“तिमी को हौ ?”

“तिम्रो लोग्ने हुँ, जोन । चिनिनौ ।”

“चिन्नु न जान्नुको त्यसै लोग्ने पो भन्दो रैछ । यहाँबाट गइहाल । नत्र, पुलिस बोलाउँछु ।”

के भाको हो ? आफ्नै लोग्नेलाई नचिनेर चोरलाई झैँ पुलिस बोलाउँछु पो भन्छे । “म जोन हो क्या, तिम्रो लोग्ने,” माथिबाट लत्रेर झरेको छालाले ढाकेको आँखाको ढकनीलाई तलमाथि पर्दै उसले भन्यो ।

बुढीले बुढाको आँखामा आफ्नो आँखा क्वर्लप्प खाली जस्तो गरेर हेरी । बुढो मुसुक्क हाँस्यो । बुढी लुसुक्क त्यहाँबाट उठेर अर्कोतिरको टेबलमा गएर बसी ।

००००

अर्को महिना मार्था नब्बे वर्ष लाग्छे । आजकल उसलाई अनौठो रोग लागेको छ । कहिले घरबाट निस्केर छिमेकीको घरमा घण्टी बजाउन जान्छे । एलिभेटरमा चढेर अर्को तलामा गएर अरू मान्छेलाई ‘बाबु मेरो छोरा’ भन्दै हात समाउँछे । ‘मेरो पैसो चोरिस्, नेकलेस लुकाइस् भन्दै बुढासँग झगडा गर्छे । यही कारण हो मार्थालाई जोनले अघिल्लो महिनादेखि बुढाबुढीहरु बस्ने डिमेन्सिया केयर होममा राखेको । दाँत सबै झरेका, गाला मुजा परेर झोलिएका, सेतै फुलेकी मार्थाको आँखा भने निकै तेजिला देखिन्छन् । कुप्रो परेको ज्यान दुई हातले वाकर समातेर जनतन यताउति लतार्छे । उसले छिन छिनमा सबै कुरा भुल्छे ।

जोन पनि वाकर घिसार्दै मार्थाको छेउमा गएर बस्यो । केही बोलेन । मार्थाको अनुहारमा हेरिरह्यो मात्र । केहीबेरमा होचीहोची, निकै फुर्तिली नर्स आई हातमा ब्लड प्रेसर नाप्ने मेसिन लिएर । उसले मार्थालाई राम्रोसँग कुर्चीमा बस्न भनी । बिस्तारै मेसिनको प्याडलाई पाखुरीमा राम्रोसँग बाँधी र हत्केलाले अर्को छेउको डल्लोलाई स्पोन्ज दबाए झैँ दबाइरही । कागजमा केही नम्बर टिपी । “राम्रो छ” भन्दै गई ।

नर्स त्यहाँबाट हिंडेपछि जोनले एकचोटी मार्थालाई हेरेर फिस्स हाँस्यो । तलमाथिका ओठ जोडेर दुईतीन चोटि चुमुकचुमुक पर्‍यो । गालामा लत्रेका छाला सँगसँगै हल्लिए । आँखा टम्म भरिएका थिए । तल खस्न नपाउँदै चिमचिम गरेर भित्रै लुकायो ।

“मार्था तिमीलाई याद छ, हामीले हनिमुन कहाँ मनाएका थियौँ ?” जोनले सोध्यो ।

“म्याक्सिको,” मार्थाले जोनको मुखमा नहेरी जवाफ दिई ।

“तिमीले बिर्स्यौ मार्था । हामी अलस्का गएका थियौँ हनिमुनको लागि । तिमी कति राम्री थियौ,” जोनले भन्यो ।

मार्थाले मुन्टो घुमाएर जोनलाई हेरी । उसका आँखामा पिलिक्क बत्ती बल्यो । जोनले मुन्टो तलमाथि गर्दै मार्थाको अनुहार हेरिरह्यो ।

“हिंड, आज घर जाऔँ । म तिमीलाई हनिमुनको एल्बम देखाउन चाहन्छु । त्यहाँबाट हामीले ल्याएको चिनो अझै हाम्रो बेड रुममा छ,” उसले फेरि मार्थाला मायालु आँखाले हेर्दै भन्यो ।

“सम्झिन्छौ मार्था, त्यो बेला अलास्काबाट हामीले के ल्याएका थियौं ?”

