तपाईंभन्दा म फरक छु । र म भन्दा पनि फरक छ मेरो मन । म बेचैन छु – आफ्नै मनसँग । म थकित छु – आफ्नै रहरहरूसँग । म त्रसित छु – आफ्नै सोचाइहरूसँग।
तपाईंलाई मन्दिर मन पर्छ होइन ?
तर मलाई घाट मन पर्छ ।
तपाईंलाई उज्यालो दिन मन पर्छ होइन ?
तर मलाई अन्धकार कालो रात मन पर्छ ।
म दिनमा निदाउँछु । रातमा त्यो आफ्नै पतित/अतीतलाई सम्झेर थकित भएको मेरो वर्तमान यतै छाडी सुदूर भविष्यको कल्पना गर्न निस्कन्छु । मेरो भविष्य पनि अन्धकारमा विलीन भए जस्तो छ । म त केवल अँध्यारो मात्रै देख्छु ।
दिनभर कोठामा सुत्छु । अनि रातभर सहरका गल्ली-गल्छेडा, मन्दिर-मसानघाट, पार्क-चोकहरूमा भौँतारिँदै हिँड्छु । अचेल मेरो दिनचर्या यसै चलिरहेछ । सरी सरी दिनचर्या होइन । यसलाई रातचर्या भन्दा उचित होला ।
आज बिहान छ बजे मात्र म कोठामा पसेको हुँ । एक कप चिया र एउटा चुरोट पिएर बिस्तरामा पल्टेको हुँ । भुसुक्कै निदाएछु बाबै । छिमेकीको कोठा तिर बाट आएको बाल आवाजले मेरो निद्रा भङ्ग गरिदियो । उठे बाथरुम गएर अनुहारमा पानी छ्यापे । दारी-जुँगा बढेर अनुहार डढेलो लागेको वन जस्तो भएको छ । त्यसलाई बेवास्ता गर्छु । घडी हेरे ठिक सात बजेको रहेछ । कालो वस्त्र धारण गरी सहर घुम्न निस्के । रातचर्या सुरु भयो नि त । गगनमा घाम अस्ताएर जुन उदाएको छ । यही हो मेरो मन पर्ने समय ।
म सरासर बसपार्क तिर जाँदै छु । बुद्ध चोकमा दीप प्रज्वलन भइरहेको छ । के को दीप प्रज्वलन ? बुद्ध चोकको प्रतिमामा एउटा ब्यानर झुन्ड्याइएको छु । जहाँ लेखिएको छ । ‘गायक तथा कलाकार रविन तामाङप्रति हार्दिक श्रद्धाञ्जली । ‘
ओ माई गड ! कस्तो अविश्वसनीय खबर । विगत तिन दिन यता मैले सामाजिक सञ्जालमा उपस्थित जनाएको छैन । पत्र-पत्रिका पढेको छैन । लेजेन्ड आर्टिस्टको देहान्त भएको खबर सङ्ग म बेखबर रहेछु । म निःशब्द भएँ । दुखी भएँ । जिन्दगी भन्नु के नै पो रहेछ र ? आमाको पाठेघर देखी मुर्दाघर सम्मको यात्रा न हो । न जाँदा केही लिएर जान पाइन्छ । न यही बसिरहन पाइन्छ । उनको आत्माको चिर शान्ति को कामना गरी भारी मन बोकी बसपार्क गए । मदिरा घरमा मदिराको प्याला रित्याउँदै बसेँ । च्यातिएको मनोदशा सिलाउँदै बसे । घन्टौँ बितेछ । घडी हेरे ठिक दस बजेको थियो । मदिरा घरबाट बाहिर निस्केँ ।
त्यसपछि सिधै सहरको मध्य भागमा अवस्थित हुप्राचोर गएँ । यो मेरो मन पर्ने गन्तव्य मध्ये एक हो । यता म प्रायजसो राति आउन रुचाउँछु । पिपलको रुखमुनि चुरोट सल्काउँदै बस्नु मेरो दैनिकी हो । चौरमा म बाहेक अर्को मनुष्य जाति कोही छैनन् । चराहरूको चिरबिर-चिरबिर आवाजले शून्यतालाई चिरेको छु । पिपलको रुखमुनि धुवा उडाउँदै बसेको थिएँ । अन्दाजी दस/एघार वर्षीय एउटा फुच्चे एकाएक मेरो अगाडि प्रकट भयो ।
उसले भन्यो, “दाइ चुरोट सकिएपछि ठुटो नफाल्नु है ।”
उसको अनौठो अनुरोध देखेर म चकित-ओ-चकित भएँ ।
मैले भनेँ, “किन नफाल्ने ठुटो ? ठुटोको के काम ?”
