खुकुरी छ धारिलो सिरुपाते तर केही लामो ।

हेर्दा निर्जीव खुकुरी तर कति कति प्राणका अन्तिम थोपाहरू गनेर खिया समेत नलागी रहिरहेको झर्झराउँदो ठिटो जस्तो तर टलक्कै टल्किने त्यसको टलकमा साह्रै निष्ठुरीपन टल्कन्छ । एकै पटकमा मान्छेलाई छम्मै पारी काट्न सक्ने पुरुषार्थमा पित्तल मोडिएको बेंड गतिलै समाइएको खुकुरी समाउने बलियो डौंठे औलाहरूको कैददेखि फुत्किन नसकिने भएर अहिले कसैलाई ताकी नै रहेको छ ।

खुकुरी मान्छेलाई ताक्याताक्यै छ । बाँधिएको हात पछिल्तिर ढाँडमा चलमलाउन नदिएर घोप्टो पारिएको मान्छे काम्या छ, काम्यै छ बरा ! डौंठे मोटा औंलाहरू ‘जोड नाडी’ ठहर्‍याइएको पाखुराको नियन्त्रणमा सामु काँप्दो निरीह मान्छेतिर फर्केर खुकुरीसँग तयार छ ।

‘घरमा तेरो को को छ ? तेरो इष्ट देउतासँगै घरका सबैलाई अन्तिम पटक सम्झी ।’ हत्या पूर्वको घोषणा ।

यो घोषणा शहरी पुलिस चौकीदेखि निकै नै टाढा जङ्गलै जङ्गलमाझ दुर्गमता छामेर उभिएको डाँडानेर गाउँले थोत्रो पाठशालाको सामु सानो आँगनमा भएको हो ।

बोलेन । को बोल्न सक्छ र ? यस्तो वेला । सकेन ।

घोप्टो परेर मृत्यु पर्खिरहेको गर्दन अनि जीउ उम्लँदो श्वाससँग तल माथि भइरहेको मानो खुकुरीले नै डाँडा ताकेर उँभो हेरिरहेछ ।

बोलेन फेरि । खालि श्वास प्रश्वास मात्र तीव्र सुनियो – स्वाँ…स्वाँ… । नबोल्दा मानो खुकुरी समाउने मान्छे होइन तर खुकुरी नै रिसायो ।

अघि अघि मान्छे काट्ने क्रममा कति रिसाएर पनि यस पटक चाहिँ अनौठो रीसमा चाम् मार्दा खुकुरीको बेंड अपरिमित कसिलो भयो ।

पर्खेन उत्तर- खुकुरीले उसो ।

आवाज आयो- छ्वाक्क !

गर्धनको गोलो आयतन मोटो परेछ । शत्रु मोटै हो । छिनिएन । खुकुरी औधी रिसायो ।

छ्वाक्क… फेरि छवाक्क… छवाक्क… छवाक्क… छ्वाक्क…!

रीस केही मत्थर भयो । अहिले मानो खुकुरीले नै लामो श्वास तान्यो । पहिलो पटक यस्तो भएको यस खुकुरीलाई । कहिले पनि पहिला एक छप्कोदेखि अर्को बिस्तुर नगएको । यसै पटक हो पाँच छप्को बडी लाग्यो ।

‘पर लिएर जा… अब ।’

त्यही रगतको टीका लगाएर मान्छे काट्ने त्यस बहादुरले भन्यो ।

‘आज पाँच जना पुग्यो ।’ गर्जिने बहादुर फेरि गर्जियो, ‘पाँच वटा टाउको टोइलेटको सेफ्टी ट्याङ्कमा हाल्नू तँ हाम्रो शत्रुहरूले ।’

‘एइ सुन्…!’ अलिक नरम भएर भन्यो आफ्नो मित्रु पक्षलाई… ‘तिमीहरूले जीउ-जीउ चाहिँ अलग अलग बोरामा हालेर पारि खोलामाथिको भीरबाट झारिदिनू । मान्छे त के स्यालले पनि भेट्दैन ।’

मान्छेको रगतले मातेको मान्छेले फेरि अर्कै पनि भन्यो, ‘यिनीहरूले टाउको ठेगान लगाएपछि यिनीहरूलाई एकदम रखवाली गरेर हेर्नू । भाग्न खोजे गोली ठोकिहाल्नू…।’

