“श्रीधर, तिमी किन घोसेमुन्टो लगाएर बसेको ?” शिक्षकको स्वरमा झर्कोभन्दा बढी चिन्ता मिसिएको थियो ।

श्रीधर नबोली टोलाउँदै बसिरह्यो । कक्षामा ऊ प्रायः यस्तै देखिन्छ – गम्भीर, निन्याउरो, चूपचाप । उसका लुगा केही दिनदेखि मैला छन् । अनुहारमा निराशाको गाढा छाया छ ।

“गुरु, उसलाई कपाल दुखेको रहेछ,” छेउमै बसेको श्रवणले भन्यो ।

“तिमीलाई कसरी थाहा भयो ?”

“हिजो पनि उसले खाना खाएको थिएन रे।”

शिक्षकले केही नबोली श्रीधरलाई प्रधानाध्यापकको कार्यकक्षतर्फ लग्नुभयो ।

प्रधानाध्यापकले नरम स्वरमा सोध्नुभयो, “श्रीधर, के भयो ? तिमी यति अल्छि किन भएको ?”

श्रीधरले शिर झुकायो । शब्द निस्किएनन्, केवल मौनता टाँसिरह्यो उसको ओठमा ।

“बोल न, श्रीधर,” शिक्षकले ममतामिश्रित स्वरमा भने, “हामी तिमीलाई कुट्दैनौं ।”

श्रीधरले काँपेको स्वरमा भने, “गुरु, मैले आज खाना खाएको छैन ।”

“किन ? के आमासँग झगडा भएको हो ?”

“आमा बिरामी हुनुहुन्छ । खाना नै पकाइएको छैन । बाबा मलेसियामा हुनुहुन्छ । दुई दिन भयो, मैले केही पनि खाएको छैन । आमालाई औषधि किन्न पैसा छैन । बाबा पनि बिरामी परेको खबर काकाले दिनुभयो ।”

एकछिनका लागि कोठामा मौनता फैलियो । कठोर कुर्सीमा बसेका प्रधानाध्यापक नरम भए । शिक्षकको नजर झुक्यो ।

शिक्षक मनमनै फतफताए – “जब  पाठशाला आफैं भोको छ, कसलाई पढाउनु ?”