” मेरो कलम देखिनौ ?”

म खोज्दै बोल्दै थिएँ । जीवनमै सबैभन्दा धेरै हराएको चिज नै कलम हो मेरो । जति जतन गर्‍यो उति हराउने ।

” आफ्नो सामान राखेको आफैँ सम्झिनू नि ,कति अरूलाई दुःख दिन जान्या , जे पनि खै खै ।”

मोबाइलबाट आँखा नछुटाई बर्सिएको उत्तरले मेरो कलम खोज्ने जाँगर पखालियो । बल्लतल्ल नखोजेको कलम भेटियो । केही लेख्तै थिएँ । मसी सकिएछ । मनको कुरा चिप्लिन्छ कि भनेर आत्तिएँ । उनी मोबाइलमा च्याट गर्दै च्याँट्टिइन् ।

” होइन जमाना कहाँ पुगिसक्यो अब के कलम कापी घोटिरहनुहुन्छ । एउटा लेख्न मिल्ने मोबाइल किन्नु न । अनि जति लेखे हुन्छ नि । कापीमा लेख्यो यतै पाना उतै पाना फोहरमात्रै , ममात्रै कति सफा गर्नु ।”

एकैसासमा माया पिरिम गाली आदेश सब पोखियो । एक्लै हाँसेँ । हो त अबको दसैँ पेस्कीले अवश्य किन्छु । योजना फाइलिङ्ग गरेँ ।

दसैँ आयो बजेट बिनियोजन भइसकेको थियो । मोबाइल किन्ने योजनामा आँखा परेन । मन बुझाएँ । ह्या कलम कापी नै ठिक । किन तनाव लिनु । सक्दा किनौला नि भनेर चित्त बुझाएँ ।

यस्ता दसैँ पनि धेरै आए । लेख्न मिल्ने मोबाइल घरघरै सबैको हातहातमा देखिन थाल्यो । उसो त उनको

विष्णु पादुका

पनि यो तेस्रो मोबाइल थियो । विदेशबाट भाइ दुई दुई वर्षमा आउँदा ल्याइदिएको । छोराछोरीको दश कक्षा पास भएपछि मोबाइल किनिदिने सर्त पनि पूरा भइसके । अबको पालो मेरै थियो ।

आज खुसीको दिन आयो । सबै परिवार मिलेर बजार जाने भइयो । एउटा ठूलो मोबाइल पसलमा छिरेर हेर्‍यौँ, धेरै नाम मोडेल र मोलका । एउटा लेख्न मिल्ने मोबाइल आयो । किनियो । मोबाइल अरूको जस्तै थियो । कतै आफ्नो नाम लेखेर निजत्व पृथक्ता दिन मन लाग्यो ।

छोराले भन्यो , “अब भित्र नै लेख्नू बाबा । न कापी न कलम न बत्तीको उज्यालो, केही चाहिन्न । मन लागेको गीत सुन्नू , जतासुकैको फोटो खिच्नू , लेखेको कुरा बोलेर राख्नू ।” फाइदाको फेहरिस्त नै रहेछ ।

म त्यो रात सुत्छु भन्दा नि सुतिनछु । के के सिक्दा सिक्दै हेर्दाहेर्दै उज्यालो भएछ । यस्ता रातहरू फेरि फेरि फेरि दोहोरिँदै गए । अबेर रातसम्म बस्ने, केही लेखिरहने बानी नै पर्‍यो । हेर्दै जाँदा त संसार नै होम डेलिभरी भयो मेरो मोबाइलमा । ठोस तरल ग्याँसबाहेक सबै आयो तर पनि ती पुराना किताब कापीहरूझैँ म च्यापी रहन सक्तिनँ । आफ्ना अक्षर आफ्नै कापीमा सुमसुम्याउनु जत्ति मजा औँलाले अक्षर  थिच्दा आनन्द आएझैँ लाग्दैन तर हातले लेखेको कुरा चल्न छोडेको रहेछ । जतासुकै छपाएर दिनुपर्ने रे ।

रबरले बाँधेर राखेका कलमको मुठाले दराजको छेउबाट मलाई हेर्दै छन् र  म उनीहरूलाई । उनीहरू बाँधिएको देखेर म विचलित भएँ । एउटा अन्याय गरेको महसुस भयो । म उठेर दराज खोल्छु र कलमको मुठा फुस्काउँछु भन्ने सोच्तै थिएँ । हातको मोबाइलमा टिरिन्न घण्टी बजेपछि म झसङ्ग भएँ । पल्लो कोठाको भान्साबाट खान आउनू भन्ने आदेश रहेछ उनको ।