डिलबाट ढुङ्गा हानेर पोखरीमा उठेका तरङ्ग हेर्दै ससाना केटाकेटीहरू रमाइलो मानिरहेका छन्‌ । प्रायः अरू दिन जस्तो । तरङ्ग भएर पछि अर्को र अर्कोपछि अर्को बढ्दै जान्छ । अनि केहीबेर मौन, शान्त र चुपचाप । फेरि  अर्को ढुङ्गाले अर्को तरङ्ग उठ्छ।

उनीहरू तरङ्ग गन्छन्‌ ।

“एक… दुई… तीन

“धत्‌ ! तँ गन्नै जान्दैनस्‌ । सात-आठसम्म पुगिसक्यो । तँ भने दुई….. तीन….. ।”

बाँकी अरू हाँस्छन्‌ । एक्छिन फेरि पोखरीबाट कुनै तरङ्ग उठ्दैन ।

“खै ! म हान्छु ढुङ्गा ।”

एउटा चञ्चले जस्तो केटो ढुङ्गा हान्छ। उसको ढुङ्गा हान्नुसँगसँगै  त्यसबाट उठेका तरङ्ग गन्न थाल्छन्‌ अरू ।

“आठ पुग्यो ।”

“दस पुग्यो ।”

“मैले गन्दा त छ मात्रै पुग्यो ।”

“हैन हैन, दस पुग्यो ।”

“आठ मात्रै पुग्यो ।”

“दस पुग्यो भन्दैछु ।”

“दस पुगेकै छैन ।”

अशेष मल्ल

“तैँले भनेर हुन्छ ! मैले दससम्म गनेको ।”

“गन्छस्‌ तैले दस ! आठभन्दा बढी पुगेकै छैन ।”

एउटाले अर्को ढुङ्गा फाल्छ र त्यहाँबाट उठेको तरङ्गले सम्पूर्णको ध्यान फेरि तरङ्गमा पुग्छ ।

“एक… दुई… तीन …।”

“छ…सात ।”

“दस पुग्यो…दस पुग्यो ।”

एउटा अलि जोडले ताली पिट्दै उफ्रन्छ ।

“अघि पनि दसै पुगेकी थियो ।”

फेरि एउटाले अर्को ढुङ्गा फाल्छ । तरङ्ग उस्तै हतार-हतारले उठ्दै- फाट्दै बढ्छ । केटाकेटीको गन्ने क्रम पनि त्यसरी नै तरङ्गसँगै हतारित्छ ।

“ढुङ्गाले हान्दा किन त्यस्तो हुन्छ होला, हगि ?”

तरङ्ग हेर्दै एउटाले अरूसित सोध्छ र ढुङ्गा हातमा खेलाउँछ ।

“जति ठूलो ढुङ्गा भयो, त्यति ठूलो त्यस्तो हुन्छ पोत !”

हावामा कलिलो औंलाले तरङ्गको आकार कोर्दै अर्को बोल्छ । त्यस अदृश्य रेखालाई मानौ सबैले देखेझैँ हेरिहन्छन्‌ ।

चुपचाप एकछिन सन्नाटा जस्तो पोखरी ।

“सबैभन्दा ठूलो पार्छु म।”

एउटा हातमा ढुङ्गा तयार पार्दै भन्छ । उसको ढुङ्गाले तरुङ्ग सबैभन्दा ठूलो हुन्छ कि हुँदैन सायद अरूलाई छलफल गर्ने मन लाग्दैन वा विश्वासै नभएजस्तो त्यति वास्ता। गर्दैनन्‌ ।

“आओ ! को बाजी खेल्छ मसँग ? सबैभन्दा ठूलो पार्छु म, बुझ्यौ ?”

ऊ फेरि ढुङ्गा सबैलाई देखाउँदै जोसिन्छ ।

“लौ हेरौं न त । कति ठूलो पार्छस्‌ !”

ढुङ्गा तयार पार्दै जबाफमा उससँग अर्को नजिकिन्छ ।

“पैले बाजी राख्‌ न।”

“तँ पैले राख्न ।”

“तँ पैले राख्‌ ।”

ऊ हात थाप्छ । अर्कोले सहमतिमा आफ्नो: हातले उसको हात पिट्छ ।

“बाजी…बाजी ।”

सबै ताली पिट्दै उफ्रन्छन् , अनि, कुनै आवाज र हतारको सङकेतबिना मौन र उत्सुक हुँदै पोखरीमा हेर्छन्‌ सबै- एउटा उत्सुकताले ।

एउटा ढुङ्गाले पोखरीको शान्तिलाई चिर्छ अनायास। तरङ्ग उठ्छ । सबै गन्न थाल्छन्‌ । तरङ्ग हतार-हतार अघिल्तिर दगुर्दै बिलाउँदै जान्छ । फाट्दै जान्छ । झन्डै झन्डै पोखरीले भ्याउन नसकेजस्तो।

