भारत । उत्तर प्रदेश मेरठको चौधरी चरण सिंह विश्वविद्यालयमा आयोजित त्रिदिवसीय क्रान्तिधरा मेरठ साहित्य महोत्सवमा किशन पौडेल सम्मानित भएका छन् । महोत्सवकाे दोस्रो दिन लघुकथा सत्रमा उत्तर प्रदेशका ऊर्जा राज्य मन्त्री डा. सोमेन्द्र तोमरबाट लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेललाई स्मृतिपत्रबाट सम्मानित गरिएकाे हो ।

उक्त लघुकथा सत्रमा भारतका वरिष्ठ लघुकथाकार डा. शिखा कौसिक, सजयकुमार शर्मा, माताप्रसाद शुक्ल, निता चौधरी तथा नेपालबाट बलराम उपाध्याय रेग्मी र किशन पौडेलले लघुकथा वाचन गर्दै लघुकथाको बारेमा चर्चा गरेका थिए ।

उक्त त्रिदिवसीय कार्यक्रमको बहुभाषिक कवि सम्मेलन सत्रमा मकवानपुरका सर्जकहरू साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डी.बी.बर्तौला, उपाध्यक्ष सानू खनाल, मातृभूमि साहित्य समाजका पुर्व कोषाध्यक्ष कवि वैकुण्ठ लामिछाने कार्यसमिति सदस्य एवम् कवि किशन पौडेल र देवेन्द्र कलवारले आफ्नो दमदार कविता, गजल र मुक्तक वाचन गर्दै बहुभाषी कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए ।

सो कार्यक्रमको सभाअध्यक्ष वरिष्ठ गजलकार घनश्याम परिश्रमीले गरेका थिए भने कार्यक्रमको सहजीकरण डा. देवी पन्थीले गरेका थिए । उक्त कार्यक्रममा क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा. विजय पन्डित एवम् पुनम पन्डितले नेपालबाट सहभागी साहित्यकारहरूलाई स्मृति चिन्ह एवम् सम्मानपत्रले सम्मानित गरेका थिए ।

कार्यक्रम क्रान्तिधरा साहित्य अकादमी इतिहास विभाग चौधरी चरण सिंह विश्वविधालयमा सप्पन्न भएको थियो ।