
दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ,
कतै टाढा जाँदाखेरी सँगै हिँड्यौँ जस्तो लाग्छ,
देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ,
कतै टाढा जाँदाखेरी सँगै हिँड्यौँ जस्तो लाग्छ ।
ल्यापटपमा स्वरसम्राट् नारायणगोपाल गुन्जिरहेका छन् । फुर्सदमा गीत सुन्न मन पराउँछु, त्यो पनि सुन्ने गीत । आजकल बजारमा हेर्ने गीतको बिगबिगी छ । मलाई त्यस्ता गीतले कहिल्यै छुन सकेनन् । सुत्नुअघि युट्युबमा पुराना गीतको अडियो फाइल खोल्छु, आवाज मन्द बनाउँछु अनि सुत्दै शब्द, सङ्गीत र स्वरको आस्वादन लिन्छु । निद्रादेवीलाई फकाउने सबैभन्दा उत्तम औषधी नै सङ्गीत सावित भएको छ ।
अस्ति एक डिजिटल संवादको क्रममा उसले मलाई एउटा गीत गाएर सुनाउन अनुरोध गरेकी थिई । म गायक होइन, गाउने ढङ्ग छैन भन्दा पनि धर नपाएपछि स्वरसम्राट्को यही गीत गुनागुनाएर झारो टारेको थिएँ । तर उसले असाध्यै मन पराएर भनिथी- आहा, तपाईं त गायक पनि हुनुहुँदो रहेछ ! कहिलेकाहीँ मान्छे आफूले पाएको प्रशंसासँग लजाउँदो रहेछ । उसको प्रशंसाले फुर्किन सकिन बरु लाज लाग्यो मलाई । किनकि म गायक किमार्थ थिइनँ । सिर्फ एक सङ्गीत पारखीबाहेक ।
सामाजिक सञ्जालमा हामी कसरी जोडियौँ, मलाई खासै हेक्का छैन । तर उसलाई प्रष्ट थाहा रहेछ । साहित्यपोस्टमा मेरो एक रचना पढेपछि फेसबुकमा मलाई खोजेर मित्रतानुरोध पठाएकी रहिछे उसैले । त्यही पनि महिनौसम्म रिक्वेस्ट पेन्डिङ् हुँदा हैरान भएकी रहिछे बिचरी ! फेसबुकमा आएका थुप्रै फ्रेन्ड रिक्वेस्टहरू पेन्डिङ् छन् । प्रथमतः हेरिरहन भ्याउँदिनँ, दोस्रो: प्रोफाइल राम्रोसँग जाँचबुझ नगरी स्विकार्दिनँ । आजकल सामाजिक सञ्जालमा अनेकौँ स्वरूप र स्वभावका मान्छेहरू साथी हुन्, आइरहन्छन् । सक्कली, नक्कली छुट्याउनै गाह्रो ! उसको प्रोफाइल चेक गर्दा साहित्यानुरागी भएकै पुष्टिले स्विकारेको हुँ । उसका फेसबुक स्टाटस नै साहित्यिक लाग्ने । कविता, मुक्तकहरू पनि देखेथेँ । म्युचुअल फ्रेन्डमा मैले पनि चिनेका साहित्यिक व्यक्तित्वहरू देखेपछि त झन् उसलाई साथी स्वीकार्न कुनै हिच्किचाहट भएन मलाई ।
मित्रताको प्रस्ताव लिएर ऊ नै आएकी थिई । तर, मेसेन्जरमा गएर बोलाउने चाहिँ मै थिएँ । यौटै शब्द – ‘नमस्कार’ खर्चेको थिएँ । तर उसले दुइटा शब्द फर्काई ‘नमस्कार सर !’ अनलाइन नै रहिछे तुरुन्तै जवाफ लेखिहाली । उसको हार्दिकताप्रति नतमस्तक भएँ । अलिकति लज्जाबोध भयो । मैले पनि उसको नामै पुकारेर बोलाएको भए अथवा उसले जस्तै मिस या म्याडम सम्बोधन गरेको भए हुन्थ्यो । कस्तो ठाडो मान्छे रहेछ ठानिहोला भन्ने लाग्यो मनमा । केहीबेर टेक्स्ट च्याट गर्यौं । साहित्यका विषयमा संक्षिप्त विमर्शन गर्यौं । लेखनका बारेमा अनुभव बाँड्यौं । घर-परिवार र जीवनवृत्तका कुरा पनि आदानप्रदान भए ।
निक्कै फर्साइलो छवि छोडेर ऊ पहिलो दिनको अनलाइन संवादबाट बिदा भएकी थिई ।
बिदा भएर जाँदाजाँदै उसले भनेकी थिई – बोल्दै गरौँला है सर !
