
विवाहको दिन नै खटपट सुरु भइसकेको थियो। पाखे भनेर जन्तीलाई जिस्काएको घटनाबाट रमिता र विनोदकाे वादविवाद चलेको थियो ।
“विनोद सर तपाईं अति सोझो हुनु भयो। सोझो मान्छे जाँ पनि पछाडि पारिन्छन्। तपाईंलाई हेड टिचर बनाउने हार्दिक इच्छा हो।” आदर्श मा.वि का अध्यक्षले बैठकपछि एकान्तमा भनेका कुराले विनोदलाई पटक पटक झस्काइ रहन्छ।
विनोद सरल स्वभावको मिजासिलो, पढेलेखेको नयाँ नियुक्त शिक्षक थियो। अङ्ग्रेजीमा त्रि वि बाट स्नातकोत्तर गरेको आयोगको परीक्षा पास गरेर आएको शिक्षकको गाउँ बस्ती तिर मान सम्मान छुट्टै किसिमको हुन्थ्यो। अरूहरू निजी स्रोतकै पनि मा. वि को शिक्षक भनी गफ दिन्थे तर विनोदको स्वभाव त्यस्तो थिएन । विषय बस्तुमा दखल र विद्यार्थीलाई सरल रूपमा सम्झाउन सक्ने भएकाले विनोद सरको छवि राम्रै बनेको थियो। विद्यार्थी सबैसँग सुमधुर सम्बन्ध बनेको थियो। बिरानो गाउँ भए पनि छोटो समयमा नै आफ्नै गाउँ जस्तै सबै चिरपरिचित र सहयोगी बनिसकेका थिए।
प्रायः आफ्नै कोठामा खाना बनाउँथे । कहिलेकाहीँ घरपट्टीमा पनि खाना खाने गर्थे। घरपट्टी आमाले खाना पस्किँदै भनेकी थिइन् “बाबु निकै सोझो हुनु हुँदो रैछ। अहिलेको जमाना चार चौध गर्नेको छ।” अभिभावकको सुझाव जस्तै सुनिरहे मात्र।सोझो पनको सबै ठाउँ कुरा हुन्थ्यो। घरमा बज्यैको सानिध्यतामा थियो । बज्यैबाट परिवार,समाज,संस्कृति, सभ्यता बुझेका थिए। कुराको मेसो मिल्यो भने घर व्यवहार, सामाजिक परिवेश ,देशकाल, परिस्थितिको बज्यै चर्चा गर्नु हुन्थ्यो। “पढाइ लेखाइसँगै चार लाख विद्या चौध लाख चतुर्याइँ जान्नु पर्छ। सोझो मान्छेलाई ठगेर खाइदिन्छन्।”
बज्यैले भनेका यी कुरा अमिट रूपमा मन मस्तिष्कमा बसेका थिए। इजाले त सोझो मात्र होइन यो लाटो हो भनेर लाटोको संज्ञा दिनु भएको थियो।
“कति चलाक हुन्छन् केटाकेटी यस्तो सिधा मान्छेले कसरी गुजारा गर्ला” इजाले विनोदका विषयमा चिन्ता व्यक्त गर्नु भएको थियो।
“कस्ता कस्ताले पनि जीवन निर्वाह गरेका छन् । यो सोझो भएर के भो, इमानदार, नैतिकवान् र असल मान्छे भयो भने समाजमा आदरपूर्वक बसिन्छ।” बुवाले उत्साह थपिदिनु भएको थियो।
सोझोपनको फाइदा साथीहरू पनि उठाउँथे। गाउँ का चार पाँच जना केटाहरू आँप खान भनी निस्किए।आँप निकै फलेको । यसो यताउति विचार गरे घरमा कोही थिएनन्।आँप टिप्ने सल्लाह भयो। विनोदले प्रतिवाद गरे। “आएको बेला आँप टिपेर खानु भन्या थियो मेरो इष्ट नाता लाग्नेको घर हो” लछुवाले भने।
“खानु भन्या छ भने त खानु पर्यो” मदनले थप्यो।
विनोदले प्रतिवाद गरिरहे । प्रतिवाद गर्दागर्दै साथीहरूको लहलहैमा आँप टिप्न तयार भए । रुखमा चढी आँप टिप्दा टिप्दै आँपका मालिक आएछन् ।अरू साथीहरू भाग्न सफल भए तर विनोद रुखमै रहेको अवस्थामा फेला परे। निकै गाली खाए।
“फटाहा केटाहरूको पछि लागेर आफ्नो भविष्य बिगार्नु भएन” भनेर सम्झाएर पठाए । यस्ता कैयौँ घटना घटेका थिए विनोद सरका।
सबै स्मरण मै थिए सोझो भएका कारणले झमेलामा परिएका। आफन्त शुभचिन्तक सबै तिमी सोझो छौ भन्थे ।त्यही सोझोको कुरा विद्यालयमा पनि उठ्यो।