बन्दुक भिर्ने फ्याल्टर ह्याट लगाएको मोटो मान्छे अत्यन्त सजग बन्यो । अलग अलग बोरा घसारिएर बजेको आवाजले एक पछि अर्को हुँदै आदेश मान्यो । घसस…घसस… तानिएको बोराको आवाज पर पर पुग्दा कम अनि कम सुनियो ।

बोरा एक, टाउकाहरू पाँच ।

बोरा तान्नेको अवस्था बोल्नै नसक्ने भयो । ऊ विरोधी दलको हो । काटिएका टाउकाहरूको साथी हो । हैकम चलाउनेको विरोधी अहिले आफ्नै सहोदरहरूको टाउकाहरू तान्ने आज्ञाकारी बन्यो ।

गोर्खा नै पक्ष । गोर्खा नै विपक्ष । तर आ-आफ्नो समर्थनमा आन्दोलनकालीन बन्दुक भिरेर जातिभित्रै एकार्कामा लड्दा पक्राउ परेपछि टाउको काटिने क्रम जारी छ पहाडको दुर्गम अति दुर्गम पाखाहरूमा ।

‘जय गोर्खा । जय गोर्खाल्याण्ड ।’

काट्नेले काटिसकेर भन्यो । मानो आकाश ताकेको खुकुरीले नै अहिले यसो भन्यो । समर्थनको प्रत्युत्तरमा खटाइएको तर काटिमाग्ने पक्षकै मान्छेले साथीहरूकै टाउकाहरू बोरामा हालिसकेर अत्यन्त कमजोर स्वरमा दोहोऱ्यायो- ‘जय गोर्खा ।’ उसको पनि नारा त्यही ।

मर्ने गोर्खा । मार्ने गोर्खा ।

(मुद्दा छुट्टै राज्यको । बङ्गालदेखि बाहिरको मालिक गोर्खा । पक्ष गोर्खा विपक्ष गोर्खा । मुद्दाको सम्पूर्णतामा गोर्खा । इतिहासजनिन सङ्घर्षको पातामा विश्वलाई देखाउन सकिने हिर्दोक गोर्खे ऐतिहासिक प्रमाणमा ज्यान फालिने । फालिने यस्ता घटनाक्रमको ऐतिहासिक शिकार यिनीहरू नै बन्न परेको तिक्तता छँदैछ ।) घटनापछि निर्जन यो पाखामा राति राति गोर्खे इतिहास धुरुधुरु रुयो । पारि घर अनि घरपछि घर जल्यो ।

‘खोजेको भेट्यो सी. पी. एम. पार्टीकाहरूले ।’

पारिबाट गोर्खे खुचिङ खुचिङ । हरियो झण्डा हल्लाएर ।

प्रतिवादमा फेरि वारि गोठसँगै घरहरू जले ।

‘जस्तोलाई त्यस्तै । लू खा फलानो पार्टीका विच्छिन्नतावादीहरू ।’ वारिबाट हर्कका सुइसेलाहरू पारितिरै रातो झण्डा हल्लाउँदै देखाएर डाँडाबाट । हजुरबाहरूले लक्ष्मी पुजेर पालेका माऊ गाईहरू डढे गोठभित्र ।

सोध्यो केही दिनपछि मान्छेको रगतले रक्सीसँगै हरदम मातिरहने मान्छेले, ‘कसको बेसी जल्यो ? हाम्रो कि उताको ?’

छिमल छिमल घटनाका क्रमलाई अब आतङ्कभित्र ठिम्याउनै नसक्नेहरूले विस्तृत केही भन्न सकेनन् । गर्दन काटिएका आफ्नै दलका मान्छेहरूको टाउकाहरू सेफ्टी ट्याङ्कमा हाल्दा अनि शिरहीन शरीरहरू खोलापारि भीरबाट खसाल्दा खसाल्दा चेतनाशून्य भएर ती हरेक थोकहरूमा प्रत्युत्तरहीनताका शिकार भइसकेका थिए- वरा !

