हरिहर झन्डै डेढ दशकपछि दशैंमा गाउँ गएको थियो । गाउँ पुग्नासाथ उसले गाउँको वरिपरि नजर घुमायो ।

हरिहरले गाउँ छोड्दा गाउँमा मोटरबाटो पुगेको थिएन । अहिले मोटरबाटो पुगेछ । मोटरबाटो त के भनौं मोटर बाटो जस्तोजस्तो लाग्ने गरी डोजरले डाँडा काटेर माटो फालेछ । जताततै डोजरले काटेर गाउँको अनुहार टाउको चारपाटे मुडेको जस्तो देखिएछ ।

बाटो बनाउँदा डोजरले धानखेतका गरा भत्काएछ, पाखो बारी लडाएछ, ढिस्का फालेछ, गाउँमा पहिरो रोक्ने रूख फालेछ, पानीका मुहान र धाराहरू पुरेछ । अलिअलि गाउँलेको घर पनि उडाएर विस्थापित बनाएछ ।

गाउँको पहिलो गौडामा पुगेर हरिहरले गाउँ वरिपरिको यस्तो दृश्य अवलोकन गर्दै थियो, त्यहीँ गौडामै हरिहरको धनबहादुर थापासँग साक्षात्कार भयो ।

‘नमस्कार काका !’  हरिहरले हात जोड्दै भन्यो ।

‘नमस्कार बाबु ! तर मैले त बाबुलाई चिनिनँ नि, को हो कुन्नि, अनि कता आउनु भो ?’ धनबहादुरले नमस्कार फर्काउँदै भने ।

‘म सिरानघरको मिठारामको छोरा हरिहर के त काका ।’ हरिहरले आफूलाई चिनायो ।

‘ए धेरै भो त गाउँ नआएको बाबु तपाईँ त, अहिले त अर्कै हुनु भएछ, कपाल पनि पो फुल्न आँट्यो कि कसो ?’ धनबहादुरले हरिहरलाई नियालेर हेर्दै भने ।

‘भयो होला काका चौध पन्ध्र वर्ष ।’ हरिहरले भन्यो ।

‘अनि गाउँतिरको हालखबर के छ नि काका ?’

‘के हुनु हरिहर बाबु । गाउँमा मोटरबाटा खुलेका छन् । वेलावेला जीप दौडिन्छन्, धूलो उठाउँछन् । खेतहरू बाटामा परिणत भैहाले । धान रोप्नुपर्दैन अब गाउँलेलाई । खूब सुख भ’को छ । चामल नै मोटरले घरैमा ल्याइदिने भएपछि किन धान रोप्ने, गोड्ने, कुट्ने, पिँध्ने ? बोराको चामल थपक्क कुकरमा हाल्ने, सुइइइयँ सिटी लाउने खाने ।’ धनबहादुरले घरघरमा आएको परिवर्तन सुनाए ।

उनले अझ थपे, ‘उहिले खेतमा हलगोरु दौडन्थे, अहिले खेतमा मोटर दौडन्छन् । मोटर कुद्न बाँकी अलिअलि खेत पनि बाँझै छन् । ल हेर्नुस् त हरिहर बाबु ।’ बाँझा गरातिर देखाउँदै धनबहादुरले भने, ‘विकास, विकास भन्छ, यो विकासले त गाउँलेलाई त अल्छी पो बनायो त हो हरिहर बाबु ।’ धनबहादुरले विकासको शैलीप्रति आफ्नो असन्तुष्टि पोखे ।

‘अनि दशैंले त गाउँलाई छपक्कै छोप्यो होला नि हैन काका ?’ हरिहरले विकासको प्रसङ्गलाई बिट मार्दै दशैंको प्रसङ्ग उक्कायो ।

‘के दशैं लाग्नु बाबु ! उहिले यही चौरमा दशैंमा पिङ हुन्थ्यो, मज्जाले मच्चीमच्ची पिङ खेलिन्थ्यो । अहिले यो चौर गाउँको फोहोर थुपार्ने ठाउँ र शहरबाट आएका गाडी पार्किङ गर्ने थलो बनेको छ । गाउँका केटाकेटीहरूको लागि त पिङ पनि एकादेशको कथा हुने भो ।’ धनबहादुरले गौडा नजीकैको चौरतिर देखाउँदै भने ।

