२०६८ सालको फागुन महिना । विराटनगरको बस स्ट्याण्ड ।
म कोटको गोजीबाट बिहेको निम्तो कार्ड झिकेर हेर्दै जानुपर्ने ठाउँबारे फेरि पक्का हुन्छु र धरान जाने बस चढ्छु । देब्रेपट्टिको चौथो खाली सिटमा बस्छु । ‘जन्ती जाने मिति २०६८ साल फागुन १०’ लेखेको पढेर ढुक्कसाथ कार्ड गोजीमा राखेर अर्को गोजीबाट खैनीको पुडिया झिक्छु । हिजो तीन रुपैयाँमा किनेको खैनी आधाभन्दा धेरै बाँकी छ । देब्रे हत्केलामा अलिकता सुर्ती खन्याएर चुनासँग मोल्न थाल्छु ।
गाडीमा ड्राइभरको अघिल्तिर झुण्ड्याइएको घडीमा दश बज्दै छ । गाडीमा एक्का दुक्का प्यासेन्जर थपिँदै छन् । गाडी हिड्न अझै समय बाँकी छ ।
आनन्दले खैनी मोलिरहँदा कति बेला ड्राइभर चढेछ, अघिदेखि घ्यारघ्यार गरिरहेको बस एकैचोटि ध्याराराङ्ग गर्दै कराउँछ । म झस्कन्छु । त्यति बेलै बसको बडीमा ड्याम्म एकपल्ट डम्फ्याएर ‘आस्ते गुरुजी’ भन्दै कण्डक्टर चढ्छ ।
बसको प्यासेजतिर ढल्केर देब्रे हातको हतकेलामा मोलेको खैनी म अब दाहिने हातका दुई औंलाले चिम्टन्छु । कण्डक्टर हँसिलो अनुहारले हेर्दै मतिर लम्कँदै हुन्छ, म चिम्टेको खैनी तल्लो ओठको च्यापमा खन्याउँछु । कण्डक्टर मेरो छेउमा आएर मेरो खैनी मोलेको रित्तो हात हेर्दै ‘ज्या, सरले खैनी मोलेको देखेर खाऊँखाऊँ लागेको त’ भन्दै फिस्स हाँस्छ । म गोजीबाट खैनीको पुडिया झिकेर ऊतिर बढाउँछु ।
ऊ ढाक्रेले थालभरि भात पस्केझैं झण्डै हत्केलैभरि सुर्ती झार्छ, प्लास्टिकको सानो प्याकमा भएको चुना मरुन्जेल निचोर्छ । झण्डै रित्याउँछ नै । अनि बाँकी रहेको खैनीको पुडिया मतिर बढाउँछ ।
झुस्स बोकेदाह्री, लट्टे कपाल, महिनौं ननुहाएजस्तो आकृति । कण्डक्टरबाट खैनीको पुडिया फिर्ता लिन मलाई घीन लाग्छ । तैपनि लिन्छु र उसका आँखा छलेर झ्यालबाट बाहिर हुर्याईदिन्छु । अनि भुतभुताउँछु, ‘थुइया ! यस्तो अम्मल पनि के, जो सुकैसँग शेयर गर्नपर्ने ।’
विराटनगरबाट हिँडेको बस ठाउँठाउँमा रोकिँदै करिब सवा घण्टा लगाएर इटहरी पुग्छ । फेरि खैनीको तलतल । तै धरानसम्म टार्न सकिएला कि ? म अडिन्छु ।
‘ए धरान, धरान, छिटो आउनुहोस्, हिँडिहाल्छ’ भन्दै हराएको कण्डक्टर बीस-पच्चीस मिनेट बितिसक्दा पनि नआएपछि म बसबाट उत्रिएर छेउकै पानपसलतिर लाग्छु ।
पसलनजिक पुग्दा मलाई अनुहारदेखि जुत्तासम्म हेरेर पसल्नी सोध्छिन्, ‘सरलाई मिठा, जर्दा, एक सय बीस, काला जर्दा, तुलसी कस्तो पान दिऊँ ?’
