सम्झनाको लठ्ठी टेक्दै टेक्दै
कुप्रो परेको ज्यानमा
शिरमा सेताम्मे फूलेको
अलिलि बाँकी कपाल लिएर
थोते मुख देखाएर
किच्च हाँस्दै जब म
बूढेशकालमा भेट्न आउँछु
तब तिमी हाम्रो जवानी सम्झेर
उबेलाका ती दिन सम्झँदै
चाउरी परेका गाला निचोरेर
मुसुक्क मुस्कुराउँछ्यौ
तब म विश्व जितेर फर्केको
एउटा योद्धाझैँ सम्झनेछु आफूलाई
तिम्रो सामु एउटा फूल चढाएर
घुँडा टेकेर तिमीलाई
मुस्कुराउँदै मुस्कुराउँदै
जब म हेरिरहनेछु
तब तिमी मेरा औँला समातेर
उठाउनेछ्यौ सुस्तरी मलाई
म लर्खराउँदै लर्खराउँदै
तिम्रो छातीमा लपक्क टाँसिनेछु
जब तिमी बूढी हुन्छ्यौ

जब तिमी बूढी हुन्छ्यौ
तिमीलाई केही कुरा सम्झाउनेछु
कुनै दिन हामी यस्ता थियौँ, त्यस्ता थियौँ
त्यो पल सम्झनेछु म
तिमी नि सम्झिने कोसिस गर त
त्यो बेला म
म कत्ति प्यासी थिएँ है !
कत्ति तड्पिएको थिएँ !
तिमी शीतल जल थियौ
शान्त र सुरम्य सरोवर थियौ
म आनन्दले डुबुल्की मार्दै थिएँ
तिमीले मलाई आफैँभित्र
समाहित गरेर राखेकी थियौ
म सन्तृप्त भएको थिएँ
एकैछिन भए नि सम्झ त
ती दिन, जुनबेला हामी
दुई होइन एक भएका थियौँ

बालापनदेखिको
त्यो निश्चल हृदयको प्रेम
सँगालेर राखेको यो मुटु
कुनै दिन तिमीले स्पर्श गरेका
यी हात, यो शिर र शरीर बोकेर
कुप्री परेको म तिमीलाई भेट्न
अवश्य आउनेछु ल
जब तिमी बूढी हुन्छ्यौ ।