“हैन दाइ मलाई दिनुस् म तान्छु नि” उसले भन्यो । उसको कुराले मन खिन्न भयो । मैले उसलाई सिङ्गो चुरोट नै हस्ते गरे । फुच्चेले स्वादमानि-मानि चुरोट सेवन गर्यो ।
मैले भनेँ, “तिम्रो नाम के हो, घर कहाँ हो, यति राती एक्लै किन ?”
अनि उसले भन्यो, “मेरो नाम अनाथ हो । यो पृथ्वी नै मेरो घर हो । अहिले म चुरोटको ठुटो खोज्दै हिँडेको हुँ ।”
म आफ्नै मुडमा व्यस्त भएँ । फुच्चे एकछिन मै अलप भयो ।
सहरमा बत्ती गयो । म अँध्यारो हुप्राचोर नियाल्दै बसिरहेँ ।
अहो ! कति थोक छ यो सानो चौरमा । चौरभरि दुबो छ । दुबोभित्र कति किराहरू होलान् । छेउमै बरको रुख छ । जुन रुखमा कुनै दिन कोही एक पागल प्रेमी झुन्डिएर मर्न सक्छ । चौरको दक्षिणपट्टि विशाल पानी ट्याङ्की छ । ट्याङ्कीभित्र कुनै दिन बलात्कार पछि हत्या गरिएकी कुनै स्त्रीको मृत देह भेटिन सक्छ ।
१२ बजेछ । म सहरको दक्षिण पुछारमा अवस्थित गल्लीमा हिँडिरहेछु । एक्कासि एउटा नारी आवाज मेरो कानमा गुञ्जायमान हुन्छ ।
‘ए दाइ जाने हो ? मात्र पाँच सयमा ‘
“कहाँ जाने ? र पाँच सयमा के गर्ने ?”
यी कुराहरू सित म परिचित छु । पाँच सय हस्तान्तरण गर्ने सम्झौता पछि मैले उक्त यौनकर्मी सित सम्भोग गरे । वेश्यासँगकाे कामलीला पछि म मसानघाटतिर लागेँ । घाट पुग्दा रातिको दुई बजेको थियो । बगरमा बसेर चुरोट सल्काएँ । घाट सुनसान छ । आफ्नै रफ्तारमा बगिरहेको पानीको कलकल-कलकल आवाज ले शून्यतालाई चिर्न खोजिरहेछ । मान्छेको अन्तिम बिन्दु घाट हो । कुनै दिन यही घाटमा यो देह पनि जलिजानेछ । धुवा भई उडिजानेछ ।
बगरमा ढुङ्गाको सिरानी हाली निदाएछु । बिउझिँदा उज्यालो भइसकेको थियो । एक अँजुली पानीले अनुहार भिजाएँ ।अनि कोठातिर सोझिएँ ।
अचेल मेरो समय यसै गरी बितेको छ । अब त सायद हराइसकेँ होला । म भित्रका साहस र अठोटहरू । थाहा छैन मनको घाउमा लगाउने मलम कहाँ पाइन्छ । यो संसारमा त्यस्तो कुन कुरा छ । जसले अतीतलाई भुलाइदिन्छ र वर्तमानलाई फूलसरि फलाइदिन्छ । दिनदिनै पागल हुँदै गएको छु । यो बिरानो सहरमा म मृत्यु खोज्दै भौँतारिएको छु । तर मलाई अकालमा मरेर जिन्दगी खेर फाल्नु छैन ।
बाँच्न मन छ अझै केही वसन्त ! तिमीलाई पर्खिरहन भए पनि । लाग्छ – तिमी आउने दिनको कल्पना गर्दै म बाचूँ, तिम्रो बाटो हेर्दै म बाचूँ ।
त्यसैले पनि मलाई केही साल अझै बाँच्न मन छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