हरिहरले आफ्नो गाउँको चारै दिशातिर दोस्रो पटक अझ गहिरिएर दृष्टि दियो । देख्यो, ‘उ वेला ढुङ्गा माटोले बनेका पर्खाल र फलेक, ढुङ्गा र खरले छाएका घरहरू थिए । आजकल घरका अनुहार फेरिएछन् । ढुङ्गाको ठाउँ ईंटाले लिएछ, माटोको ठाउँमा सिमेन्ट पुगेछ । काठहरू फलाममा परिणत भएछन् । छानाहरू अधिकांश हरियो रङका बनेछन् ।’

दशैंमा जमरा राख्ने, पिङ हाल्ने, खसी काट्ने, टीका लाउने, माइत मावली ससुराली जाने, आशिष् थाप्ने बाल्यकालका संस्मरणमा नोस्टाल्जिक हुँदै हरिहर आफ्नो घरमा पुग्यो । हरिहरको घर गाउँको सिरानतिर थियो ।

घरमा पुगेर हरिहरले बाबुआमासँग ढोगभेट गर्‍यो । अनि दशैंको तयारीको बारेमा कुरा गर्न थाल्यो । बाबुसँग सोध्यो, ‘जमरा कता राख्नुभयो त बा ?’

‘के को जमरा राख्नु ? अब गाउँमा जमरा राख्ने चलन हरायो । आजकल जमरा किन्न पाइन्छ । टीकाको दिन अलिकति जमरा किनेर ल्याउँला ।’ बाले भने ।

‘अनि खसी नि खसी ?’ हरिहरले प्रश्न थप्यो ?

‘ह्या, कसले खसी काटोस् । अब गाउँमा बाख्रा पाल्ने, खसी पाल्ने जमाना पनि गयो । गाउँगाउँमा मासु पसल खुलिसके । अष्टमी नवमीका दिन दुईचार किलो पसलबाट ल्याउने, खाने ।’ बाले खसीको कुरा पनि टुङ्ग्याए ।

गाउँलेसँगै हरिहरका बा पनि परिवर्तन भैसकेछन् । अब दशैंका बारेमा बासँग धेरै कुरा खोजी गर्न हरिहरले उचित ठानेन ।

हरिहर फेरि नोस्टाल्जिक भयो, ‘कहाँ गए बाका ती जाँगर ? दशैंमा जमरा राख्ने, पूजा गर्ने, संस्कृतका श्लोकहरू भन्ने, अरुलाई देवी र दैत्यका कथाहरू सुनाउने, मावली र ससुराली जाँदाका किस्सा सुनाएर रमाइलो गर्ने ।’

हरिहरले मनमनै बालाई प्रश्न गर्‍यो तर बाले सुन्नेगरी केही भनेन ।

====

गाउँ पुगेको भोलिपल्ट बिहान हरिहर गाउँतिर घुम्न निस्क्यो । बिहानैदेखि रक्सीले मातेर बाटोमा हल्लिरहेको एउटा अधबैँसेसँग उसको जम्काभेट भयो । अधबैँसेले लर्बरिएको स्वरमा हरिहरलाई भन्यो– ‘ओए केटा ! तँ को होस् ? यो गाउँमा त तँलाई म पहिलो चोटि देख्दै छु त ? कसको अनुमति लिएर आइस् नि गाउँमा ?’

