केही दिनअगाडि डा. ध्रुवचन्द्र गौतम बीरगञ्ज उद्योग वाणिज्य संघको एक कार्यक्रममा प्रमुख अतिथि भएर बीरगञ्ज आउनु भएका थिए । सो कार्यक्रममा उनलाई साहित्य रत्नको रूपमा सम्मानित गर्ने पुर्वनिर्धारित योजना थियो । बीरगञ्जमा गोडा टेक्न पाएका थिएनन्, उनीभित्र नोस्टेलिजियाका तरङ्गहरू तन्द्रिन थालिसकेका थिए । उनले बीरगञ्जका पुराना स्थानहरू घुम्ने इच्छा जाहेर गर्दा नाइनास्ती गर्ने कुरै भएन । सर्वप्रथम हामीहरू गहवा माई मन्दिरको लागि हिँड्यौ । माईस्थान चौकमा पुगेर गाडीबाट ओर्लिँदा उनी गिरधारीको मिठाई पसल र बालसखा नागेन्द्र सर्राफलाई सम्झे ।

“हाम्रो जमानामा यता यस्ता पसलहरू थिए, उता उस्ता पसलहरू थिए । उसको मिठाई गजबको थियो । बाटो पनि साङ्घुराे थियो । मन्दिरवरिपरि तरकारी फलफुलको ठूलो बजार लाग्थ्यो ।” उनी आफ्नो स्मृतिको पोकोबाट पुरानापुराना कुरा झिक्न थाले । मन्दिरको मूल ढोकामा पुगेर भव्य संरचनातिर नियाल्दै उनले भने, “हाम्रो जमानामा यी सबै क्यै थिएन । प्राङ्गणमा त स्कुल चल्थ्यो ।”

मन्दिर वरिपरिका गल्लीहरूमा डुल्यौँ । मिनाबजार जाने गल्लीमा तरकारी तथा फलफुल किन्नेबेच्नेहरूको भिडलाई नियाल्यौँ, मन्दिरको ठिक्क पछाडि रहेको ५० वर्ष पुरानो पराठा पसलमा एकएक पराठा खायौँ । बिस रुपैँयाको एक । पराठा पसलका साहुसाहुनीसित एक छिन गफ गर्यौं । पुराना कुराहरू झिक्यौ, “त्यही ठाँउमा कुनै बेला नेपाल राष्ट्र बैंकको कार्यालय पनि हुने गर्थ्याे । अगाडिपट्टि एउटा इनार पनि थियो ।”

पराठा पसलबाहिर आइसकेपछि पनि हामीहरू पुराना कुराहरूबारे चर्चा गरिरह्यौ । जे होस्, हामीहरू मोटामोटी गहवा मन्दिरको बाहिरबाहिर एक फन्को लगाइसकेका थियौँ । अस्सी काटिसकेर पनि उनको हिँडाइमा कुनै समस्या नदेखेर मलाई डाहा भयो ।

“काका ! तपैँ अझै पनि तन्दरुस्त हुनुहुन्छ । तपैँको उमेरमा पुग्दासम्म पुग्दा कुन्नि हाम्रो के हुने हो । बाँच्ने पनि हो कि होइन ।” मेरो मुखबाट फुत्किहाल्यो ।

केही भनेनन् उनले, मुसुक्क हाँसेर मात्र काम चलाए ।

सूर्यदेवको तेज अलि कडा नै भइसकेको थियो, हामीहरू पुनः गाडीमा शरणागत भयौँ । उनलाई भन्सारनिर भएका केडिया र हजारीमलका दुई पुराना बगैँचा घुम्ने मन भयो । हामी उतैतिर हुइकियौं ।

महावीर रोडमा अवस्थित हिमालयन बैंकसम्म पुग्दा मैले नै कुरो झिकेँ, “काका ! तपैँलाई याद छ ? यहाँ शाह कटरा भनेर दुई तल्ले लामो भवन थियो ।”

“हो नि, किन याद नहुनु ? मेरो मिल्ने साथी परशुराम सरावगीको पसल, दिनानाथ परशुराम त्यही शाह कटरामा त थियो ।” उनले मुस्काउँदै फर्काए ।

“काका ! तपैँका मिल्ने साथी र शाह कटरा, दुबै स्मृति शेष भएका छन् । तर शाह कटरा भएको स्थान यही हो ।” मैले हिमालयन बैंकसँगैका भवनहरूतिर इङ्गित गर्दै अवगत गराएँ । अगाडि बढ्दै जाँदा अनमोल स्वीट्सको बगलमा शाह कटरा हुँदाको पुरानो भवनको सानो टुक्रा अझै पनि भत्किएको थिएन ।

“यो हेर्नोस्, काका ! शाह कटराको सानो चिनो अझै मेटिएको छैन ।”

