१. बँधुवाको बिन्ती

‘ओहालाई हामी दूध पिलाउँछु । बीस/पचास टका दान दिइहाल्नुस् ।’

उसको टुटेफुटेको भाषिक कुरा सुनेर मेरो कन्सिरी तातेर आउँथ्यो । के गर्नु मैले ? म बबुरो विवश छु सानो ढकीभित्र गुडुल्किएर बस्न ।

म यस लोकमा कसैकसैको मुखबाट नागदेव भनेर पुकारिन्छु । कसैले भने शत्रु नै सम्झेर धारे हात लगाउँछन् र मार्न तम्सन्छन् । मेरो प्रजातान्त्रिक स्वतन्त्रता पूरै हननको अवस्थामा छ । मान्छे प्रजातन्त्रप्रेमी भएको ढोंग रच्छ तर ऊभन्दा निरंकुश र स्वेच्छाचारी धर्तीमा अर्को कुनै प्राणी छैन ।

म पनि ऊझैँ सजीव हुँ । मलाई पिटे दुख्छ । काटे उस्तै रगत चुहुन्छ । हामीमा फरक केही छैन । कसैले दुव्र्यवहार गरे उसलाई झैँ मेरो पनि अन्तस्करण चिमोटिन्छ । मेरो रोदनको भाषा म मात्र बुझ्छु अरू कसैले बुझ्दैन । फरक यत्ति हो ।

मेरो मालिक सपेरो मलाई ढाकीमा बोकीबोकी हिँड्छ र जगत्लाई तमासा देखाउँछ । मेरो नाममा पैसो बटुल्छ र आफ्नो स्वार्थी पेट पाल्छ ।

मैले मान्छेको गलागलामा चढ्नुपर्छ । मनोरञ्जन र आस्थाको केन्द्र बन्नुपर्छ । कहिले मानिस भयभित बनेको हेर्नुपर्छ । कहिले क्रोधित भएको त्रास सहनुपर्छ ।

खाने बेलामा मलाई भोकले मर्न नदिने गरी मात्र दिन्छ । गाउँठाउँ घुमाउँछ । मैले मुन्टो उठाएर फणा फिँजाई फुतुफुतु जिब्रो निकालिदिनुपर्छ । दर्शकहरू रोमाञ्चित हुन्छन् । त्यसलाई मैले आफ्नो सफलताको आशीर्वाद ठान्नुपर्छ ।

आखिरमा म मान्छेकै दास भएको छु । मेरो चेतनशक्ति र सामर्थ्य सपेराको कब्जामा छ । म फुत्किएर स्वजातिको वगालमा हराउन चाहन्छु । मसँग पनि अनेकौँ जैविक रुचि, आवश्यकता र क्षमता छन् । तिनलाई देखाउँदै म सच्चा सर्पको जिन्दगी जिउन चाहन्छु ।

अन्ततः भन्न चाहन्छु, ‘ए मनुष्य के ममाथि यत्ति कृपा बर्साउन सक्छौँ ?’

नन्दलाल आचार्य

 

२. सानो माछो

पक्ष र विपक्षमा लामै तर्कवितर्कपछि न्यायालयले अन्तिम फैसला सुनाउने बेला मेरो मन भतभती पोल्न थाल्यो । बाहिरीभन्दा भित्री पीडा ज्यादा दुख्दो रहेछ ।
आफू फँसेकोमा भन्दा कैयौँ गुणा युवराज फस्न पुगेकोमा मन विचलित थियो । म विगतका पाना उल्टाउँदै गएँ ।

‘मलाई साधु भने भन् तर गुन्द्रुकमा इज्जत फाल्ने नसम्झी ।’

उसको हातमा रुपियाँ थम्याउँदा तर्कँदै र अस्वीकार गर्दै उसले भनेको थियो । म आफूले कमाएको उसलाई पनि बाँड्न चाहन्थेँ । शुरुआतमा ऊ भने नखरा पारिरहेछ भन्ने लाग्थ्यो ।

त्यसैले मैले भनेको थिएँ, ‘पुलिसको सानो जागिर खाएर बुद्ध नबने हुन्छ । अहिलेको युगमा समयअनुसार रत्नाकर पनि बन्न सक्नुपर्छ ।’