हरिहर केही बोलेन, उसलाई रिस उठेन, बरु हाँसो उठ्यो । हाँसोसँगै अलिकति चिन्ता पनि पलायो, त्यो मान्छेले रक्सीमा डुबेर आफ्नो जीवन बर्बाद गरेकोमा । हरिहरले रक्सीको नशामा बेहोशी भएर कराइरहेको त्यो अधबैंसेलाई हेरी मात्र रह्यो ।

हरिहर केही नबोलेपछि अधबैँसे जँड्याहा फेरि बोल्न शुरू गर्‍यो । उसले हरिहरतिरै प्रश्न फ्याँक्यो, ‘बिहानबिहानै रक्सी खाएर किन हिंडेको भाइ ?’ यस पटक पनि हरिहर सुनी मात्र रह्यो ।

जँड्याहा लगातार बोल्दै गयो, ऊ हरिहरलाई उपदेश दिंदै थियो, ‘यसरी रक्सी खाएर जिन्दगी नबिगार भाइ ! बरु मसँग विदेश हिंड, पैसा कमाउन । म त अर्को हप्ता सररर विदेश उड्छु । भोलि नै पासपोर्ट बनाउँछु । जान्छौ भने तिमी पनि मसँग हिंड पासपोर्ट बनाउन ।’

हरिहर चूपचाप आफ्नो बाटो लाग्यो ।

====

दशैं सकिएपछि पनि हरिहर केही दिन गाउँमा बस्यो ।

ऊ आफूले पढेको विद्यालयमा पुग्यो । ऊ पढ्दा विद्यालय भवन सानो थियो, पढ्ने कोठा साँगुरा थिए, डेस्क बेन्चहरु पुराना थिए, तर विद्यार्थी खचाखच थिए । अहिले विद्यालय भवन ठूलो भएछ, कक्षा कोठाहरू फराकिला भएछन्, नयाँनयाँ डेस्क बेन्च हालिएछन्, साइन्स ल्याब, कम्प्युटर ल्याब थपिएछ, तर विद्यार्थी घटेछन् । भवन मोटाएछ, विद्यार्थी संख्या भने पातलिएछन् ।

विद्यालय नजीकै तीर्थराम सरको घर थियो । हरिहर विद्यालयबाट तीर्थरामको घरतिर मोडियो । हरिहर विद्यालयमा पढ्दा तीर्थराम गणित शिक्षक थिए । गाउँको घरमा ताला लगाएर उनले अहिले गाउँ छोडिसकेछन् । विद्यालयबाट रिटायर्ड हुँदानहुँदै शहर पसेछन् । घरमा झार उम्रेको रहेछ । तीर्थराम जस्तै अधिकांशको शहर मोह गाउँमा झाँगिएछ । तीर्थरामको छिमेकीबाट हरिहरले तीर्थराम र तीर्थराम जस्तै अरू गाउँलेको मनस्थितिका बारेमा थाहा पायो ।

गत साल सर्वजीत बूढाथोकीको मृत्यु भएछ । सर्वजीतका बाको मृत्यु हुँदा तीन सय मलामी भएका थिए अरे भन्ने हल्ला थियो, तर सर्वजीतको मलामी बल्लबल्ल तीस जना मात्र भएछन् भन्ने कुरा हरिहरले सर्वजीतको छिमेकीबाट सुन्यो ।

गाउँमा मोटर पुगेपछि गाउँको बीचमा एउटा चियापसल खुलेको रहेछ । तर त्यो चिया पसलमा बिहानको तातो चिया खानेभन्दा बेलुकाको चिसो चिया खानेको भीडभाड हुन्छन् रे भनेर सन्तराम राई हरिहरसँग भन्दै थिए ।

गाउँका बारेमा हरिहरले एकपछि अर्का जानकारीहरू पायो ।

गाउँका युवाहरू धेरैजसो विदेश गएका रहेछन् । एकजना युवकले म देशमै केही गर्छु भनेर कृषि फार्म चलाउन थालेको रे । गाउँलेहरूले उसलाई लक्का जवान भएर पनि केही गर्न नसक्ने हुतीहारा भनेर उल्लीबिल्ली पारेछन् । त्यसपछि त्यो युवक पनि गाउँ छाडेर शहरतिर मजदुरी गर्न हिंडेछ ।

गाउँमा भूकम्पले घर भत्काएपछि गाउँलेहरूले पुनर्निर्माण प्राधिकरणसँग पैसा लिएर घर बनाएछन् । भत्किएका घरहरू दुःखसुख एक आपसमा जोडिए पनि गाउँका मान्छेका रहरहरू भने गाउँसँग टुटेर शहरसँग जोडिएछन् ।

