मलाई जनकनन्दनी गाउँपालिकाको केही वडामा सर्वेक्षणको लागि जनकपुर कृषि कार्यालयबाट पठाइएको थियो । वैशाख महिनाको मध्यतिर हावाको वेगसँगै बालुवा, सुकिसकेको कमला नदीको बगरमा दौडधुप गरिरहेको देखिन्थ्यो । म फुलबरीया गाउँ पुग्नको लागि छड्कीको बाटो जाँदै थिए । मेरो नजरले रुख बिरलै भेट्यो । नदीलाई नियाल्दा, ठाउँ-ठाउँमा रारी घाँसको झुपाहरू सर्वत्र फैलिएका थिए । नजर जहाँसम्म दौडाए पनि पानी देखिएन । केवल बालुवा, नदीको बगर उमेर ढलेको पुरुषको तालुझैँ प्रतीत हुन्थ्यो । सेताम्य समथल भूभाग ओगटेकी कमला, सयौं बिघा उर्वर भूमिलाई मरुभूमिमा परिवर्तन गर्ने आरोप खेपेर होला, म अपरिचितलाई देखेर तातो हावाको झोकामा आफ्नो रिस पोख्न खोजिरहेकी थिइन् ।
मैले एक नजर पुनः हेरेँ, कमला नदीको कुरूपता । प्रकृति पालुवा र रङ्गीबिरङ्गी फूलहरूमा प्रफुल्लित हुने मध्य वसन्तमा आफ्नो गुप्ताङ्ग ढाक्न नसकेकी बलात्कृत कमलाको आँसुसमेत सुकिसकेको रहेछ ।
कमला नदीले धनुषा र सिराहा बीचबाट दक्षिणी छिमेकी देश सम्मको यात्रा तय गर्छिन् । उदयपुर र सिन्धुलीको चुरे क्षेत्रका पहाड रसाई, एककृत पानी बगाएर, मध्य पहाडले मधेशको भूमि उर्वर तुल्याउँछ । आफ्नो अँजुलीले पुष्प अर्पण गरेझैं कमला नदीले समथल पूर्वी तराईलाई मनसुनी पानी उपहार पठाउने गर्छिन् । आफ्नो नयाँ साथी बागमतीसँग भलाकुसारी गर्दै, आफ्नो व्यथा कोशी नदीसामु पोख्छिन् ।
वैदिक कालदेखि नै नदीलाई नारीको प्रतिबिम्ब मानिने गरिन्छ । युवतीको घना कालो केशझैँ दुवै किनार हरियो जङ्गल फैलाउँदै बिचबाट बग्थिन् कमला ! आफ्नो पानी ऐना बनाई सम्पूर्ण प्रकृतिलाई आफूसँग परिचित गराउने गर्थिन् । आकाशको बादलसँग दौड प्रतियोगिता गर्दी हुन् ! हिन्दू महासागरसम्मको यात्रा गर्न कमला अन्ततः गङ्गा नदीमा समाहित हुन्छिन् ।
नदी किनारको उर्वर भूमि सभ्यताको उद्गमस्थल मानिन्छ । विश्वका प्रख्यात सभ्यताहरू नदी किनारबाटै विस्तार भएको तथ्य वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । पश्चिमेलीहरूले हिमालय क्षेत्रलाई विश्वको तेस्रो ध्रुव मान्ने गर्दछन् । यहाँको हिमशृङ्खला दुई सभ्यता बिचको सेतुझैँ उभिएका छन् ।
हाम्रो सौर्य मण्डल आकाशगङ्गामा अवस्थित छ । हिन्दू पौराणिक कथा अनुसार, त्यसकै बिम्ब स्वरूप पाताल लोकको गङ्गा नदी हिमालय कैलाश पर्वत निवासी भगवान् शिवजीको जटाबाट प्रवाहित भइरहेको विश्वास गरिन्छ । आर्य सभ्यताको विकास र विस्तारमा गङ्गा नदी छेउको उर्वर समथल तराई भूभागको ठुलो योगदान रहेको विश्वास गरिन्छ । प्राय पूजा गर्दा, जल अर्घ्य प्रार्थना गर्दा वेदका श्लोकहरू सँगै प्रार्थना गर्ने गरिन्छ ।
गङ्गे च यमुने चैव गोदावरि सरस्वती।
नर्मदे सिन्धु कावेरी जलेऽस्मिन्सन्निधिं कुरु॥
अर्थात : हे विभिन्न नदीहरू, मैले अर्पण गरेको जालमा बास गरिदेऊ !
