अत्यासलाग्दो सपनाको चिच्याहटसँगै आज पनि दिगम्बर ब्यूँझियो । मनमा शूल गढेको आभास, निधारभरि चिटचिट पसिना, सुकेको गला र थकित मन, उफ् ! कति सुन्दर परिवेश थियो त्यो, गुन्द्रीमा पल्टिएर झकाउँदा भएभरको थकान सब स्फूर्तिमा बदलिन्थे, झ्याउँकीरी बास्ने साँझ, रुखोसुखो जे भएनि सबै परिवार एकसाथ ।

पूर्वी पहाडको शिक्षित मध्यम वर्गीय परिवारमा जन्मेहुर्केको दिगम्बरले, प्रेम, स्वतन्त्रता, आत्मीयता र सर्वस्वीकार्यता त्यही मिश्रित समाजको संस्कार स्वरूप पाएको थियो । बोली आयो, गोडा लागे, कखरा हुँदै गाउँकै विद्यालयबाट एस.एल.सि उत्तीर्ण गरेपछि उसको बाध्यात्मक बहिर्गमन शुरू भएको थियो, पहिलो पाइला सदरमुकाम अनि परिबन्धका पछि लाग्दै कहरको शहर काठमाडौं !!

शुरूशुरूमा आफू मात्र हुँदाको आवश्यकताको परिधि, आफूसँग जोडिएपछि बिस्तारै फराकिलो बन्न थाल्यो, एकबाट दुई, दुईबाट तीन, तीनबाट चारमा पुगिसकेपछि माउमाकुरो जस्तो आफ्नै जालमा जेलिन नियतिवश बाध्य बनेको दिगम्बरका मानसपटलका थाप्लामा बोझ बनेर बसेको ऋण, बुढेसकालले हातगोडा गल्न थालेका बाबुआमा, भर्खर थिग्रिन थालेका कलिला खुट्टा, आफ्ना रहर बाँधेर निसास्सिंदा हाँसो मुहारभरी पोतेकी श्रीमती सबैले पालैपालो एक एक पटक दस्तक दिए । अनवरत मेहनत र लगावको प्रतिफल विपरीत बनेर आउँदा दिगम्बरका सिर्जनशीलता मरुभूमिको पालुवा बन्न थालेको छ आजकल । आलो घाउ कोट्याउन नपुगेर अझ सपनामा पनि घचघच्याउँछ जिन्दगी !

त्यही धरातल, त्यही वातावरण, तिनै इष्टमित्र, त्यही जोगमाई खोला अनि पुलमुन्तिरको त्यही पुस्तैनी घाट ! उत्तिसका मुडा खात मिलाएर बनाएको चिता, छेवैमा चन्दन लेपेर रामनामीमा लपेटिएको निष्प्राण शरीर, अन्तिम यात्रामा बिदाइको हात हल्लाउन उपस्थित बनेका केही थान आफन्तहरू, छोराको लाशसँगै खरानीका फूल बनेर उडिरहेका सपनाहरूमा टोलाइरहेका डाँडामाथिका जूनजस्ता बाबुआमाका दुई जोर आँखा, नपलाउँदै निमोठिन बाध्य बन्न लागेका, बाबु उठ्ला र खेलौँला भनी कुरिरहेका निर्बोध मनहरू अनि अनन्त शून्यमा कुनै ज्योति टोलाएर निःशब्द श्रीमानको टाउको छेउमा बसेर विक्षिप्त बनेकी संगीनी ! न त देखाएका न त देखेका सबै सपनाहरू अधुरै थाती राखेर, शालीनताको बोझ बिसाएर चीर शान्तिमा लपेटिएको निश्वास, निश्चल उसको शरीर, न आगोले पोल्छ, न चित्कार सुन्छ । अहो मृत्यु, यति आनन्द छ, जसलाई साथमा लियो उसले कहिले पनि फर्केर आउने चाह नै राखेन । यो जीवन ! पाइला पाइलामा ठेस दिन्छ, सपना बुनाएर जलाइदिन्छ, उठ्न सिकाएर लडाइदिन्छ, आफ्नै सपनाहरूको निर्मम हत्या गर्न बाध्य बनाउँछ ।

मान्छेको जिन्दगी चिहान हो, फगत एक चिहान । दिगम्बर बरबराउँदै कोल्टो फेर्छ ।