अप्रत्याशित एउटा घटना यस्तो भयो, नसोचेको, मुसुक्क हाँसेर बोल्ने केटी सानु मानप्रसादसँग बोल्दै नबोली ठुसुक्क परेर अर्कातिर हिँडी । अर्कातिर कस्तरी भने कहिल्यै नचिनेको मान्छेले गढेर हेरेपछि केटीहरू कसरी रिसाउँछन् त्यसरी । मानप्रसादलाई पीर पर्‍यो । एकदमसित त्यसरी नचिताएको क्रियाकलाप गरेर गई सानु । मन अमिलो भयो, पीर पनि पर्ने नै भयो । अर्कातिर हेर्दा ऊ टाढा पुग्न लागेकी रहिछ । कुदेर गयो मानप्रसाद । भयानक सपनाबाट ब्युँझेर दौडे जस्तो गरी । ऊ बाँकी नगरी नहुने काम झट्ट सम्झेर हतारिएर दौडेको छ, त्यसरी ।

खास काम त केही थिएन तर सानु त्यसरी उसलाई देखेको नदेखेझैं गर्दै कहिल्यै ठुस्स परेर बाटो काटेर गएकी थिइन् । त्यही उसलाई अस्वाभाविक लाग्यो । सानी छिमेककै अधिकृत उदयबहादुरको घरमा काम गर्थी । त्यहीँ बस्थी र पढेलेखेकी युवती थिई । उदयबहादुरकी छोरीसरह थिई । मानप्रसादसँग उसले भेट्दिनँ भने पनि जम्काभेट भइरहन्थ्यो । यस्तै प्रक्रियामा परिचयपछि बोलचाल र उठबस गर्दागर्दै प्रेम अँकुराएको थियो ।

मानप्रसाद एउटा यस्तो केटो थियो जो गाउँबाट यतैको अधिकृत श्रीकृष्णकोमा काम गर्न सानैमा ल्याइएको थियो, सुदूरको पहाडी जिल्लाबाट । पढ्दै पनि थियो । कक्षा बार पास गरिसकेको थियो । श्रीकृष्णले उसलाई पढाउनमा कमी गरेका थिएनन् । प्रसङ्ग श्रीकुमारले उसलाई पढाउनुको थिएन । उनले त उसलाई भाइको छोरासरह मान्थे, विश्वासमा । उनले भनेका थिए, ‘पढाई पनि दिन्छु, तेरो बिहे पनि म नै गरिदिन्छु, काममा पनि लगाइदिन्छु । तर बिहे गर्ने भए कुनै केटी मन पराएको छस् भने भनिहाल्नू । अबेर गर्ने कुरो छैन । प्रेममा त्यस्तै हो । बिहे गर्ने हतारो भइहाल्छ ।’

श्रीकृष्णकी पत्नी धेरैजसो माइत गएकी हुन्थिन् । उनलाई घरको कामसँग मतलब थिएन । कारण थियो मानप्रसाद जसले श्रीकृष्णको घरमा कुनै कुराको कमी हुन दिंदैनथ्यो । त्यो देखेर श्रीकृष्णकी पत्नी उसलाई ‘मेरो सौता होस् तँ’ भन्थिन् । त्यो हाँसो गर्ने कुरा मात्र हुन्थ्यो र श्रीकृष्णकी पत्नी घरको कामकाजदेखि ढुक्क भएर डुलफिरतिरै लागेकी हुन्थिन् ।

घरका केटाकेटी पनि मानप्रसादसँग झ्याम्मिएका थिए । एक पन्थ दुई काज भन्थिन् श्रीकृष्णकी पत्नी । केटाकेटीको चिन्ता पनि छैन, घरको कामकाजको पनि । उनको भनाइको अर्थ यो थियो ।