मार्था अर्कोतर्फ फर्किन्छे । अलिकति पर नर्सहरूको कोठा थियो । उनीहरू टाठो टाठो बोलेको आवाज त्यहाँको मौनता छिचोल्दै आइपुग्यो । जोन एकोहोरो भित्तामा झुन्डिएको घडीमा हेरिरहन्छ । घडीको बिचमा गोलो घण्टी एउटा तारमा तुर्लुङ्ग झुन्डिएर यता उता हल्लिरहेको थियो । भित्र एउटा दुब्लो सुई फिनिनी घुमिरहेको थियो निश्चित परिधिभित्र । ऊ घुमिरहने छ मान्छेको जीवन झैँ ब्याट्री नरित्तिउञ्जेलसम्म ।

मार्था उठेर वाकर घिसार्दै अर्को छेउमा जान्छे । त्यहाँ पहिलेदेखि नै एकजना बुढो मान्छे एक्लै गितार समातेर बसेको थियो । करिब ८० वर्ष जस्तो देखिने त्यो मान्छेको नाम थियो ‘बुर्नो’ । उसको शरीर भने अलि गठिलो नै देखिन्थ्यो । लामो र हिउँ झैँ सेता रौँ काँधसम्म सर्लक्क झरेको, हेर्दा शेक्सपियर वा मिल्टन जस्तो देखिने बुर्नोलाई पनि बिर्सने रोग अर्थात् डिमेन्सिया लागेको छ । एक्लै बसेर गितार बजाइरहन्छ । त्यहाँ बसेका सबैले उसलाई निकै रुचि दिएर हेर्छन् ।

“तिमीले खाना खायौ, जोन ?” मार्थाले बुर्नोलाई सोध्छे ।

“खाएँ मेरी प्रिय !”  बुर्नोले मार्थाको हात समाउँछ । जोन अर्को कुनाबाट उनीहरूलाई हेरिरहन्छ । उसको मन कटक्क खान्छ ।

“तिमीले मेरो औषधि कहाँ राख्यौ ?” मार्थाले बुर्नोलाई सोध्छे ।

“मैले कतै राखेको छैन ? अझ भन्नुपर्दा तिम्रो कुनै औषधि नै छैन,” बुर्नोले भन्छ ।

“तिमीले नै लुकाएको छौ । मलाई छिटै मरोस् भन्ने चाहन्छौ हैन,” मार्थाले भन्छे ।

“त्यसो नभन सुजाना । म तिमीलाई असाध्यै माया गर्छु । म नर्सलाई बोलाएर तिम्रो औषधि कहाँ छ पत्ता लगाउँछु ।” बुर्नोले मार्थाको टाउको मुसार्दै भन्छ ।

“तिमीले मलाई समेत भुल्यौ । म मार्था हुँ । को सुजाना भनेको तिमीले ?”

बुर्नोले मार्थाको अनुहारमा एकोहोरो हेरिरहन्छ । उसको अनुहारमा अनौठो भाव दौडिएको प्रष्टै देखिन्छ ।

“छोरो भेट्न आउँछु भनेको थियो । ऊ आएन ?” मार्थाले बुर्नोलाई सोधी ।

कुनाबाट जोनले मार्थाले सोधेको सुन्यो । दुवै ओठ जोड्यो । आँखा चिम्म चिम्म पर्‍यो दुईपल्टसम्म । थामिएनन् आँसु । परेलीमा सुरेली खेल्दै झरे भुइँमा ।

बुर्नोले पनि गितार भुइँमा राख्यो र दुई वटै हत्केलाले आँखा ढाक्यो । एकछिन त्यहाँ शून्यता छायो । त्यही शून्यतामा नर्सहरू हाँसेको आवाज आएर ठोकियो ।

एकछिन पछाडि एउटी बुढी महिला हातमा खानाको झोला बोकेर त्यहाँ आइपुगी । उमेर पुगेको  भए पनि शरीर त्यति गलेको जस्तो थिएन । गलिसकेको भए सायद उसले पनि हिँड्नको लागि निर्जीव खुट्टाको साहयता लिनुपर्थ्यो मार्था या जोनले जस्तै ।

ऊ सरासर बुर्नोको छेउमा गई । झोला टेबुलमाथि राखी र बुर्नोको गालामा च्वाप्प म्वाइँ खाई । त्यो देखेर मार्थालाई रिस उठ्यो । उसले बुर्नोको हात समातेर आफूतिर तानी । उनीहरूको चर्तिकला देखेर काली नर्स दगुर्दै आई र मार्थालाई त्यहाँबाट अर्को टेबुलमा सारी ।