“खै–खै” भन्दै उनका उत्सुक्त आँखा मैले इङ्गित गरेको स्थानतिर फर्किए ।

===

बाटोमा आर्का साहित्यकार दिनेश गुप्ता पनि हाम्रो घुमघाममा सामेल भए । बाटोमा बीरगञ्जको रेल, घन्टाघर बन्नुभन्दा अगाडि त्यहाँ भएको बगैँचा र बीरगञ्ज रेल्वे स्टेशनको अगाडि भएको होटल हिमालयन बारे चर्चा चुलियो । त्यही गफमा हामीहरू एक छिन रमायौँ । हामीहरू छपकैयामा अवस्थित केडिया परिवारको बगैँचा तथा भंसारनिर भएको हजारीमलको बगैँचा, पालोपालो गरी दुबै बगैँचासम्म पुग्यौँ । दुबै बगैँचा बीरगञ्जको इतिहाससित जोडिएका बगैँचा हुन् ।

“बाल्यकालमा केडियाहरूको सुन्दरमल रामकुमार बगैँचा त हाम्रो क्रिडास्थली नै थियो,” उनले रोमाञ्चित स्वरमा अवगत गराए । तथापि उनका आँखाले खोजेका बगैँचासित भेट भएन । भेट पनि कसरी हुनु ? उनले खोजेको सात दसक पुरानो बगैँचा र त्यहाँ उधम मचाउने ठिटाहरू त अतीतको गर्भमा उहिले नै समाइसकेका थिए । त्यहाँ त झिनो स्मृतिबाहेक क्यै थिएन ।

फर्किने बेलामा हामीहरू इनरूवा गाउँ हुँदै बाईपासको बाटोमा आयौँ । उनलाई माईदिया पोखरी र नगवा पोखरी घुम्ने मन थियो । सर्वप्रथम हामीहरू माईदिया पोखरी पुग्यौँ, त्यहाँको दुर्दशा हेरेर उनले नमीठो माने, तर क्यै भनेनन् । नगवा पोखरीको पनि उस्तै हविगत हेरे ।

बल्ल मुख खोले, “ओहो, दुबै पोखरीलाई कस्तो फोहरी बनाइ दिया छ । हाम्रो पालोमा त कस्तो सफा थियो, हामीहरू नुहाउन आउँथ्यौ ।”

अनि प्रसङ्ग सुरू भयो बीरगञ्जका पोखरीहरूको । छपकैयाको पोखरी, माइरामको पोखरी, शाहकटरा पछाडिको पोखरी, लाठ गल्लीभित्र रहेको पोखरी…आदि इत्यादि । यी पोखरीहरूको अवलोकन चर्चामा मात्र सीमित रह्यो । क्यार्नु ! अलप भइसकेकाहरूलाई सम्झिन मात्र सकिँदो रैछ । खैर, हामीहरू उताबाट हिँड्यौ । उनकै पैतृक घरको गल्ली भएर फर्किँदै थियौँ ।

“काका, यही गल्लीमा त हो, तपैँको घर ।”

मैले यसो जनाउ दिँदा उनी हाँस्न थाले, “हिजो, यतातिर आउँदा म आफ्नै टोल खोज्न सकिनँ । जता आँखा गयो, नयाँनयाँ मान्छे, नयाँनयाँ घर । बडो असमञ्जस भएको थियो ।”

उनको कुरो सुनेर मन कमिलाले चिलेजस्तै पोल्यो । मेरो उमेर पनि उनकै उमेरतिर बिस्तारविस्तार लम्किँदै छ । मेरा थुप्रै साथीहरू अहिले नै अलप भइसकेका छन् । अहिले नै जता आँखा गयो, नचिनेका मान्छेहरू मात्र देखा पर्छन् । भविष्यमा कुन्नि के के हुने हो ? खैर, हामीहरू विर्ता मन्दिर आइसकेका थियौँ । विर्ता मन्दीरबाहिर ओर्लिएर हामी त्यहाँ घुमघाम गर्यौ, “धनै यो मन्दीरको मूल संरचनामा खासै छेडछाड गरिएको छैन,” उनले मुस्काउँदै भने । उनले विर्ता बजार घुम्ने इच्छा जाहेर गर्दा हामीहरू उतैतिर लाग्यौँ । उतिबेला विर्ता बजार भनेर चिनिएको स्थानमा आज सानो चउर बाहेक क्यै थिएन । “यता एक विशाल बडको रूख थियो । एउटा पुरानो मन्दिर, मन्दिरपछाडि पीपलको रूख पनि थियो ।”

पुराना दिनहरूलाई सम्झिँदै उनले अवगत गराए । मन्दिर र पीपलको रूख त जसको तस थियो । तर बडको रूख निकै पात्लिसकेको थियो । रूखवरिपरि सिमेन्टको सानो चौतरा पनि बनाइएको थियो । “हाम्रो जमानामा यता साँझ रामलिला र थरिथरिका नाटकहरूको आयोजन हुन्थ्यो । अनि सिनेमाघर भनेपछि बीरगञ्जमा किर्ति सिनेमा र रक्सौलमा कृष्णा टाँकिज त थिए ।” उनले निधार खुम्चयाउँदै थपे । केही बेर डुलडाल गर्दागर्दै उनले आफ्ना पुराना दिनहरूलाई अझै तरोताज गर्न चाहेका थिए । तर झिनो सम्झनाको पोकोबाट पुराना दिनहरूलाई झिकेर बाहिर ल्याउनु उतिका सजिलो कहाँ थियो र !