अर्धमृत अवस्थामा आफ्नै पानीको नमेटिने तिर्खा, कमला नदीले प्रतिबिम्बित गरिरहेकी थिइन् । नदीले मलाई आफ्नो गन्तव्यतिर डोर्याउन सकिरहेको थिएन । झोलामा रहेको पानीको बोतल पनि रित्तिइसकेको थियो । छड्कीको छेउमा एउटा झोपडीमा सानो पसल थियो । मध्याह्नको तिर्खा मेट्न पिउने पानी किने । एक सासमै एक लिटर पानी खाइदिऊँ जस्तो भएको थियो । आधा दर्जन सिपाहीहरू हुक्का तान्दै थिए । सिकारीको भेषमा आफ्ना धारिलो औजार र दाँतमा धार थप्दै थिए । कमला बगर नजिकको शस्त्र ब्यारेकमा उनीहरूको बसोबास रहेछ । बँदेलको सिकार गरेर रक्सीको ह्याङ्ओभरमा राती मासु खान पाए, इन्द्रलोकको सुख उनीहरूलाई मिल्दो हो क्यार ! बँदेल त बहाना हो, दिनहुँ घाँसी युवतीहरूको अस्मिता लुटिन्छ रे त्यो रारी घाँसको जङ्गलमा ।
जङ्गली बँदेललाई आश्रय दिन नसक्दा होस् या घाँसीको अस्मिताको रक्षा गर्न नसक्दा, प्रत्यक्ष दर्शी कमला माईलाई मातृत्व पिडाले पिरोल्दो हो । आफ्नो असित्व गुमाउन पुगेकी, आफ्नो तिर्खा मेट्न नसकेकी कमला मृग तृष्णाले प्रताडित देखिन्थिन् । चर्को घामको ताप सहनु पर्ने भएर होला, दिनमा मौन बस्छिन् तर राती नदीले जूनलाई आफ्नो कहालीलाग्दो अवस्था र आफूले भोगेको व्यथा सुनाउँछिन्, आँसु बगाउँछिन् ।
नदी किनार छड्की बाँधको दाहिने छेउमा सुकुम्वासीहरूको तिन चारवटा घर थियो । छड्कीको देब्रे छेउ तल बाक्लै बस्ती थियो । म घरमुली खोज्दै सर्वेक्षणमा जुटे । करिब आधा घण्टा पछि एउटा घर अगाडी पुगे । सुनसान मध्याह्नको समय थियो । चारैतिर नियालेँ, कसैलाई नदेखेपछि, घरमा कोही हुनुहुन्न जस्तो लग्यो । मेरो नजर दक्षिण पट्टी छड्की बाँधतिर पर्दा एउटी वृद्ध महिला दुई भैंसी डोर्याउँदै घरतिर आउँदै थिइन् ।
माटोले लेपिएको बाँसको गारो (पर्खाल), पराल/खरको छानो भएको घर थियो । दाहिने छेउ पानी तान्ने कल, त्यसको ठिक अगाडी पूर्वपट्टि दैलो भएको एउटा नव निर्मित घर थियो । बाँसको गारो, आधा भाग माटोले लेपिएको, छानो सिमेन्ट एलवेसटरको थियो । त्यो घरअगाडि गाईबस्तुको लागि कंक्रिटको ठुलो खाने नाद र त्यसको दुवै छेउ पशु बाँध्न गाडिएका दुई सुकेका पहेँलो बाँसहरू थिए । भैँसीहरू नाद नजिक पुगेर थुतुनोले पानी खोज्न थालेका थिए । तिर्खा लागेको रहेछ ।
‘कमला नदी सुक गेल, जीवन मुस्किलमे पैर गेल । जीवजन्तु सब पाल्नपोसन कर नैकर सकैछी । देखियौ कलके पाइन् सुइख गेल छै । मेघ बर्षा नैभेल यी साल ।’, मधुरो स्वरमा मनोवाद वृद्ध महिला मनोवाद गर्दै थिइन् ।
कलबाट दुई बाल्टी पानी नादमा खन्याए पछि मात्र फुर्सद पाइन् । मानव निर्मित क्रसरहरूले मानव बसोबासको लागि कंक्रिटको भवनहरू बनाउँदै गयो, अनियन्त्रित जङ्गल फडानी हुँदै गयो, हाम्रा नदीहरू नाङ्गिँदै गए, जीवजन्तुले कमला नदीमा आफ्नो प्यास मेट्न पाएनन् ।
भैंसी आफ्नो तिर्खा मेट्न व्यस्त हुँदै गर्दा, ती वृद्ध महिला दतिवनले दाँत माझ्न व्यस्त थिइन् । परिवेशको मौनतालाई चिर्दै एकछिन् पछि सोध्नु भयो ,
‘कि काज लेल आइल छी ?
