गाउँबाट उपचारको लागि काठमाडौं गएको बेला बिसराम थारुलाई लाग्यो- मलिक्वालाई भेटेर जानुपर्छ ।

गएको मंसीरमा चुनाउको बेला बिसरामले आफ्नो मलिक्वालाई गर्नु मदत गरे । चार गाउँको ड्यास बन्ढ्या गुर्वा भएकोले भोट हालिदिन अनुरोध गरे । चुनाउ पनि जिते उनको मलिक्वा ।

“काठमाडौं आएपछि आइस् है बिसराम । तँलाई बस्न खान मेरै घरमा दिन्छु ।”

वास्तवमा मलिक्वा धेरै असल छन् । नभए चुनाउ जितेर किन यसरी भनेर जान्थे ?

साँझको समय थियो । बिसराम मन्त्री ज्युको घरअगाडि पुगेर पालेलाई भने, “हजुर म गाउँ देखिन् मन्त्री ज्युलाई भेट्न आको । बिसराम भेट्न आछ भनिदिनुस् हजुर । उहाँ फ्यात्तै चिनिहाल्नु हुन्छ ।”

यति सुनेपछि पाले भित्र गयो । र एकछिनमा आयो पनि । तर भित्र मन्त्रीले बोलाएको कुरा गरेन । बिसराम मन्त्रीज्यू आफै बाहिर आउने आशामा बसिराख्यो । एक छिनपछि मन्त्री आफै आए ।

“देख्नु भो मेरो पावर, मन्त्री खुद भेट्न आउदैँ छन् ।” आफ्नो ज्वाइँलाई भन्दै थिए ।

यत्तिकैमा मन्त्री गाडीमा चढे । गाडी हुँइकियो ।

त्यसपछि बिसरामले भने, “मन्त्रीज्यूले देख्नु भएन कि क्या हो ।”

पाले पनि कहाँ चूप बस्थ्यो र बोलिहाल्यो, “शायद, चुनाउको वेला तपाईंहरूले देख्नु भएन ।”