‘ज्योतिषीले भनेका – अर्को वर्षबाट मनिरका अप्ठ्यारा दशा छन् अरे, यो वर्ष जसरी नि उसको बिहे गर्नुपर्छ !’, युरोपबाट नेपाल आएको बेला लेखककी श्रीमतीले छोराको बिहेको लागि अत्त्याउँदै भनिन् ।

मनिर सपरिवार नेपालमा प्रेमिका बनाउन छुट्टी मनाउन आएको छ, आफ्नो गाउँ कृष्णपुर ।

मनिरले जीवनमा आफ्नो जीवन सङ्गिनी खोज्ने फुर्सदै पाएन । पढाइ छउन्जेल पढाइको धून । पढाइ सकिएपछि लगातारको काम । मेहनतलाई खुबै सम्मान गर्छ उसले । उसकी आमा धुन्धुलीले बुबासँग अक्सर भन्ने गर्दछिन्, ‘अढाई दशक पार गर्दा नगर्दै छोराको बिहे नगर्ने हो भने छोरालाई बुढोकेटो भन्लान् फेरि ।’

पोहर सालभन्दा अगाडि मनिरले विवाह गर्न पटक्कै मानेको थिएन । गत फागुनपछाडि मात्र उसका बाबुआमाले भनेको मनिरले मान्यो र बिहे गर्न मन्जुर भयो ।

विवाहका लागि उसका बाबुआमाले छोरालाई कहिल्यै दबाब दिएनन् । बरु नेपालसँगको सम्बन्ध बनाइराख्न, बिहे गर्नु परे नेपाल नै उपयुक्त हुने सल्लाह दिए । उसले पनि भनेको मान्यो र नेपालमै बाबुसँगै आएर जीवनसङ्गीको खोजीमा लाग्यो । उसकै फुपूका छोराले भनेको केटी हेर्न लेखकसँगै पानीपुर पुग्यो । केटीपक्षका सबैले केटा हेरे र कुरा पनि गरे । मनिरले पनि सबैलाई सके जति आदरभावका साथ अभिवादन गर्‍यो । केटी मुस्कुराएर केहीबेर केटासँग गफ गरिन् । दुवैले एकार्कामा के के कल्पना गरे, उनैलाई थाह होला । पानीपुरबाट फर्कने क्रममा उसका बाबु लेखकले उसलाई सोधे, “यो तेरो जीवनको पहिलो प्रस्ताव हो, केटी मन पर्‍यो बाबु !”

उसले जवाफ दियो, ‘बुबा, भैँसी किन्न आएको त हैन नि हामी ! भैँसी किन्दा त एक हप्ता हेरेर सबै कुरा बुझ्नुपर्छ। केटीलाई पनि म मन पर्नु पर्‍यो नि । उनले पनि हाम्रो बारेमा बुझ्नु पर्‍यो । परिवारचाहिँ शिक्षित र सभ्य रहेछन् । अरू सबै मन पर्‍यो, नानीमा मेरो र ममा नानीको मन बस्यो भने विवाह नहुने के छ र ? तर एकार्कालाई बुझ्न समयचाहिँ लाग्छ ।”

लेखकले टाउको हल्लाउँदै भने, ‘हो,बाबु । मानिससँगको सहकार्यमा दुवैलाई दुवै मन पर्नु पर्छ । स्वभाव र सोच्ने तरिकाहरूमा आंशिक समानता हुनु पर्छ । जीवनको लामो सहकार्यबारे बहस हुनु पर्छ। अन्तमा, दुवैबिच सम्मानपूर्ण प्रेम बस्न सक्यो भने बिहे प्रेमिल र जीवन्त बन्दछ ।’

लेखकले सोच्यो, “केटो प्रेम गर्न अनभिज्ञ छ, तर प्रेमलाई अधिक मन पराउँछ । मन पराएर मात्रै भएन, प्रेम त अभ्यास र कला पनि त हो । केही समयको प्रेमले मानिसलाई उमङ्गीत बनाएपछि विवाह गर्नु मागी विवाहभन्दा उत्तम हो।  ठिकै छ, दुवैले एकार्कालाई बुझुन् र प्रेममा भिजुन्, बिहे भन्ने कुरा अन्तिम हो । ‘

गाउँ फर्कने क्रममा बाबु छोराका कुरा धेरै भए । घर आएपछि पनि धेरै ठाउँबाट विवाहका प्रस्तावहरू आए । तर पानीपुरबाट फर्किएपछि उसले खासै केटी हेर्ने जाँगर नै गरेन ।

मनिरले सोच्दो हो, ‘प्रेम एकैपटकको भेटले गाढा हुँदैन ।’

हुन पनि हो, केटाकेटी दुवै लजालु परे भने प्रेम पाक्न लामो समय लाग्छ । सुरु सुरुमा कुराको मेसो हुँदैन । के भनेर कुरा गर्ने ? मनले कुरा गर्न खोज्छ तर कुराका लागि मन तयार हुँदा शब्द हराउन थाल्दछन् । मनले कुरा लम्ब्याउँदै जाऊँ र एक आपसमा खुलेर गफ गरौँ जस्तो हुन्छ तर समस्या कुरैको हुन्छ । शब्दहरू गलामा आएर थुप्रिन्छन् । बाहिर निस्के त मरिजाऊँ !