उताका घुमघाम सक्याएर हामीहरू राणाकालीन जमानामा बनेको मालपोत भवनको अवलोकन गर्दै छपकैया जाने योजना गुन्यौँ । उनी बाटोमा आफ्ना सहपाठीहरूबारे सोधखोज गरिरहे । प्रायः जसो बितिसकेका रहेछन् । “उनी त रहेनन् काका” भन्नु बाहेक विकल्प नै थिएन । “ला ! म मात्रै जीवित रहेछु कि क्या हो ?” उनी मसिनो स्वरमा बरबराए । यिनै पुराना कुराहरूबारे चर्चा गर्दागर्दै मालपोत भवनको अवलोकन गर्यौं, गाडीमा बस्याबस्यै ।

त्यहाँबाट हामीहरू अलौ भंसार नाकासम्म पुगेर आउने निधो गर्यौं । सिरिसिया पुल पुग्दा पुरानो जमानाको काठे पुललाई सम्झ्यौँ । सिरिसिया नदीको कालो–धमिलो पानीतिर हेर्दै उनले थपे, “कुनै बेला हामी यो सिरिसिया नदीमा पनि नुहाउन आउँथ्यौं ।” फिस्स हाँस्नुबाहेक हामीसँग कुनै विकल्प थिएन ।

अलौ भंसार नाकामा पुग्दा सिमामा खटिएका सशस्त्र प्रहरीका जवानहरूले गाडी रोकेर सोधे, “कता जान खोज्नु भएको ? यसपछि भारतीय सीमा सुरू हुन्छ ।”

“काँही जाने होइन, यहीसम्म हो । हामीहरू नेपाली सिमाना घुम्न मात्र आएका ।” मैले यसो फर्काउँदा प्रहरी जवान अचम्म मान्दै हामीतिर हेरिरह्यो, मानौँ हामीहरूको मगज खुस्केको होस् । तर विचराले केही भनेन । हामीहरू एक छिनको लागि गाडीबाट ओर्लियौँ ।

अलि पर भारतीय सिमानामा सिमा सुरक्षा बलका जवानहरू उभिएका प्रष्ट देखिन्थ्यो । तर, मेरो ध्यान उता थिएन, मेरा आँखा त कुनै अर्कै कुरो खोज्दै थिएँ । जति आँखा गडाएर देख्दा पनि खोजिएको कुरो फेला पार्न सकिएन ।

“काका ! त्यो सानो पुल छ नि, त्यो नै हो हाम्रो सिमाना । त्यसपछि भारत सुरू हुन्छ । त्यहाँ एउटा जङ्गे पिलर पनि थियो । खै ! किन हो ? आज फेला पार्न सकिएन ।” पुलतिर इङ्गित गर्दै मैले यसो भन्दै गर्दा खोजिएको जङ्गे पुल आँखाअगाडि झुल्किहाल्यो । प्रफुल्लित हुँदै म चिच्याएँ, “काका ! उता हेर्नोस्, हाम्रो जङ्गे पिलर !”

उनका उत्सुक्त आँखा पनि उतैतिर फर्किए । “कुनै बेला यो इलाकामा एक्लै आवतजावत गर्न डर नै लाग्थ्यो । पारीको पनटोका गाउँ जाने त कुरै भएन ।” उनले हाँस्दै फर्काए ।

मूल कार्यक्रममा पुग्ने बेला भइसकेको थियो । हामीहरू हतारहतार गाडीमा बस्यौँ र फिर्ती बाटोमा लाग्यौँ । मनमा एकातिर पुरानो बीरगञ्ज मर्दै गएको पीडा सञ्चित थियो भने आर्कोतिर त्यति आरोहअवरोहपश्चात् पनि बीरगञ्ज अझै जीवित नै रहेकोमा सन्तोषका भाव पनि उब्जेका थिए । यिनै मिश्रित तरङ्गहरू समवेत रूपमा चलिरहे । गाडीबाट ओर्लिंदै गर्दा मैले एक निर्णय गरेँ– एउटा लेख लेख्नु पर्ला, “सात दसक अघिको बीरगञ्ज खोज्दै डा. ध्रुवचन्द्र गौतम ।”