मानप्रसाद अत्यन्त सोझो थियो । उसले कहिल्यै सोचेन, मैले आवश्यकभन्दा बढी श्रीकृष्णको परिवारको सेवा त गरिनँ ? यसतिर उसको मनमा पाप कहिल्यै आएन । सानैदेखि बसेको घरको अहित चिताउनु थिएन । पढाइ पनि राम्रै गराएका थिए । स्नातकपछि केही गर्लास् पनि भन्थे । ऊ ढुक्क थियो, पक्कै पनि बिहे गरिदिनेछन् श्रीकृष्णले । तर एउटा बाधा यही थियो, बिहेका लागि, सानु अहिले मानिरहेकी थिइन ।

शुरूमा लजाएर टाउको हल्लाएकी थिई स्वीकृतिमा । यता आएर बिहेको कुरा सुन्यो कि ऊ झनक्क रिसाउँथी । कारण के रहेछ ? मानप्रसादले कारण खुट्याउन सकिरहेको थिएन । बिहे गर्नै परेछ भने पहिले नै त्यसको तयारी पूरा गरिराख्नु पर्छ भनेर श्रीकृष्णले मानप्रसादको व्रतबन्ध पशुपतिमा लगेर गरिदिएका थिए । ‘म केही गरी गइहालेछु भने पनि किरियाकरम गर्लास् नि त जनै भिरेको तैँले’ भनेर जिस्क्याएका पनि थिए । मानप्रसादको मन खिन्न भएको थियो । यस्तो त भन्नु नपर्ने हो बूढाले, किन यसो भने ? के उनलाई मृत्युको पूर्वज्ञान भइसकेको छ ? बिहेको के हुने ? धेरै दिनसम्म त्यो कुराले उसको मन खल्लो भइरह्यो ।

मानप्रसादले एक दिन त्रासैत्रासमा मनको कुरा मुखले भनिहाल्यो श्रीकृष्णका अगाडि । भन्यो, ‘हजुर, म बिहे गर्छु ।’ श्रीकृष्ण एकछिन त हाँसे । यसमा हाँस्ने जस्तो के छ र ? मानप्रसाद अलमलमा पर्‍यो र बिहेको कुराले लजायो पनि । ‘मेरो बिहे गरिदिनोस्’ भन्नु अलि लाज पचाएर व्यक्त गर्नु जस्तो हुन्थ्यो । कुरो यो पनि थियो, श्रीकृष्णका अगाडि मानप्रसाद अदबले उभिन्थ्यो, उनलाई अपमानबोध हुनेगरी ऊ क्रियाकलाप गर्दैनथ्यो, बोल्दैनथ्यो । उनी एकछिन् हाँसेपछि गम्भीर भए, भने, ‘तैँले बिहे गर्छु त भनिस् तर को सित ? केटी हेरिसकेको छस् ।’

उसले टाउको निहुराएर ‘हो’ को सङ्केत गर्‍यो ।

श्रीकृष्ण छक्क परे । यसले कहाँ भेट्टायो केटी ? कति बेला फुर्सत निकालेर केटीसँग प्रेमनिवेदन गर्‍यो ? श्रीकृष्णको धारणामा प्रेमनिवेदन नगरी विवाहको कुरा आउनै सक्तैन । यो जस्तो बेफुर्सदिलो युवकले कुन र कस्ती केटीलाई मन पराएछ त ? र त्यो केटीले पनि यसलाई के देखेर मन पराई र विवाहको स्वीकृति दिई ? यो बुझ्ने विषय बनिदियो उनका लागि जिज्ञासाका अतिरिक्त । बिस्तारै केरकार सोधपुछ गर्दै गएपछि कुरा खुल्दै आयो । श्रीकृष्णले हप्कीदप्की गरेर मानिसलाई त्रस्त पार्नमा विश्वास गर्दैनथे । फेरि उनी मानप्रसादका अभिभावक पनि थिए, पहाडमा सरुवा भएका बेला साथै लिएर काठमाडौं फर्केका ।

