छोराछोरीहरूले कराएर मनकलीको आधा मासु खाइसकेका थिए । दशैंको लागि दुई किलो मासु जोहो गर्न नसक्दा मनकली पनि चिन्तित थिइन् । बिरामी लालबहादुरको ज्यान रोगले सुकेर आधा मासु घटिसकेको थियो ।

अष्टमीको दिन सकी नसकी लालबहादुर बिहानै दश घर डुलेर रित्तो हात फर्किए । मनकलीले आँखा रसिलो पार्दै भनिन्-  “मासु नलिई आयौ  बुढा ? मुखिया बाले केही सहयोग गर्नुहुन्थ्यो होला, गएनौ ?”

पीढीमा थचक्क बसेर  लालबहादुरले निधारको पसिना कमिजको फेरले पुछ्दै भने – “मुखिनी बज्यै बिरामी रहेछिन् । पाठेघरबाट दुई  किलो मासु निकालेर फालेको रे !”

मनकलीको मन पग्लियो । मुखिनीलाई भेट्न र आफ्नो दुखेसो पोख्न ऊनी मुखिया बाको घरतर्फ लागिन् । मुखियाको घरको ढोकामा पुगेर भित्र आँखा तन्काएर हेरिन् ।

मुखिनी बज्यै भित्र ओछ्यानमा नै बसेर मासु भात खाँदै रहिछिन् । मुखिया बा दाँतमा अड्केको मासु कोट्याउँदै बाहिर निस्किए ।
मनकलीले आफ्नो दुखेसो पोखिहाली – “मुखिया बा !  यस पालि दशैंमा छोराछोरीलाई  मासु किनेर खुवाउन सकिएन । बुढा रोगले थला परे । कतै काममा जान पनि सकेका छैनन्  अब हाम्रो लागि  हजुर नै त हो जे भने पनि ।”

मुखिया बाले मनकलीको विवशतालाई सूक्ष्म आङ्कलन गरेर पावरवाला चश्मा भित्रबाट उनको पुष्ट देहमा गिद्धे नजर गाड्दै भने- “भइहाल्छ नि मनकली, मासु बाँडेर खाउँला नि ।”