रातको तीन बजेको थियो । सुतिरहेका निश्चल घिमिरे एक्कासि ब्युँझे । उनलाई केही उकुसमुकुस भएजस्तो लागिरहेको थियो । उठेर मोबाइलमा पब्जी खेल्न थाले । तर धुवाँको पिरो गन्ध आएर नाकैमा ठोक्कियो । ढोका खोलेर बाहिर निस्के । बाहिर त धुवाँको मुस्लोले घेरिसकेको रहेछ ।
उनी आत्तिएर कराए.. ‘बाबा, बाबा, झट्टै बाहिर निस्कनु त ! कहाँ आगलागी भयो ? धुवाँको मुस्लो आइरहेको छ ।’
यति भनेपछि घरका सबैजना निस्केर बाहिर हेरे । आफ्नो घरको उत्तरपट्टि टाँसिएर रहेको राज श्रेष्ठ दाइको टिनको छाप्रोमा रहेको जुत्ताचप्पल पसलमा आगो दनदन दन्किरहेको देखे । घरको तेस्रो तलामा रहेका उनीहरु अताल्लिएर भुइँमा ओर्लिए । निश्चलकी आमा निशा घिमिरे रुँदै चिच्याउँदै सडकमा तल र माथि दौडिन थालिन् ।
‘ए गुहार गुहार ! आगोले सकिसको… दमकल बोलाइद्याओ न… ए भुन्टीकी आमा ! ए भुन्टीका भाइ ! उठ न, ए उठ… सको आगोले सको… दमकल बोलाओ न हो दमकल बोलाओ । हुँ हुँ … ए कोही छौ ? .., ए पुलिसलाई फोन गर पुलिसलाई …खै मेरो मोबाएल..? निश्चल ? पुलिसलाई फोन गर न छिटाे पुलिसलाई… मेरो मोबाइल खै ?’
निश्चलले हेर्यो । आमाको मोबाइल आमाकै हातमा थियो ।
‘तपाईँकै हातमा छ ममी … नआत्तिनु न म फोन गर्दैछु ।’
एकातिर आगोका लप्का माथिमाथि लप्किँदै आफ्नो घरै सिध्याउन खोज्दैछन् अर्कातिर कठाङ्ग्रिँदो जाडोमा सुतिरहेकै ड्रेसकी आफ्नी श्रीमती पागलजस्तै बनेर रुँदै चिच्याउँदै सडकमा तल र माथि दौडिररहेकी छ । हात नाङ्गा छन्, खट्टा नाङ्गा छन् । रात अँध्यारो छ । सारा मान्छे निद्रामा छन् । कुकुरहरु एकोहोरो भुकिरहेका छन् । गुहार माग्दा गुहार दिने कोही छैन । यस्तो देखेर बाबा डिल्ली घिमिरेलाई के गर्ने के नगर्ने होसै आएन । मोबाइल छाम्दा त्यो पनि घरमाथि नै छुटेछ । आतेसमा ह्वाइह्वाइ गर्दा आवाजै भासियो, बाहिर केही निस्केन । सडकमा पल्टेर टाउको मात्रै समाते ।
यो मुख्य व्यापारिक क्षेत्र हो दमकको । व्यापारी इलाका भएको हुनाले अधिकांश घरधनीहरु यी घरमा बस्तैनन् । व्यापारीहरुलाई घर भाडामा दिएर हिँडेका छन् उनीहरु अन्यत्रै कतै । व्यवसायीहरु व्यापार बन्द गरेपछि टाढा बस्तीका आ–आफ्ना घरमा पुगेर निदाएका छन् । अनियन्त्रित हुँदै गएको आगो निभाउने कि, मान्छे बोलाउने कि, बौलाइजस्ती आफ्नी श्रीमती सम्हाल्ने त अब ? एकोहोरिएका डिल्लीले आफैँलाई सम्हाल्न सकेनन् के सम्हाल्छन् र अरु ?