मानप्रसाद पढ्नमा अलि कमजोर थियो । उसलाई पढाउनमा श्रीकृष्ण कहिलेकाहीं व्यस्त हुन्थे र पढ्न नआएकोमा ठूलै स्वरले हप्काउन पनि खोज्थे । तर मानप्रसाद रुन थालिहाल्थ्यो । उनी उसलाई फाकाउनतिर लाग्थे । अहिले त्यो सम्झँदा उनलाई लाग्यो, मानप्रसादले केटी हेरेर बिहे गरिदिनु पर्‍यो भन्नु एउटा आश्चर्य नै थियो । तर समय आफ्नै गतिमा बित्ने रहेछ । भोलि बिहे भएपछि यसका पनि सन्तान बालबच्चा होलान् । एक जिम्मेवार गृहस्थ बन्ला यो । बीचमा उसको व्यवस्था पनि गरिदिनु थियो । बिहेपछि मानप्रसादलाई घरेलु नोकरसरह राखिराख्नु उचित हुँदैनथ्यो । स्नातक त गरोस्, कहीँ न कहीँ फिट गरिदिनुपर्ला । उनी विचारमग्न भए । मानप्रसाद उनी विचारमग्न भएको देखेर अर्कातिर लाग्यो— विचार गरून् बूढा ।

तर अहिले जटिलता यही थियो घटनाक्रमको, सानी ऊसँग तर्केर हिंड्दै थिई । उसको अनुहार कुनै आन्तरिक द्वन्द्वमा फसेजस्तो देखिन्थ्यो । मानप्रसादलाई यो महसूस भइरहेको थियो । ‘किन सानी मबाट यसरी तर्केर हिंडेको ?’ भनेर सोध्नलाई मौका परिरहेको थिएन । मात्र ऊ सानीको निन्याउरो अनुहार हेरेर मनले व्यथित हुन बाध्य थियो ।

मानप्रसाद अत्यन्त सन्तप्त थियो । सानी किन ऊसँग तर्केर हिंड्दै छे ? यो प्रश्नको व्यूहमा ऊ फसेको थियो । लजाएर र गालामा लाजको लाली लिएर ऊसँग लुकामारी खेल्ने सानी अहिले उसलाई देखे पनि नदेखेझैं गर्दै थिई । उसको अगाडि पर्न पनि मन पराउन छाडेकी थिई । मानप्रसादको मनमा यो आइरहेको थियो, उसको के छ दोष जसलाई सानीले क्षमा गर्नै नसक्ने स्तरमा लिएकी छ ? तर कुरो त्यस्तो थिएन । सानीको मनमा पनि मानप्रसादका लागि अगाध निर्मल प्रेम थियो । यो उसले बुझ्दथ्यो ।

सानीलाई एउटा बाधा आइलागेको थियो । अस्ति उसको गाउँबाट उसको दाइ ऊ भएठाउँ आएको छ । ऊ भन्दै छ— ‘बहिनी तिमीले बिहे गर्नुअगि मानप्रसादलाई पहिलेका सबै वृत्तान्त भन्नुपर्छ । मानप्रसाद जस्तो पवित्र प्रेमीलाई धोका दिनु हुँदैन ।’

बिहे गर्नुमा के को धोका ? सानीको मनमा यो प्रश्न जन्मेको हो । तर सानीले विवाह गर्नुमा दोष वा धोका देखिरहेकी थिइन । उसको दाइ मात्र यो भनिरहेको थियो— ‘तिमी उसलाई साँचो कुरा बताइदेऊ । म यहाँ छँदै तिमी यो कुरा उसलाई भन अनि मात्र म तिमीलाई ऊसँग बिहे गर्ने अनुमति दिन सक्छु । होइन भने तिम्रो इच्छा गर । दुईचार दिनपछि म पहाडगाउँ गइहाल्छु । तिम्रो भाउजूको स्वास्थ्य पनि ठीक छैन । घरमा अरू कोही छैन । छोराहरू कालापहाड गएका छन् कमाएर घरमा रकम पठाउन ।’