हम् कुर्सी सफा कदैछी, रौदमे नै ठार होउ !’
‘आमा, नेपाल सरकार र विश्व बैङ्क बिच सम्झौता भई ३.५ वर्षका लागि बाढीले ग्रसित गाउँपालिकाहरूमा कृषि तालिमको आयोजना हुनेवाला छ । कार्यक्रम लाभग्राही छनोटका लागि यहाँ समक्ष केही प्रश्नहरू सोध्नका लागि अनुमति चाहन्छु ।’, मैले सर्वेक्षण एप चलाउँदै भने ।
‘सर, हम् त खेतीपाती नैकरै छियै । कमला नदी खेतीयोग्य माटी काइटके लगेलै । हमर पुस्तैनी जमिन पर बालु मात्रे छै आब त । यी वृद्ध उमेरमे अधिया खेती नै कर सकैछी, सर !’, कलनजिक पानीले मुख धुँदै वहाँले भन्नुभयो ।
मैले भनेँ, ‘आमा, तिन प्रकारको समुह बन्ने छ । कृषि, पशुपालन र खाद्य पोषण ! तपाइले भैंसी पाल्नु भाको छ, पशुपालन सम्बन्धी तालिम समूहमा बस्दा ठिक होला !’
एक छिन् अलमलमा परेपछि भन्नु भयो, ‘ होतै सर, जे तलिममे ठिक होतै त्येहीमे राख्दु ।’
मैले सर्वेक्षण सुरु गर्दै सोधे, ‘तपाईंको नाम ?’
‘शिथिल देवी !’
मैले अर्को प्रश्न सोधे, ‘आमा ! परिवारमा कति जना छन् ?’
‘हम् अकेले छी, घरवाला दश वर्ष पहिले मैरगेल, सर । दु-तिन वर्ष भगेल बृधा भत्ता पारहल छी ।’, वहाँले थप्नु भयो ।
सेतो प्लास्टिकको कुर्सीमा बाक्लो धुलोको सतह देखेर म उभिरहें । ‘शिथिल’ नाम झैँ उनको जीवनको एक्लोपन घरको परिवेशमा झल्किन्थ्यो ।
‘छोरा छोरी छैनन् ?, अलगै बस्छन् ?’, मैले सोधें ।
भावुक भई एक जोर भैंसीतिर नजर फर्काउँदै भनिन्, ‘यिहे छै हमर परिवार ! अभी दुगो भैसी छै मुदा बेच्के मन नै करैछै । छोट्की पाडी येहिँय जन्मल छै। आफ्न सन्तान जेहन स्यहार, मायासे पाइल रहलछी । हमर बाच्के आधार यिहे छै ।
वृद्धा भत्ताको पैशासे धानके पोरा, गहुँमके भूसा किन्के खुवाबै छी । भैंसीके दुधसे जिविकोपार्जन कर रहल छी । नेतासब अपन धर्म आ जातीके मात्रे समान सब दैछै । हमर त कर्म ही धर्म छै, सर !’
मधेशको उर्वर भूमिलाई बन्जर मरुभूमिमा परिणत कसले गर्यो ?
यो जटिल प्रश्न न त शिथिल देवीको मनमा उब्जिन्छ न त कमला माईको मनमा !
परिवेशको जटिलता बुझ्ने सामर्थ्य देशको प्राकृतिक सम्पदा दूर उपयोग र गैरकानुनी चुरे दोहन गर्ने, प्रदेशका ठेकेदार, सरकारको पहरेदारसँग छ की !