एक दिन दिउँसो खबर आयो – सी०आर० पी० (केन्द्रीय सुरक्षा बल) को आतङ्क बढ्यो चारैतिर । गाउँ गाउँ जलाइयो । कुन कुन गाउँ जले भन्नै सकिएन । मान्छे काटिने त्यो निर्दिष्ट दुर्गम पहाडी थुम्कामा भाइले दाजुलाई काट्ने, दाजुले भाइलाई काट्ने, अन्धो चेतनाहीन गाउँमा एक बुझ्नै नसकिने हल्ला वा सत्यतामूलक खबर आयो । उसको घर पनि विपक्षीहरूले जलाए । सुनेर मान्छे काट्ने मान्छे खूब रिसायो । चाम् मार्‍यो । खुकुरी समात्यो । गाउँले पाठशालाको मक्किएको खम्बा काट्यो ।

‘फूलमाया पहिला मेरो मुटु थियो । अहिले त्यसका सन्तानहरू मेरो घरगाउँ जलाउने भए । हिसाब छिनाफाना गर्छु ।’ भनेर मान्छे काट्ने मान्छे खूबसँग रिसायो ।

‘दशैं त आयो नि । पुल तरेर पारि सदा जस्तो फुपूहरूको घरमा टीका लगाउन जान नै नसकिने भो ।’

फूलमायाले पुलवारिबाट पारि फुपूहरूको गाउँतिर हेरेर भनी । फुपूहरू विरोधी राजनैतिक दलका भए । फूलमायासँगै अरू मायाहरू परे अर्कै दलका । तर यही पालि फुपू खसिन् पारि । फूलमाया कसरी जाने ?

बहिनी निरमाया त थकथक मान्दै आजकल घरीघरी रुने भएकी छे ।

वारि पुल । पारि पुल ।

‘जैवीरे दाजु त राक्षस भएको पो छ अरे !’ भनी वारि फूलमायाले ।

‘अस्ति त हाम्रै मामाको छोरालाई काटेछ ।’ ओकलिएको पीडा बुर्कुसी मारेर झर्‍यो फूलमायाको ओठबाट ।

तिमीले नै माया गरेको मान्छे होइन जैवीरे ?’ पँधेरोमा वारि सोधियो दौंतरीहरूद्वारा फूलमायालाई ।

पानी पँधेरोको दुख्दो गफमा एउटी दौंतरीले सोधी, ‘सनबहादुर त जैवीरे दाजुकै साक्खे भाइ होइन ? ऊ चाहिँ किन वारिपट्टि तिमी हामीसँगै ?’

‘उसको दाजु जैवीरेले मान्छे काटेको सुनेर सनबहादुर पारि जानै मानेन ।’ सनबहादुरकै आफन्तले भन्यो ।

‘कस्तो दुःखलाग्दो नि ? दाजु जैवीरे पारि मान्छे काट्ने हिंस्रक दलमा । भाइ सनबहादुर चाहिँ यहाँ हामीसँगै ।’

भन्नेको स्वरलाई वारि र पारि भन्ने माऊ दुःखले ठुँग्यो । तर भन्नेको मुख कल्ले थुन्ने ? भन्नेले दुःख नै भन्यो । दुःख जो एक घटना हो । दुःख जो सुखको अर्को औंसी बन्यो – जून खोस्ने भएर ।

पँधेरोमा बाँसको धाराबाट पानी गाग्रीमा बजिरहेको एकोहोरो आवाजमा घटनाहरूले छियाछिया भएकी फूलमायालाई दौंतरीहरूले जिस्काए, ‘जैवीरेको मायाले बिथोल्यो कि कसो फूलमाया ?’

जिस्क्याउनेहरूलाई आँखा फुकालेर बहिनी निरमायाले हेरी ।

‘एक दिन कीरा नै परोस् उसलाई… । त्यस्तो मेरो मुटुको टुक्रा उस वेला सुख र शान्तिमा । अब मान्छे काट्ने कसाई भएपछि मेरो माया ओइलायो । खोलाले छुट्यायो हाम्रो मायालाई वारिपारि ।’

एक हिसाबले रोएरै भनी फूलमायाले ।

‘तर सनबहादुर उसको भाइ, एउटै लाम्टा चुसेको अब यस्तो वेला… हाम्रै पक्षमा तर दाजुको विरोधमा उभिएको सनबहादुरलाई बोलाउने मेरो साइनो नै कचल्टियो…।’

