लघुकथा १ : एउटा प्रेमको अन्त्य
एउटा किसानले खेतीपातीका साथसाथै बाख्रापालन पनि गरेको थियोे । उसँग भएका दर्जन बोका बाख्रामध्ये काली बाख्राे र राते बोकोबीच कलिलो उमेरदेखि नै अगाध माया प्रेम बसेको थियोे । जब उनीहरू पाठापाठी थिए , त्यतिबेला देखि नै सँगसँगै खाने , खेल्ने , उफ्रने र दौडने गर्दथे । चल्ने , जिस्किने , एकअर्कामाथि चढ्ने र चाट्ने गर्दथे । उनीहरूको चर्तीकला देखेर किसान आजित भएको थियोे ।
त्यसपछि रातेलाई भुइँमा लडाइयो र चारै खुट्टा समातेर बाँधियो । पीडा सहन नसकेर रोयो , चिच्यायो । उसको प्रजनन क्षमता नष्ट गरियो । पीडा र पीर दुवैले गर्दा रातेले केही दिन घाँस पानी राम्रोसँग खाएन , झोक्राएर बसिरह्यो । काली पनि अचम्म मानेर उसलाई हेरिरही । राते अब खसी बनिसकेको थियोे । पहिलेको जस्तो चञ्चले बोको रहेन ऊ अब ।
बाख्राहरूलाई भन्दा रातेलाई छुट्टै बस्ने खाने (राम्रो) व्यवस्था गरियो । बिस्तारै उसले पनि पीडा बिर्सिँदै गयो र हृष्टपुष्ट भयो । पहिलेभन्दा मोटायो । उसको बलिष्ठ ज्यान देखेर काली पनि हुरुक्क हुन्थी । केही समयपछि कालीले बोको खोजी । ऊ रातेले आफ्नो कुरा बुझ्न सकोस् भनेर ठूल्ठूलो स्वरले कराई , “म्यायाया म्यायाया”
प्रणयिनी कालीको प्रणय अनुरोधले रातेले घाँटीमा बाँधेको दाम्लो चुडाँउला झैँ गरि बल गर्यो तर उसको पुरुषत्व मरिसकेको थियोे । आफ्नो अवस्था थाहा पाएर ऊ एकदम व्यथित भयो । उसकै आँखा अगाडि कालीलाई अर्कै बोकासँग लगेर लघारियो । सुखभोग र बंशवृद्धिमा भएको रोकावटले ऊ अत्यन्तै चिन्तित र विक्षिप्त भयो ।
रातेको त्यो चिन्ता र विक्षिप्तता धेरै बेर टिक्न पाएन । किनकि बलियो रातेलाई हेर्दै केही छिमेकीहरू जिब्रो मिठ्याउँदै जम्मा भइसकेका थिए । त्यहीबेला अगेनाबाट किसान चिच्याए , ” लौ पानी उम्लिसक्यो है , छिटो गरम् नत्र पानी जिम्लिन्छ ।”
…
लघुकथा २ : अनुदान
“घर त सरकारले दे’को पैसाले बनाइयो , अब चर्पी बनाउन पो कसले सहयोग गर्ला ?” साँइलाबा आशे नजरले मूलबाटोतिर हेरेर आँगनमा बसेका थिए ।
“के छ साँइलाबा हालचाल ? निकै सोचमग्न जस्तो पो देखिनु हुन्छ त !” स्कुल हिँडेका राम सरले बाटैबाट सोधे ।
“के हुनु र माड्साब ! काँही कतैबाट सहयोग पाइन्छ कि यसो बुझ्नुस् न बरु ! घरमा चर्पी नभए भत्ता सत्ता पनि नदिने रे अब त !”
“अब चर्पी बनाउन पनि के सहयोगको आशा गर्नु हो साँइलाबा ! ससाना काम त आफैं पनि गर्नु पर्छ नि !”
“आ माड्साब , अस्ति गोठ बनाउन र भकारो सोर्न त पैसा ले’र आ’का थे मान्छे । कुरि बसे एकदिन कसो नबनाइदेलान् त चर्पी पनि !”
“साँइलाबा पनि अचम्मकै हुनुहुन्छ भन्या ! अनि कुनबेला कसले सहयोग गरिदेला र ! चर्पी बनाम्ला भनेर बस्दा पेटको अन्नले पनि पनि कुरि बस्ला त !”
“खै के खै के ! यता आफूले चर्पी बनाइसकेपछि अरुलाई मात्रै पो अनुदान दिने हो कि ! म त बिलखबन्दमा परें हो माड्साब !”
“हेर्नुस् साँइलाबा , यसको आशमा बस्नु भनेको आफैंले आफैंलाई ठग्नु सरह हो । ”
“अनि यस्तो भए किन सबैले यसैमा मरिहत्ते गरेका त माड्साब ?”
“ल यता सुन्नुस् , भोको भिखारीले पाएको एकछाक चौरासी व्यञ्जन जस्तै हो यो अनुदान भनेको ! आश लाग्ने तर जीवन नधान्ने !”