“को सँग बसेका हौ बुर्नो ? उसलाई चिन्छौ ?” सुजानाले हाँस्दै बुर्नोलाई सोधी । बुर्नो सुजानालाई नहेरी उठेर सरासर मार्था बसेको टेबुलमा गयो । जोनले यो सबै दृश्य  टाढै बसेर हेरिरहेको थियो । ऊ उठेर सुजाना बसेको ठाउँमा गयो र आफ्नो नाम जोन हो भनेर चिनायो । सुजानाले पनि हाँसेर आफ्नो नाम बताई ।

“त्यो बुढी आइमाई मेरी श्रीमती हो । अहिले ऊ मलाई नै चिन्दिन,” जोनले भन्यो ।

“कस्तो अचम्म ! सँगै बसेको मान्छे मेरो बुढो हो, बुर्नो । उसले पनि मलाई बिर्से जस्तो छ । उसको मन पर्ने खाना बनाएर ल्याएकी थिएँ । उसले त मेरो अनुहार पनि हेरेन ।” सुजानाले भनी ।

घरबाट झोलामा हालेर पुरानो एल्बम ल्याएकी थिई सुजानाले । झिकेर बुर्नोला देखाउँदै भनी, “हेर यी फोटाहरू, हाम्रो विवाहको । म राम्री छैन त ?” उसले हाँस्दै भनी ।

“असाध्यै राम्री । उबेला मैले भेटेको भए मार्थालाई छोडेर तिमीलाई बिहे गर्थें,” जोनले ठट्टा गर्दै भन्यो । दुवैजना गलल हाँसे ।

“छोरा, छोरी कहाँ छन् ?” जोनले सुजानालाई सोध्यो ।

“छोरो लन्डन बस्छ । क्रिसमसमा भेट्न आएको थियो पेरिसको वाइन ल्याएर ।  बुर्नोलाई सारै मन पर्थ्यो त्यो वाइन । छोरी भिक्टोरिया पार्क नजिकै बस्छे । थ्याङ्क्स गिभिङमा आउँछु भनेकी थिई । नातिहरूले घुम्न जाने भनेर जिद्दी गरेछन् । आउन पाइन,” सुजानाले भनी । कुरा नसक्दै उसले टेबुलबाट टिस्यु पेपर तानी र सुटुक्क दुवै आँखाको कोश पुछी ।

जोनले खुइअ सास फेर्‍यो । झ्यालबाट बाहिर नियाल्यो । आकाशबाट कपासको भुवा झैँ फुर्फुर नाच्दै हिउँ खसिरहेको थियो । धुपी सल्लाको फेदमा एउटा खरायो खेल्दै थियो । सायद  हिउँ खोस्रिएर केही खानेकुरा खोज्दै थियो होला । त्यही बेला अर्को खरायो नजिकै गयो । अगाडिका दुई वटा खुट्टा उचालेर एकअर्काले हेराहेर गरे । एकैछिनमा पछाडि आएको खरायोले त्यहाँ पहिलेदेखि खेल्दै गरेको खरायोको घाँटीमा प्रेमपूर्ण तवरले टाउको घुसार्‍यो । सायद समय अनुकूल थिएन होला प्रेमिल दृश्य छायाङ्कन नहुँदै उनीहरू छुट्टिए ।

“आफ्नो  बारेमा  केही भनेनौ त, जोन ?” सुजानाले खिसिक्क हाँस्दै सोधी ।

जोनले तलमाथिको दाँत टम्म जोड्यो । गालामा झुन्डिएको छाला थरर हल्लियो । केहीबेरमा उसले लामो लास फेर्‍यो ।

“प्लेगले हामी बुढाबुढीलाई  लैजान पर्ने । कान्छो छोरोलाई लग्यो । कहिलेकाहीँ भए पनि हामीलाई भेट्न आउँथ्यो । जेठो छोरो यु एस बसाइँ सरेर गयो । धेरै वर्ष भयो आएको छैन । सरकारी जागिर  गर्छ रे । अहिलेको क्रिसमसमा आउँछु भनेको छ,” उसले पुनः झ्यालबाट बाहिर हेर्छे ।

