“बाफ्रे ! पच्चीस सय  ?  अति भएन र ?” आश्चर्य मान्दै  उनले फोनबाट  नै  प्रश्न गरिन् ।

उताबाट  जवाफ आयो, “सडकमा लावारिस भएको भए हामी निःशुल्क उठाउँथ्यौँ तर घरपालुवा जनावरको दस्तुरबारे नियम छ , हजुर !”

एउटा कुकुर उनको घरमा मरेको थियो ।  अविरल वर्षाको कारणले फ्याल्ने मान्छे पाउन सकिनन् ।  एक त मरेको कुकुर  अर्कोतिर पानीले ढाडिएको ! सिनोझैँ  गनाउन थाल्यो ।  महानगरपालिकालाई फोन गरेर उनले समस्या तेर्स्याएकी थिइन् ।

घरमा पालेको होइन, छिमेकीको हो भनेर  उनले फोनमा बुझाउने प्रयास गरिन् तर वार्ता र  भनाभनले  केही सीप चलेन । छिमेकीहरू नाक खुम्च्याएर हिँड्न थालेको अवस्था थियो । लाचार भएर उनले सम्झौता गरिन् र मान्छे पठाउन भनिन् ।

“हुन्छ ।”  भनेर फोन कट्यो । ३ घण्टा बित्यो तर  कुनै मानिस आएन । संयोगवश त्यही बेला फोहोरमैलाको गाडी घरघरमै फोहोर उठाउन आयो । उनले फोहोर उठाउने भाइलाई बोरा दिँदै भनिन्, “ए भाइ , यता पनि फोहोर छ, यसमा उठाउनू है ।”

उसले नाक थुन्दै भन्यो,  “एक हजार दिने भए मात्र उठाउँछु ।”

अमिलो मन बनाएर नगद तेर्स्याइन् ।  तुरुन्तै  समस्याको समाधान  भयो ।

समाधान त  भयो तर मनमा भने लागिरह्यो- “माथिदेखि तलसम्म सबै चोरैचोर मात्र छन् ।”