तर झन्डै एक हप्ता गायब भई । मनले भन्यो – आजकलका आइमाईहरू यस्तै हुन् । मेरो मनले यस्तो चाहिँ किन सोचेन कि – कतै केही असहज परिस्थितिले गर्दा पो अनलाइन आउन सकिन कि ? अनि, आइमाईलाई मात्र किन दोष ! लोग्नेमान्छेहरू चाहिँ कम छन् र ? मन पनि एकोहोरो आफ्नै विचार लाद्ने शासक न रहेछ । सञ्जालमा जोडिएका साथीहरू कुनै न कुनै रूपमा सक्रिय भइदिउन् जस्तो लाग्छ । आफ्ना पोस्टहरूमा प्रतिक्रिया नदिने र मेसेन्जरमा बोलचाल पनि नगर्ने साथीहरू त निर्जन बन्दरगाहको मूर्ति जस्तो पो लाग्छ । तिनीहरूले अनावश्यक ठाउँ ओगटेको जस्तो लाग्छ र यदाकदा मित्रताको सूचीबाट बर्खास्तीमा पर्ने गर्छन् त्यस्ता निष्क्रिय सदस्यहरू । यद्यपी, मै पनि हत्तपत्त कसैलाई बोलाउँदिनँ र अपरिचित मेसेजको जवाफ नि सोचेर मात्र फर्काउँछु । मलाई पनि अरूले यसै भन्दा हुन् – कस्तो भाउ खोज्ने घमण्डी मान्छे रहेछ ! तर यथार्थमा त्यस्तो छैन म । कुरा यस्तो हो कि, सञ्जालमा मेरो सक्रियता मध्यमा खालको छ ।
हप्ता दिनपछि अनलाइन आएर उसले मेसेजका फोहोरा छुटाउन थाली । यत्तिका दिन हराउनुको कारण खोल्दै भनी – पारिवारिक घुमघामका लागि बाहिर कतै गएकी रहिछे । आफन्ती भ्रमण, स-परिवार साथमा हुनुले अनलाइन एक्सेस सहज नभएको उसको स्पष्टोक्तिप्रति म सहमत हुन्छु । अनलाइन देखिएर डिजिटल संवाद नभए पनि इन्टरनेटको सदुपयोग चाहिँ खुब गरिछे यसबखत । सामाजिक सञ्जालका मेरा उपस्थितिहरू सबै उक्काइछे । फेसबुक, ट्वीटर, टिकटक, युट्युब चारैतिर खोतल्न भ्याइछे । मेरा साहित्यिक सिर्जनाहरू भेटेजति पढ़िछे, सुनिछे, हेरिछे । अब मेरा लागि प्रशङ्साकाे पोको बोकेर अनलाइन आएकी रहिछे ऊ ।
‘तिमीलाई छुने रहर’ शीर्षकको कविता तीनपटक सुनेर नि अघाइन रे ! कविताले आफैंलाई भनेको भानले ऐँठन पार्यो रे ! मलाई यसरी फुर्क्याउनुमा उसको मप्रतिको चतुर चाप्लुसी हो या साहित्यप्रतिको असीम अनुराग ! कुरा फ्याट्टै बुझिहाल्न नसक्दा मेरा स्वकीय तर्कहरू दोहोरो भिडन्त गर्छन् मनमनै । अधिक प्रसंशा उतिसारो मन पर्दैन मलाई । ऊ रोकिनेवाला छैन । उसले धपाई पठाएका मेसेजका हुलहरू घारबाट निस्किएका माहुरी जस्तो फुत्त-फुत्त उडेर आइरहन्छन् । म तीनलाई कुखुराले मकैका