६ घर तल पूर्व जाने बाटोमा चियापसल गर्ने भुन्टीकी आमा र भुन्टीको भाइ पनि दौडिएर आए । नजिकैको जोलिबी खाजाघरमा काम गर्ने सानासाना कामदार भाइहरु पनि आए । अब भुन्टीकी आमा पनि चिच्याउन लागिन् । दमकल.. दमकल.. । भुन्टीको भाइ नगरपालिकातिर दौडियो बिनासवारी साधन ।
‘दमकल’ ‘दमकल’ भनेको आवाजले बोधराज तिम्सिनाकी श्रीमती रविनालाई पनि झस्काएछ र ए के भयो हँ भन्दै उठिन् । बाहिर हेर्दा त डरलाग्दो आगलागी भइरहेको देखिन् । उनले आत्तिएर मलाई फोन गरिन् । म पनि निद्रामै थिएँ ।
फोनको घण्टीले झसङ्ग बनायो । उठेर टेबलमा रहेको मोबाइल हेरेँ । बोधराज बुबाको कल आइरहेको थियो ।
मैले सोचेँ ‘लु हौ…बा त फेरि सारै हुनुभएछ क्यार !
तुरन्तै फोन उठाएँ । सानीआमा चिच्याएको आवाज आयो, ‘घिमिरे मार्केटमा आगो लागो । छिटो दमकल बोलाइदिनु न…घरै सकिन आँटिसको !’
सात्तो गयो सुन्ने बित्तिकै । हामी सयौँ व्यापारीको पसल छ घिमिरे मार्केटमा । घिमिरे मार्केट नै सकिन लागे त आफू पनि सकिने भइयो नि अब ।
हतारमा दमकलको नम्बर खोज्छु भेट्दिनँ । मुखमा कन्ठ छैन, सेभ गरेको नाम आत्तिएर बिर्सिए त गइयो, के फेला पर्छ र ?
श्रीमती रेणुकाले ‘गोपाल काकालाई फोन गर्नु न उहाँसँग छ होला’ भनिन् ।
तुरुन्तै डाइल गरेँ । गोपाल गुरागाईंले ३ रिङ जाँदै उठाउनु भयो ।
‘घिमिरे मार्केटमा आगलागी भयो रे, नगरपालिकामा फोन गर्नु त काका ।’
‘कसकोमा ? मेरो पसलमा ?’
‘कसकोमा भन्ने थाहा छैन, घिमिरेका घरमा भन्ने खबर छ । नम्बर छ होइन ?’
‘छ, छ । गरिहालेँ ।’ फोन गर्दै उहाँ हावाको गतिमा बाइक हाँकेर मार्केटतिर दौडिनुभयो ।
गोपालजीपछि मैले श्याम कार्की, नगरप्रमुख रामकुमार थापा, निवर्तमान नगरप्रमुख रोमनाथ ओलीलाई सूचना दिन र दमक विद्युत प्राधिकरणलाई लाइन काट्न फोन गरेँ र मार्केटतिर दौडिएँ ।
हल्लखल्लले योगेस गुरागाईं पनि निस्कनु भयो । अब घिमिरे मार्केटमा पसल हुने पशुपति अधिकारी, देवेन्द्र बराललाई फोनबाटै सूचना दिँदै मार्केट पुग्यौँ दुई भाइ ।
हामी त्यहाँ पुग्दानपुग्दै दमकल आइपुग्यो । हाम्रो फोन पुग्नुभन्दा पनि २ मिनेट अगावै भुन्टीको भाइ नगरपालिका पुगेर गेटमा ढ्यामढ्याम हानेर चिच्याएछ । विचराका हात सुन्निएका देख्ता मलाई खुबै माया पनि लाग्यो । यस्तो सराहनीय कार्यका लागि भुन्टीको भाइलाई मेरो सलाम छ । । तर गजराज श्रेष्ठ ‘राजदाइ’ को पसल लगभग सकिन लागेको रहेछ । त्यो पसलसँग जोडिएको रेडिमेड कपडा पसललाई पनि भेटिसकेको रहेछ । नाथे एक दमकल पानी त्यत्रो अजङ्गको आगोका लागि हात्तीका मुखमा जिरो भयो । सल्याकसुलुक निलेर दारा देखाउँदै चढ्न थाल्यो माथिमाथि । फेरि दौडियो दमकल नगरपालिकातिरै ।
त्यता नजिकै पानी भर्ने करुवाका टुटी उठाएर राखेको भए पो तुरुन्तै भर्न मिल्थ्यो त पानी । पहिले खानेपानीको पाइप गाड्दा राखौँ न प्रभु राखौँ न भनेर हात जोड्दा पनि शासकहरुका कानमा बुजा खाँदिएका थिए, सुनेनन् । लिखित निवेदन दिँदा आँखै बन्द भएका थिए, पढेनन् । अहिले रुन्चे मुख लाएर के हुनु थियो र ?