म अकमकिन्छु । वर्षमा एकदुईपल्ट मात्र धरान जान्थेँ । त्यति याद नगरेको पानपसल, तीस-पैंतीसकी हँसिली गोरी पसल्नी । एक छिन के भनूँ के भनूँ भएर ‘हैन बहिनी, मलाई एक पुडिया ऊ … त्यो’ भन्दै पाँच रुपैयाँको नोट ऊतिर बढाउँछु । उसले अघिजस्तै मलाई माथिदेखि तलसम्म हेरेर खल्लो मुस्कानसहित ‘सर पनि त्यस्तै’ भन्दै खैनीको पुडिया र दुई रुपैयाँ मतिर बढाउँछे ।
खैनी लिएर बिनासंवाद बसमा आएर आफ्नो सिटमा बस्छु । गाडी चढ्न आउँदै गर्दा पछिल्तिर नफर्किए पनि पानपसल्नीको खल्लो मुस्कान र लेब्रिएका ओठसहितको हेराइले मलाई पछ्याइरहेझैँ लाग्छ । फेरि पनि आत्मग्लानिले खैनी खाने तृष्णाको आवेग घटेर झण्डै शून्यमा पुग्छ । पसल्नीतिर चोरदृष्टिले हेर्दै खैनीको पुडिया प्यान्टको पछाडिको गोजीमा राख्छु ।
विराटनगरबाट आएको अर्को बस चोकबाट मास्तिर आउँदै गरेको देखेर ‘ल जाऊँजाऊँ गुरुजी’ भन्दै बसको बाहिरी भित्तामा जोडजोडले डम्फ्याउँदै कण्डक्टर ढोकामा उक्लन्छ । गुरुजी आफ्नो सिटमा अघिदेखि नै मौजुद हुन्छ ।
तरहरा कटेपछि बसले रफ्तार लिन्छ । म भने एक छिन राजविराजतिर पुग्छु ।
२०२८ सालतिर शुरु भएको नेपाल बैंकको जागिर । नगद विभागमा सराफी पद, तलब १६० रूपैयाँ मासिक । आठ आना गोटा समोसा, आठ आनै कप चिया, अनि आठ आनै खिल्ली पान । जर्दा पान खाने चस्का । दैनिक कम्तीमा तीन पटक पान खाँदा खाजाको पैसा नै जाने । खाजा छाडे पनि पान छोड्न नसकिने मन । काला जर्दा, ३२० जाफरानी पत्ती । बास्ना मगमग, दिमाग रमरम । कहिलेकाहीँ होटलमा भातको पैसा तिर्न र कहिले घरभाडा तिर्न पनि धौधौ ।
एक दिन चेक लिएर पैसा लिन आएको एउटा राइस मिलको मुनिम पहेँलै हुने गरी मोलेको खैनीसहितको हत्केला काउण्टरको प्वालबाट भित्र छिराउँदै ‘हाकिम साब, कनि, नम्बरी नम्बरी हियो हजुर’ भन्दै हँसिलो अनुहारले मतिर हेर्छ ।
बजारमा मान्छेले खैनी मोलेको, खाएको र थुकेको देखिरहेको । अलिअलि भए पनि घृणा थियो । तर उसले हाकिम साब भनेकाले मन फुर्कियो । एकपल्ट ट्राई गरूँ न त भनेर तीन औंलाले उसको हत्केलोको खैनी चिम्ट्याउँछु । अर्को हातले आफ्नो ओठ च्यातेर खन्याउँछु । पानमा चुना सुर्ती खाइरहेको भए पनि खैनीले अलिअलि चहर्याउँछ । अटेरी भएर बसिरहन्छु । दिमाग जोडले रमरमाउँछ । मुखभित्र पहरा रसाएझैं चारैतिरबाट थुक रसाएर आउँछ । बाहिर गएर थुक्छु । फेरि रसाउँछ । एकदुईपल्ट अरू थुकेपछि खैनी पनि थुकिदिन्छु । तर रमरम निकै बेर रहिरहन्छ ।
मन खुसी हुन्छ । आठ आना खिल्ली पान, दिनमा डेढ रुपैयाँको खर्च । अब आठ आनाको एक पुडिया खैनीले जति खाए पनि तीनचार दिन मनग्गे । थपमा, त्यस्ता खैनी मोल्दै आउने मुनिमहरु अफिस समयभरि दुईतीन जना भेटिरहिने ।
केही दिन ओठमा खैनी च्यापेर बस्न गाह्रो भयो । दश-पन्ध्र दिनमा पर्फेक्ट खैनीवाज भइयो । किफायती अम्मल !
