“खुच्चिङ ।”

“किन त्यस्तो भन्नुभएको ?“ महेशले कलावतीलाई सोध्यो ।

“चोक्टा खान गएकी बुढी, झोलमा डुबेर मरी भने जस्तो भए पछि; रमेशलाई किन खुच्चिङ नभन्नु ?” कलावतीले जवाफ दिइन् ।

महेशले आपत्ति जनाउँदै भन्यो, “यो गाउँका धेरै जसो घरका छोरा मानिसहरू पचास/साठी लाख दलाललाई तिरेर हिँडेर नै अमेरिका पुगेकै हुन् । अधिकांशले स्थायी बसोबास लिएर उधुम कमाइ पनि गरिरहेका छन् । रमेशको भाग्य बलियो रहेन रहेछ । उसले बोरा बोकेर नेपाल फर्कनु पर्‍यो भन्दैमा, किन खुच्चिङ भन्नु ?”

कलावती कड्किइन्, “रमेशलाई विदेश नजा, बरु खेती-पाती गर, व्यापार-व्यवसाय गर, पशुपालन गर, हुँदै भएन भने गाउँकै विद्यालयमा पढाउने काम गरेस् भनेकै हो । उतिखेर
टेरेन । भनेको मानेको भए यो दिन देख्नुपर्ने थिएन ।”

महेशले रमेशको पक्षमा बोल्यो, “यस्तो आपतको बेलामा सके सहयोग गर्ने हो । नसके किन होच्याउने ? रमेश आफ्नै देशमा फर्किएको छ । उसलाई सबै मिलेर हौसला दिनु पर्छ ।”

महेश र कलावती बीच तर्क वितर्क चलिरहेको बेलामा रेडियोमा समाचार बज्यो, “अमेरिकाबाट भर्खरै फर्काइएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।”