गेडा टिपेसरि च्याप-च्याप समातेर तदनुरूप जवाफ फर्काउँछु । कुनै-कुनै त उम्केर जाँदा रहेछन् । अनि ऊ बेस्मारी रिसाउँछे, खोइ मेरो प्रश्नको उत्तर भनेर । उसले सोधेको कुराको चित्तबुझ्दो जवाफ नपाउन्जेल प्रश्न दोहोर्याई-तेहेर्याई रहन्छे । एकखालको बालहठ प्रस्तुत गर्न माहिर लाग्छे ऊ । उसको धाराप्रवाह प्रस्तुति देख्दा लाग्छ – ऊ कुनै आर्थिक कारोबार गर्ने संस्थाको प्रवक्ता हो र यतिबेला उक्त संस्थाको वार्षिक साधारणसभामा प्रगति विवरण पेस गर्दै छे । ऊ बोल्न थालेपछि सितिमिति रोकिन्न । गुडिसकेको रेलजस्तो ननस्टप बतासिन्छे ।
माइती-मावली कोसी प्रदेश भए पनि प्रेम विवाह गरी लुम्बिनी प्रदेश पुगेकी ऊ त्यहीँको एक सरकारी कार्यालयको कारिन्दा हो । उसको श्रीमान् पनि सरकारी नोकरी नै गर्छन्, अधिकृत स्तरमा । लगभग उसले आफ्नो परिचय खुलाइसकेकी छे । मैले पनि आफ्नो हुलिया लुकाएको छैन । मलाई छलकपट मन पर्दैन र त्यस्ता मान्छेको सङ्गत पनि रुचाउँदिनँ । आजकल ऊ मसँग दैनिक जसो नै कुरा गर्छे दिउँसो-दिउँसो । बिहान-बेलुका त घर-परिवार साथैमा, श्रीमान् पनि सँगै । मिल्दैन नि सर !
म पनि उसले बोलाएको बेला मात्र बोल्छु । कहिलेकाहीँ त दिनैभरि च्याट गर्छे । सोच्छु, जागिर त यसको गज्जबकै रहेछ ! नेपालको सरकारी काम, कहिले जाला घाम यसै भनिएको कहाँ रहेछ र ! पहिले-पहिले घाम डुबेको हेर्दै हैरान हुन्थेँ । आजभोलि त सरकारी कार्यालयको समय, पैसा र इन्टरनेट आफ्नो व्यक्तिगत काममा खर्चिन्छन् । दिनभरि इन्टरनेटमा झुम्छन् र तलब पचाउँछन् । कल्पिन्छु – राष्ट्रसेवामा समर्पित हाम्रो ब्युरोक्र्याट्स, कठै !
एकदिन उसले भोलि आफू विराटनगर जाने कुरा गरी, मामाघर । त्यो दिन त अडियो कल नै गरेर बोली । त्योभन्दा अघि धेरैजसो टेक्स्ट च्याट नै गरिन्थ्यो । खासमा यो दोश्रो भ्वाइस टक थियो हाम्रो । यथार्थमा म पनि टेक्स्ट च्याटभन्दा भ्वाइस टक नै मन पराउँछु । समयको बचत, कामको किफायती, कुराको स्पष्टता र व्यवहारिक मितव्ययिताको दृष्टिकोणले यो नै पारदर्शी र सहज लाग्छ । फेरि प्रविधिले दिएको सुबिधा सदुपयोगिताको सिद्धान्तअन्तर्गत उपयोग गर्नु जायज र फाइदाजनक पनि त हो ।
लेखाइमा भन्दा बोलाइमा मज्जा नि सर !