बस रोकिन्छ र मेरो स्मृतिको शृङ्खला तोडिन्छ । अगाडि हेर्छु, बस सेउतीको पुलको मुखमा अडिएको छ । साँघुरो पुल, वान वे ट्राफिक, धरानतिरबाट आएको अर्को बसलाई पुल तरुन्जेल पर्खेको होला । म झ्यालबाट दायाँबायाँ हेर्छु । घना चारकोसे झाडी, सखुवैसखुवाका गाछी, त्यसबीचमा पनि ठाउँठाउँमा अलिकता खुला ठाउँ । अब मेरो मन पथलैयाको जंगलतिर लाग्छ ।
२०५८ सालको मंसिर महिनाको मध्यतिर हुनुपर्छ । बैंकबाट रिटायर्ड भएर पेन्सनपट्टा र अरू हिसाबकिताब लिन काठमाडौं जाँदै हुन्छु, धरान र विराटनगरबाट एकै चोटि छुटेर इटहरीबाट सँगसँगै हिँड्ने कोशी बसमा । माओवादी द्वन्द्व चरमोत्कर्षमा छ ।
लालगढमा भात खान रोकिएको बस एकाध घण्टापछि अगाडि बढ्छ । बीच जंगलमा पुगेपछि अगाडि रोकिइरहेका गाहीरुको ताँतीमा हाम्रो बस पनि मिसिन्छ । धरानबाट आएको कोशी बस पनि हाम्रै अगाडि रोकिएको देख्छु । दश-पन्ध्र मिनेटको रोकाइपछि थाहा हुन्छ, अगाडि बाटामा माओवादीले ठूलठूला बोल्डर थुपारेर तुल बम झुण्ड्याएर राखेको छ ।
काठमाडौँबाट बम डिस्पोजल टोली आइपुग्न तीन–चार घण्टा लाग्ने हुन्छ । अब बसहरूका प्यासेन्जरहरु समूहसमूह बनाएर बाटोछेउको चौरमा बस्छन् । विराटनगरे र धराने कोशी बसका प्यासेन्जरहरु नजिकनजिकै दुई समूह बनाउँछन् । कोहीकोही यताका प्यासेन्जर उताको समूहमा गफिन जान्छन् । त्यस्तै धराने समूहबाट पनि एकदुई एकदुई प्यासेन्जर हाम्रो समूहमा आएर दुईचार कुरा राख्दै अलमलिँदै जाँदै हुन्छन् । मेरो हातमा भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह छ र कविता पढ्दै धराने समूहतिर आँखा पुर्रयाउँदै पनि हुन्छु ।
धराने समूहमा बसेकी एउटी कालीकाली, ब्वाइज कट कपाल काटेकी केटी हामीतिर घुम्ती नजरले हेर्दै हुन्छे । राम्री लाग्छे, क्षणक्षणमा आँखाले हैन मनले किताबबाट विश्राम माग्छ । त्यसैले किताब बन्द गरेपछि आँखा त्यतैतिर चहारिरहन्छन् । उसले पनि मलाई नै हेरेजस्तो लाग्छ, घरीघरी मुसुक्क हाँसेर निहुरिन्छे पनि । करिब पन्ध्र-सोह्र मिटरको दूरीमा रहेको समूहमा उसको नाकनक्सा तिख्खर, मसलावाला चटपटे जस्ती ।
दुई घण्टा बितिसक्दा पनि मैले फेरि न किताबमा मन लगाउन सकें न त्यो समूहमा गएर ऊसँग परिचय गर्न ।
अहिले साँच्चै एउटा चटपटेवाला देखा पर्छ । उसको एउटा झोलामा दुई कार्टुनजति वाईवाई चाउचाउ र अर्को झोलाभरि भुजा होला सायद । माथि भाँडामा काँचो चना, अदुवा, प्याज, धनियाको पात, नुन-खुर्सानी अनि भिनेगर र तोरी तेलको बोतल । एक छिनमै मान्छेको भीड लाग्न थाल्छ । हाम्रो समूहबाट एकदुई एकदुई जना जाँदै-आउँदै छन् । त्यस्तै भीडमा पनि प्लास्टिककको झोलामा एक झोलै चटपटे र सायद एक दिन पूरैको दैनिक पत्रिका बोकेर निस्किन्छे ऊ । आफ्नो समूहनजिक भएका एकदुई जनालाई हातैमा दिन्छे र हाम्रो समूहतिर आउँछे । म समूहको एक छेउमा छु । अगाडिका एकदुई जनालाई ‘खानुहुन्छ ?’ भनेर सोध्दै कागज दिएर एकएक मुट्ठी चटपटे राख्दै जान्छे । मतिर आउँदै गर्दा उसको अनुहार, जीउडाल सम्पूर्णको हिसाबकिताब लगाउँछु । अनुहारले त पच्चीस-तीसकी लाग्ने, म पचास नाघेको मान्छे । मेरो अगाडि आएर केही नभनी मुसुक्क हाँसेर दुई पत्र कागज दिन्छे । अनि झोलाबाट लगालग तीनचार मुट्ठी चटपटे झिक्दै मेरा हातको कागजमा राखेर हाँस्दै अघि बढ्छे । म सम्मोहितझैं उसको मुस्कानसँगै मुस्काउँदै एक छिन चटपटेको हात थापिरहन्छु ।