सत्तरी वर्ष कटे पनि शिथिल देवी निरोगी देखिन्थिन् । कफीको गाढा रङ्गको चम्किलो छाला च्याउरिएको थिएन । हँसिलो मुहारको पसिना पुछ्दै थकाइ मार्न परालको चटाइमा बस्नुभयो । वहाँको दैनिक परिश्रम र निरोगी अवस्था बोलीमा झल्किन्थ्यो ।
नाकमा सुनको फुली, हातमा एक जोड चाँदीको चुरा, खुट्टामा चाँदीकै कडी, पैतालाका औँलाहरूमा चाँदीकै ठेसा । आफूलाई विधवा स्वीकार नगरेको झल्को उनको पहिरनमा लुकेको थियो । निलो रङ्गको फूलबुट्टे साडी, केसर रङ्गको आँचल र रातो चोलो । कलात्मक पात र फूलका बुट्टाहरू साडीमा छापिएका, निलो भागमा केसर रङ्गका बुट्टाहरू र केसरिया आँचलमा निलो बुट्टाहरू !
चिनिया टाओ दर्शनको चिन्ह झैँ, उनको पहिरनमा यिन र याङको बिम्ब झल्किन्थ्यो ! घरको भित्तामा देवी-देवताको तस्बिर कतै देखा परेन । पाको उमेरमा प्राय धर्मप्रति आकर्षण बढ्ने गर्छ । तर वहाँको जीवनशैलीमा परम्परागत धर्मप्रति आकर्षण देखिएन । उनको घरमा परम्परा, रीतिरिवाज झल्किने केही देखा परेन । तर उनको जीवन पनि कुनै किताबी दर्शन भन्दा कम पनि थिएन ।
मैले जिज्ञासा राखें, ‘आमा ! कमला नदीमा प्रत्येक वर्ष आउने बाढीले जनधनको ठुलो क्षति हुने गर्दछ । खेतीयोग्य जग्गाहरूमा प्रत्यक्ष प्रभाव पर्छ । आफूलाई सुरक्षित राख्न के कस्ता सावधानी अप्नाउनु हुन्छ ?’
‘सर ! पहिले एते गर्मी नै छलै, समय पर पाइन् परैछलै ! अभी नदिके बाध्न फाटक से रोकैछै, बेकारमे आफ्ना देवता कमला माइके दोश लग्बै छै, मुदा नदीके नाश आदमीसब करहल छै । राम राम जपला से पेटमा अन्न भगवान् नै पुगा देतै ।’
मैले सहमति जनाउँदै भनें, ‘आमा ! परिस्थितिअनुसार सतर्क रहनु होला । हामी प्रकृतिसँग लड्न सक्दैनौं, सामञ्जस्यता कायम गर्नु पर्छ ! बाढी-पहिरो आंशिक रूपमा मानव सिर्जित प्रकोप पनि हो ।’
कमलामा यौवनको उन्माद मनसुनले भर्दछ, नदी व्यग्र हुन्छिन् । जल तरङ्गित तुल्याउने ऊर्जा नदीको भीमकाय आकारसँगै प्रवाहित हुने गर्दछ । दर्जनौँ गाउँका बस्तीहरू र किसानको खेतबारीमा अपरिचित पाहुना बनी व्यग्र वेगमा, अनियन्त्रित भई पस्दछिन् ।
एकछिन् पछि फेरि सोधें, ‘तपाईंको बिचारमा, बाढीको नकारात्मक असर न्यूनिकरण गर्न, सरकारले के कस्ता कदमहरू चाल्नु पर्छ ?’
‘गाउँ-बस्तीके निक व्यवस्थापन कदितै, वनस्पति गाछी-वृछ नदिके कातमे रोप्तै तब गाउँमे पानी नै पस्तै । आहाँ सब पढललिखल छी, आरो उपायसब जनैत होबै !’, हाँस्दै भन्नु भयो ।
नदीलाई अनुशासित राख्न दुवै किनार बलौटे माटो थुपारेर छड्की बनाइएको रहेछ । छड्की अचेल गाउँलेहरूको बाटोको रूपमा प्रयोग हुने गर्छ । सुकेको नदी आफ्नो च्याउरिएको गाला र दाँत झरेको गिजा देखाउँदै हाँसेको वृद्ध झैँ गल्लल हाँस्दी हुन् ।
मैले जिज्ञासा राखें, ’आमा, तपाईंसँग मोबाइल त छैन होला है ?’