मनिर र कल्पुको देखभेट भएको समय बिस्तारै बित्दै जान्छ । दुवैले कुराको पोयो फुकाउन एकआपसमा कुरा गर्न थाल्दछन् । प्रेममा मैले पहिला फोन गर्नु पर्छ भन्ने हुँदैन । जसले पहिला सम्झ्यो, फोन गर्‍यो । लम्ब्याउने कुरा खासै हुन्नन् । फोन राख्यो, फेरि गर्‍यो अनुहार हेर्‍यो, आँखाले कुरा गर्‍यो, फोन राख्यो । बारम्बार यस्तै हुन्छ प्रथम प्रेममा ।

युरोप पुगेपछिकै कुरा हो, कल्पुले मनिरलाई फोन गरिन् । मनिर आमाबुबासँग बसेर खाना खाँदै थियो । फोनको घण्टी बजेको बेला लाजले हो वा डरले कल्पुले गरेको फोन काट्यो र फोन लिएर बाहिर गयो । उता गएर कल्पुलाई फोन गर्‍यो वा गरेन, लेखकलाई थाह हुने कुरा भएन ।

तत्काल लेखकले केही नबोली मनमा कुरा खेलायो मात्र, ‘फोन किन काटे होला बाबुले, फोन काट्नु पनि एउटा अपराध हो । फोन गर्नुमा केटीको उत्सुकता र समर्पण हुन्छ । फोन काटिदिँदा त्यसको हत्या हुन्छ । प्रेममा उत्सुकताको हत्या पनि अपराध हो । फोनमा अपेक्षा हुन्छ, फोन बिचैमा काटेपछि त्यो अपेक्षाको पनि हत्या हुन्छ । फोनको घण्टीसँगै प्रेम रोइरहेको हुन्छ । फोनको घण्टी काटेर कसैको मायाको सहारामा बाँच्न खोजिरहेको प्रेमको हत्या गर्नु हुन्न ।’

फेरि लेखक र उसको जीवनसङ्गिनीले पनि छोराको प्रेमको लागि अनुमति दिइसकेका छन् । त्यहाँ लाज मान्नु पर्ने के हुन्छ र ! समुन्द्रको छालजस्तै सार्वभौम प्रेमको सत्तालाई चोरेको धन जस्तो लुकाउनु पर्ने कारण नै के छ र ?

अचेल दुवै जना एकअर्काको परिचयमा छन् । प्रेमको गृहकार्यमा दुवैतर्फको परिवारले केटाकेटीले अन्तिम निर्णय सुनाउने दिन कुरेर बसेका छन् । अग्रजहरूलाई उनीहरू प्रेममा फेल भएको नतिजा सुन्ने इच्छा छैन। उनीहरूको लगन, मेहनतले प्रेम फलाउन सके भने उनीहरूको जीवनमा नयाँ अध्यायको सुरुवात हुने छ । प्रेमका हाँगाबिँगा पलाएर जीवनको चौतारीमा शीतलता प्रदान गर्ने छ । आशाको धागो लामो हुन्छ, हरेक अभिभावकले सन्तानको त्यही धागोमा उनिएर खुसी हुनुको विकल्प नै अरू के छ र ?

सुस्तरी सुस्तरी बसेको माया दीर्घकालिक हुन्छ भन्छन्, प्रेमको मधुरसमा पारङ्गतहरू । लेखकले मायाको अनुभूति बिहेपछि मात्र गर्‍यो । उसले सिकेको माया उसले छोरालाई पनि सिकाउँदै छ। वास्तवमा माया सिकाउने कुरा नभए पनि कहिलेकाहीँ सिकाउनु पर्छ। अन्यथा अनुभवविहीनहरूले सानो कुराको मतभेदमा महान् प्रेम गुमाउने खतरा रहन्छ । त्यसैले गुरुले शिष्यलाई ज्ञानले भिजाएझैँ आफ्ना सन्तानहरूलाई मायामा रुझाउनुको मजा पनि छुट्टै हुन्छ।

‘बाबु, नानीसँग कुरा भइरहेको छ ?’ बेला बेला लेखकले छोरालाई सोध्छ।

‘कहिलेकाहीँ च्याट हुन्छ,’ छोराले बाबुको साथ पाउँदा पनि प्रेमलाई बुझ्न नजानेकोमा ऊ खिन्न हुन्छ । उसले सधैँ अनुहार हेरेर कुरा गर्ने सल्लाह दिन्छ ।

‘एकापसमा खुलेर कुरा गर्नु पर्छ। त्यसले भावना खेल्न पाउँछ। दुवैको आत्मा र मन दुवै नजिकिन्छ।’ उसले छोरालाई ढाडस दिँदै भन्छ, ‘प्रेमले रुझेपछि तिमीहरूको बिहे गरी दिउँला ! प्रेम हुन सकेन र तिमीहरूको रुचि मिलेन भने पनि भन्नु, अर्को खोजौँला ।’

मनिरले एक बालकले झैँ चुपचाप बाबुको कुरा सुनिरहन्छ। तर अहँ, पटक्कै बोल्दैन।

अघिल्लो दिनको कुरा हो, मनिरको आमाले सोधिन्, ‘बाबुको बिहे गर्न कति समय लाग्छ ?’