‘मज्जा त लिने कुरा न हो । लिन जान्नु पर्दछ, जेमा नि मज्जै छ ।’ म यत्ति भन्छु ।
बाँसुरीबाट निस्केको सुरिलो आवाज जस्तो लामो हाँसो मतिर पठाएर उसले भनी- कत्ति रमाइलो मुन्छे बाइ हजुर त ! फे;बुकमा यति असल मान्छे नि भेटिँदारहेछन् । अचम्मै परिचु म ता !
उसको भाषिक ध्वनिमा पश्चिमी लवजको प्रभाव राम्रै देखियो । हाँस्न माहिर रहिछे ऊ । उसको ओठबाट उम्किएको हाँसो मेरो कानमा ठोक्किएर फेरि उसकै कानसम्म पुग्दा पनि हाँसोको फोहरा छुटाउन छोडिन उसले । गज्जब रसिक लाग्दैछे ऊ ।
‘सामाजिक सञ्जाल बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड ।’ मैले फेरि अलिक दार्शनिक मत राखें ।
भोलि त मलाई रातभरि साथ दिनुपर्छ है सर !
किन/कसरि ?
लौ, म भोलि विराटनगर जाने होइन त ? अनि, रातभर गाडीमा एक्लै नि त !
ठानेको थिएँ प्लेनमा जाली । तर, जाने रहिछे गाडीमा ।
सोधें- नाइट बसमा ?
भनी – हायस भ्यानमा !
‘म स्वतन्त्र हुनेछु भोलिदेखि केही दिनसम्म । खुलेर धित मरुन्जेल गफ गरौंला नि, हुन्न र सर ?’
उसको आवाजमा केही कम्पन महसुस हुँदैछ । कारण उही जानोस् ।
‘हुन्छ, भइहाल्छ नि !’ मैले उसको प्रेमिल अनुरोधमा स्विकारोक्ति जनाएँ ।
ऊ फुरुङ्ग भई । छुट्ने बेलामा फेरि उही आग्रह । एउटा गीत सुनाउनै पर्ने । तर, यसपटक भने मेरो आफ्नै रचनाको गीत सुनाउनुपर्छ है भनी । कतिपय मेरा गीत सुनिसकेकी ऊ सिपालु पाराले बोली ।
म गीत लेख्ने मान्छे हूँ । गाउने होइन । यत्ति कुरा त बुझोस् न उसले झैं लाग्दथ्यो । तर, ऊ नसक्नुकी जिद्दीवाल रहिछे । पसिना छुटाउने उसको करकरका सामु म झुकें । फेरि जानी-नजानी स्वर घुमाएँ । दीपक जङ्गमको सङ्गीतमा भविन ढुंगानाले गएको आफ्नै नवीनतम गजल गुनगुनाएँ ।
पुतलीका हूलहरू तिमी जस्तै लाग्छन्
फक्रिएका फूलहरू तिमी जस्तै लाग्छन् ।
यति सुनेर हुरुक्क हुँदै लुसुक्क अफलाइन भई । भोलि रातभरि मलाई अनलाइन बस्ने बाचा गराएर ।
यता ल्यापटपमा भने नारायणगोपाल नै गुन्जिरहेका छन् ।
यति चोखो यति मिठो दिउँला तिम्लाई मायाँ
बिर्सने छन् साराले पुराना प्रेमका कथा ।
…
म निस्केँ है !
हजुर छिटो आइस्यो !
मोबाइलमा डाटा लिएकी छु ।
मस्तै बोल्नी हो आज !
…
होइन, कता हो र हजुर ?
किन अहिलेसम्म अनलाइन नआउनी हो र !
कता गइस्यो हजुर ?
…
म नारायणी पुलमा ।
बाटो बिग्रिएर बिजोग !
