एकदिन राजा भुपतिन्द्र मल्ल आफ्नी महारानीका साथ लावा लस्कार लिएर राज्यसत्ता संचालनप्रति जनताको प्रतिक्रिया र अवस्था कस्तो रहेछ भनेर बुझ्न गाउँ, टोल र सहरको भ्रमणमा निस्किए ।
राजाको सवारीमा सडक किनारामा उभिएर युवा, बालक, वृद्ध सबैले हातमा फूलमाला लिएर जय जयकार गरे । जनताले आफूप्रति देखाएको आदर, सत्कार र सम्मान देखेर राजा गदगद महसुस गरिरहेका थिए । राजाले बाटामा पर्ने हरेक जनताको मुहार, भाव, क्रियाकलाप र उनीहरूको अवस्था सूक्ष्म ढंगले नियालिरहेका थिए । राजाले आफ्नो सवारी पूरा गरेर त्यही बाटो हुँदै दरबार फर्किए ।
सवारीका क्रममा राजाको आँखा खेतमा काम गरिरहेको एउटा ज्यापुमा पुगेर अड्किएको थियो । सवारीमा जाँदा र फर्कंदा पनि ज्यापु आफ्नो काममै तल्लीन भएर घोप्टिरहेको थियो । राजाको सवारीमा जनता सबै उर्लिएर जयजयकार गरेको बखतामा पनि उसले राजालाई अनदेखा गरी बालै नदिएको देखेर राजा रिसले चुरचुर भएका थिए तर कसैलाई व्यक्त भने गरेका थिएनन् । राजा दरबारमा पुगेर आराम गरेपश्चात् पनि त्यो ज्यापुको क्रियाकलापले बेचैन भएका थिए । राजालाई राती निद्रामा पनि त्यही कुरा घुमिरह्यो । राजाले बिहान सबेरै द्वारपाललाई बोलाएर ज्यापुको स्थान र हुलिया बताए र तिनलाई लिएर आउन आदेश दिए ।
ज्यापुलाई दरबारमा हाजिर गराइयो । ऊ डरले कामिरहेको थियो । राजाले प्रश्न सोधे – “मेरो सवारीमा युवा, बाल, वृद्ध सबै सडक किनारामा उभिएर जय जयकार गरे, तर तिमीले त अनदेखा गरी मलाई बालै दिएनौ । मेरो राज्य सञ्चालन देखि तिमी खुसी छैनौ कि ?”
ज्यापुले उत्तर दिए – “महाराज म आफ्नो काममा यति तल्लीन थिएँ कि, को आयो को गयो, पत्तै भएन सरकार । ‘अहं कर्मणि तल्लीनः आसम् । कर्मणः सिद्ध्यर्थम् एकाग्रता तल्लीनता च आवश्यकेते ।’
राजा धेरै भाषाका जानकार थिए । एउटै शब्दले राजाको रिसको आवेगको पारो तल झरिसकेको थियो ।
प्रजा–वत्सल राजा ज्यापुको कर्म प्रतिको एकाग्रता र लगनशीलताबाट यति प्रभावित भए कि सिंहासनबाट ओर्लिएर ज्यापु सामु झुकेर माफी मागे र उचित सम्मान सहित बिदाइ गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