उसलाई के थाह, कति समय लाग्छ ? छोरालाई समेत थाह नभएको रहस्य उसलाई कसरी थाह हुनु ?

‘उसले प्रेम सिक्न र पढेर पोख्त बन्न चाहेको छ, भनेर मात्र हुन्छ र बिहे ! उनीहरू एकापसमा मित्रताको पराकाष्ठा चुमुन् अनि बिहे गरौँला नि उसको ।’, लेखकले योभन्दा बढी बोल्दैन ।

लेखककी श्रीमतीको बिहेप्रतिको हतारो अर्कै छ। उनको आफू सशक्त हुँदै नातिनातिना हुर्काउने धोको पनि होला, बुहारीले पकाएको खानाले अझै पुस्टिने र साथीसङ्गीको बिच आफ्नी परी जस्तै बुहारीलाई छोरीझैँ सजाएर लैजाने धोको होला । अझै धेरै पढाएर ‘मेरी बुहारी संसारकी अब्बल छिन्’ भनेर चिनाउने धोको पनि हुन सक्छ । धोको मानिसको चेतना र परिवेशअनुसार फरक फरक हुन्छ।

तर उनका चाहनाहरू कल्पु र मनिरबिचको प्रेमको बचपनमै अल्झेको छ अझै। लाग्छ, प्रेमिल जोडीको कल्पनामा अलिकति खाना छ र त्यसमा दुवैको हात छ । पहिलोपल्टको कुराकानी, हेराहेर, आँखामा बसेको प्रेमले एक्लो निरसतालाई क्रमशः हटाउँदै छ । प्रेम घृणा र निरसतामा हुँदैन । प्रेममा जिल्दबाजी पनि हानिकारक हुन्छ।

प्रेम अमृत हो जीवनको । यसमा घृणा हैन केवल अमृत हुन्छ मायाको । प्रेमीहरूको ओठ ओठ र जिब्रो जिब्रोबिचको चुम्बनमा किन घिनको लेस पनि हुँदैन त ? किन जुठो लाग्दैन त ? बदलामा चुम्बन नै प्रेमको सबैभन्दा चोखो र पवित्र बनेर आउँछ किन ? धेरै कुराकानी नभए पनि यस्तै यस्तै अनुभूतिले दुवै मन रुझेको हुनु पर्छ सायद ।

लाग्छ, अहिले उनीहरू आफैँसँगको वार्तालापमा बढी छन् । आफैँसँगको कल्पनामा व्यस्त छन् । क्रमशः एक तृप्त हुँदा अर्को सन्तृप्त हुँदै छन् । अझै डुब्नु पर्छ, गहन सङ्कल्पमा नडुबी प्रेम सफल हुँदैन । जीवनपर्यन्त सँगै रहने गहन सङ्कल्पपछि वा प्रेम प्राप्तिको सङ्कल्पपछि मात्र प्रेमका कुराहरू फुर्न थाल्दछन् । प्रेमले सिताम्य भइसकेपछि लगातार, दिनभर कुरा गरेर मन भरिँदैन । कल्पना र सङ्कल्पको समागमले कुलद्रि हुन जान्छ प्रेमद्वार ।

आफ्ना बाआमा त सन्तानको इच्छाविरुद्ध जानै सक्दैनन् । छोराछोरीहरूलाई असजिलोमा डोर्‍याउनुबाहेक के गर्न सक्छन् र बाबुआमाले ?

शनिवार बिहान सबेरै लेखकको छातीभित्र देखिएको दृश्य हो –

‘बाबा बाबा, यी चिया हजुरलाई ।’

लेखकको कल्पनामा बुहारी घरमा आइसकेकी छन्। नातिनातिना उसका जीर्ण काखमा खेलिरहेका छन् । लेखककी श्रीमती बगैँचामा बसेर घाम तापिरहेकी छन्। स्वर्गजस्तै घरमा बुहारीले मन्दिरको लागि फूल टिप्दै छिन् । छोरा व्यायाम गरेर नास्तामा बसेका छन् । बिहानीको उज्यालो प्रकाशले फूलहरू मुस्कुराइरहेका छन् । प्रेमले घर उज्यालिएको छ, करुणाको प्रकाशले तृप्त र प्रेमले बाँचेको परिवारभन्दा बहुमूल्य धन केही छैन संसारमा । घरमा सदैव त्यस्तै दृश्य देख्न पाए कसैलाई मन्दिर धाइराख्ने जरुरत पर्दैन ।

लेखकको कल्पना बिचमा रोक्दै बिहानको आलाराम टीणीणीणी बज्यो । उसले हातमुख धोयो र चिया पनि नखाई जागिर खान गयो ।