तेस्रो दिन सानीले मानप्रसादको सामना गरी र भनी, ‘तिमीसँग म बिहे गर्न सक्दिनँ ।’ मानप्रसाद आश्चर्यमा डुब्यो । एकाएक यस्तो कठोर निर्णय लिनुपर्ने खण्ड कसरी आइलाग्यो ? अहिले आएर बिहे गर्दिन भन्छे यो केटी ! भाग्यमा के लेखेको छ ? तर उसले गम्भीर स्वरमा भन्यो, ‘तिमी बिहे गर्छु भन्ने मानिस आज आएर यस्तो निर्णय किन ? मलाई पूरै कुरा बताऊ सानी नत्र म…।’ सानीले बीचैमा कुरा रोकेर भनी, ‘यस्ता कुरा गरेर मलाई नरुवाऊ मान । मलाई अन्यथा पनि नलेऊ । दुईचार दिन म तिमीलाई यो कुरा भन्ने साहस नभएर तर्केर हिंडिरहेकी थिएँ । मेरो विगले गर्दा तिमीलाई टाढै राख्न चाहेँ तर तिमीलाई देख्नासाथ मेरो मन मान्दैनथ्यो, म एकान्तमा रुन्थें । तिमीसँग बोलूँ हाँसूँ भन्ने रहर हुन्थ्यो तर कुरो अर्कै भयो । जीवनमा यस्तो मोड पनि आइलाग्दो रहेछ, गम्भीर समस्या बन्यो यो मोड ।’

मानप्रसादले नरम भएर सोध्यो, ‘त्यस्तो मोड कुन हो र ? के हो समस्या मलाई बताऊ न, समाधानका लागि हामी दुवै मिलेर प्रयास गरौंला ।’

सानीले मन दृढ गरेर भनी, ‘मेरा दाइ अस्ति पहाडबाट आएका छन् । उनले भन्छन् म सानै छँदा आमाले पुण्य कमाउन आफैले काखमा राखेर गाउँको एक प्रौढसँग विवाह मण्डपमा मेरो बिहे गरिदिएकी हुन् । मलाई त त्यो घटनाको सम्झना नै छैन । त्यो प्रौढ व्यक्ति पनि मसँग बिहे भएको अर्को वर्ष गाउँघरमा फैलिएको बिफरको महामारीमा परेर मरेछ । पछि आमा त्यो गाउँ छोडेर अर्को गाउँमा गएर बसोबास गर्न लागिछन् । साथमा दाइ र म थियौं । मेरो बिहेको कुरा थाहा पाएपछि दाइले भन्न थाले, विवाहको घटना मानप्रसादलाई बताऊ । पछि थाहा पाएमा तिम्रो घरबार बिग्रन सक्छ ।’

यो सुनेर मानप्रसाद गम्भीर चिन्तामा पर्‍यो । बिहेका लागि उसले एकाएक अस्वीकार गरेन तर धेरै बेर विचार मग्न भएपछि अलिकति हाँसेको अनुहार लगाएर भन्यो, ‘तिमीले त आफ्नो कुरा भनेर मन हलुङ्गो पार्‍यौ होला । म एउटा उपाय भन्छु, अलि सोचविचार गरेर जबाफ भने,’ यति भनेर ऊ एकछिन रोकियो र सानीको अनुहारलाई गम्भीर दृष्टिले हेरिरह्यो, सानीको मनमा उठ्न सक्ने तरङ्गको विश्लेषण गरी पनि रह्यो । ‘भन न के हो । अवश्य पनि तिमी मलाई रुवाउने कुरा गर्नेछैनौ, मलाई यो विश्वास छ,’ सानीले भनी ।

मानप्रसादले सुस्तरी भन्यो, ‘अतीतका कुरा उतै थन्क्याइदेऊ । यो मात्र भन म तिमीसँग विवाह गर्न तयार छु भनेमा तिम्रो स्वीकृति छ कि छैन ?’ सानीले प्रत्युत्तरमा लजाएर यत्ति मात्र भनी, ‘धत् !’