हिक्का उकासेरै गाग्रीमा हरियो बाँसको धाराबाट छुटेर बजेको पानीलाई जित्ने भएरै बोली फूलमाया ‘उसले विरोधी भनेर मेरो भाइ हिरामानलाई काटिवरी खोलामाथि भीरबाट बेपत्ता बनाइदियो । तर उसको भाइ सनबहादुरको आन्द्रा नै गाँसिएको थियो मेरो भाइसँग । मेरो भाइलाई मेरै मान्छे जैवीरेले काटेपछि बोल्दै नबोल्ने भएको छ उसको भाइ सनबहादुर । अब आफ्नै दाजु जैवीरेलाई काट्छु मात्र भन्छ सनबहादुर । काटोस् पनि…!’ भनेर शीत पर्न लागेको साँझसँगै रोइरही फूलमाया ।

‘भो त्यस्तो पापीको मायामा आँसु खेरो नफाल ।’ दिदीलाई सम्हालेर उठी बहिनी निरमाया ।

बाँसघारी एक पटक सर्र बज्यो हावाले ।

कथङकाल शान्ति पहाडमा फर्किए पनि कालान्तरको फेरमा मान्छे काट्ने भएको उसको मुटु जैवीरेले उसका लागि धड्कनको पैंचो फर्काउन सक्ला ? भाइलाई काट्ने मान्छेले दिदीलाई उसो के माया गर्ला ?

उता फेरि जैवीरेको खुकुरी उज्जियो ।

कुनै दिन मान्छे काट्न नपाउँदा र चेतनाको मुखले मैला पानी खोकलेर फ्याँक्दा सद्दे हुन खोजेको जैवीरे अतीतको प्वाँखसँगै उड्छ । पुनरावृत्तिमा उही अतीतको पाता छुएर कुद्दै जैवीरे उही फूलमायासँग ऐंसेलु टिप्न पुग्छ ।

पातभरि रसिलो ऐंसेलु टिपेर काफलको फेदमा बसी खान अघि जैवीरेले फूलमायालाई अँगालोमा सोधिरहेको हुन्छ, ‘यस्तो मीठो मिलनको वेला यो ऐंसेलुको रसको स्वाद मलाई नसोध ।’

फूलमायाले तत्कालै भनेकी थिई, ‘रस त हो जीवन ।’

‘तर मलाई रसिलो ऐंसेलुको दाना गन्ती गरेर तिम्रो मेरो जीवनको मिल्ने हिसाब जान्नदेऊ ।’

रसिलो बोलेको थियो जैवीरे ।

‘मलाई सधैँ रस चाहिन्छ तिम्रो मेरो जीवनको ।’ जैवीरेको सर्पालू अँगालो छुट्ट्याएर भनेकी थिई फूलमायाले ‘ऐंसेलुको तिम्रो जोडी बिजोडी हिसाबहरूसँग मेरो जीवनको हिसाबकिताब छैन । केवल मलाई तिम्रो जीवनको रस चाहिन्छ । त्यो रस नै मेरो मायाको भाग हो ।’

पूर्णतः रिसाएकै भएर त्यो दिन जैवीरे सालिने जङ्गलको घनघोर पाखाबाट फर्केको थियो । मायाको गन्तीमा ऐंसेलुको दाना न जोडी भयो न बिजोडी । तर त्यो रात जैवीरेलाई निद्रा परेन ।

मायाको लागि दङ्ग्याउँदा पनि हारेर फर्केको जैवीरेलाई यद्यपि फूलमायाको यादले त्यो रात सताइरह्यो । एउटै गाउँ थियो । एउटै मिल्ने ठाउँ थियो, नि नि लै लै । एउटै ठाउँका जैवीरे फूलमाया एकमा दुई मुटुहरू थिए ।

तर त्यो रात जैवीरेको कटमेरो सपनामा ऐंसेलुकै हिसाब दोहोरियो ।

रातको अन्तिम पहर एक छिन झकाए जस्तो भयो जैवीरे ।

‘ल त ठीकै छ ।’ भनेकी थिई फूलमायाले ।

‘के ?’ विपनामा हारेको जैवीरेले भनेको थियो ।

‘मेरो मायाको हिसाबमा तपाईंको ऐंसेलुको गन्ती जोडी कि बिजोडी होइन ?’ फूलमाया नै बोलेकी थिई सपनामा ।

‘म त मान्छे नै अफ्ठेरो । मेरो त मायाको गन्ती नै बिजोडी ?’ सपनामा जैवीरे ।

गन्ती गर्ने भई फूलमायाले ।

‘एक, दुई, तीन… उन्नाइस…!’