उसको नाकनिके अवस्थालाई भेदन गर्दै थपेको थिएँ; ‘हामीभन्दा माथिकाले दैनिक लाखौँलाख कुम्ल्याएर मालामाल बनिसके । हामीलाई सेवाग्राहीले चियापान खाऊ भनेर गोजीमा हाल्देको दुईचार पैसो खाइदिँदा प्रलयको भुइँचालो आए आओस् ।’

कसै गरे पनि ऊ पैसो पक्रन्नथ्यो । म चुपचाप एक्लै राख्थेँ । खाई न खाई पैसो जोगाएर वर्ष दिन भित्रमा विराटनगरमा घडेरी समेत किन्न सफल भएको थिएँ । अख्तियारको मुद्दाले त्यही घरेडी पनि खोसिँदै थियो र म भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त हुँदै थिएँ ।

अन्ततः ऊ पनि मेरो मतियार भएको फल भोग्दै थियो । मलाई ग्लानिले छोप्प थालेर भन्न पुगेको थिएँ; ‘न्याय नै दिनुहुन्छ भने श्रीमान्, युवराज चोखो छ । सारा कर्कुत म एक्लैले गरेको हो । सबै खाले सजाय म एक्लैलाई होस्; विषै नखाएको युवराजलाई सम्मानजनक रिहाई गरियोस् ।’

 

३. बोक्सी

‘तुँ एतसँ कतो गेलही त माइरै देबो ! जखन हमर बेटी ठिक हेतै तखन तोरा छोइड देबै । बुइझलिही सुकमरिया ?’

मलाई बिजुली पोलमा टनटनी बाँध्दै सिकन्दर कुर्लेको थियो । सिकन्दरले मलाई पोलबाट फुत्किएर अन्यत्र गए मारिदिने कुरा अवगत गराएको थियो ।

पुरै गाउँ धन र शक्तिको पछि थियो । निर्धन र निरीहको पक्षमा कोही भए पनि आँखामै आँसु पचाउन बाध्य थियो । मनमा जति आक्रोश भए पनि मुख बन्द गर्न विवश थियो । हातपाउ बासका ठुटा बनाउन लाचार थियो ।

मेरा मान्छे परपरैबाट टुलुटुलु हेर्थे । सिकन्दरका मान्छे मेरो नजिकै आउँथे । थुक्थे, कपाल जगट्याउँथे, लात्तले हान्थे । मानौँ म मानव आकृतिको बदमास पशु हुँ र मैले जघन्य अपराध गरेकी छु ।

म हारगुहार मागिरहेकी थिएँ । दुबै छोरा र पतिको कसम खाँदै मैले अपराध गरेकी छैन भनिरहेकी थिएँ । मेरो क्रन्दन साउनका भ्यागुता कराए सरह भएको थियो । महोत्तरीको भूमिमा महाष्टमीको दिनमा मैले नर्के जीवन भोगेको पहिलो पटक हो ।

अन्ततः बियरको बोतलमा मानव मलमूत्र घोलेर ल्याए । पुरनी, प्रमिला र अनिलले टाउको समाए र मुख च्याते । मैले घटघट नपारुन्जेल सिकन्दरले मुखमा बोतल कोच्याई रह्यो । पटकपटक गरी तीनचोटी मलमूत्र कोच्यायो ।

मलाई लागेको एउटै आरोप थियो– मैले सिकन्दरकी तेह्र वर्षे छोरीलाई टुनामुना गरेर रोइरहने बनाएँ रे !

४. निभेको बत्ती

‘ई पुलिसबालाके माइते माइते एनेसँ भगा देबै ।’

प्रहरीलाई पिट्दैपिट्दै भगाउने जनआक्रोश सुनेर सारा प्रहरीहरूको मनमा ढ्याङ्ग्रो बजेको थियो । हाम्रो हात, खुट्टा र मुख फुक्का देखिए पनि कर्तव्यको साङ्लोले बाँधिएका थिए । आक्रोशित भीड अझ क्रोधित बन्दै गएको थियो ।