“लौ ए अब तँ हान्‌ ।”

पोखरी शान्त भइसकेपछि अर्कोले ढुङ्गा हाग्छ। तरङ्ग फेरि उठ्दै जान्छ ।

उत्सुकताले सबै एउटै विन्दुमा आँखा जान्छन्‌ । “तरङ्ग फैलिदै उस्तै आकारमा बढ्छ । पोखरीकै आकारमा त्यो पनि त्यत्तिकै हतारले बिलाउँछ ।

“मेरो ढुङ्गाले ठूलो भयो ।”

पहिले ढुङ्गा हान्ने केही जोडले बोल्छ ।

“हुन्छ तेरो ढुङ्गाले ! तैले भन्दा मैले“ ठूलो पारें ।”

“मैले ठूलो पारें ।”

मैले,

अरू सबै अनिर्णीत आँखा लिएर उनीहरूलाई हेछन्‌ ।

“तेरो त्याँसस्म त पुग्यो नि ! मेरो त त्यो भित्तासम्म पुग्यो ।”

शान्त भइसकेको पोखरीमा भर्खरै भएको तरङ्गलाई देखाउने प्रयास गर्दै जिद्दी गर्छे एउटा । अर्को मान्ने पक्षमा देखिदैन । झगडा होला जस्तो वातावरणलाई अहले ताली पिट्दै सायद समर्थन गर्छन्‌ ।

निर्णयको कुनै टुङ्गो लाग्दैन । केही एउटाको पक्षमा र केही अर्कोको पक्षमा ।

“मेरो त्यहाँसम्म पुगेको थियो ।”

“त्योभन्दा ठूलो भएको थियो मेरो ढुङ्गाले ।”

“मेरो भित्तासम्म पुगेको थियो ।”

“पुग्छ भित्तासम्म ..! त्याँसम्म त पुगेको थियो नि !”

“एइ ! ढाँट्छस्‌ ?”

“के ढाँट्नु ! सोध्‌ न अरूलाई । तेरो भन्दा यति ठूलो भएको थियो ।”

हातले भ्याउन्जेल ऊ ठूलो आकार बनाउँछ । अर्को उसको हात समाउँदै बटार्न खोज्छ- एकाएक ।

“एइ ! छोड्‌…छोड मेरो हात…छोड्‌ भनेको ।”

रून खोज्छ ऊ । अरू ताली पिट्छन्‌ ।

“तँ अरस्तिदेखि बाटो भइराखेको छस्‌ । तँलाई हेर्‌ न आज।”

“एइ ! छोड्‌ भनेको ।’

झगडाको वातावरणले उनीहरूलाई झ्वाप्प छोप्छ ।

“नछोड्‌ गोपाल ! नछोड्‌ । हात भाँचिदे त्यसको ।”

“अझै पुगेन… .अझै पुगेन . ।”

केही झगडा चर्काउने प्रयास गर्छन्‌ ।

“एय्या ! मार्यो । गोपालेले मार्यो ।”

अझै हात बटार्छ ऊ । हात छोड्ने क्रममा दुवै केही जोसिन्छन्‌ । पोखरीको किनारबाट उनीहरुको जुधाइने केही माटो पानीमा झर्छ।

“नछोड गोपाल ! नछोड्‌ नछोड ! ”

कुस्तीको क्रम । लुछालुछी । घृस्साधस्सी । घम्साधम्सी ।

अनायास गोपाल डिलबाट खसेर पानीमा पछारिन पुग्छ । गहिरो र ठूलो पोखरीमा डुब्छ त्यो ।

अप्रत्याशित चूप हुन्छन्‌ सबै, आतङ्कित हुन्छन्‌ सबै । गोपालको डुबाइले उठेको ठूलो तरङ्ग बढ्दै जान्छ- अघि ढुङ्गाले हान्दाभन्दा ठूलो तरङ्ग ! तरङ्ग बढ्दै भित्तामा ठोकिन्छ र फेरि पोखरी अघिको जस्तो मौन र शान्त हुन्छ ।

कोही बोल्दैनन्‌ । सबै आतङ्कित भएर पोखरीमा हेर्छन्‌ । शान्त पोखरीमा केही चञ्चल छैन । कुनै तरङ्ग छैन । गोपाल पनि छैन । त्यो कुनै गहिराइमा हराइसकेको छ ।

एकले अर्काको आँखामा हेराहेर गर्छन् । चूपचाप त्यस शान्त पोखरीमा अनायास केही भूल्का जस्तो देख्दछन्‌ उनीहरू । बस, अनि फेरि पोखरीमा कुनै तरङ्ग उठ्दैन । कुनै भूल्का उठ्दैन ।