गन्ती सकेर गहिरो श्वास तानेकी थिई फूलमायाले । बिजोडी संख्यामा दाउ जितेर सपनाभित्र हाँसिरहेको भए पनि सुनसान जङ्गलबाट फर्कंदा फूलमाया रुँदै पारि थुम्कोमा साँझसँगै थुरिएर पनेरोनेर आइपुग्दा विशाल सर्प भएको पनेरो फूलमायालाई निल्न विशाल गाग्रोको मुख फैलाएर अघि आयो । जिन्दगीको जोडी खोज्दा जैवीरेको बिजोडी संख्यामा ऊ हारिसकेकी थिई ।

भोलिदेखि घाम उदाएपछि वारिपारिको हिसाबमा जैवीरेसँग दुश्मन भएर गन्तीमा हारेको हारेकै भई । त्यसपछि अट्ठाइस महीने तीन थुम्के गोर्खाल्याण्ड आन्दोलनको क्रममा पराजयको आँसु पिउँदै दिन रात काट्दा फूलमायाले जैवीरेसँगको मायाको हिसाबमा केवल शून्य अङ्क भोगिरही । भाइ मर्‍यो उही जैवीरेको हातमा । गाउँसँगै घर उसरी नै जल्यो ।

एकातिर सुरक्षा बलको आतङ्क अर्कोतिर पुल पारिबाट उही जैवीरेको गाउँले गोरिल्लाको भय । रातभरि जलेको गाउँ बिहान ठाउँको अनुहारमा रहँदैन थियो । भूगोल हराएपछि पूर्वका रमाइला गाउँठाउँ चिनाउने निशानहरू तिनै तिरतिरे धारा र पनेंरो रहन्थ्यो । अनि उता शान्तिकालमा रमाउन सकिएको त्यहीँ खोलाघारी ।

दशैं आउने वेला मर्ने र मार्ने आन्दोलन केही मत्थर हुँदै गयो । छ्याङ्ग उग्रिन लागेको नीलो आकाशमा पुतलीहरू रमाईरमाई उड्न लागेको वेला आँगनको बर्खे लेउ उक्काइरहेको सनबहादुरले झ्यालमा दाल केलाइरहेकी फूलमायालाई बोलायो, ‘भाउजू !’

आँखाका ठूला कोस फारेर फूलमायाले सोधी, ‘कसलाई भनेको भाउजू ?’

‘अब कसलाई न कसलाई… ।’ हाँस्यो सनबहादुर ।

फेरि भन्यो, ‘तिमीलाई नै हौ भाउजू ।’

‘तिम्रो दाजु जैवीरेसँग भनेको ?’ सोधेर फेरि फूलमायाले अर्कै भनी, ‘मेरो भाइ हिरामान । तिम्रो आँतको साथी काट्ने पापी । भो त्यस्तो मान्छे पापी कसाईसँग त यो जुनीभरि पर सर्ने… । हाम्रो मान्छेको कान पनि पोलेर रक्सीसँग खायो राक्षस, थु… । त्यस्तोको भाइ तिमी सनबहादुर । तिमी चाहिँ कसरी हाम्रो पाटीमा पर्‍यौ ?’

‘पिरतीले नि हौ भाउजू । पिरतीले एउटै कोखको दाजुसँग पनि छुट्याउँदोरहेछ । पिरतीको नाममा अब पारि गएर जैवीरे दाजुलाई काट्नु परे पनि काट्छु ।’

सिरूपाते खुकुरी छोएर कसम खाएजस्तै स्वरमा भन्यो सनबहादुरले, ‘तिम्रो मात्रै पिरती ? तिम्रो दाजु जैवीरेसँग चाहिँ मेरो पिरतीको हिसाब अब शून्य भयो ?’