‘जनतासँग मुख लाग्नुहुन्न । उनीहरूको अन्तस्करण चिमोट्नुहुन्न । हात छाड्ने काम त भुलेर पनि गर्नुहुन्न । टीकापुर काण्ड फेरि दोहोरिने र दोहो¥याउने हर्कत गर्नुहुन्न ।’

हाम्रा अफिसरको यस्ता गुलिया र रसिला कुरा सुनेर हामी ‘एस सर’ भन्दै अन्धो अनुसरण गथ्र्यौँ । ढुङ्गामुढा आफ्नो टाउकामा थापेर अफिसरहरूको उचाइ बढाउन अभ्यस्त रहन्थ्यौँ ।

पहिले त हाम्रो संसारमा प्रजातन्त्र हराएको थियो । अहिले पनि उत्ति साह्रो प्रजातन्त्र आएको छैन । र; जनअपेक्षालाई सही ढङ्गले सम्बोधन गर्ने हो भने सुरक्षा निकायमा प्रजातन्त्रको ढुकढुकी मात्र पस्नुपर्छ । पुरै प्रजातन्त्र पसेमा जनअपेक्षा कुण्ठित हुन्छ । राजनीति हावी हुन्छ ।

म मनोद्वन्द्वमा फँसेकै बेला स्थानीय जनताले चारैतिरबाट घेरेका थिए प्रहरी थानालाई । मेरो कमान्डिङमा सत्र जवानले थाना वरपर कडा सुरक्षा गरिरहेका थिए ।

‘पुलिसने हमर नरेशके माइरके लटका देलकै । तहिद्वारे तोरोसभके माइरके लटकेबै,’ नरेशलाई मारेर झुन्ड्याएको आरोप लगाउँदै प्रहरीलाई पनि उस्तै हालत बनाउने भीडबाट उद्घोष सुनिँदै थियो ।

चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेको नरेशले हिरासतको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेछ । सिसिटिभीले सारा कुरा स्पष्ट देखाउँदादेखाउँदै भीड भेडोजस्तो भएकोमा हामी हैरान थियौँ । ढुङ्गामुढाको वर्षाबाट जोगिँदै थानालाई जोगाउँदै थियौँ ।

हेर्दाहेर्दै ढुङ्गामुढाले एक जवान भुक्लुक्कै ढल्यो । काँधमा बन्दुक झुन्ड्याई टाउकाबाट बगिरहेको रगत दुबै हातले रोक्तै घाइते जवान कुर्लेको थियो, ‘सिसिटिभी हेर्न खटाएको एक जवानको लापरबाहीले हामी निर्दोषले जनताको ढुङ्गामुढा खानु यो कहाँसम्मको न्याय हो ?’

५. ख्यालठट्टा

‘गाउँछ गीत नेपाली; ज्योतिको पंख उचाली’

असोज २२ गते बिहान पाँच पन्ध्र बजे मेरो गोजीले यस्तो सुरिलो भाका हाल्यो । हिँड्दाहिँड्दै हत्तपत्त मोबाइल उठाएर बोल्न सुरु गरेँ ।

‘मर्निङ वाक गर्दै हुनुहुन्छ कि क्या हो ?’ परिचित आवाजजस्तो लागेर ‘हजुर’ भनेँ । त्यसबखत लक्ष्मीकान्तजी र म पानीमा रुझ्दै र ओत लाग्दै रूपनगरबाट वस्तिपुर पुगेका थियौँ ।

‘एकाबिहानै केको वाकव्याक गर्नुहुन्छ ? बिरामी मान्छे औषधी खाएर ओछ्यानमा लडिराख्नुपर्ने ! तपैँको चालढाल निको छैन जस्तो छ है अचेल ।’

अर्को व्यङ्ग्यको झटारो खाइसकेपछि नम्बर हेरेँ– नाम सेभ थिएन । मसँग यस्तो आत्मीय कुरो को गर्दै छ भन्ने पनि ठम्याउन सकेको थिइनँ ।

देवराज अधिकारी बेलाबेलामा मलाई अपरिचित फोनबाट यस्तै उट्पट्याङ कुरा झिकेर र स्वर बिगारेर आपतमा जाक्थे । भ्रमबस उनै हुन् भनेर मुखबाट फुत्किहालेछ; ‘देवराज; धेरै नछले हुन्छ ।’