मंसिर महिनाको हलुका जाडो, उसले गुलाबी रङ्गको ब्लाउज जस्तो स्वेटर र तल जिन्स प्यान्ट लगाएकी छ । आफ्नो समूहतिर जाँदै गरेकी उसलाई पछाडिबाट हेर्दा ऊ फैलिएको नितम्बले चालीस-पैँतालीसकी लाग्छे ।
ऊ आफ्नो समूहमा गएर पनि चटपटे चपाउँदै मुसुक्कमुसुक्क गर्दै हाम्रो समूहतिर, अझ भनौं मैतिर हेर्दै हुन्छे । म चटपटे खाँदै र खाइसकेर पनि एकदुई घुम्ती नजर ऊतिर पुर्याउँछु । बैंसको बेला जस्तो बारम्बारर एकोहोरो त्यतैतिर हेरिरहन अप्ठेरो लागेर म फेरि झोलाबाट अघिको किताब झिक्न खोज्छु । छेउमै बसेको, मेरै उमेरको एउटा मान्छे गोजीबाट खैनीको पुडिया निकालेर मोल्न थाल्छ । मेरो पुडिया लालगढमै सकिएको हुन्छ । अहिले धेरै मानिसको चहलपहलले दिमागमा खैनीको तृष्णा मौन थियो सायद । उसले मोल्दै गरेको खैनी देखेर मेरो अम्मली मन जाग्छ । उसलाई विस्तार भन्छु, ‘म पनि खान्छु है, दाइ ।’
ऊ पनि खुसीसाथ सुर्ती र चुना थपेर गर्मजोशीका साथ खैनी मोल्न थाल्छ । मेरा आँखाले धराने समूहतिरबाट निकै लामो विश्राम लिन्छन् । मेरा आँखा र मन दुवै उसको खैनी मोल्दै गरेका हातहरुसँगै नाचिरहन्छन् । मेरो मुखभित्र त्यत्तिकै पनि पहराहरु रसाएझैं थुक रसाएर आउँछ ।
एक छिनमा ऊ खैनीको हत्केलो मतिर बढाउँछ । निकै लामो विरामपछि प्राप्त भएको खैनी, तीन औंलाले दह्रो खुराक चिम्टेर म आफ्नो देब्रे हत्केलोमा राख्छु । एकदुईपल्ट आफैं पनि मोल्छु र मुण्टो ठाडो पारेर ओठको च्यापमा खन्याउँछु । यसरी आफ्ना ओठमा खैनी खन्याउँदै गर्दा मेरा आँखा धराने समूहतिर पुग्छन् । भनौ, त्यही केटीतिर पुग्छन् । कुन बेलादेखि मेरो कृयाकलाप नियालिरहेकी थिर्इ सायद, कालोकालो बान्की परेको अनुहार कच्याककुचुक बनाउँछे । उसको सम्पूर्ण बान्की उसका नाकको डाँडी र खुम्चिएको भृकृटीमै थुप्रिन आउँछ । लाग्छ, उसको मुखमा चिराइतो परेको छ । मेरो खैनी खुवाइ उसलाई बिलकुलै नजँचेको म अन्दाज गर्छु । म बित्यासमा पर्छु । खैनी थुकिहालुँ, मेरो पुरुषमनले मानेन । तर खैनीको स्वाद एकरत्ती रहेन । मुन्टो आफ्नै भए पनि खैनी च्यापेका ओँठ अर्कैका जस्तो लाग्छन् ।
बिस्तारै नजर घुमाउँछु । ऊतिर फेरि सीधा नजरले हेर्न सक्दिनँ । बेलाबेला चोर नजरले हेर्छु । उसको नजर लगातार मैतिर छ, तर मुस्कान छैन र बिस्मात पनि छैन । मलाई उठेर गर्इ आफ्नो बसमा बसिहालूँ हुन्छ । तैपनि ढीट भएर यताउति अलमलिरहन्छु । केही क्षणमा बस हिँड्छ, तर मन हिँड्दैन । अझै बेलाबेला सम्झनामा आउने त्यो पथलैयाको जंगल आएपछि मन निकै बेर अलमलिरहन्छ ।
