‘सम्भवत: हामी जत्तिको फुर्सदिलो तर हामी जस्तो हतारिने मान्छे दुनिँयामा कोही छैनन् ।’ नियात्राकार विनोद नेपालको यो विचार सारै घतलाग्दो र मननीय छ । भूगोल साहित्य समाजले २०८० सालमा प्रकाशन गरेको ‘ससुरालीदेखि सुस्तासम्म’ नियात्रासङ्ग्रहमा १५ वटा नियात्रा रहेका छन् ।
यात्राले जीवनलाई गतिशील बनाउँछ । मानव इतिहास अध्ययन गर्दा थाहा हुन्छ कि मान्छे पहिलेदेखि नै फिरन्ते जाति हो । मस्तेरियन जीवनशैली उसको खास परिचय हो । अफ्रिका, भोल्गादेखि गङ्गा हुँदै मानिस चारैतिर फैलिएको इतिहास साक्ष्य छ । हजारौं माइलको यात्रा पार गरेर मान्छे यो धरतीको यत्रतत्र फैलियो । त्यो घुमन्ते जिन्दगीको आनन्द वा सङ्घर्ष अहिलेको मान्छेको जीनमा पनि कहीँकतै जीवित भएरै हुनुपर्छ, मान्छे केही न केही बहानामा संसार घुम्ने चाहना गर्दछ ।
राजधानी शहरमा बेलाबखत सार्वजनिक सवारीमा होस् या निजी साधनमा चक्रपथमा यात्रा गरिराख्नुपर्छ । कतै पुग्न हतार छ धेरैलाई तर विनोद नेपाललाई बिना हतार, बिना काम चक्रपथ परिक्रमा गर्न मन लाग्छ । खर्चपात कम लाग्ने अनि छोटो समयमा नै धेरै ठाउँ पुग्न सकिने ! उनको मनमा गज्जबको विचार उब्जिन्छ । केही घण्टाको यात्रामा उनले देशको राजधानीका केही राम्रा एवम् केही नराम्रा पक्षहरू देखाएका छन् । कोरोना कालमा टाढाको यात्रा कठीन, असम्भव जस्तै थियो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उनको घुमन्ते बानी कायमै रहेको देखिन्छ । कहिले चक्रपथ फन्को मार्ने त कहिले उपत्यकाकै इचङ्गुतिर पुगेर रमाउँछन् । स्वयम्भूको थुम्को उक्लेर त्यहाँको मनोरम प्रकृतिमा हराउँदै चार दशकअघिको काठमाडौँ सम्झिन्छन् ।
उपत्यकाका चार प्रख्यात नारायणमध्येको विशङ्खुनारायणको यात्रामा देखिएका अजीव चीजहरू जस्तै सुनसान वातावरण, भित्तामा ताला लगाइएको फलामे जाली, पहरोभित्र गुफाको वर्णनले हृदय झङ्कृत बनाइदिन्छ । दहचोकको घुमफिर गर्न निस्कँदा मार्गमा पर्ने स्वीजरल्याण्ड पार्क, काजी कालु पाँडेको समाधिस्थल, मिनी म्युजियम आदि हेर्दै जानकारी हासिल गर्न सकिन्छ । नेपाल एकीकरणसँग सम्बन्धित ऐतिहासिक कुरा पनि थाहा पाइन्छ ।
यात्रा गर्दा मन आनन्द हुन्छ, थकान मेटिन्छ र नयाँ नयाँ जानकारी पनि पाइन्छ । यति मात्रै होइन सिर्जनात्मक व्यक्तिको यात्राले साहित्यमा यात्रा संस्मरण, नियात्रा, छिपेका कहानीहरू रचिन्छन् । विनोद नेपाल जहाँ जान्छन् त्यहाँको बारेमा नियात्रा, यात्रा संस्मरण लेख्छन् र त्यसको आनन्द पाठक पुस्तकको पानामा भेट्टाउँछन् ।
काठमाडौँ र वरिपरिका ठाउँबाट विनोद पश्चिम नेपालको तराइ पुग्छन् । कैलाली र कञ्चनपुरको सीमा मोहना नदी, डोकेबजार, दशगजा, बेलौरी, शिवसरोजस्थल र आनन्दबजारको यात्रामा अनुभव गरेका तीता मीठा अनुभूति सँगाल्छन् । सीमा विवादका कारण भारतीय पक्षको गोली लागेर शहीद बनेका गोविन्द गौतमको घर, शालिक तथा अन्य जानकारी प्राप्त गर्न गरिएको यात्रामा उनले सीमा विवादको दीर्घकालीन समाधान नगरिए आफ्नै घर आँगनमा गोविन्दले जस्तै मृत्यवरण गर्नुपर्ने गम्भीर विषय उठान गरेका छन् ।
कुतूहलता जगाउने शीर्षक राख्न विनोद नेपाल खप्पिस छन् । त्यस्तै शीर्षक हो ‘खोया खाँदै बैतडी’ । धनगढीबाट भीमदत्त राजमार्ग हुँदै डडेलधुरातिरको यात्रा गर्दा गाडीमा डिजेलको अभाव झेल्दै, पर्यावरीय सुन्दरताको वर्णन अनि वीपीको वाणीसहितको स्वागत गेटको बारेमा कुरा गर्दै अघि बढ्छन् । यात्राका क्रममा देखेभोगेका विभिन्न दृश्य, घटना, अनुभव तथा रमाइला र नरमाइला सबैखाले अवस्था र अनुभूतिको सजीव चित्रण गरिएको यो नियात्रासङ्ग्रहले पाठकलाई यात्रीसँग सँगसँगै यात्रा गराउन सफल छ ।