‘मिलेन’ भन्दै गलल हाँस्दै फेरि उताबाट ध्वनि सुनिएको थियो, ‘तपैँले मेरो नम्बर किन मोबाइलबाट उडाउनु भो ? अब आफैँ चिन्नुस् । म मरिगए भन्दिनँ ।’

म अक्कबक्क थिएँ । दश वर्षपूर्व नै परमधाम गएका मित्रको नाम लिएर हुस्सिएको थिएँ । मेरो गाउँका देवीभक्त तिमल्सेना पनि बोल्दा दिल खोलेर हाँस्थे । भोजपुरमा पढाउँथे । उनै पो हुन् कि भन्ठानेँ तर बोल्न मुखलाई दुःख दिइनँ ।

‘लघुकथाको किताब प्रकाशन भो ? विद्यावारिधीको पढाइ श्रीगणेश भो ? अब तपैँको शरीर सकसमुक्त भो ? अहिलेसम्म साहित्यमा नयाँनौलो के गर्नुभो ?’
मेरा सामु मोबाइलबाटै प्रश्नको हिमाल ठडिएयो । प्रश्न सोध्ने स्वर पत्ता लगाउन नसकेर म अझै रणभुल्लमै थिएँ ।

पुनः दिल खोलेर हाँस्दै सोधियो, ‘चिने चिन्नुस्; बिर्से नचिन्नुस् । हाइकु बारे अनुसन्धान कहाँसम्म पु-याउनु भो ?’

‘हजुर्का हरेक प्रश्नको सोलोडोलो एउटै उत्तर छ मसँग– सप्पै कुरा कोरोनाले खायो । माफ गर्नुस् ।’

मैले बोली टुङ्ग्याउनासाथ ख्याल आयो– हाइकु विधामा ज्यानै दिने पूर्वाञ्चलका पोखरेल थरका एक हाकिम थिए । म विरामी छँदा बरोबर अस्पतालमा भेट्न पनि आएका थिए ।

कहिल्यै ठट्टा नगर्ने र सधैँ गम्भीर भएर गम्भीर कुरा गर्ने ती मित्रलाई बल्ल चिनेँ । उनको बदलिएको चालढालबाट म छानाबाट खसेको थिएँ । मित्रलाई पनि समयले खारेर गम्भीरबाट चञ्चले हुने बनाएछ भन्ठानेँ ।

हत्तपत्त भनेँ; ‘सरी हेमराज सर ! बल्ल चिनेँ ।

उताबाट जवाफ आएको थियो; ‘राज हैन, सागर चैँ हुँ म ।’

६. झोंक

‘म खुल्लमखुल्ला छु । जाँजाँ र जेजे चेक गर्नुछ बिनासोधखोज गर्न सक्नुहुन्छ । तर बिनासित्ती दुःख देको जोखिम भने मोल्नुपर्नेछ ।’

यात्रारत् एक माक्सधारी ठिटोको जवाफमा यस्तो थियो । मैले उसलाई झोलाभित्र के छ भनेर सोधेको मात्र थिएँ ।

त्यसबेला म दशगजा क्षेत्रमा सशस्त्र प्रहरी ड्युटीमा थिएँ । मेरो काम मूलबाटामा ढाट तेर्साएर रुङ्नु थियो । अवैध मालसमान ओसारपसार हुन नदिनु र सीमा सुरक्षा गर्नुथियो ।

ठिटोले झोलामा नयाँपुराना साडी, ओड्नेओछ्याउने साथै थरीथरीका खानेकुरा बोकेको थियो । ऊ बाइकमा थियो । अनुहारमा कालो माक्स थियो । उसको जिउडाल चिनेचिनेजस्तो र आवाज सुनेसुनेजस्तो लागेको थियो ।

उसको बोली सम्झँदा झनक्क रिस उठिहाल्थ्यो । कुनै यात्रुसँग बहस नगर्ने र यात्रुको ज्यादती समेत सहने शिक्षा घोकाएर हामीलाई ड्युटीमा पठाएको हुन्थ्यो ।
प्रायः गाउँका सोझासीधा मानिस भनेको खुरुक्क मान्थे । टाठाबाठाहरूले नै हामीलाई सताउने गर्थे । कारबाही गर्न खोज्दा माथिल्लो निकायबाटै चेतावनी खेप्नुपर्थ्यो । सम्झेर ल्याउँदा सीमा सुरक्षाको जागिर निल्नु न ओकल्नु हुन्थ्यो ।

