गाउँमा सामान्‍य पढेलेखेको तर गरिब भनी आफन्‍तको तिरस्कारको पात्र बनेको प्रवेश श्रीमती लिएर सहर पस्‍यो। उसलाई आफन्‍तले दिएको पीडाले मेहनती बनायो। सानो पसल थाप्‍यो र निकै प्रगति गर्यो । पसलको आम्‍दानीले श्रीमती र छोराछोरीलाई राम्रो शिक्षा दिन सक्‍यो। ऊ सधैँभरि छोराछोरीका लागि त हो नि दु:ख गर्ने पछि हेर्ने यिनै त हो नि भन्‍ने गर्थ्‍यो।अहिले यिनलाई सफलताको बाटो देखाउन पाए हुन्‍थ्‍यो भनी कडा मेहनत गर्थ्‍यो। रातदिन नभनी काम गर्थ्‍यो।

आफू कहिल्‍यै राम्रो लगाउँदैनथ्‍यो तर श्रीमती र छोराछोरीको भने हरेक इच्‍छा पूरा गरिदिन्‍थ्‍यो।ऊप्रति ईश्‍वर दाहिना भएर होला दिन दुई गुना रात चौगुना व्‍यापार बढेर मनग्‍य कमायो र काठमाडौँमा एउटा सानो घर बनायो। उसले गाउँमा रहनुभएको बुबाआमालाई पनि सधैँभरि खुसी नै राख्‍यो। मैले काठडौँमा घर बनाएँ; मेरा आमाबुबा पनि त्‍यहीँ गएर बसिदिनुभए हुन्‍थ्‍यो भन्‍ने उसले इच्‍छा प्रकट गर्दा उसका बुबाआमाले, ‘बाबु हामी यहीँ जन्‍मियौँ, हुर्कियौँ, बुढा भयौँ सबै दाजुभाइ इष्‍टमित्र यहीँ छन्; हामीलाई कर नगर बाबु’ भनेपछि उसले बुबाआमाको पनि राम्रो व्‍यवस्‍था गरिदियो। गाउँमा खेतीपाती गर्ने जमिन भए पनि खेतीपाती गर्ने मानिसको अभावमा उर्वर भूमि बाँझै बसेको थियो।

यता भने उसको आम्दानी बढेसँगै दु:खमा नचिन्‍ने आफन्‍तहरू पैसा चाहिएको समयमा दु:खमा आफ्‍नै मान्‍छे काम लाग्‍छ भन्दै अलिअलि सहयोग गरिसियोस् न भनी चिप्‍लो घस्न आएपुग्‍थे र भेट भएको समयमा हाम्रो घरमा पनि आउने गरिसियो न है भनी निम्ता दिने गर्थे।

ऊ सोचमग्‍न हुन्थ्‍यो। उसको मान अनादर तँबाट हजुर र सियोससम्म पुगेको थियो तर ऊ हिजो जस्‍तो थियो आज पनि उस्‍तै छ । उसमा केही परिवर्तन भएको थिएन। सानैमा बिहे गरेकाले छोराछोरी उसको उमेर छँदै हुर्केका थिए। छोराछोरीको आवश्‍यकता र दिनप्रतिदिन श्रीमतीको विलासी सामानको माग बढ्‍दो थियो। उसले सकेसम्‍म पूरा गरेको थियो।

छोरोले बाह्र उत्तीर्ण गरेपछि डाक्‍टर पढ्छु बुबा भन्‍यो र छोरीले नर्स पढ्छु भनी। छोराछोरीको पढ्‍ने इच्‍छामा खुसी भएर झन् मेहनत गर्यो। छोराछोरीको पढाइसँगै श्रीमती सामाजिक सञ्‍जालमा निकै सक्रिय हुन थाली।

टिकटक बनाउन महँगाे महँगाे र दिनदिनै नयाँ सामानहरू चाहिन थाल्यो। एकदिन श्रीमतीले कार किन्‍न अनुरोध गरी तर उसले वास्तै गरेन। उसले बिस्‍तारै छोराछोरीको पढाइमा लाग्ने खर्च जम्‍मा गर्यो। दिनप्रतिदिन श्रीमतीको आवश्‍यकता बढेको देख्‍दा दिक्‍क मान्‍थ्‍यो तर केही भन्‍दैनथ्‍यो ।

आफ्‍नो आवश्‍यकता पूरा गरिदिन छोडेपछि श्रीमती ऊसँग बोल्‍न छोडी। केही सोध्‍यो भने झर्कीफर्की गर्थी। हिजोसम्‍म स्वर्ग भएको घर बिस्तारै नरकजस्‍तै हुन थालेको थियो। छोराछोरीले बुबालाई व्‍यापारमा सघाउन आमासँग अनुरोध गरे तर छोराछोरीलाई पनि आफूतिर एकोहोर्याएको भनी श्रीमानसँग झगडा गरी।

श्रीमान श्रीमतीको सम्‍बन्ध बिस्‍तारै चिसिन थाल्‍यो। उसले यसलाई त्‍यति महत्त्व दिएन। उसको विचार भनेको समाजसेवातिर लाग्ने थियो । त्‍यसैले ऊ कहिले पशुपति वृद्धाश्रममा पुग्‍थ्‍यो भने कहिले बालआश्रममा पुग्‍ने गर्दथ्यो। उसले दसजना अनाथ बालबालिकाको संरक्षकको जिम्‍मेवारी सम्‍हालेको थियो भने विदेशमा डलर कमाई उतै रमझम गरिरहेका तर आश्रममा छोराछोरीको आशमा आँसु झारिरहने आमाबुबाको आँसु पुछ्न पुग्ने गर्दथ्‍यो। गरिब दु:खीको घाउमा मलम लगाउन अघि सर्थ्‍यो।

