१.
झोले डाक्टर

मलाई लिएर सोध्दै र खोज्दै एम्बुलेन्स दशगजापारिको गाँउ पुग्यो । त्यहाँ मान्छेको ठुलो भिड थियो । बिरामीहरू कोही खोच्याउँथेकोही मझैँ हात कुप्रो पारेर र खुट्टा परपर सारेर हिँड्थे । कोही सुद्धी हराएको कुरा गर्थे । कोही अन्य थरी-थरीको बिमारले अलासतलास थिए । एक जना त मूर्च्छा नै परेका भेटिए ।
तिनीहरूको दुर्दशा देखेर मैले आफ्नो पीडा ठूलो हैन भन्ने ठान्न पुगेँ । जाँच्ने ठाँउमा पनि जताततै फोहरफोहोरै थियो । डालामा औषधि राखिएको थियो । बिरामीका सहयोगीहरू लाइनमा थिए । आफ्नो पालामा आफ्ना बिरामीलाई डाक्टर नजिक लान्थे । परैबाट डाक्टर बिरामीको हालत हेर्थे । दवाई लेख्थे र पठाइदिन्थे ।
जति टाढाबाट गए पनि र जति जिज्ञासा भए पनि डाक्टर मुस्किलले दुई मिनेट मात्र दिन्थे । दवाईलाई पैसा लागे पनि जाँच भने निःशुल्क थियो । तिनकै कम्पाउन्डरले एक सुद्धी हराएकी बज्यैलाई सुई लगाउनका लागि कम्मरको सारी तल सार्न लगाए । न त उनले कुरो बुझिन् न उनको सहयोगीले नै कुरो बुझाउन सक्यो । हडबडमा यस्तै हुन्छ भन्दै उसले सारी बाहिरबाट नै सुई लगाइदियो । बुढी चिच्याउन थालिन्ऊ भने अन्य काममा लाग्यो ।
त्यहाँको उपचारपद्धति नै अँध्यारामा वाण चलाउने खालको थियो । उपचार नै नगरी सुइँकुच्चा ठोक्ने मेरो मनसायमा सहमति जनाउँदै श्रीमती लक्ष्मीले बोली फुटेको थियो; ‘यस्ता भुईँफुट्टाहरूको भरले पैसा त जोगिन्छ तर ज्यान नै जोखिममा पर्छ ।’

२.
डकैत

कुरा उहिल्यैको हो । रातको एघार नाघेको थियो । सप्तरी बरमझियामा अवस्थित पोखरेल हवेलीको माथिल्लो तलामा बुलबुल बाबु सपरिवार गहिरो निद्रामा थिए । तल्लो तलामा अन्य कर्मचारीहरू तैनाथ थिए । प्रवेशद्वार र वरपर पहरेदार ओहोरदोहर गरिरहेका थिए ।
अचानक कुकुरहरू एकोहोरो भुके । नजिकै कर्मचारीहरूको चालचुल थिएन । केही बेरमै कुकुरहरू भुक्न छाडे । एक जना कर्मचारीको अर्धआवाज सुनियो– ‘मरगेलिए माई ––––––।’
‘मरेँ नि आमा’ बाहेक अरू आवाज सुन्न पाएनन् हवेली मालिक बुलबुल बाबुले । उनी सम्भावित अनिष्टको आशङ्काले घेरिन पुगेका थिए ।

हत्तपत्त उनी उठेर सोफामा बसे । घट्घटी पानी पिए । कान चनाखा पारिराखे । एक्कासि माथिल्लो तलाको भण्डारकोठामा आवाज आयो । उनी लुक्तै त्यहाँ पुगे । ‘खबरदार !’ भन्नसाथ उताबाट गोली चल्यो । बुलबुल बाबु पनि के कम गोली चलाउन छाडेनन् ।
हानाहानमा मानिसको चीत्कार र बिलौना मात्र सुनियो । सरदार छोट्कन पाठकलाई परिवारको हेरचाह गर्न आग्रह गर्दै कोही भन्दैथ्यो–  “छोट्कन सरदार  ! तुँ हमारा परिवार के हेरचाह करिह ।”
ढलेका जतिको टाउका लिएर भाग्न छोट्कन पाठकले आदेश जारी गरेको आवाज सुनियो– ‘जकरा गोली लागलछै ओकरा मुडी काट् आ भाग् ।’
दौडादौड गरेको आवाज मात्रै सुनियो । देखे र भेटे जतिलाई ताकेर गोली चलाई रहे बुलबुल बाबुले ।
अन्ततः छोड्कनको समूहलाई लखेट्दै र गोली हान्दै बुलबुल बाबु प्रवेशद्वारसम्म आए । उज्यालामा घरभित्र हेर्दा ७/८ बोरा चल सम्पत्ति लग्न भ्याएछन् । आँगन परिसरमा हेर्दा रगतको दहमा डुबेका टाउकाबिनाका पन्ध्र वटा गिँड लमतन्न थिए ।

 ३.
परिचय

जब मैले धरती स्पर्श गरेँ तब तपाईँ हराउनुभएछ । म नहुँदो हुँ त आफू भएर जिउन सक्नुहुन्थ्यो । भगवती लम्साल नै रहनुहुन्थ्यो । भगवती आचार्य बन्नु पर्दैन्थ्यो ।’
मैले आमासँग मन खोल्दै भनेका कुराले उहाँ छक्क पर्नुभएको थियो । सधैँ मेरो बोली भुईँमा पर्न नपाईकन उहाँले जवाफ फर्काइसक्नुहुन्थ्यो । यत्तिखेरको उहाँको मौनता मेरा लागि विस्मयकारी क्षण सावित भएको थियो ।
रिसानी माफ होस् आमा’ भन्न खोजेँ तर सङ्कोचले मुख खोलिनँ ।
अन्ततः उहाँले बोली निकाल्नुभएको ध्वनिले मैले आफ्नी आमाको असली परिचय पाएको थिएँ र किङ्कर्तव्यविमूढ भएको थिएँ । अनायासै आफू उभिएको जमिन खोस्रिन पुगेको थिएँ ।
उहाँको वात्सल्यपूर्ण आवाज गुन्जेको थियो; ‘बाबू ! आमा भनेकै सन्तान सुखमा खुसी हुने जात हो । आफ्ना सन्तति मुस्कुराए आनन्द बर्सिएको अनुभूत गर्ने मानव सृष्टिकै अद्वितीय कलाकार होबाबू । उसका लागि आफ्नो परिवार नै परिचय र पहिचान हो । धन्दा नमान । यो सब पितापुर्खाकै खेल हो ।’