म मनोगन्थनमा व्यस्त रहेकै वखत ठिटो मेरो नजरबाट ओझेल परिसकेको थियो । उसको हेय र तुच्छ व्यवहार अनि कर्कश बोली मनमा बिझाइरहेकै थियो ।
नजिकै उभिएर विवाद सुनिरहेका पसलेले भनेका कुराले पो म झसङ्ग भएको थिएँ । उनको कथन थियो; ’ठिटो यही गाउँकै जनक हो । माक्स खोलेको भए तपैँ पनि चिन्नुहुन्थ्यो । ऊ प्रसुति व्यथा लागेकी आफ्नी दिदीका निम्ति बन्दोबस्तीका सामान लिएर अस्पताल जाँदै थियो ।’

७. मनको बह

तँ एक्लै परलोक गइहालिस् फगुनी ! हाम्रा दुई छोरा मिलेर मलाई भैँसी बाँध्ने किलामा बाँधेका छन् । ताउरमाउर गर्छन् । भनेको नमाने खान नदिई तड्पाएर मार्छौँ भनिरहेका छन् ।

अहिलेसम्म त प्राण राख्न खान दिएका छन् । सुत्न भने रातभरि भैँसीको बाहिरी थलो छ । दिनभरि भित्री थलो छ । आफ्नै कोख बैरी भएपछि कसको के नै लाग्दो रहेछ र !

तँ आफूलाई मात्र दोष नदे फगुनी ! मेरो खुनमा पनि दोष छ । हामीले समातेको र लिएको संस्कारमा पनि दोष छ । सबभन्दा बढता त हामीले छोराहरूमाथि गरेको अतिशय प्रेममा दोष देख्छु म त !

एक दिन ठूलो छोराले भन्यो; ‘बाबुजी, हमरा भिन्न क्या देही ।’

उसको अंश लिएर छुट्टिने चाहनालाई मैले सहर्ष स्वीकारिदिएँ । भएको चलअचल सम्पत्ति जेठा, कान्छा र मलाई गरेर तीन भाग अंश लगाइदिएँ । व्यापार बिजनेस गर्न सुको पैसा छैन भनेर ङिच्च गरे । शिक्षण पेसामा रहँदा सञ्चयकोशमा जम्मा भएको चार लाख झिकेर आधाआधा बाँडिदिएँ ।

पैसा पाउँदा खुब खुशी भए । मैले खबरदारी गर्दा सचेत छौँ भनेर विश्वास दिलाए । किराना सामान किनेर पसल थापेका थिए । दुलहीहरूलाई साहूनी बनाएका थिए । बरोबर कुनै गुनासो गर्ने ठाउँ नै दिनौँ भनिरहेका थिए ।

बढेका, पढेका र छुट्टिएर आआफ्नो लगनी पक्रेका छोराहरूलाई कचकच गर्न हुन्न भन्ने लाग्यो । मैले वास्ता गर्न छाडिदिएँ ।

हातमा पैसा खेलाउन पाएपछि जोईपोइ दुबै थरी रौसरङमा डुबेर पैसा तुर्याएछन् । जाँडरक्सी खाने र खुवाउने भएछन् । व्यापार टाट पल्टेछ ।

‘बाबु, निक व्यापार करबै । अर दो लाख दे ।’ कान्छोले दुईलाख मागेको सुनेर जेठाले आफ्नो नाममा जग्गा पास गर्दिन भन्यो । दुबैको प्रस्ताव अस्विकार गर्दा कागजमा सही गर् भन्दै मेरो यस्तो हाल बनाए ।

८. लक्ष्मी–सरस्वती स्मरण

‘भैलिनी आइन् आँगन; घुमीघुमी नाच
सधैँ आउँछ आठ बजे लघुकथा वाचन ।
फूलैफूलको सुभाषले मनै अघाउला
हाँसीखुशी चाड माने श्री भित्र्याउँला ।
हे औँसी बार गाई तिहार भैलो ।’