छोराछोरीले कहिल्यै कुनै कुराको गुनासो गर्ने ठाउँ राखेको थिएन तर श्रीमतीसँग बोलचाल बन्‍द भएको थियो। उसले एकदिन यसरी अनावश्‍यक कुरामा झगडा गर्ने होइन भनी श्रीमतीलाई सम्‍झायो तर श्रीमतीले उल्टै गाली गरेपछि भने उसले पनि वास्ता गर्न छोड्‍यो। उसलाई दिक्‍क लाग्यो भने तुरुन्त वृद्धाश्रममा पुग्थ्यो र राति अबेरसम्‍म बसेर घर फर्कन्‍थ्‍यो। प्रविधिको जमाना छोराछोरी पढाइका साथसाथै भर्चुअल दुनियाँमा रमाउँथे; उनीहरूलाई पैसा भए हुन्थ्‍यो ।

प्रवेशले आमाबुबाको निधनपछि गाउँमा अस्पताल खोल्नका लागि सबै जग्‍गा दान दियो। त्यसदिन उसको घरमा ठुलो झगडा पर्यो । छोराछोरी पनि रिसाए भने श्रीमतीले त आफ्‍नी श्रीमतीको आवश्‍यकता पूरा गर्न नसक्‍ने यस्‍ता कङ्‍गालले जग्‍गा दान गर्ने भनेर खिल्‍ली उडाई।

ऊ सबै कुरा सुनेर पनि नसुनेझैँ गरी बस्यो। एक पोको चाउचाउ समातेर दसजनाले तस्बिर खिचाउँदै हामी आज यता भनेर मुहारपुस्तिमा राखेर प्रचारप्रसार गरेझैँ उसले आफूले गरेका सेवालाई प्रचार गरेन। उसले निरन्तर सेवा गरिरह्यो। पैसाका पछि लाग्नेलाई के थाहा आमाबुबाको आँसुको मूल्‍य अनि अनाथलाई लाग्ने अभिभावकको मायाको भोक। उसले यसलाई नजिकबाट नियालेको छ र त निरन्तर लागिरहेको छ।

एक दिन अचानक ऊ हरायो। श्रीमतीले अर्की स्वास्नी लिएर गयो होला भन्दै हिँडी। छोराछोरीले बुबा मानसिक रोगी हुनुभएको थियो; कतै जानुभयो होला भने। छिमेकमा प्रवेश हराएको कुरा गाइँगुइँ सुनिन थाल्यो।

यत्तिकैमा उसको मृत्युको खबरसँगै शव पनि ल्‍याए । मुहारपुस्तिकामा उसलाई समेत जोडेर एउटा इमानदार व्‍यक्‍तिको अन्‍त्‍य भनेर श्रद्धाञ्‍जली दिन थाले।

सँगै बस्न र एउटै खाटमा सुत्‍न छोडेकी श्रीमती शवलाई अँगालो हालेर छाती पिटी पिटी हामीलाई टुहुरा पारेर संसार छोडेर गए; मैले के गर्ने अब भन्दै लडीबुडी गरी रुन थाली। उसको पार्थिव शरीरमा मालाहरू बर्सिन थाले। सबैजनाले राम्रो मान्‍छेको खाँचो भगवानलाई पनि पर्दो रहेछ भने । केही समाजसेवी र राजनीतिज्ञले उहाँले समाजसेवामा पुर्याउनुभएको योगदानको उच्‍च मूल्‍याङ्‍कन राज्‍यले गर्छ भन्‍दै भाषण पनि दिए  । सधैँ प्रवेशको प्रगति देखेर र्‍याल चुहाउने र कसरी यसलाई पतन बनाउने भन्‍ने जाल बुनिरहने छिमेकी जो स्‍थानीय नेता हुन्, उनले प्रवेशको नाममा एउटा संस्‍था खोलेर सहयोग मागी समाजसेवा गर्ने घोषणा गरे । दु:खमा नचिन्‍ने आफन्‍तहरू पनि उसको आँगनमा नक्‍कली आँसु बगाउँदै थिए ।

मानौँ ठुलै मानिसको निधन भएझैँ सम्‍मान गर्दै थिए । धेरै बेर लाशलाई घरमा राख्‍नु हुँदैन भन्‍दै फूलैफूलले पार्थिव शरीरलाई छोपेर लावालस्कर मसानघाटतिर लाग्दै गर्दा उसकी श्रीमती झन् डाँको छोडेर रोई। श्रीमतीको यति माया र अरूले दिएको  सम्‍मान त सायद देशको ठुलो मानिसको मृत्‍युमा पनि भएको थिएन होला ? छोरोले दागबत्ती दिनका लागि बलेको बत्ती उसको मुखमा राखिदियो। ऊ झल्‍याँस्‍स ब्‍युँझियो ।

उसलाई आफू ब्‍युँझिएकोमा दु:ख लाग्‍यो र मनमनै सोच्‍यो परिवारको माया र समाजको सम्‍मान पाउन त जिउँदो होइन मर्नु पर्ने पो रहेछ।