हजुर, खोइ त ?
बाचा भुलेको ?
हजुरलाई सन्चै त छ नि !
चाँडो आइस्यो न भन्या…!
…
उसका अफलाइन मेसेजको ताँती लागेको रहेछ । कार्यव्यस्तताको कारण भनेकै समयमा अनलाइन आउन सकिनँ । माफी मागेर हतारहतार आफ्नो अवस्था दर्साएँ र उपस्थिति जनाएँ । अब फेरि ऊ अफलाइन छे । मेसेज चाहिं हेरिदिए हुन्थ्यो झैं लाग्छ । ल्यापटप खोलेर अडियो जुकेबक्सभित्र छिर्छु । छानीछानी नयाँ-पुराना गीत सुन्न पाइने शताब्दी सुबिधा भोग्दैछु । हातमा भएको मोबाइल फोनबाट च्याट चल्दैछ । बल्लबल्ल मेसेज सिन भयो । ऊ अनलाइन त आई तर बोलेकी छैन । रिसाई कि भन्ने भयले फेरि आफैं एउटा लघुवाक्य लेख्छु – माफ पाउँ हजुर ! परदेशी जिन्दगी यस्तै हो । भने जस्तो के हुने रहेछ र !
उसले भनेकी थिई – एक्लै छु रातभर, हजुरको साथ चाहन्छु । घरमा धौ फुकाएर कुरा गर्न पाइँदैन । मेरो एक्लो यात्राको साथी बनिदिए यो मनका कुरा जम्मै भनिदिन्थें !
मैले पनि सहमति जनाएकै हो । तर समय, परिस्थिति र प्रविधिले साथ दिइरहेको छैन । ऊ अनलाइन हुँदा म अफलाइन, म अनलाइन हुँदा ऊ अफलाइन ।
पटटटट… बन्दुकले गोली छोडेजस्तो उसका मेसेजको फोहरा छुट्दा झस्किएँ । मोबाइल डाटाको नेटवर्क आउने जाने भैरहँदो रहेछ । ऊ त मेसेज लेखेर पठाइरहँदी रहिछे तर डेलिभर नहुँदा उतै अड्किने । अनि म के देख्नु ! कसो-कसो नेटवर्कले काम गरेछ । अघिदेखि जाममा परेर बसेका मेसेजहरू गोलाबाट निस्किएका कमिलाझें ताँती लागेर आए । नारायणी पुलमा बाटो बिग्रिएकोले ऊ सवार गाडी जसरी जाममा पर्यो त्यसरी नै नेटवर्क कनेक्सन टुट्दा ऊ प्रेषित सन्देशहरू जाममा परेका होलान् ।
माफी नै माग्नु त कहाँ पर्थ्यो र हजुर ! म बुझ्न सक्छु नि हजुरको समस्या ।
मलाई अत्यास लागेको मात्र पो त ।
बरु चाँडो आइस्यो न !
मन आत्तिसक्यो के !
हजुर नआउनी हो र ?
कस्तो बोर भयो बाई !
…
म आएँ त मायालु ! – मैले उसका सबै गुनासोलाई एकै शब्दले सम्बोधन गरिदिएँ ।
ए… हजुर आइस्यो ? बल्ल मन ढुक्क भयो ! – ऊ फुरुङ्ग भई ।
रिसाउनुभयो म्याम ? – मैले सोधें ।
अघिसम्म अलिअलि । तर, अब छैन । – उसले फर्काई ।
कत्ति मिठो शब्द है !
कस्तो शब्द ?
माथिको !
कुन ?
मायालु !
बुझिनँ !