गोपालजी, म र भेला भएका साथीहरु धमाधम फोन गर्न थाल्यौँ कमल गाउँपालिका, उर्लाबारी, गौरादह, राजघाट, कानेपोखरीका दमकलहरुलाई । एता आगो झन् झन् कसिँदै लप्किन थाल्यो माथिमाथितिर । एक तलामाथि निश्चल सुत्ने कोठामुनि रहेको सञ्जीव शर्माको कस्मेटिक्स र खेलौनाको ठुलो गोदामलाई समातिहाल्यो लप्काले । छेउछाउ जाइसक्नै भएन । बजार नै थर्काउने गरी ड्वाङ् ड्वाङ् आवाज निकालेर पड्कँदै थिए । पसलभित्रका इन्भर्टर र त्यसका व्याट्रीहरु । तेल, स्याम्पू र अनेकन सामग्री भरेका सिसाका बोतलहरु । रेडिमेड कपडा पसल, ढाकाटोपी पसल, जुत्ताचप्पल र कस्मेटिक्स पसल खरानी र धुवामा परिणत हुँदै गए ।
यति गरिसक्ता पनि २ मिनेटको बाटो छिचोलेर थानाबाट प्रहरीको टोली आइपुग्न सकेन घटनास्थलमा । त्यहीँ रतुवापारि पाडाजुँगीमा रहेको सशस्त्र क्याप्पको टोली पनि आइपुगेन । मेयर आए, डेपुटी मेयर आइन्, पत्रकार, जनप्रतिनिधि सबै आए तर प्रहरीको दस्ता आएन । एकछिन पछि एउटा भरुवा बन्दुक पछाडि ढाडमा झुन्ड्याएको भुँडे र हातमा लौरो बोकेको अर्को जवान देखा परे । त्यै पनि पर बसेर रमिते बने, छेउछाउ गएनन् । मलाई चाहिँ दुई चड्कन लाइदिएर थानातिरै पठाइदिउँ कि जस्तो लागिरहेको थियो तर म पनि त्यति सारो वीर त कहाँ थिएँ र ? भित्रभित्रै मुर्मुरिए पनि बाहिर चुइँक्क बोलिन ।
त्यसपछि भने एकाएक सर्वसाधारणको धुइरो छुट्न थाल्यो । छेउका पसलहरु खोलेर सकेसम्म छिटो पसल खाली गर्न थाले व्यापारी साथीहरु । हामीले पनि सकेसम्म सघायौँ । कसैले सामान रुग्यौँ बाटोमा थुपारिएका ।
’मान्छे त सबै उस्तै हुन् तथापि व्यहोरा एउटै हुँदैन ।’ नमुना बजारको सडकमा दुई फर्लाङ हुत्याएर तल्लो किनाराबाट माथिल्लो किनारामा रेडिमेड कपडा र जुत्ताचप्पलको विशाल थुप्रो लगाइयो । त्यो बेलासम्ममा पाँचवटा दमकल जम्मा भए र सशस्त्र क्याप्प पाडाजुँगीका ८ जना जवानहरु पनि । तर सटर फुटाउन नसक्ता सञ्जीव शर्माको गोदाम सबै खरानी भयो । बल्लतल्ल ह्यामर र छिनुको मदतले पानीका फोहोराका साथमा पछिल्लो भागको एउटा सटर तोडेर पानीका फोहोरा भित्र हान्दा बिहानको पाँच बजे मात्र आगो केही मत्थर भयो तर आठबजेतिर मात्रै पूर्ण नियन्त्रणमा आयो ।
जम्मा गजराज श्रेष्ठ, सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, र पुनम घिमिरेका पाँचवटा पसल र सञ्जीव शर्माको एउटा गोदाम गरी ६ वटा पसल खरानीमा परिणत भए भने वरिपरिका अन्य ७ वटा पसलमा धुवाँ र तापको असर पर्यो ।
आगलागी हुनाको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न नसके पनि पोलभरि गुजुल्ट्याएर झुन्ड्याएका, लत्रिएका, गुन्ठुरिएका अव्यवस्थित तार र खराब वाइरिङले नै यस्तो भएको हुनसक्ने अनुमान गरियो । अनुसन्धान जारी छ भन्ने प्रहरीको भनाइ पनि छँदैछ । करोडौँको धनमाल क्षति भयो । कतिपय व्यवसायी साथीहरुको पारिवारिक अवस्था हेर्दा हातमुख जोर्ने उपाय नै बन्द भइहाल्ने अवस्था छ ।
