“शिलु! उठ त आरके सरसँग गएर नाच त!”

अनिता कोइराला

युगल गीत बजिरहेको छ सर एक्लै पर्नु भयो । श्रीमतीलाई जबर्जस्ती तान्दै जोडजुलुम गरेर हाकिमसँग नाच्न लगाउनु भयो डीपी सरले।  ट्वाँ परेर हेरेकोहेरै भएँ।  अहो! कस्तो उदार हृदय, कस्तो महान सोच, कति राम्रो मान्छे ! दायँबायाँ नसोची गजबको धारणा बनाई पो हाले । श्रीमतीप्रति यस्तो विश्वास यस्तो भरोसा। सबैका श्रीमान् यस्तो उदार र स्वतन्त्र विचारका भए हाम्रो समाज कस्तो हुन्थ्यो ? तुरुन्तै आशा पनि गरी पो हाल्यो यो मनले त ।

पिकनिकभरि शिलुलाई ईर्ष्यालु नजरले  हेर्दै गम खाँदै घर आएँ । कति भाग्यमानी छ यो मोरी। कति मजाका छन् डीपी सर । रसिलो, फरासिलो उस्तै । सहयोगी मन र हातको त झन के कुरा गर्नु । बाफ्रे ! बाफ सर्वगुण सम्पन्न पुरुष त डीपी सर मात्र  क्या हो यो धर्तीमा ? जो कोहीलाई यस्तो भाव उठ्ने वातावरण  तुरुन्तै निर्माण गरिहाल्थे डीपी सर ।  मृदुभाषी डीपी सरको मुहार सधैँ  हँसिलो । सहयोग माग्न आउनेलाई गोजीको पैसा फुत्त झिकेर दिन पनि कन्जुस्याइँ गर्दैन थिए । यिनीहरूको वैवाहिक जीवन कस्तो रमाइलो होला। कति सुन्दर होला यिनीहरूको घरसंसार । कति प्रेमिल जोडी । ईश्वरले नै जोडा लगाएका  बत्तीसै लक्षणले युक्त पतिपत्नी रहेछन् ।
पिकनिकबाट घर आउँदा पनि मेरो मन खुसीले गुलाफ हुनुपर्ने तर मन त कागती जस्तै अमिलो भएको थियो । डीपी सरसंँग श्रीमान्लाई दाँजें कतै मिल्दैन आचरण र स्वभाव । अझ  मन दु: खी भयो अझ तुलना गर्दै जाँदा निरास नै भयो। इमान, चरित्र, अनुशासन र मर्यादालाई सर्वोपरि ठान्ने मेरा स्वामी बुद्धि नभएको मान्छे जस्तो लाग्दै थियो। अनुशासनको पाठ घोक्दाघोक्दै घरमा समेत खुलेर हाँस्न बिर्सिसके बूढाले।
शिलु भने कति भाग्यमानी। एक तमासको मन लिएर पुस्तकालयमा किताब व्यवस्थापन गर्दै थिएँ । दुर्गा म्यामले बोलाएको पत्तै पाइनँ ।
“आरडी म्याम !  एउटा कुरा थाहा पाउनु भयो ? डीपी सर त हिजो नगरकोटमा रेडह्यान्ड फेला पर्नु भयो रे त आफ्नै विद्यार्थीसँग, शिलु अस्तिदेखि कलेज आएकी छैन, ज्वरो आएको त बहाना मात्र रहेछ खास कुरा त अर्कै  पो रहेछ म्याम ! देखेको जस्तो संसार के हुन्थ्यो ?”
दुर्गा म्याम हाँस्दै जानुभयो ।
छाँगाबाट एकैचोटि जमिनमा पछारिएँ ।
हे भगवान ! मैले कसको तुलना कोसँग गरें धिक्कार होस् मलाई !