बोधगम्य

“सीताका दुःख सुन्दा मेरा त आँखाबाट आँसु आए ।” गुमानेकी श्रीमतीले लोग्नेसँग भनिन् ।

“ए गुमाने कता गएर आयौ, बुढाबुढी मिलेर ?” बाटो माथि घरका हरिहर पण्डित बाजेले बार्दलीबाट सोध्नु भयो ।

“कथा सुनेर फर्केको पण्डित बा ।” गुमानेले भन्यो ।

वल्लो पल्लो गाउँमा समेत न्वारानदेखि गरुड पुराणसम्म धानेका हरिहरबालाई आफ्नै गाउँमा कथा भन्न नबोलाएकोमा अचम्म लाग्यो ।

“कहाँका पण्डित आएछन् ? कसको घरमा हो पूजा ? ” मनमनै आफूले पाउन नसकेको दक्षिणा सम्झँदै उनले सोधे ।

“होइन होइन, पूजाअर्चना त केही होइन । गोपाल खत्रीको घरमा उसैले पढ्छ । हामी फुर्सद भएको बेला एक घडी, दुई घडी बसेर सुन्छौँ । हजुरको पनि कुरा गर्दै थियो । हजुरले नै उसलाई चिट्ठी पढ्न र लेख्न मात्र भए पनि सिकाउनु भएको रहेछ । अहिले कथा भन्न सजिलो भयो ।” गुमानेले भन्यो ।

“हैन कुन कथा पाठ गर्छ गोपालले ?” पण्डितबाले सोध्नु भयो ।

“अहिले त हामीले बुझ्ने गरेर भानुभक्तले लेखेको रामायणको पुस्तक आएको रहेछ । त्यही पढ्छ ।” गुमानेले भन्यो ।

यो कुरा आज भन्दा करिव डेढ सय वर्ष पहिलाको हो ।

= = =

वनमुद्दा

उदय, दीपक र सौरभ आए र अनुपलाई बोलाए । अनुप घर बाहिर निस्कियो ।

“कता जान लागेको तिमीहरू ?” उसले सोध्यो ।

“तँलाई लिन आएको नि । हिँड् अब । नरेशले बोलाएको छ हामी सबैलाई । आज बिदाको दिन पनि परेछ । उतै खाने बस्ने ।” दीपकले भन्यो ।

“कस्तो दिन पार्दछौ तिमीहरू पनि ? आज म चोखो भएर एक छाके बस्नु पर्ने दिन । जाऊ मोज गर यार । ” अनुपले भन्यो ।

“हामीलाई के भन्छस् यार । नरेशले आज विशेष छ सबै जना आऊ भनेको छ । हामीलाई पनि थाहा छैन, खास कुरा त । तँ नजाने भए हामी मात्र गयौँ ल ।” उदयले भन्यो र उनीहरू नरेशको घरतर्फ लागे ।

साँझ अनुप समाचार सुन्दै थियो रेडियोबाट समाचार आयो “ ….अवैध रूपमा जङ्गली जनावर मृग मारी पकाएर खाँदै गरेको अवस्थामा उदय, दीपक, सौरभ र नरेश भन्ने पक्राउ परेका छन् । …” भित्तामा टाँसेको फोटोबाट बुबाले फिस्स हाँस्दै, “तिमी त जोगियौ है ?” भने  जस्तै लाग्यो अनुपलाई ।

= = =

डकार

“आज पनि कति ढिलो गर्नु भएको हो ?” श्रीमतीको फोन आयो ।

“मान्छेको काम परे पछि ढिलो हुन्छ । घरमा बसेर कच कच नगर ।” ऊ हल्का रिसायो । समयमा घर जान नपाएकोमा ऊ आफैँ पनि रिसाएको थियो ।“

यो जागिर पनि साह्रै नै दिक्क लाग्दो । जुनसुकै हाकिम आए पनि उस्तै । ”ऊ मनमनै भुटभुटियो । करिब एक घण्टापछि हाकिम आएर गाडीमा बसे ।

“ल जाऔँ अब ।” हाकिमको मुखबाट तृप्त भोजनको डकार आयो । उसले भोकले आन्द्रा बटारेर मुखमा आएको अमिलो पानी झ्यालबाट पिच्च पार्यो र घरको चिसो भात सम्झँदै गाडी घुमाउन थाल्यो ।