अर्को दुःखद पक्ष के रह्यो भने बजारको बिचभागमा पार्क बनाएर यातायात आवागमनमा अवरोध सिर्जना गरिएको छ नमुना बजारमा । बुज्रुकहरुले हिजो व्यापारिक केन्द्रको माझको बाटो अवरोध गरेर पार्क बनाए । ककसका स्वार्थ के के थिए, ती पूरा भए कि अझै बाँकी छन् । त्यो थाहा छैन तर आज यो आगलागी नियन्त्रणका लागि यही बाटो मुख्य बाधक बनेर उभिएको कुरा त सबैले बुझे नै होलान् ।
अझ पनि यो पार्कलाई यहाँबाट उखेलेर अन्यत्र स्थानान्तरण नगरे यसैले यो बाँकी बजारलाई कप्ल्याक्क मुखमा हाली सुलुक्क निल्ने निश्चित छ । बाटो थुनेर पार्क बनाउने बुद्धि आफ्नै शरीरमा आफैँले आगो लगाउनु जत्तिकै घातक रहेछ भन्ने कुरा आजको घटनाले सावित गरेको छ तर सरोकारवालाले बुझे कि बुझेनन् होला ? यस्तो आपराधिक कार्य आइन्दा दुनियाँले नगरोस् भन्ने सन्देश दिएको छ तर फरक स्वार्थधारीहरूले के सिके होलान् ?
खैर केही छैन, यी विषयहरू उठाउनु नै छ भोलिदेखि उठाउँदै जाउँला तर जे नहुनु थियो त्यै भइसकेपछि अब पीडित साथीहरुलाई सबैले आ–आफ्नो ठाउँबाट जेजति सकिन्छ सहयोग गरौँ । फेरि पनि यसै ठाउँमा खुट्टा टेकेर हातेमालो गर्दै हिँड्नसक्ने वातावरण सिर्जना गरौँ र योजनाबद्ध ढंगले खड्किएका सबै कामहरू पूरा गर्दै जाऊँ भन्ने आव्हानका साथ मनको सम्झिनसक्नुको पीडा यहीँ पोखेर बिट मार्छु । सबैमा साधुवाद ।
यति लेखिसकेपछि मन केही हलुका भयो । यसलाई मैले फेसबुक वालमा पोष्ट गरेँ । धेरैले पढे र शेयर गरे । अनलाइन डिजिटल पत्रिकाहरुले साभार गरेर पुनः प्रकाशित पनि गरे । तर बेलुकीपख ‘सीसी क्यामेरा फुटेज हेरेर प्रहरीले एउटा लागुपदार्थ दुर्व्यसनी, १४ वर्षे बालकलाई पक्रेर थुनामा राखी अनुसन्धान गर्न थालेको’ कुरा बाहिर आयो । फेरि घटना रहस्यमय भयो । मान्छेको मस्तिष्क खल्बलियो । आक्रोस बढ्यो । अनुमान धेरैले धेरै प्रकारले गरे ।
पसल भएको जग्गा विवादको कुरा, मुद्दा चलिरहेका कुरा, जग्गा दुई धनाड्यहरुको किचलोमा अल्झिरहेको तर टहरा अर्कैले बनाएर आजसम्मको भाडा खुरुखुरु खाइरहेको कुरा । एउटाले आफ्नो घर बनाउँदा त्यतापट्टि कोठा उठाउन बिमका रड छोडेको तर अर्कोले आजसम्म बनाउन नदिएको कुरा । विवाद जे जे हुन्, रहस्य जे जे होस् तर विचरा व्यापारीहरु त खरानी भए नि । टेक्ने समाउने दुईवटै खुस्केको भिरको चिण्डो बनेका व्यापारीको पक्षमा बोल्ने को हो त अब ?
एउटा बच्चो पक्रेर ढुक्क बनेर बसेको प्रहरीले न त वास्तविक पीडकको खोजी नै गर्यो न त पीडितले कुनै राहत नै पाए । देशको गति पीडक नै अधिपति ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।