विनोदलाई लाग्थ्यो कसैको केही बिराएको छैन तै पनि ईर्ष्या गर्ने निस्कन्छ भने अलि केही तल माथि गरे सिद्ध्याउँछन्। आफ्नो जिम्मेवारीको कार्य इमानदारीका साथ गर्ने बाकी दुनियाँदारीको पछि नलाग्ने मान्यता थियो।तर समाजको चलनचल्ती अवस्था चहलपहलको थियो। सत्यलाई आत्मसात् गर्नु पर्छ भन्ने अटल मान्यता थियो। सत्यमा नै पृथ्वी अडेको छ, सत्यमा नै सूर्य प्रकाशित छ, सत्यमा नै वायु निरन्तर बहिरहेको छ सबै सत्य प्रतिष्ठित हुन्छ। भगवानले पनि सत्य देख्छन् तर कुर्नु पर्छ भनी पढेको थियो। पढेको सबै व्यवहारमा आउँछ भन्ने छैन तर सत्यप्रति ऊ अडिग छ। त्यही कारण सोझो छ, लाटो कहलिन्छ।
क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा उसको सक्रियता कम थिएन । आफ्नो सङ्गठनको हरेक गतिविधिमा अग्र मोर्चामा पुगेको हुन्थ्यो। पदीय जिम्मेवारी पाउँदा पहुँच आवश्यक हुँदो रहेछ। कसैको हाम्रो हुनुपर्ने रहेछ।हाम्रो प्रवृत्तिले राम्रो ओझेल पर्दो रहेछ । जिम्मेवारी प्रदान गर्ने सम्म पहुँच भएन । नेताको अगाडि पछाडि रहेर जी हजुर गरिएन। स्व बि यु मा टिकट पाइएन। सङ्गठनको कुनै तहमा पनि महत्त्वपूर्ण जिम्मेवारीबाट अलग रहनु पर्ने अवस्था आयो।
एउटा नेताले सान्त्वना दिँदै भनेका थिए “विनोद तिमी साह्रै सोझो भयौ। यो पदका लागि योग्य र उपयुक्त व्यक्ति पनि हौ तर तिम्रो सोझो पनले अरूले अवसर पाउने भए।”
उक्साउने पनि धेरै आए “के पाउँछौ निष्ठाको पाठ पढेर । कम्मर कस, स्वतन्त्र लड्नु पर्यो।”
दुई चार जना विद्यार्थी सदस्य रहेको सङ्गठनका साथी आएर “हाम्रो सङ्गठनबाट चुनाव लड्नु पर्यो।”
विनोद आफू जे छु ठिकै छु भन्नेमा विश्वस्त थियो। पढाइ सकेर शिक्षक आयोग खुल्दा आयोगमा नाम निकालेर आदर्श मा. वि. मा पोस्टिङ भएर गए। इजा, बुबामा खुसीको सीमा नै रहेन। छोरो मा. वि तहको शिक्षक भयो। सबै तिर खुशी नै खुसी छाएको थियो। घर परिवारको हार्दिक इच्छा छोराको विवाह गर्न पाए हुन्थ्यो भन्ने थियो । चिनजान सम्पर्क सबै ठाउँमा मेरो छोराका लागि भनिहाल्थे ।
गाउँघरतिर दौँतरी साथीभाइ सबै बिहा गर है भन्ने सल्लाह दिन्थे। जयदेव काकाले आफ्नो माइतीतिर कि असल कन्या छ कुरा चलाऊँ कि भनेर सोधे पनि। त्यस्तै हरिदत्त दाइले आफ्नो साली ल्याउने सल्लाह दिए। जन्तरी भाउजूले आफ्नी भदैको कुरा गर्ने कि भनी सोधे। हुन त समय अनुसारको कुरा पनि हो चौबीस पच्चीस टेक्दै गर्दा सरकारी जागिरमा प्रवेश गरेको घरजम गर्ने उपयुक्त समय पनि हो। शिक्षक स्टाफ कोही दौँतरीका थिए भने कोही बुढाबुढा अवकाशको नजिक पुगेका पनि थिए। प्रमोद सर भनी सबै जान्ने प्रेमप्रसाद प्रमोदले आफ्नो छोरीको विषयमा विनोदसँग कुरा चलाउन सुरु गरे । विनोदले घरमा कुरा गर्छु भनी टारिदिए।
आदर्शका हेडसर निकै कूटनीतिक पाराका एउटाको कुरा अर्कोलाई लगाई एक आपसमा सकेसम्म त झगडा नै गराउने, झगडा भएनछ भने पनि एक अर्कामा सन्सय फैलाइराख्ने । रक्सी, गाँजा, चुरोट पिउनमा शिक्षक कर्मचारीहरूलाई प्रेरित गरिराख्थे।आज त बिदा छ रमाइलो गरौँ भन्दै तास खेल्न बस्ने त्यही माछा, मासुको प्रयोग सुरु गर्ने । बसाइ झन् रमाइलोको कुरा उठ्दा रक्सी मगाइने।