हरिहरले गाउँ छोडेपछि गाउँमा चार पटक चुनाव भैसकेछ । चुनावमा भने गाउँमा कमिला सरी मानिस उम्रिने रहेछन् । शहर पसेकालाई पनि भोटका लागि उम्मेदवारहरूले गाडीका गाडी ओसार्ने रहेछन् । चुनाव सकिनासाथ शहरतिर सुइँकुच्चा ठोक्ने रहेछन् । मानौं गाउँ चुनावका लागि मात्रै हो ।

गाउँमा उ वेला कानमा सुन लगाएका मान्छे खूब भेटिन्थे, अलिअलि पैसा भयो कि सुन जोड्थे । तर आजकल गाउँमा मान्छेको कानमा सुन हुँदो रहेनछ । आयस्रोत कम भएर होला शायद, गाउँमा सुन लगाउने घटेछन्, तर सुन व्यापारी चाहिं गाउँगाउँमा पनि बढेछन् । सुन तस्कर गरेपछि प्रहरीको शङ्कास्पद सूचीमा परेपछि गाउँमा गएर लुक्दा रहेछन् सुन तस्करहरू ।

उहिले गाउँमा कोही पाहुना गयो भने खुशी हुन्थे मान्छेहरू । ‘अतिथि देवो भवः’ भन्दै पाहुनाको स्वागत सत्कार गर्थे, तर आजकल गाउँमा मान्छे गयो भने होटल खोज्नुपर्ने रहेछ । आफन्तले गर्ने सहयोग भनेको चाहिं होटल खोज्ने काम गरिदिने रहेछन् ।

हरिहरले देख्यो, गाउँमा अरू पनि धेरै कुरा परिवर्तन भएछन् :

–   त्यो वेला गाउँलेहरू अधिकांश शाकाहारी थिए, अहिले अधिकांश गाउँलेहरू मांसाहारी भएछन् ।

–   त्यो वेला गाउँमा काम बढी र कुरा कम हुन्थ्यो, आजकल कुरा बढी र काम कम हुन थालेछ ।

–   गाउँमा त्यो वेला उत्पादन बढी हुन्थ्यो, गाउँलेलाई खान पुग्थ्यो, आजकल गाउँको उत्पादनले खान नपुग्ने भएछ, आयात बढेछ, निर्यात शून्य रहेछ ।

–   उतिवेला गाउँमा आपसी सहयोग र सहायता हुन्थ्यो, अहिले गाउँमा स्वार्थ, अविश्वास, झैंझगडा र असहिष्णुता बढेछ ।

–   उतिवेला गाउँको उपलब्धि, समस्या सबै साझा हुन्थ्यो, अहिले त राम्रो राम्रो जति मेरो नराम्रो नराम्रो जति अरूको भन्ने भएछ ।

–   गाउँमा उतिवेला किसानले दहीदूध खान गाईभैंसी पाल्थे, अहिले पाउडर दूधले गाउँ सेतो हुन लागेछ ।

–   उहिले दशैंका लागि खसी पाल्थे, गाईगोठ, बाख्रागोठ, भेडीगोठ भेटिन्थ्यो, अहिले मासु खान बोइलर कुखुरा पाल्ने र सडक गल्लीमा छाडा भुस्याहा कुकुरबाहेक गाउँमा जीवजन्तु भेटिन छोडेछ ।

–   गाउँमा अरू जीवजन्तुको पालन घटे पनि लामखुट्टे भने छ्यापछ्याप्ती पुगेछन्, रोगहरू बढेछन् ।

–   उहिले खाजामा मकैभटमास भुटेर खाइन्थ्यो, अहिले मकैभटमासको स्थान चाउचाउले लिएछ ।