…
लघुकथा ३ : कामको पूजा
त्योबेला न उज्यालो थियो न त झमक्कै रात परेको थियोे । झम्के साँझमा उसले गाउँ छोडेको थियोे । गाउँ छोड्दा उसको मनमा ज्यानै सिरिङ्ग पार्ने मुक्ति र परिवर्तनका अनेक योजना थिए ।
त्यतिबेला ऊ न बालक थियोे न त वयस्क भइसकेको थियोे । त्यो युवा देश दुनियाँ बदल्न भनेर क्रान्तिमा होमिएको थियोे । सात वर्षसम्म विभिन्न मोर्चामा रहेर युद्ध लडेको थियोे ।
“सर्वहाराको राज्यसत्ता स्थापना नगरी थाकिँदैन…..” जुरुक्क कुम उचाली उचाली बोल्थ्यो । हुन पनि उसका कुरा सुन्नेहरूको रगत उम्लन खोज्थ्यो र रौं ठाड्ठाडा हुन्थे । उसकै योजना सुनेर, बुझेर कैयौं युवाले उसले झैँ घर त्यागेका थिए, जीवन बलिदान दिन राजी भएका थिए ।
युद्ध सकियो र ऊ आफ्नै थातथलो फर्कियो । खेतीपाती, पशुपालनमा रमाउन थाल्यो । पुरानै दिनचर्या शुरु भयो तर फरक तरिकाबाट, आधुनिक तरिकाले ।
“त्यत्रो वर्ष ज्यान हत्केलामा राखेर लडिस्, अहिले के पाइस् ?” यस्ता सवालको सामना दिनकै गरिरहन्थ्यो ऊ । कुरा काट्नेहरू बढेका थिए, पढेका थिए ।
“देश संघीयतामा गयो, राज्य धर्मनिरपेक्ष भयो ……..” ऊ शालीनताका साथ जवाफ फर्काउथ्यो । तर मान्छेहरू ओठ लेब्र्याउथें ।
उसले काम गरेको देखेर मान्छेहरू अनेक कुरा काट्थे, “त्यत्रो विधि दु:ख गरेर पनि अझै घोटिनु परेको छ, कठैबरा ! विचरा !”
कतिले त सोधि नै हाल्थे, “तिमीसँगैका साथीहरू कोही नेता, मन्त्री र ठेकेदार भए; तिमी चाहिँ यस्तै ससाना काम गरेरै मर्ने भयौ है ?”
उसलाई झोक चल्थ्यो र पुरानै शैलीमा जोशका साथ जुरुक्क कुम उचालेरै जवाफ दिन्थ्यो,
“मलाई मन्त्री र ठेकेदार हुनु छैन साथी हो, म मेरै कामलाई पूजा गर्छु।”
…
लघुकथा ४ : दु:ख
चाडपर्व आउँदा देवीराज त्यसैत्यसै बिरक्तिन्छन् । पहिलेपहिले साथमा धनसम्पत्ति थियोे , सबै साथ थिए । श्रीमती रोगले थलिएपछि रोगको निदान , उपचारमा थुप्रै पैसा सकियो । र , पछि मिर्गौला फेल भएको थाहा भएपछि हप्तैपिच्छे डायलासिस गर्नुपर्दा कमाएको , भएको श्रीसम्पत्ति सब स्वाहा भयो । त्यसपछि उनले प्यारी जीवनसङ्गिनीको डायलासिस गर्न सकेनन् । अन्तमा श्रीमतीले संसार छोडेर गईन् । त्यसलगत्तै सरकारले डायलासिस नि:शुल्क गरिदियो । उनलाई ठूलो पछुतो भयो । अहिले पनि छँदैछ ।
दशैंमा आफन्तहरू कमै आए । तीन तिहार भए बहिनी टीका लगाउन नआएकी अनि उनको गला र निधार रित्तै भएको । उमेरले तीन वर्षले कान्छी बहिनीको नाम हीरा भएपनि उनी सधैं ‘सानी’ भनेर बोलाउँथे । सानैदेखि दाजुबहिनीको खुबै मिल्ती थियोे । हुन त तिहारमा ऊ आफैं चेलीकोमा जानुपर्ने हो तर खल्च्याङ खल्च्याङ खोचिने खुट्टोले रोगी ज्यान धानेर तीन डाँडापरि बहिनीकोमा जाने उसको हिम्मत भएन । सक्दाहुँदी गएका पनि हुन् ।
नौ दश वर्षअघि बहिनीले टीका लाइदे’को फोटो हेर्दै टोलाइरहेका थिए । फोटो हेर्दाहेर्दै बेलाबेला मुस्कुराउँथे । पोहोर झैँ यो साल पनि आफ्नो निधार र गला रित्तै हुने भो भन्ने सोच्दै टोलाउँथे घरिघरि । देउसी भैलो खेल्ने टोलीले पनि आफ्नो घर छुट्याउँदा उनको मन नराम्ररी कुँडिन्थ्यो । उनलाई बेलाबेलामा यस्तो विचार आउँथ्यो , ‘सुख पा’कि बैनी , यो दु:ख पा’को दाइकोमा किन पो आउँथी !’
मनमा अनेक कुरा खेलेकाले होला ! उनलाई राति राम्रो निद्रा परेन । खासै बिसञ्चो नभएपनि देवीराज दिउँसै ओछ्यानमा ढल्किए । ‘दाजु , दाजु’ भनेर कसैले बोलाए जस्तो लाग्यो । यसो टाउको उठाएर हेर्दा त आफ्नै बहिनी पो रहिछे ! दिन ढल्नै लागेको रहेछ ।
“म त यसपनलि नि तँ आउँदिनस् होला भन्ठानेर सुतेको थेँ , भुसुक्कै निदा’छु ।” भन्दै उठे । उनको मुहारमा छुट्टै आभा देखिन्थ्यो ।
“के गर्नु दाजु ! परार साल मै थलामा परें , बल्लतल्ल तीन महिनामा उठें । पोहोर साल ज्वाईं बिते , यसपालि सकिनसकी आइपुगें ।
“मलाई त मेरै दु:ख ठूला लाग्थे तर तेरा पनि कमका रैनर’छन् सानी !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










