“आज पनि यसलाई मैले नै नास्ता खुवाउनुपर्ने होला !” म मनमनै सोच्दै थिएँ । हाफ छुट्टिमा छोटु मेरो पछिपछि आउँदै थियो । छोटु मेरो साथी बनेदेखि मैले कहिल्यै कुनै पनि चिज पूरा खान पाइनँ ।
लुकेर चाउचाउ खान्छु भनेर टोइलेट पछाडि जान्थेँ । पोका खोल्ने बित्तिकै ऊ आइहाल्थ्यो ।
“तँ मेरो पछि नआइज भन्छु टेर्दैनस् है !”
गाली गर्थेँ तर ऊ भन्थ्यो, “तँ जतिको मेरो नजिकको साथी को छ र ? बर्कु नरिसा न ! मौका पर्दा म पनि तँलाई ठुलो सहयोग गर्छु नि !”
उसको कुराले मेरो शरीर रिसले तात्तिन्थ्यो । “जोसँग केही छैन उसले मलाई सहयोग गर्ने रे !”
हामीले खाजा खायौँ । त्यसपछि क्लासमा गयौँ । झस्याङ्ग एकैचोटि ब्युँझदा त म अस्पतालको बेडमा पो थिएँ । आमा नजिकै हुनुहुन्थ्यो । आमा खै किन हो मलाई देखेर आँसु पुछ्दै हुनुहुन्थ्यो ।
मलाई कताकता डर लागेर आयो । आमालाई केही त भएन ! बा ढाडको बिरामी हुनुहुन्थ्यो । बालाई केही त भएन ? बहिनी हजुरबुवा, हजुरआमा सबैलाई एकचोटि सम्झेँ । केही सीप नलागेपछि आमालाई सोधेँ, “आमा कसलाई के भयो ? किन हजुरको आँखामा आँसु ?”
आमा केही बोल्नु भएन तर उहाँको आँखा बोलिरहेको थियो । केही भन्न खोजिरहेको थियो । आमाको आँखाबाट बरर्र आँसु बग्न थाल्यो ।
एकछिनपछि बाहिर कसैले भनेको सुनेँ, “बर्कुको मृगौला फेल भएछ । छोटुले दिएछ र पो ऊ बाँचेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