‘मोबाइल नहै सर, कोई आफन्त नातेदार नहै, हमरा चालब नै होइ छै, नै बुझै छी ।’, आमाले निराश हुँदै भन्नु भयो ।
मैले भनेँ, ‘सम्पर्क नम्बर नभए पनि तपाईंको घर खोज्दै आइपुग्छन्, तालिम समूह बनाउन, पिर नमान्नुस ।’
दुई देशबिच सीमा सुरक्षा कमला नदीले गर्छिन्,
श्रेय दुई देशको सीमा सुरक्षा सेना समूहले लिन्छन्
फरक रङ्गका पोसाक, तर ढाँचा उस्तै, प्रवृत्ति उस्तै
नदीलाई दुई देश बीचको भेद थाहा छैन !
को पहाडी, को मधेशी ?
को निरीह सुकुम्वासी, को आदिवासी जनजाति ?
नदी हाँस्छिन्, नागरिकको अज्ञानता देखेर,
उदास हुन्छिन्, अनागरिकको दुर्बलता देखेर ।
म घरको मूल ढोकानिर खुला आकाशमुनि उभेपछि, सर्वेक्षण एपले जिपिएसले स्थानको सटिक केन्द्र बिन्दु मापन गर्यो । सर्वेक्षण एपले अर्को काम अराह्यो, ‘घर अगाडि उत्तरदाताको फोटो खिच्नुहोस् ।’
घरमुलीको तस्बिर खिच्ने काम मलाई बडो अप्ठ्यारो लाग्थ्यो, कयौँ घरमुली नव विवाहित कनिया हुँदा शङ्कालु नजरले मलाई हेर्दा असहज अनुभव गर्थे। घरको मात्र फोटो खिचेर अर्को घर पुग्ने गर्थें ।
मैले आमालाई घरअगाडि उभिन आग्रह गरें।
‘कोन घर अगाडिमे ठार होउ हम् ?’, मुस्कुराउँदै आमाले सोध्नु भयो ।
आफू परालको छानो भएको पुरानो घरमै बस्न्नु हुन्थ्यो तर बाँसको टाटिको गरा र एलबेसटरको छानो भएको घरमा आफ्नो पशुहरूलाई राख्नु हुन्थ्यो । मलाई यो दृश्य अनौठो लाग्यो । उनको घरपालुवा पशुप्रति प्रेम देखेर हर्षित हुँदै भने, ‘यो नयाँ बनेको घर अगाडि उभिनुस्, तपाईं एक्लै हुनुहुन्न आमा ! तपाईसँगै यी परिवारको दुई सदस्यको पनि तस्बिर खिचिदिन्छु ।’
आमाको परिवेश र आत्मीयताले गर्दा, सम्झना स्वरूप एउटा व्यक्तिगत सेल्फी फोटो पनि खिचिहालें !
‘सब लेखेर मात्र लान्छन्, पोहोर साल पनि दुईचोटी लेखेर लगे तर हामी किसानले कहिले केही पाएका छैनौ, आश पनि मरिसक्यो । सरकारी अनुदान पनि ठाठो-बाठोले मात्र पाउने गर्छ ।’, वहाँले आफ्नो निराशापूर्ण मनोभाव पोख्नु भयो ।
आमालाई तालिम छिटै हुने आश्वासन दिँदै म त्यहाँबाट बिदा भएँ । म उहाँको घरबाट निस्केपछि केवल कृषि पशुपालन सम्बन्धी जानकारी मात्र हैन, जीवन दर्शन उपहार पाएर फर्केको जस्तो आभास भयो । आफ्नो जीवन भन्दा माथि कर्मलाई राखेकी एकल वृद्ध महिला शिथिल देवीको जीवनशैलीबाट म प्रभावित भएँ !
बग्न नसकेकी कमला नदी र त्यो वृद्ध एकल महिलाको जीवनमा अनेकौँ समानता पाएँ । जलवायु परिवर्तनले प्रभावित र मानवीय चुरे दोहनबाट प्रताडित कमला नदीको कहालीलाग्दो अवस्था देख्दा शिथिल देवीको जीवनकै प्रतिबिम्ब नदीमा झल्किन्थ्यो ।
मेरो आगामी गन्तव्य फुलबरिया गाउँ थियो, छड्की बाँधको बाटो हिँड्दै गर्दा, नव निर्मित सिरहा र धनुषा जोड्ने देशको सब भन्दा लामो झोलुङ्गे पुल देखा पर्यो । तन थाके पनि मनमा नवीन उत्साह थपियो, निरन्तर हिंडिरहे !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।