आफैं भन्ने अनि आफैं….! – ऊ जिस्केको भान हुँदैछ मलाई ।
तपाईं मान्छे नै त्यस्तो अनि…! – मैले नि अलिकति छेँड हानें ।
तिमी भनेर बोलाएचाहिं के हुन्छ नि ? – ऊ लाडे पल्टिएको पनि चाल पाउँदैछु ।
कहिल्यै नदेखेको, नभेटेको मान्छेलाई एक्कासी तिमी भनेर कसरी बोलाउँ ? – मैले असहजता दर्शाएँ ।
मनले त देखी-भेटी सबै सक्यो नि ! अब के बाँकी छ र ? – उसको आत्मिक शिथिलता महसुस गर्दैछु ।
तिमी भन्दैमा आकाशको तारा खस्छ र ? – म इत्रिने भावमा बेपर्वाह बोल्छु ।
तारा नखसे पनि माया बस्छ नि त ! – ऊ झन् खरो उत्रिई तर्कमा ।
अनि, अरु ?
तपाईंमा भन्दा तिमीमा नजिकपन हुन्छ ।
अरु ?
माया लुकेको आफ्नोपन !
अनि ?
न्यानोपन ! अझ यो एक्लो यात्रा । गाडीको झ्यालबाट छिरेको चिसो सिरेटोले सकेको बेला । हजुरको न्यानो अँगालो । आहा…! – ऊ पग्लिएर बग्न थालिसकी । म अन्दाज गर्न सकिहाल्छु यत्तिको अदृश्य परिस्थिति ।
यसरी नबोल्नुस् है, लभ पर्ला !- एक लघु वाक्यांश नटुगिङ्दै अर्को दीर्घ उच्छवास छोड्यो मनले ।
पर्ला होइन, लभ त परिसक्यो महाराज ! – मेरो वाक्य भुइँमा खसी नसक्दै टपक्क टिपेर मैतिर फर्काइहाली उसले ।
अब म चुप छु । ऊ चुप छे ।
सन्नाटा छायो दुबैतर्फ । शून्यताको साम्राज्यमा चकमन्नताले राज गर्यो । सायद उसको नेटवर्क गयो पुन: !
तपाईं छेउको सिटमा को छ? – सोधी पठाउँछु ।
फेरि तपाईं….? अबदेखि मलाई तिमी भनेर बोलाइस्यो न है ! – ऊ रन्किन्छे ।
ओके बाबा ओके ! तिमी छेउको सिटमा ? – सम्बोधन फेरेर उही शब्द दोहोर्याएँ ।
कोही छैन । म एक्लै ।
ए, गज्जब रहेछ ।
म गाडीमा यात्रा गर्दा छेउको सिटप्रति धेरै सचेत हुन्छु । टिकट काट्ने बेला राम्रोसँग सोध्छु कि छेउको सिटमा को छ भनेर । यदि महिला छ भने टिकट लिन्छु नत्र लिन्नँ । बरु दुईवटै सिटको भाडा आफैं तिरेर रिजर्भ गर्छु । पछि महिला आए एउटा सिट छोडिदिन्छु नभए एक्लै सुतीसुती यात्रा गर्छु । राम्रोसँग नबुझी टिकट काट्दा नराम्रोसँग दुख पाइँदोरहेछ कहिले-कसो त ! उस्तै पुरुष सहयात्री परे हिंसामा उत्रिहाल्छन् । मैले नै भोगेकी छु । सबै त होइन, कोहीकोही पुरुष दानवीय स्वभावका हुँदा रहेछन् । मलाई डर लाग्छ र सावधानी अपनाउँछु । आज पनि सावधानीपूर्वक दुइटा सिटमा एक्लै ढलिमली यात्रा गर्दैछु । तर, आज त हजुर हुनुहुन्छ साथमा । यो मेरो छेउको सिटमा ठ्याक्कै हजुरलाई राखेकी छु मैले । सत्ते होला !
