्त आराम दिनोस् । ईश्वरको स्मृतिमा समय बिताउनोस् ।” कतिपय आगन्तुक त सरोकारवाला डाक्टरभन्दा पनि दुई पाइलाअगाडि सरेर फ्री अफ कस्ट ज्ञान बाँड्छन्, “फलानो प्राणायाम गर्नोस्, गज्जब फाइदा हुन्छ । ढिकाना सामग्री हालेको सुप पिउनोस्, सबै समस्याको समाधान हुनेछ । फलानो महात्माको शरणमा जानोस्, कल्याण हुन्छ ।” कोहीकोही त मन्त्र र जापको जुक्ति पनि सम्झाउँछन्, “यो मन्त्रको उच्चारण एक सय आठपटक नियमित रूपमा गर्नोस्, सारा समस्या बेपत्ता हुनेछन् ।” नरेन्द्रमान ट्वा परेर सबैको कन्थो सुनिराख्छन् ।
अरूको अर्तिउपदेश सुन्दासुन्दै उनी वाकवाक भएका छन् । कोही भेट्न आयो कि मुख ठुस्स पार्दै टिभीको रिमोट थिच्न थाल्छन् । कार्यक्रम रोचक होस् अथवा नहोस्, भोल्युम जानाजानी बढाउँछन् । आगन्तुक साह्रै ढिट परे भने उनी आँखा बन्द गरेर त्यहीँ पल्टिन्छन्, “टाउको दुख्यो रे ।” साह्रै उराठ लागेर आयो भने युट्युबमा पचास दशक पुराना हिन्दी सिनेमा खोजेर हेर्न थाल्छन् । त्यो पनि कतिबेरसम्म ? घरि अखबार अथवा किताबमा मन भुलाउने प्रयास गर्छन् । घरि बार्दली गएर बसिदिन्छन् । बाहिरका दृश्य टुलुटुलु हेरिराख्छन् ।
बिस्तारै नरेन्द्रमान झनैझनै दुर्बल हुँदै गए, शारीरिक र मानसिक दुबै मामिलामा । कसैले अलि जबरजस्ती गर्न खोज्यो कि आँखाबाट बर्रर्… आँसु झर्न थाल्छ । भोख छैन भनेर खाना पनि जुठो छोड्न थालेका छन् । दाढी खौरिन पनि अल्छी मान्न थालेका छन् । औपचारिक पहिरन प्रयोगमा नलिएको महिना नै बितेछ । घरका मान्छेले केही भन्यो कि रून्चे मुख बनाउँदै एउटै कुरो दोहर्याउँछन्, “अब धेरै दिन बाँच्दिनँ जस्तो छ ।” घरि पेट दुखेर आउँछ, घरि छाती र घरि टाउको दुखेर आउँछ । डाक्टरहरू पनि हैरान थिए । पैथोलोजिकल रिपोर्टसमेत कुनै समस्या देखिएन । उनीहरूको दृष्टिमा यस्ता लक्षण उनको नकारात्मक मनोविज्ञानको कारण उब्जिँदै छन् । छोराबुहारीको चिन्ता थपिँदै गयो । के गर्दा ठीक हुन्छ भनेर बुद्धि जुरेको थिएन ।
केही दिनपछि आफ्नो वार्षिक परीक्षा सक्याएर नरेन्द्रमानको जेठो नाति, अभिमन्यु पनि घर आइपुग्यो । एक दुई महिना नै बस्ने गरी । उसले आफ्ना हजुरबाको दैनिकी, उनको व्यवहार र उनका साथ हुने व्यवहारको अनुगमन बडो सूक्ष्म तरिकाले गर्यो । र, एक रात उसका हजुरबा र हजुरआमा सुत्न गइसकेपछि उसले हटात् बम फोड्यो, “तपाईँहरू सबै जना मिलेर हजुबालाई मन्द विष दिइराख्नु भएछ ।” अभिमन्युले यस्तो आरोप लगाएपछि घरमा साढे सात रेक्टर स्केलको भुइँचालो नजाने कुरै भएन । “त्यसो भए, तिमी नै भन, के गर्दा ठीक हुन्छ ? तिमी त महान ज्ञानीध्यानी मान्छे पर्यौ । हामीहरू पर्यौँ अनपढ र अज्ञानी ।” सबैजना चर्किए ।
क्षमा माग्दै उसले आफ्नो आरोपलाई सच्यायो, “मेरो भनाईको अन्यथा अर्थ नलागोस् । उनी शारीरिक रूपमा असक्त भएका छन् । यो अवस्था त हरेक मान्छेको जीवनमा आउँछ नै । तर तपाईँहरू जानअनजानमा उनलाई मानसिक रूपमा समेत बिरामी बनाउँदै हुनुहुन्छ । चिन्ताफिक्री जाहेर गर्दागर्दै उनको स्वाभिमानमा चोट पुर्याउनु भयो । हिजोसम्म उनी स्वनिर्भर मात्र होइन, आफ्नो घरको असल मुखिया थिए । अब उनी परनिर्भर भएका छन् । निर्देशन लिनेहरू निर्देशन दिन थालेका छन् । इट्स नट फेयर ।”
“तिमीलाई थाहा छ, अलि तलमाथि भयो कि उनको ज्यानलाई खतरा हुन सक्छ ।” उसको बुवा नहकुलले चिन्ता जाहेर गर्यो ।
“हजुरहरूको चिन्ता आफ्नो ठाँउमा एकदम जायज छ । तर उनको मनोविज्ञान पनि बुझ्नु पर्यो नि । हजुरबालाई फगत जीवन मात्र होइन, जीवन्तता पनि चाहियो । उनको आफ्नै आवास कारावासजस्तै भएछ ।”