–   गाउँमा अहिले विकासे रक्सी पुगेछ, ऊ वेलाको लोकल रक्सी विस्थापित भएछ ।

–   पहिले गाउँमा अनेकतामा एकता थियो, अहिले एकताभित्र अनेकता घुसेछ ।

–   स्वार्थको व्यापार बढेछ, सहयोग र सेवा घटेछ ।

–   युवा घटेछन्, वृद्धावृद्ध बढेछन् ।

–   उतिवेलाको गाउँ चित्र जस्तो लाग्थ्यो हरिहरलाई, अहिलेको गाउँ विचित्र भएछ ।

गाउँमा बिजुली त पुगेछ, तर गाउँ पहिले जस्तो उज्यालो लागेन हरिहरलाई । गाउँको विचित्रको तस्वीर हेर्दा उसलाई गाउँ अब गाउँ जस्तो लागेन ।

सबै गाउँ घुमेर हरिहर घोत्लिएर गाउँको बीचतिरको चौतारामा बसिरहेको थियो । त्यसैवेला एक जना हातमा प्लेकार्ड बोकेको व्यक्ति चौतारामा देखा पर्यो । प्लेकार्डमा लेखिएको थियो, ‘गाउँ हराएको सूचना ।’

गाउँका केही केटाकेटी र युवायुवती प्लेकार्ड बोक्नेलाई ‘पागल आयो, पागल’ भन्दै लखेट्छन् । हरिहर युवायुवती र केटाकेटीहरूलाई रोक्न खोज्छ । तर लखेट्नेहरूले प्लेकार्ड बोक्नेलाई लखेट्दै धेरै टाढा पुर्‍याइसकेका हुन्छन् ।

हरिहरले आफैंलाई सोध्यो, ‘साँच्ची मेरो त्यो गाउँ खै ?’ उसले कसैबाट उत्तर पाएन ।

हरिहरले सोच्यो, ‘प्लेकार्डमा लेखिएको सही छ ।’

चौतारीमा बसेर उसले गाउँको बारेमा चार लाइन कोर्‍यो ।

बुद्धि हरायो, विवेक हरायो

सेवा हरायो, सहयोग हरायो ।

मान्छे हरायो, मानवता हरायो

गाउँभित्रै मेरो त्यो गाउँ हरायो ।।

तर गाउँ हराउँदैमा कथा सकिएको थिएन, बरु कथाहरू व्यथा बनेका थिए ।

‘गाउँ किन हरायो ? गाउँका रोमाञ्चित कथाहरू किन पीडादायी व्यथामा परिणत भए ?’ प्रश्न बाँकी नै थियो ।

गाउँ यसकारण हरायो :

–   देश अरु कसैको कब्जामा थियो, तर हामी हाम्रो देश भनिरहेका थियौं ।

–   नेता अरु कसैका अनुचर भएका थिए, तर हामी हाम्रा नेता भनेर गर्व गर्दै थियौं ।

–   अधिकार त मेरो थियो, तर अधिकार प्रयोग गर्ने क्षमता ममा थिएन । क्षमता थिएन होइन, बरु मलाई अधिकार प्रयोग गर्न सक्ने क्षमतावान् बनाइएन ।

–   मसँग आफ्नो झोला थिएन, तर म अरूको झोला बोक्थें, अरूको झोला बोक्नु मेरो पहिचान बनेको थियो ।

–   म हुनुमा म गर्व गर्न सक्दैनथें, तर कुनै पार्टीको हुनुमा म ठूलो गर्व गर्थें ।

–   नेतालाई दिने भोट मेरो अधीनमा थियो, तर कसलाई भोट दिने भनेर मैले गर्ने विवेकमा नेताले बिर्को लगाइदिएको थियो ।

–   बिर्को लागेको विवेक मेरो पहिचान थियो । त्यही बिर्को लागेको विवेकमा म रुमलिइरहेको थिएँ । त्यसैमा म गर्व गरिरहेको थिएँ ।

हरेक नागरिकको विवेकमा बिर्को लागेपछि गाउँ नहराओस् कसरी ? यस्तै हो भने गाउँ मात्र होइन, एक दिन शहर पनि हराउनेछ । अनि क्रमशः जिल्ला, प्रदेश हुँदै सिङ्गो देश हराउने छ ।

त्यतिवेला म आफैं पनि हराउनेछु ।