उसका कुराले धेरै भावुक र थोरै रोमान्चित बनायो ।
तिमी मायालु पनि, रसिक पनि, बाठी पनि है ! – यसै भनिदिएँ ।
लौ, कसरी ? – एक हलको मेलो हाँसेर फुत्तै सोधिहाली । उसको बानी नै छ कि अरुको कुरा पूरा सुन्दिन । बिचैमा काटिहाल्ने र आफ्नो कुरा लम्ब्याउने आदतमा अब्बल ऊ ।
म तिम्रा कुरासँगै पोखिएर छताछुल्ल भएँ ! – मनमा आएको यही तयारी वाक्यांश पठाएँ ।
म पनि हजुरका कुरामा चुर्लुम्मै डुबेर निथ्रुक्कै भएँ ! – उसले अझै रेडिमेड जवाफ फर्काई ।
बाटो बिग्रिएकोले लामो समय ऊ नारायणी पुलमा अड्किई । राजमार्ग अवरुद्ध हुँदा हाम्रा सवारीसाधन, चालकदल र यात्रुहरु सिर्फ रमिते मात्र बन्दछन् । सडकमा अवरोध पुर्याइरहेका स-साना समस्याहरु पन्छाएर यात्रा अगाडि बढाउनुको साटो नाराजुलुस गरेर सरकारलाई सराप्नमै अभ्यस्त हाम्रो समाजप्रति म, ऊ, हामी सब भलिभाँती जानकार छौं ।
बल्लबल्ल बाटो खुलेछ र उसको यात्रा सोझिएछ । बरमजैया, बाजेको पेडा पसलमा पुगेपछि उसले टेक्स्ट च्याट बन्द गरेर भ्वाइस टक सुरु गरी । ऊ सासले बोल्छे । फत्याकफुतुक गलेको आवाजमा ऊ फुसफुसाउँदा म पनि लतक्कै हुन खोज्छु । अघिसम्म ऊ प्रायशः प्रेमिल सुनिन्थी । अब भने अधिकांश कामुक प्रतीत हुन्छे । मान्छे मनस्थितिको एक निश्चित बिन्दुमा पुगेर प्रस्तुत हुँदा ऊ यस्तो सत्य सावित हुन्छ कि अब भ्रम र झुटको कुनै आयु छैन । यो जगत त्यतिबेला जगमगाउँछ जतिबेला सृष्टिका हर संसाधनको समुच्चा सदुपयोग चरमोत्कर्षमा पुग्छ । ऊ अमिर छे तर प्रेम र यौनको अल्पताले जीवन लघुताभासबाट उम्किन सकेको छैन ।
भोगाइ नै भोगाइको शृङ्खलाबद्ध यात्रा नै जीवन हो । म उसलाई जीवनको परिभाषा सिकाउन खोज्छु ।
जीवन त दर्शनको नील गगनभन्दा भोगाइको हरित भूमि पो अधिक रहेछ । ऊ यथार्थको धरातलमा आई । यतिबेला ऊ भन्दै थिई – अब म कोसी व्यारेज क्रस हुँदैछु । केही क्षणमै हजुरको प्रदेश प्रवेश गर्नेछु ।
उसको मोबाइलमा चार्ज नसकिएको भए अझै बोल्ने थिई होला । उसलाई निद्रा थिएन । उसको यात्रामा वचनबद्धता अनुसार नै साथ दिएँ । तर, मलाई भने भोलि ड्युटी गर्नुछ । सुत्नैपर्छ अब ता ! टरिसकेको हुनाले निद्रा फकाउने प्रयत्नमा लागें । छेउको ल्यापटपमा स्वरसम्राट गुन्जिरहेकै छन् उसैगरी ।
मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ ।
विराटनगर पुगेपछि अझै ऊ स्वतन्त्र भई । वर्षौंदेखि पिंजडामा थुनिएकी चरी एकाएक उम्किए जस्ती । अब त झन् निर्वाध कुरा गर्न थाली मसँग । मुच्युअल मन मिल्दै गयो । आत्माको आवाज ध्यानले सुनिछे । दिलले आपसी दिल जितेपछि धक मान्नै छोडिछे । मनको मैदानमा पारस्परिक युद्ध जित्ने होडबाजी चल्दो छ । आफूलाई हरदम अग्रमोर्चामा उभ्याइरहन्छे ऊ ।
उसका मामा-माइजू मुक्तिनाथ दर्शनमा गइहाले । मामाकी एक्ली छोरी बहिनी पनि दिउँसो कलेज जान्छे । त्यो आलिशान महलकी राजकुमारी ऊ नै अब । मामा-माइजू तीर्थयात्राबाट नफर्कुन्जेल बहिनीसँग साथी बस्नकै लागि भनेर गएकी रहिछे ऊ । प्रत्येक कोठा-चोटा उसको कब्जामा छन् । उसकै मनमौजी चल्छ । अब त भिडियो कलसम्मै पुगिसकेको छ कुरा । जुन आवरण र अवतारमा पनि निसङ्कोच प्रस्तुत हुन्छे । दिनमा त स्वच्छन्द प्रेमको कावा खान्छे नै, रातमा पनि कुनै बाधक छैन उसका लागि । भन्छे- सानी उता आफ्नै कोठामा मस्त छे । अझ यसो पनि थप्छे कि – उसको पनि त ब्वाईफ्रेण्ड होला नि मेरो जस्तै, होइन ?