“लिऊँ लिऊँ सर केही हुँदैन” त्यो क्लबमा सरिक सबैलाई गिलास थमाउँदै हेडसरले विनोदलाई प्रेरित गरे।
“नामुद जँड्याहा हामी पनि कहाँ हो कहिलेकाहीँ साथीहरूसँग मनोरञ्जन गरिन्छ” मनोज सरले जोडे।
सबैले आआफ्ना किसिमको जोडवालपछि विनोद पनि गिलास समातेर तयार भए । एकै साथ चेस भन्दै रमाइलो गर्न लागे। रङ्गिलो वातावरण हुँदै गर्दा हेडसरले कुरा अन्तै मोडेर “विनोद सर अब बिहा गर्नु पर्यो” जीवन उपयोगी सुझाव दिए।अधिकांश अर्धचेतको अवस्थामा पुगेका थिए । विभिन्न प्रस्ताव पेस भए। तमाम प्रसङ्ग उठे।राम्रा नराम्रा कुरा भए पिएको तालमा । पिउने मनोविज्ञान नै त्यस्तो अन्तर मनका कुरा ओकल्न पिउने, हल्ला गर्न पिउने, गाँठी कुरामा केन्द्रित रहन पिउने । पिउनेले छुट पनि पाउँदा रहेछन्। पिएको बेलाको कुरा त्यति महत्त्व दिनु भएन भन्न पनि मिल्ने रहेछ। ऊ त पिएको थियो सद्दे मान्छे त्यो सँग किन लागेको सम्म भ्याउँछन् ।शिक्षकको शुक्रवारे जमघटमा अन्तरङ्गका कुरा समेत हुन्थे । विनोद लाई मन पर्थेन तर साथीसँग साथी जस्तै बन्नु परेको थियो । विनोद चाहन्थे आदर्श मा. वि लाई नमुना बनाउन पाए । भएको विद्यमान अवस्थामा आमूल परिवर्तन गर्न सके मात्र नमुना बनाउन सकिन्छ भन्ने मत थियो।
लगनशील विद्यार्थी, समर्पित शिक्षक, प्रतिबद्ध अभिभावक भए मात्र गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने कुरामा विनोदको विश्वास थियो। त्यसका लागि विद्यालय, परिवार तयार थिएनन् । एउटा असल शिक्षकको भूमिका बाहेक धेरै गर्न सकिने केही थिएन।
“विनोद सर उमेर पनि भइसक्यो बिहे गर्नु पर्यो” हेडसरले कुरा बढाए।
“हुन्छ सर गर्नु पर्ला ।” सामान्य रूपमा विनोदले उत्तर दिए।
“मेरो साली छिन्, पढेलेखेकी पनि राम्रो परेवा जोडी बन्छ ।”
हेडसरले प्रस्ताव अघि सारे। विनोद मौन रहे। हेडसरले मौन स्वीकृत लक्षणा भनी बुझे। कुरा चलाए। हेडसरका ससुरा बा कुरा छिन्न पुगिहाले।
निकै लामो छलफल भयो। अन्ततः हेडसरकी साली रमितासँग विनोदको बिहा हुने भयो। विनोदले घरमा खबर गरे परिवारको इच्छा दुलही घरमै भित्र्याउन पाए हुन्थ्यो भन्ने तर व्यवस्थापन सबै हेडसरको भएकाले डेरा रहेको घरमै विवाह हुने भयो। निन्याउरो अनुहार लगाउँदै छोराको बिहामा विनोदका इजा, बुवा,काकाकाकी पुगे।
धूमधाम सँग विवाह भयो। विनोद-रमिता विवाहमा शिक्षक विद्यार्थी समेत रमाए। बिहा कार्यक्रमको बिदावारीमा काकीले भनिन्, “विनोद दुलही कडा मिजासकी छन् राम्ररी सम्हालेस् है” । विनाेद केही बोलेनन् ।
विवाहको दिन नै खटपट सुरु भइसकेको थियो। पाखे भनेर जन्तीलाई जिस्काएको घटनाबाट रमिता र विनोदकाे वादविवाद चलेको थियो । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्थे तर यहाँ भुसको आगो बनिसकेको रहेछ। भुसको भित्रभित्रै मस्केर बलेको मात्र होइन मुढाभित्र लुकेर बचेको आगो जस्तै । हरेक दिन ससाना कुरामा खटपट भइरहने। रमिताको हेराइ बुझाइमा हेय, घृणा थियो । आत्मीयता प्रेमको विकास हुन सकेन । छुट्टीको समय मिलाएर गाउँमा रहेको आफ्नो घरमा पुगे । विनोद दम्पतीको भव्य स्वागत भयो। बन्धुबान्धव, इष्टमित्र,आफन्तको निकै जमघट थियो।
