“निमे त इमानदार थियो तर जाँदाजाँदै आफ्नै छवि खराब गर्‍यो !”– मिलनले दिनेश तिर हेर्दै भन्यो ।

“किन, के गर्‍यो र निमेले यत्रो ?” दिनेशले सोध्यो ।

“निमेले केही रकम समाजमा जम्मा गर्नुपर्ने गरेनछ ।” मिलनले निधार चाउरी पार्दै भन्यो ।

“बस यार, हाम्रो समाजमा पनि सधैँभरिको यही हो । प्वाँख लाग्यो कि भुर्र । समाजको नाउँमा स नजान्नेहरूलाई जुटायो, पढायो, लेखायो, शिक्षित बनायो अनि दाउपेच सिक्यो कि फरार हुन्छ । अहिलेसम्म त कति हो कति यस्तो भइसक्यो– कसैले खाइ नखाई जम्मा गर्छन्, कसैले अरूको पसिनाको पोको पार्छन् र फरार हुन्छन् ।” दिनेशले मनको भड्क निकाल्यो ।

“होइन, संगठन ठूलो बनाउँदाबनाउँदै हामी खियेर सिद्धिसक्यौँ, तर संगठन ठूलो हुनुको सट्टा झन् पछि झन् सुक्दै गएको यही नेताहरूको कारण हो, हैन र?” मिलनले दुःख प्रकट गर्दै भन्यो ।

“सुन त मेरा कुरा ?”

“भन्नुहोस् न दाइ ।” मिलनले अनुमति दियो ।

“निमेसँग कति लिनुपर्ने रहेछ संगठनले ?” दिनेशले सोध्यो ।

“खासै छैन, छ त फेरि पनि त्यत्तिकैको लागि बेइमानी गर्‍यो । पचास हजार जति रहेछ ।” मिलनले खाता हेर्दै भन्यो ।

“हैन, त्यसको खातामा अढाई लाख लेख, दुई लाख हामी दुःख गर्ने बफादारहरूले पनि खानुपर्छ ।” दिनेशले मिलनलाई निर्देशन दिंदै भन्यो ।