आँगनभरि भैलिनीहरू नाच्दैगाउँदै रमाइलो गरेको देखेर उनीहरूको ध्यान खिच्न मैले पनि भट्याएको थिएँ;
‘नानीहरू आएछौ; धेरै बेर भैलिनी गाएछौ
घोक्रो पनि सुक्यो; आखिर के नै पाएछौ ।
बरु देओ आसिक; धनधान्य भइरहोस्
सधैँ यस्तै नाच्ने–हाँस्ने दिन आइरहोस् ।
हे औँसी बार गाई तिहार भैलो ।’

मेरो आशय बुझेर उनीहरूले आसिक दिँदा भनेका थिए;
‘लक्ष्मी जयन्तीको यस पुनित घडीमा
धनसँगै बस्न यहाँ मनले समेत पाओस् ।
देउसेभैलेको सोच सधैँसधैँ पुरा होओस्
सर्वदा यस घरले साहित्य जन्माइरहोस् ।
हे औँसी बार गाई तिहार भैलो ।

दिएको दक्षिणामध्ये उनीहरूले फूलको थुँगा र सेलरोटी मात्रै उठाएका थिए । अरू सबै आफ्नै काममा लगाउन आग्रह गरेका थिए । साँच्चै गज्जवले रमाएका थिए ।

उनीहरू जाँदाजाँदै सुनिएको थियो; ‘हामी आयौँ; पर्व मनायौँ; खुशी मन लिएर फर्कियौँ । फेरिफेरि आउन पाइयोस् । हरेकको मनमा अमनचयनले बास गरोस् । लक्ष्मीका मात्रै हैन सरस्वती भोका पनि बनियोस् । हरेक वर्ष घरघरबाट साहित्य फुलोस् र फलिरहोस् ।’

उनीहरू बिदा हुनासाथ बाले मलाई हकार्दै सोध्नुभएको थियो; ‘पैसो चाइन्जो कम दिइस् क्यारे नलिई गए । क्या हो केटा । देउसीभैली गाएको पनि अर्कैअर्कै गाउँथे ।’

‘यिनरू रमाउन निस्केका हुन्, कमाउन होइन, बा । हामीले देको फूल र खानेकुरा लिए त । आसिक दिइहाले ।’ मेरा कुरा सुनेर बा नाकनिक गर्न थाल्नुभयो ।

मैले पुनः भनेको थिएँ; ‘यत्तिमै उनरू सन्तुष्ट छन् । हामेरूले पनि सन्तोक गर्नुपर्छ ।’

वास्तवमा उनीहरू सांस्कृतिक पर्वसँगै महाकविको स्मरण गर्दै हिँडेका थिए ।

९. रागे नाति

‘मेरो नाति ठूलो मान्छे बन्छ । जनताको आशा र भरोसाको नेता बन्छ । दुःख आफैँ पिउँछ र सुख अरूलाई बाँड्छ ।’

मेरा बाजे नथर साहूको यस्तो कथनले म मख्ख हुन्थेँ । गाउँघरतिर मेरो बढ्दो प्रभाव उहाँलाई मन परेको अनुभूत हुन्थ्यो । त्यस हरिरावा गाउँमा दिनानुदिन मेरो बोलबाला बढ्दै गएको गाउँलेहरू भने खासै मन पराउँदैनथे ।

वरपरका छरछिमेकी कसैले पनि आफ्ना बच्चाहरूले मसँग दौडधुप गरेको रुचाउँदैनथे । तसर्थ कसैलाई पनि मसँग खेलदौड गर्ने र हिँडडुल गर्ने छुट थिएन । आफ्ना आमाबाबुबाट पिटाइ खाएको बिर्सेर प्रायः साथीहरू जम्मा हुन्थे । म उनीहरूको नेता हुन्थेँ । स्कुल जाने बहानामा दिनभरि हामी बरालिन्थ्यौँ । स्कुल छुट्टी भएपछि घर पुग्थ्यौँ ।

स्कुल छुट्दा साथीहरूको पढाइ कमजोर हुँदै गएछ । म भने दिनानुदिन तेज बन्दै थिएँ । कारण, घरमा बाजे मलाई कडाइका साथ पढाउनुहुन्थ्यो । अरू बेला उहाँले जति छुट दिए पनि पढ्ने बेला भने उहाँजस्तो खरो अनुशासन लाद्ने मान्छे विरलै थिए । म उहाँको स्वभावबाट भलिभाँती परिचित थिएँ ।