हाँस्दै गरेकी फूलमाया फेरि झन्डै रोई ।

‘बिराएँ भाउजू माफ पाऊँ । दुख्यो तपाईंलाई । अब छाडिदिऊँ त यो कुरा ।’

सनबहादुर पनि अहिले ओइलियो ।

‘होइन होइन ।’ हाँस्न खोजेर फेरि फूलमायाले आफूलाई खुल्ला आकाशको एक टुक्रो जस्तै बनाई, ‘तिम्रो त्यस्तो पिरतीको जोडी परेवी चाहिँ को होली ? दाजुसँगै छुट्याइदिने … ।’

एक छिमल अघिको दुःख बिर्सी फूलमायाले ।

‘भनिदेऊ न त अब… ।’ कर गरी ।

तर भन्न नसकेर केही काट्न खोजे जस्तो गरेर छानोतिर खुकुरी उज्यायो सनबहादुरले । ‘तिम्रो परेवी जोडी मैले बताइदिएँ भने के गर्ने त ?’ फूलमायाले च्याँखे थापी । ‘पारि गएर आफ्नै जैवीरे दाजुलाई काट्छु ।’

फेरि खुकुरी आकाशतिर अझ अग्लो उज्याएर सनबहादुरले भन्यो ।

‘साँच्चै भनूँ सनबहादुर ?”

‘भन्नुहोस् न अहिल्यै ?’

‘मेरै बहिनी निरमाया हो ?’ भनिदिई फूलमायाले नै ।

सनबहादुर एक पटक झस्क्यो र करायो ‘हो हो भाउजू … एकदम हो… । अब वाचा, वाचा…। पारि जैवीरे दाजुलाई काट्छु, काट्छु । एक काट्छु, दुई काट्छु, तीन काट्छु । निरमायाको कसम ! काट्छु काट्छु… ।’

एक हिसाब पागल नै भएर खुकुरीले आकाशलाई नै काटे जस्तो अग्लोतिर उफ्रँदै सनबहादुर कुद्यो जङ्गलतिर ।

+ + +

कप्टेरो जून लागेको आकाशको मधुर रजनी ज्योतिमा अहिले साक्षी बनिरह्यो- फलेदोको रूख ।

सनबहादुर र निरमायाको मिल्ने ठाउँ । एकान्त र सुनसान हुन्छ दिउँसै पनि । त्यसो त अहिले साँझको वेला छ ।

आकाशको होंचोमा दिउँसोको नीलोलाई रातो फलेदो फूलले चुम्न खोजे पनि रातले फूललाई अहिले शून्य तुल्यायो । तर त्यस्तो कट्मेरो जुनेली उज्यालोमा पनि निरमायाको वैंशालु अनुहार रातकै फूल भएर फुल्यो- सनबहादुरको छातीमा । केही उँधोदेखि उँभो सनबहादुरको अनुहारलाई कठोरतापूर्वक हेर्न खोजेर निरमाया अर्कै कठोर बोली, ‘तिम्रो मेरो मायाको कसम ! तिम्रो दाजु जैवीरेलाई म नै एक दिन खोला पारि गएर काट्छु जसरी त्यसले मेरो दाजु हिरामानलाई काट्यो ।’

‘खबरदार त्यस्तो नबोल… ।’ भनेर सनबहादुर पनि केही कठोर बन्यो । निरमायालाई आफूदेखि अलग गरेर उस्तै कठोर स्वरमा भन्यो, ‘फूलमाया भाउजूसँगको मेरो वाचा तिमी खोस्न सक्दैनौ । म वाचा हार्दिनँ । मै काट्छु मेरो दाजू जैवीरेलाई । तिमीलाई काट्ने अधिकार छैन । मेरो साथी हिरामानको खुनको हिसाब चुक्ता गर्छु ।’

फेरि निरमायालाई अँगालेर अहिले उसको छातीमा मुख लुकायो । अचानक घुँकघुँक गरेर रुन पो थाल्यो सनबहादुर ।

‘छि: तिमी मर्द मान्छे… ।’

सनबहादुरको कपाललाई आफ्नो च्युँडोमुनि राखी मुसारिरही निरमायाले । आकाशमा जून बादलभित्र पस्यो ।

तर निरमायाले बुझिन- किन मरद् मान्छे सनबहादुर अहिले बालकसरह रुयो ?