हप्ता दिनसम्मको विराटनगर बसाइलाई बिट मारेर ऊ भैरहवा फर्की । अफिसबाट दस दिनको छुट्टी लिएको भन्थी । जागिरमा हाजिर हुनु, माइती-मावली छोडेर पोइको घर जानु अनि मन परेको मान्छेसँग अफलाइन हुनु हिटलरको ग्याँस च्याम्बरमा फँस्नु जस्तै हो । त्यो अघोषित कैदीघर फोरेर कहिले निस्किएला फेरि ! मन बेचैन छ, आक्रान्त छ, भतभाती पोलिरहेछ आगोको भुंग्रोले झैं ।
ऊ दार्शनिक कुरा गर्न पनि असाध्यै सिपालु छे । उसको प्रेम प्रदर्शन अझै अपरम्पार छ । समय कस्तो यान्त्रिक भएछ । म उसलाई छुन त सक्दिनँ तर अनुभूत गर्न सक्छु । यो भर्च्युअल दुनियाँ अजीव छ । साक्षात् स्पर्श छैन तर सन्तुष्टि छ गजब । यतिका दिन हामीले भोगेको डिजिटल प्रेमकहानी कुनै रोमान्टिक सिनेमाको प्रेमिल दृश्यभन्दा किमार्थ कम छैन । जो नाचिरहेछ अनवरत छमछमी आँखामा ।
छुट्ने बेलामा उसले भनी – म ध्वस्त भएँ । म सखाप भएँ । यो अनलाइन एक्सप्रेसले मलाई पत्तै नपाई कहाँ पुर्यायो कहाँ ! उप्रान्त, कतै म बहकिएँ भने सम्हाल्ने जिम्मा हजुरको ।
रातका प्रहरहरू प्याज छोडिए जसरी छोडिँदै गएछन् । आजको रात्रियात्रामा अस्ति जस्तो साथ दिन सकिनँ उसलाई । शून्यताको भुमरीमा एकतमास मडारिएको मन सम्हाल्नै गाह्रो भएको बेला ऊ भने उल्टै आफूलाई सम्हाल्न भन्छे । प्रेमाग्नीमा आँधीबेहरी आउला जस्तो भइसक्यो संगालिने र सम्हालिने जिम्मा अब क-कसको हो, समयले नै बताउला ! म आफैं आँधीको बाहन भएको बेला मैले तिमीलाई होइन, तिमी स्वयम् सम्हालिनुपर्छ मायालु! झल्याँस्स ब्युँझिदा त ल्यापटपमा स्वरसम्राट यस्तै प्रेमालाप पो एकोहोरो अलापिरहेका!
सँगाल घुम्टोहरु सजाऊ केशहरु
म आएँ आँधी बोकेर सम्हाल वेगहरु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