चारैतिर तिहारको रौनकता लागेको थियो । एक दिन विहानै उहाँले मलाई प्रेमले उठाउनुभयो । रागे कुकुरसँगै लगेर पोखरीमा नुहाइदिनुभयो । त्यत्तिउँजेल घरमा छरछिमेकी जम्मा भइसकेका थिए । मलाई रागेको जस्तै चारहात पाउ टेकाउनुभयो । त्यसैसँग टीकामाला लगाइदिँदै कुकुर तिहार मनाउनुभयो । एउटै थालमा खानेकुरा दिनुभयो । रागे खान थाल्यो । म हेरिरहेँ ।

बाजे भुत्भुताएको सुनिरहेको थिएँ, ‘तँ र रागेमा केही फरक छैन । रागेको उजुरी गर्न एकाविहानै यत्तिको मानवसागर कहिल्यै उर्लेन । मेरो नातिबाट बढुवा भएर तँ रागेको पिता भइस् ।’

१०. ससुराप्रेम

हुनवाला ससुरा मलाई सकी नसकी लखेटिरहन्थे । कारण म बुझ्न सक्तिनथेँ । खालि म लखेटिन्थेँ । उनका आँखा चिक्सा तर कामुक देखिन्थे । म शङ्कालु नजरले हेर्थेँ ।

म त्यस गाउँमा भित्रनासाथ उनकी पत्नी वितेकी थिइन् । लगातारको एक हप्ते ज्वरोले मेरा पतिले पनि परमधामको यात्रा तय गरेका थिए । उनी विधुर बनेका थिए; म विधुवा भएकी थिएँ ।

घाँसपात र मेलापात गर्न जाँदा वा फर्कंदा एकान्त भेट्यो कि मलाई एकोहोरो हेरेर -याल चुहाउन थालिहाल्थे । उनी बोल्न खोज्थे । आइज मेरै बाहुपासमा सर्पझैँ बेरिन आइज भनेजस्तो लाग्थ्यो ।

उनी सत्तरी कटेका म बीस वर्ष टेकेकी हामी बीचको अनमेल सम्बन्ध असम्भव थियो । म हुँदै हुन्न भनेर टाप कस्थेँ । उनी पर्ख र कुरा सुन भन्थे । मलाई भयले गाँज्थ्यो । म अन्धाधुन्ध दगुरेर क्षणभरमै अलप हुन्थेँ ।

म मनको भय अरूलाई सुनाउन सक्तिनथेँ । किनभने उनका छोरासँग मेरो दोश्रो विवाहको कुरा स्वयम् मेरा सासूससुरा गरिरहेका थिए । अर्कातिर म अरूसँग भएको बेला भने उनी मलाई पुलुक्क पनि हेर्दैनथे ।

म उनका छोरासँग जोडा बाँधिन आतुर थिएँ । त्यसमाथि समाजमा नभएको काम हुँदै थियो– सासूससुराले नै कन्यादान दिने ।

मेरा बाबामामूलाई साक्षी राखेर कन्यादान दिइसकेपछि सासूससुराले भनेका थिए; ‘छोरो थियो त तिमी बुहारी थियौ । छोराले धर्ती नै त्यागेपछि तिमी छोरीमा परिणत भयौँ । आज हामीले रहर पुरा गर्यौँ । नयाँ दाम्पत्य जीवन शुभ बनोस् ।’

मेरो मनमा खुशी र सम्मानसँगै भयले घाँटी अठ्याइरहेको थियो । नयाँ घरमा भित्रिएको दुई घण्टापछि नै मेरो मनमा मात्रै हैन जीवनमै भुइँचालो गएको थियो ।
म एक्लै भएको मौका पारी उनै ससुरा मेरो कोठामा पसेर भनेका थिए; ‘मैले अधर्म पचाउन सकिनँ । पैला नै भन्न खोज्या थेँ । मेरो छोरो एडस् पीडित छ । तिमी आफ्नो प्राण आफैँ जोगाऊ ।’