“अब यसरी भएन । केही त गर्नैपर्छ ।” फलामको औँठीले भन्यो ।

“यो आएदेखि बजारमा हामीलाई हेर्नै छोडे ।”औँठीको कुरामा सही थप्दै फलामकै झुम्का बोल्यो ।

“हो त नि ! पहिले हामी मात्रै हुँदा खिया लागेपछि मान्छेले खिया फालेर चम्काउनतिर लाग्थे । अहिले फालेर उसैलाई किन्छन् ।”

औँठी र झुम्का किन असन्तृष्ट भएको भनेर फुली सोच्दै थियो । उसलाई दु:ख पनि लाग्यो ती दुईको अवस्था देखेर । अनि सम्झाउने विचार गरेर भन्यो ।

“के भयो साथी ? दु:ख बाँडेर कम हुन्छ भन्छन् । भन्न मिल्ने भए भनम् केरे ।” फुलीको कुरा सुनेर दुवै केही बोलेनन् । एकअर्कालाई हेराहेर मात्रै गरे ।

“भन न भनेर के हुन्छ ?” फुलीले फेरि आग्रह गर्यो ।

“केही होइन मित्र । तिमीसँग सल्लाह छ नजिक आऊ न ।”बोलायो औँठीले ।

फुली नजिक आयो । औँठी फुलीलाई धकेल्यो । अनि मुस्कायो ।