गाउँमा रहेको घर रमिताका लागि भूत बङ्गला जस्तो लाग्यो। आफन्त कोही देखिएनन् सबै पाखे देखिए।
अन्तर्द्वन्द्वले सीमा नै नाघ्यो। गाउँबाट फर्के पछिको एक दिन अन्तर मनको कुरा नलुकाई “मेरो शरीरसँग खेल्ने हाे तिम्रो मनसाय जति सक्छौ खेल। मलाई तिम्रो भइरहने रत्तीभर मन छैन ।” रमिताले भित्री कुरा खोली।
“बाध्य कसले पारेको छ र ?” इँटका जवाफ पत्थरले फर्काए ।
“यो भन्दा त बम्बैको कोठी नै ठिक हुन्थ्यो होला” रमिताले कालिकाको रूप देखाउली जस्ती भई। मसिनो आवाजमा ब्रह्माश्र,अग्न्याश्र चल्न थाले। रातीको तनावसँगै बिहानै बस चढेर रमिता माइतीघर लागी विनोद विद्यालयतिर ।
हेडसर रमिताका कुरा सुनेर विनोदलाई पटक पटक रमिताको अभिभावकको रूपमा सम्झाइ रहन्थे। विनोद निकै तनावमा रहन्थे। रमिता माइती गएको खबर हेडसरलाई थाहा थियो । विनोद स्कुल पुग्ने बित्तिकै बाघले झम्टुँला झैँ गर्जना गरी पड्किए “एउटा पत्नी सम्हाल्न नसक्नेले ठुला कुरा गर्ने”।
आक्रमणलाई प्रतिआक्रमणमा बदल्दै जवाफ फर्काए “पत्नी पत्नी जस्तो हुनु पर्यो । घर गोमन पालेर बस्न सकिँदैन। स्नेहविहीन सम्बन्ध निरर्थक हुन्छ।”
झन्डै हात हालाहालको अवस्था आयो। सबै शिक्षक कर्मचारी लागेर स्थिति नियन्त्रणमा लिए। विद्यालय दिनभर त्यही विषयमा तनावग्रस्त रह्यो। स्कुलबाट फर्केर आए पछि एक्लै टोलाएर बसे।
मनोविनोद सुरु भयो। सायद म साह्रै सोझो रहेछु। मेरो सोझोपनले सधैँ समस्यामा पारिरह्यो। म साह्रै सोझो र ऊ निकै बाठो भएकाले होला हामी बिच फाटो उत्पन्न भएको। हुन त उसका इच्छा आकाङ्क्षा आकासिँदै गएका छन् । मेरो क्षमताले असहज,असीमित आवश्यकतालाई सम्बोधन गर्न सकेन । मभन्दा पनि अरू नै उसका सम्पर्कका मान्छे थिए । अरूहरू नै उसका स्नेहयुक्त थिए । सम्बन्ध बलियो विश्वासले हुन्छ। विश्वासको बाटो पैरोले भत्काएको छ। अनायास जोडिएको डोरी विश्वासको सङ्कट चुँडिएको छ। दिल टुटै पत्थर फुटैको अवस्था छ। यस्तै भावमा रुमल्लिँदै रात बितेछ ।
बिहान बाहिर निस्कँदा रमिताको रमिता चलिरहेको थियो।
“विनोद सर त सोझो मान्छे हुन्। निकै बाठाे श्रीमती फेला पर्याे । बिचल्ली पारेर गई ।”
बिहा पछिका हरेक दिन तनावमा रहे । नव दम्पतीको सुखद दाम्पत्य कहिने बनेन। हेय, कुण्ठा र घृणाको नजर रह्यो रमिताको । विनोदको सत्प्रयास असफल साबित भयो । हरेक दिन पारपाचुकेको कुरा हुन्थ्यो। माना चावल लिने कहिले नफर्कने जाने सुर रमिताको थियो। पारिवारिक सम्बन्धमा बाहिरी प्रभाव निकै रहन्छ। शुभचिन्तक साँच्चिकै शुभ भावना राख्ने भए सम्बन्ध बलियो बनाउन लाग्थे।
बनिसकेको सुन्दर घर बाढीले बगाएर लग्यो। सुन्दर सजिएका सपना बिलाएर गए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