धरान बस स्ट्याण्डमा पार्किङ गर्नलाई ड्राइभर बसलाई ब्याक गर्दै हुन्छ । कण्डक्टर गाडीको बडीमा ढपढप, ढपढप डम्फ्याउँदै छ ।
बसबाट उत्रेर म एकै छिनमा पुतली बजारको बिहे घरमा पुग्छु । साथीको छोरो दिव्य पलिखे बेहुला भएर गाडी चढ्दै हुन्छ । अघिदेखि मन्द तालमा बज्दै गरेको ब्यान्डबाजा अहिले जोडले घन्किन्छ ।
बेहुलीको घर अलि पर्तिर, खहरेपारि । बिस्तारै हिँड्दा पनि बीसपच्चीस मिनेटमा पुगिहालिन्छ ।
पहिले बेहुलालाई लगेर मञ्चमा राख्छन् । जन्ती पर्सने भनेर बेहुलीका आमाबाबु र आफन्तहरू अगाडि आउँछन् । म नपर्सिइने विचारले अलि परै पछाडि उभिन पुग्छु । बैंकको जागिरले कमजोर पारेका आँखा, जन्ती पर्सन आउने हूलमा एउटी आइमाई चिनेजस्तो लाग्छ ।
खैनीको तलतल त अलिअलि फेरि लागेको भए पनि बिहेको वातावरणले खैनी मोल्न दिइहालेको छैन । र त्यो तलतल छल्ने अरू कुरा पनि मौजुद भएकाले म चुप लाग्छु ।
एक छिनमा जन्तीलाई भोजतिर लगिन्छ । यतातिर भर्खरभर्खरबिहे भोजमा मदिरा राख्ने फेसन चलेको छ । एकातिर एउटा टेबलमा दुईचार बोतल ब्यागपाइपर ह्विस्की, कोकाकोला र फ्यान्टाका जम्बू बोतल अनि भरिएका गिलासहरु देख्छु । एउटा गिलासमा डबल पेग बनाएर कोकाकोलाले भर्छु र एक साइड लागेर बस्छु । औपचारिकताका लागि साथी उदय पलिखे, बेहुलाको बाबु आधा भरिएको गिलास लिएर एक छिन एक छिनमा गफिन आउँदै-जाँदै हुन्छ । मञ्चमा बिहेको औपचारिकता सम्पन्न हुँदै छ ।
अब भोज खाएर जन्तीहरु असरल्ल बसेका छन् । एक छिनमा एउटा सहायकलाई डालोमा मसलाको पोको बोकाएर एउटा अधबैंसे जोडी हामीतिर आउँछ । सायद बेहुलीका आमाबाबु । हाम्रो नजिक आउँदै गरेपछि देख्छु- बूढो चाहिँ ठ्याक्कै मैले ऐना हेरे जस्तै रूपरङ्ग, मात्र उचाइ अलि कम । अझ अगाडि आएपछि म झन् छक्क पर्छु । उही पथलैयाको जंगलमा चटपटेको मुट्ठी लिएर मेरा अगाडि उभिएकी काली अहिले मसलाको पोको मतिर बढाउँदै मुसुक्क हाँस्छे । ऊ बेलाको ब्वाइजकट कपाल लामो भएको छ । जिन्स र ब्लाउजका ठाउँमा अहिले बनारसी साडी-चोलो ।
मेरो डुप्लिकेट पनि मुस्कुराउँदै हुन्छ तर औपचारिकता मात्र । कालीको मुस्कानमा भने प्रश्न पनि देख्छु । ब्यान्डबाजाको मधुरो धुन र दुई पेग ब्यागपाइपरको नशाले मेरा कान भरभराइरहेका हुन्छन् । उसको मुस्कानमा देखिएको प्रश्न शब्दमा अवतरित हुन्छ ।
सायद ‘आरामै हुनुहुन्छ ?’ भनेकी होली । मैले ‘अझै खाँदै हुनुहुन्छ ?’ भनेको सुन्छु र असजिलो मानेर प्रतिप्रश्न गर्छु, ‘के कुरो ?’
ऊ अलि ठूलो स्वरमा बोल्छे, ‘सन्चै हुनुहुन्छ ?’
म स्वीकृतिसूचक मुन्टो हल्लाउँछु मात्र । लोग्नेमान्छे मलाई आफू जस्तै देखेर होला, फर्कीफर्की हेर्दै पनि आफू एक्लै मसला बाँड्दै हुन्छ ।
यता काली मेरो अगाडि नै उभिएर मुस्कुराउँदै कहाँ, कसरी भन्दै बेहुला पक्षसँगको मेरो नाता थाहा पााउन खोज्दै हुन्छे । म भने संक्षिप्त उत्तर दिँदै एक हातले प्यान्टको पछाडिपट्टिको गोजीमा भएको खैनीको पुडिया मुसारिरहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।