+ + +

घरीघरी भुइँ कुइरोले छुएको ठाउँमा अटब्बे जङ्गलछेउ क्याम्प हालिएको पाखामा बङ्गाल राज्यदेखि छुटिने योद्धाहरूको नाइके भएर जैवीरे दलूबलसँग बसेको ठाउँमा स्थानीय गोरिल्लाहरू सल्याङ बल्याङ गरिरहेका वेला छड्के जङ्गी पोशाक अनि फेल्टर ह्याट लगाएर पिस्तोल खेलाउँदै आएको जैवीरेले लडाकुहरूलाई भन्यो, ‘म १०८ पुर्‍याउँछु ।’

‘यस् सर ।’ एकसाथ जङ्गलै थर्काएर कराउन मात्र सके गोरिल्लाहरू ।

जैवीरे भनेपछि थर्कमान हुने लडाकुहरू खदुवा बन्दुक र खुकुरी च्याप्प अँठ्याएर उभिएको उभिएकै भए । तिनीहरूले देखेका छन् जैवीरेको क्रूरता । हात खुट्टा बाँधिएको विरोधी खेमाका लडाकुहरूलाई दिन बिराईबिराई खुकुरीले गर्धन छिनाएको देखेका छन् लडाकुहरूले । खुनको टीका लगाएर उसले अट्टहासपूर्ण हाँसो हाँसेका सुनेका छन् त्यहाँ लडाकुहरूले ।

रक्सी धोकेर सुतेको जैवीरे राति निद्राबाटै धताएर कराउँदै उठेको सुने गोरिल्ला केटाहरूले – १०८ म पुर्‍याउँछु । अहिलेसम्म काटिएको टाउकोको गन्ती कति पुग्यो ए केटा हो…?

सब चाम्चुम् भए सुनसाने पाखामा ।

जैवीरेले फेरि बाघजस्तै गर्जिएर त्यही दोहोऱ्यायो । बल्ल बल्ल कसो कसो आँटी हुनखोजेको एकजना गोरिल्ला आफ्नो खदुवा लिएर जैवीरेसामु पुगी फौजी ढाँचामा खुट्टा बजारेर उभिंदै बोल्यो, ‘अहिलेसम्म पचहत्तर सर ।’

‘अब तेत्तीस रह्यो ? कमसे कम दुई अडाई महीना लाग्छ । १०८ पुगे मेरो मुक्ति हुन्छ… । अब तेत्तीस…हा… हा… हा…!’

फेरि अट्टहास छाड्यो जैवीरेले ।

+ + +

कति महीनादेखि लगातार काटिएका मानिसहरूको रगत बग्दाबग्दा सुकेर कटकटिएको भुइँमा बसेको हरियो झिँगालाई काठको भुइँमा मान्छेलाई जस्तै काट्न खोजेर जैवीरे करायो, ‘ए केटाहरू !’

‘हजुर… सर…!’ सामूहिक स्वर ।

‘शिकारलाई अब यता ले ।’ हुकुम दोहोरियो ।

नयाँ रङरूटका एक दुई कलिला गोरिल्लाहरू मान्छे काटेको हेर्न नसक्ने भएको हुँदा क्याम्प पछिल्तिर बहाना बनाएर भागे ।

डरछेरुवाहरू । पुराना गोरिल्लाहरूले मनमा सम्झे ।

शिकार मानिएको मान्छे मुख आधा गरेर काटिएको सिमेन्टी बोराले छोपिएको थियो । तर अचम्म त्यसको कम्मरमा बाँधिएको लामो खुकुरी कम्मरमै थियो । ‘यसको कम्मरको खुकुरी निकाल ।’ जैवीरले आदेश दियो । एकजनाले एकै झट्कामा खुकुरी निकालिदियो ।

‘कसरी यो दुश्मन हाम्रो एरियाभित्र पस्यो ?’