आफ्नै देशको भूमिमा पुग्न समेत विदेशी भूमि हुँदै जानुपर्ने, जो कोहीलाई त्यसरी यात्रा गर्न निकै कठिनाइ भोग्नुपर्ने बाध्यता दर्शाइएको छ ससुरालीदेखि सुस्तासम्ममा, जुन सङ्ग्रहको शीर्ष नियात्रा समेत हो । सुस्तामा पुगेपछि विनोद र सहयात्रीहरू लामो सास फेर्दै भन्छन्, “अहो ! आफ्नै देशमा पुग्न पनि यो झमेला, यति गाह्रो ! …… सुस्ता पुगेकोमा सगरमाथा शिखर चुमेको अनुभूति गरिरहेका थियौँ ।”
प्रकृति कसलाई मन पर्दैन न र ! नयाँनयाँ ठाउँमा घुमफिर गर्न र यात्रासँगसँगै मनोरञ्जन गर्न, ज्ञान र अनुभव बटुल्न मन नपराउने को होला र ! मन हुँदाहुँदै पनि कति मानिस यात्रामा निस्कन सक्दैनन् । यात्रा गर्नेहरू कतिले त्यसको भरपुर आनन्द र सदुपयोग गर्न सक्दैनन् । देश विदेश घुमेर २०७६ सालमा ‘देश र विदेश’ नियात्रासङ्ग्रह प्रकाशित गरिसकेका नियात्राकार विनोद नेपाल यात्राको क्रममा ट्याक्सीमा खाँदबारीदेखि दिङ्ला पुग्छन् अनि मनमोहक मकालु हिमाल र हिमश्रृङ्खला हेरेर मन्त्रमुग्ध भइदिन्छन् । उनी अरूणको सेरोफेरो घुमाउँदै आबाल ब्रह्मचारी षडानन्दसँग सम्बन्धित सम्पदासँग आत्मिक साक्षात्कार गराउँछन् ।
नियात्राकार कहिले काठमाडौँ उपत्यका, काँठ क्षेत्र वरपरका स्थलहरू कहिले सुदूरपश्चिम त कहिले पूर्वी नेपाल पुर्याउँछन् । कहिले हिमाली क्षेत्र कहिले तराई त कहिले मध्य नेपालतिर लिएर जान्छन् । पौराणिक कथा कहानी र किम्बदन्तीमा आधारित श्रवणकुमारको कथासँग सम्बन्धित अन्धाअन्धी दह स्याङ्जा जिल्लाको आँधीखोलामा पर्दोरहेछ । यस्ता नवीन जानकारी र त्यस वरपरको पर्यावरणीय चेतसहितको वर्णनले सकारात्मक र सन्देश छर्न सफल भएको छ यो कृति ।
प्राकृतिक रूपमा सुन्दर तर प्रकोपका हिसाबले अभागी जस्तो देखिने सिन्धुपाल्चोक जिल्ला र त्यहाँबाट अविरल बगिरहने मेलम्ची, इन्द्रावती, सुनकोशी, भोटेकोशी जस्ता जलसम्पदाको कारण समृद्ध छ । तिनै नदीका कारण कतिले हैरानी पाएका छन्, कति आँशु पानी झैँ बगेको छ । यात्राको क्रममा विनोद नेपालले यस्ता यावत् मानवीय पक्षलाई उधिनेका छन् जसले हृदय छुन्छन् । सिन्धुलीगढी, वीपीको जन्मस्थल धरिनडाँडा घुम्न पाउँदा उनको मन प्रफुल्लित भएको छ । कोइराला परिवारको प्रसङ्गमा उनले राजनीति र राणा शासनकालका केही पक्षहरू समेत केलाएका छन् । दोलखा जिल्ला स्थित चरिकोट, कुरी, जिरी र आसपासका भूगोलमा रम्दै रमाउँदै उनले कालिञ्चोक, भीमसेनको मन्दिरको दर्शन पनि गरेका छन् । त्यहाँको जीवन्त चित्रणले पाठकलाई पनि सँगै यात्रा गराउन सफल छन् उनी ।
‘बाँदरलाई सुर्ती’ शीर्षकको अन्तिम नियात्रामा उनले कताको यात्रामा लैजाने हुन् ! कुतूहलता थियो । धुलिकैलबाट अरनिको राजमार्गलाई देब्रे पारेर वीपी राहमार्ग लागेपछि अनुमान भयो, अबको गन्तव्य पूर्वतिरकै हुनुपर्छ । नभन्दै पूर्वको पशुपतिनाथ भनेर प्रख्यात हलेसीसम्मको यात्रा रहेछ । दूधकोशी पुग्ने बेलामा किसानले गरेको सुर्ती खेतीको दृश्य अनि किसानको दु:ख, सडकको दुर्दशा अनि देशको स्थितिबारे गरिएको चिन्ता मननीय छन् । गाडीको यात्राबाट देखिने दायाँबाँयाका दृश्यहरूको यथार्थ वर्णन भए पनि पावन भूमि हलेसी क्षेत्रको दृश्य र अनुभूति भने देखाइएको छैन ।
यात्रामा रमाउने सर्जक विनोद नेपाल जहाँ पुग्छन् उनले त्यहाँको अनुभूति र जानकारी पाठकलाई दिइरहन्छन् । यसले यात्रामा रुचि भएर पनि चाँजोपाँजो मिलाउन नसक्नेका लागि मीठो सामल पाठकसामु राखिदिएको छ, त्यसलाई पानी, आगो मिलाएर मधुर आँचमा पकाउन खाँचो छ । यात्री विनोद नेपालको कलमबाट यस्तै मनोहर कृतिहरू नेपाली साहित्यले पाइरहोस्, शुभकामना छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