अभिमन्युको तर्कमा दम थियो । सबै जना मौन भए । जोसिँदै उसले सुझायो, “उहाँलाई थोरबहुत भए पनि आसपासका ठाउँहरूमा आवतजावत गर्ने छुट दिनुपर्यो । उहाँलाई धेरै अर्तिउपदेश दिने काम बन्द गरौं । त्यो उहाँसँग प्रयाप्त छ, अब उहाँलाई मन भुलाउने अवसर दिने काम गरौं । अब उहाँका अगाडि उभिएर हामीले सहानुभूति अथवा दया–करूणा प्रकट गरिराख्ने होइन । उहाँका साथ केही बेर बस्ने गरौं, उहाँका साथ हस्यौलीठट्यौली गरौं । आज पनि उहाँ आफ्नो परिवारको लागि उतिकै महत्त्वपूर्ण हुनुहुन्छ, जति हिजोअस्ति हुनुहुन्थ्यो, त्यो सन्देश दिने काम गरौं । कोही पनि वृद्ध अथवा वृद्धा बाँच्न त चाहन्छन्, तर लक्ष्यविहीन भएर होइन । उहाँलाई पनि एक लक्ष्य दिनुपर्यो । नभए कुनै सामाजिक काममै अल्झाइ दिनुपर्यो ।”
“तर अलि लापरवाही भयो भने उहाँको ज्यान पनि जान सक्छ ।” सबैले मसिनो स्वरमा चिन्ता पुनः दोहर्याए ।
“उहाँलाई अहिले नै जिउँदो लासमा परिणत गर्नुभन्दा अलिअलि जोखिम मोलेकै श्रेयस्कर हुनेछ । बरू सक्दो सावधानी पनि राखौं । निगरानी राखौं, तर उहाँलाई सहज हुने गरी । कुनै पनि निर्णय उहाँउपर जबरजस्ती न थुपारौं, बरू विश्वासमा लिने काम गरौं ।” अभिमन्युको सुझावबाट सबै जना सहमत थिए । नरेन्द्रमानको लागि फरक खाले दैनिकी बनाउनमा उनीहरू व्यस्त भए ।
अर्को दिनदेखि नरेन्द्रमानको बिहानीको समय करेसाबारीमा बित्न थाल्यो, साँझको चिया पसलमा । तर एक निश्चित समयका लागि । आवश्यक औषधीपानीका साथ सुसारे उनको वरिपरि नै रहन्थ्यो । छोराबुहारीहरू कामबाट फर्किएपछि नरेन्द्रमानकै साथ बसेर उनका साथ कम्तीमा एक घन्टा कैरेम खेल्न थाले ।
“बुवा ! मेरो अफिसमा फलानो समस्या आइलाग्या छ, हजुरको सुझाव चाहियो । बुवा मलाई ढिकानो धर्मशङ्कट आइपर्या छ, हजुरको मार्गदर्शन चाहियो ।” यस्तैयस्तै बहाना झिक्दै छोराबुहारीहरू नरेन्द्रमानसित सुझावहरू माग्न थाले । प्रत्येक शनिवार दिउँसो, नरेन्द्रमानका समकक्षी मित्रहरूको जमघट उनको घरमै हुन थाल्यो । छोराबुहारीहरू छुट्टीको दिन पारेर मन्दिरतिर जान लाग्दा बाआमालाई समेत सँगै लैजान जान थाले ।
“बुवा, हजुरको हातबाट बनेको चियामा क्या दामी हुन्छ, त्यही पिउने मन भयो आज त । बुवा, हजुरको करेसाबारीमा उब्जिएको गोलभेडाको स्वाद त साह्रो राम्रो रहेछ नि ।” यस्तैयस्तै कुराहरू बुहारीहरूले झिक्न थालेकी छन् । नातिनातिनीहरू पनि नरेन्द्रमानसँगै बसेर ल्यापटपमा भिडियो गेम खेल्न थालेका छन् । बिस्तारै नरेन्द्रमान पनि तङ्ग्रिदै गए । उनलाई आफ्नो पुरानो रवाफमा फर्किन एक महिना पनि लागेन । आफ्नै टोलमा अवस्थित एक सामुदायिक स्कुलको व्यवस्थापनमा समेत समय दिन थालेका छन् । छिमेकबाट केही बच्चाहरू ट्युसन पढ्न उनको घरमै आउन थालेका छन् । उनका लेखहरू समाचारपत्रहरूमा प्रकाशित हुन थालेका छन् । नरेन्द्रमान टोलछिमेकका वृद्धवृद्धाहरूका लागि एक आदर्श भएका छन् ।
अचेल नहकुल आफ्ना समकक्षी साथीहरूलाई सुझाव दिँदै हिँड्छ, “हेर बाबु, सबैले आफ्ना आफ्ना अभिभावकको लामो उमेरको कामना गर्छन् । तर हेक्का राख्नु, उमेर र आयु, दुबै फरक कुरा हुन् । उमेरजति सुकै लामो भए पनि जीवन्तता छैन भने त्यस्तो लामो उमेरको काम नै छैन । हामीहरू आफ्ना अभिभावकको लामो उमेरको लागि होइन, गहिरो आयुको लागि कामना गर्नुपर्छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