एक्कासि बाहिर गल्लीमा  हल्लाको गल्याङमल्याङ सुनिन्छ । दुवै जनाले मार्था र बुर्नो बसेको टेबुलतर्फ फर्केर हेर्छन् । उनीहरू त्यहाँ हुँदैनन् । दुवैजना उठेर गल्लीतर्फ लाग्छन् ।

मार्था भुइँमा लडेकी थिई । बुर्नो अलि पर उभिएर मार्थालाई हेरिरहेको थियो । एउटी दुब्ली नर्सले मार्थाको छातीमा दुई हातले थिच्दै घरी घरी आफ्नो थुतुनो मार्थाको मुखमा जोड्छे । त्यो देख्नासाथ जोनको शरीर थरर काम्छ । ऊ थचक्क भुइँमा बस्छ । सुजाना पनि ऊसँगै छेउमा बस्छे ।

‘नआत्तिनू जोन, मार्थालाई ठिक हुन्छ,’ उसले जोनको टाउकोमा हात राखेर भन्छे । बाहिर उति बेलै रातो र हरियो बत्ती बाल्दै एम्बुलेन्स आइपुग्छ । एकैछिनमा दुईजना सेता कोट लगाएका व्यक्तिले मार्थालाई स्ट्रेचरमा राखेर एम्बुलेन्समा राख्छन् । जोन उनीहरूसँगै अस्पताल जान्छ ।

बुर्नो गेटमा बसेर एम्बुलेन्स गएको दिशातर्फ हेर्छ । सुजाना बुर्नोको नजिकै जान्छे र उसको दायाँ हात समाउँछे । त्यसपछि बुर्नोले सुजानालाई एकोहोरो हेरिरहन्छ । बुर्नोको आँखामा  आँसु टिलपिलाउँछन् । सुजानाले बुर्नोको हात समातेर भित्र टेबुलमा लैजान्छे । उसले बुर्नोलाई मन पर्ने स्याउको पाई बनाएर ल्याएकी थिई। झोलाबाट झिकेर टेबुलमा राख्छे ।

“एकचोटी मलाई राम्रोसँग हेर, बुर्नो ।  म तिम्री राम्री बुढी, सुजाना  हुँ । मलाई ओठमा एकचोटी किस गर । तिमीले नचिने पनि तिम्रा ओठले मलाई चिन्ने छन् ।”

बुर्नोले रहस्यमय तरिकाले हेरिरहन्छ ।

उसले बुर्नोको टाउकोमा दुवै हात अडाएर ओठमा चुम्मा गर्छे । एकछिनपछि च्वाप्प गर्दै ओठ झिक्छे र सोध्छे, “अझै  चिनेनौ ?”

बुर्नोको आँखाभरि आँसु टम्म भरिएको थियो । ढलपल ढलपल गर्दै एकैछिनमा तल खसे । सुजानाले टिस्यु झिकेर उसको आँसु पुछ्दी । त्यसपछि पनि बुर्नो एकोहोरो झ्यालबाट बाहिर हेरिरह्यो । हिउँ झन् झन् बाक्लो परिरहेको थियो ।

अगाडिको सेतो खरायो पुनः झ्याल बाहिर देखा पर्‍यो । ऊ एक्लै थियो । अगाडिका दुई खुट्टाले हिउँ खोस्रिंदै खेल्दै थियो । नखेल्ने, नचलमलाउने हो भने, ऊ त्यहाँ भए नभएको थाहा हुँदैनथ्यो । बुर्नोले उसलाई हेरिरह्यो । सुजानाले पनि बुर्नोलाई साथ दिई अलिकति घाँटी तन्काएर । हेर्दा  हेर्दै ऊ उत्तानो पर्‍यो । अब त्यो खरायो हो कि हिउँको थुप्रो छुट्टाउन गाह्रो भयो । अलिकति परपट्टि  धुपीसल्लाको झाडी थियो । त्यही झाडी मुन्तिर  कालो ब्वाँसो देखा पर्‍यो । उसले यताउति भलाक्यो । बिस्तारै खरायो पल्टेको ठाँउतिर अगाडी बढ्यो, र एक्कासि चिलले कुखुरा टिपे झैँ खरायोलाई टिपेर गयो ।

बुर्नो भित्तातिर फर्क्यो । घडीमा फिनिनी घुमिरहेको त्यो दुब्लो सुई अचानक रोकिएको थियो ।