लहरै उभिने गोरिल्लाहरूका अनुहारमा एकपछि अर्को गर्दै हेरेर जैवीरेले सोध्यो । एक जना थ्री नट थ्री भिर्ने केटाले उत्तर दियो ‘यो हिज राति पारिदेखि खोला तरेर वारि आएछ । मेरो ड्यूटी थियो । सुकेको पात सरक्क सरक्क बज्यो । यसलाई घस्रिँदै गरेको देखेँ । एकै झट्कामा घोप्टो पारेर समातेँ । सोधेँ किन आइस् भनेर । तर यो बोल्दै बोलेन सर ।’

‘हिजसम्म तीन दिनभित्र नौजनाको टाउकाहरू छिनिए । कति पुग्यो ?’ रक्सी स्वाट्ट पारेर सोध्यो जैवीरेले ।

‘चौरासी सर… ।’ ठिटाहरूको सामूहिक स्वर आयो ।

‘यो लगाएर अब छिनिने टाउकोको संख्या कति पुग्छ ?’

‘पच्यासी सर ।’

‘एक सय आठ पुग्न अब कति रहन्छ ?’

‘तेइस सर… ।’

‘मेरो नम्बर पुग्न सक्छ ?’

‘हामी पुऱ्याइदिन्छौँ सर ।’

‘यसलाई चाहिँ पल्लो कोठामा लैजा । उतै काट्छु । यहाँ झिँगाले मेरो मार् हनाइमा चुक पुर्‍याउँछ ।’

जैवीरेले आदेश दियो ।

तीनधाङ्ग पारेर त्यसको कम्मरको सिरुपाते खुकुरीसँगै हल्लाउँदै चार जना गोरिल्लाहरूले अपहृतलाई कोठामा लगे ।

बाहिर सबैले लामो अनि ठूलो संत्रासपूर्ण श्वास ताने ।

‘अब पच्यासी, अब पच्यासी ।’

बाहिर उभिनेहरू सबैका मनले भनिरह्यो :

‘कसैको छोरा होला नि ।’

‘कसैको भाइ अथवा दाजु होला ।’

‘कुनै आमा बाबुको एउटै सन्तान होला ।’

बाहिर उभिने कुनै कुनै गोरिल्लाहरूको मनले चाहिँ यसरी नै सम्झ्यो ।

‘यसको नाम ठेगाना सोधिस् ?’ खुकुरी लिएर तयार भएको जैवीरेले गोरिल्लाहरूलाई सोध्यो ।

‘सोध्दाखेरि यो त बोल्दै बोलेन सर… ।’ केटाहरूमध्ये कसैले भन्यो ।

अँध्यारो कोठाभित्र अपहृतलाई राखिएको ठाउँनेर गएर जैवीरेले काट्नअघि सोध्यो, ‘तेरो अन्तिम इच्छा के छ ?’

‘मेरो मुख एक पटक उघारेर हेरिदेऊ ।’ काटिन लागेको अपहृतले काम्दो स्वरमा भन्न सकेको यति नै थियो ।

‘यसको मुख उघार् ।’ जैवीरेले हुकुम दियो ।

शीघ्रताका साथ देब्रे हातले बन्दुक काँधमा अड्याएर दाहिने हातकै भरमा एकजना गोरिल्लाले अपहृतको मुखबाट प्लास्टिकको बोरा हटाइदियो ।

‘अरे ? यो को हो ? यो को ?” जैवीरे करायो, ‘सनबहादुर… ?’

त्यसपछि जैवीरेले अपहृतलाई काट्न समातिएको खुकुरी एकाएक उज्यायो । मखुन्डो उघार्ने गाउँले गोरिल्ला पो त्यहीँ ढल्यो ।

‘मेरो भाइ सनबहादुर…।’

अपहृतलाई अँगालेर जैवीरे उसरी नै खुकुरी उज्याउँदै बाहिर निस्कियो । करायो, ‘मेरो भाइ सनबहादुर… सनबहादुर…।’

त्यसपछि भेटिए जति सबैलाई आफ्नैलाई छम्छम् काट्दै घाइते बनाएर अपहृतलाई चाहिँ कसिँदै गएको अँगालोबाट छुट्याउँदै नछुट्याई जैवीरे रुँदै जङ्गलभित्र पस्यो ।

को आउने यतिखेर अब जैवीरेलाई रोक्न ?

(सन् १९८६ को आन्दोलनमा आधारित…)

कालेबुङ।