भारी बहुमतका साथ सागरले अध्यक्षको चुनाव जिते । प्रतिबद्धताअनुसार उनले गाउँमा एउटा भगवती मन्दिर निर्माण गर्न धन धान्याञ्चल महायज्ञको आयोजना गरे । टाढा टाढादेखि भक्तजनहरू आए । सबैले आआफ्ना गच्छेअनुसार धनराशि दान गरे । मोटै रकम सङ्कलन भयो । यद्यपि गाउँलेहरूले श्रमदान गरे ।

लोकनाथ पुडासैनी

चारपाटा कुँदेर सुर मिलाइ ढुङ्गाको गारो लगाउन खप्पिस हेड मिस्त्री थिए बान्चोके ! थाम, झ्याल–ढोका र टुँडालहरूमा फूलबुट्टा कुँद्ने सीप भएका कर्मी थिए धने सार्की । हँसिया, खुर्पा, कुटो, कोदालो मात्र होइन तामा, पित्तलका वस्तुहरू बनाउने अर्का व्यक्ति थिए फ्याँचे ! दिन रात नभनिकन खट्ने तिनै तीन भाइको मुख्य शिल्प संयोजनमा एक कलात्मक मन्दिर निर्माण कार्य सुसम्पन्न भयो । धुमेहरूले नौमती घन्काए । वटुकहरूका स्वस्तिवाचन सँगै फ्याँचेद्वारा निर्मित गजुर र भगवती मूर्तिको प्राण–प्रतिष्ठा गरी मन्दिरमा नित्य पूजा अर्चना आरम्भ गरियो ।
बान्चोके, फ्याँचे र धनेहरू आफ्नै हातले बनाएको मन्दिरको भव्यता देखेर दङ्ग परे । निक्कै प्रफुल्लित भए । अनि अरू सरह उनीहरूले पनि दुईहात जोड्दै भीमसेनपातीको मुन्टा चढाउन के लागेका थिए, पुजारीको रूखो बोली कानमा ठोक्कियो–

“ए…, डाम्ना हो ! मन्दिरमा चियाएर तिमर्ले के गरेको त्यस्तो ? बिटुलिँदैन ? बदमासहरू !”