‘अहो ! कस्तो जोडले च्याप्यो। कता होला शौचालय ?’ मैले चारैतिर नजर दौडाएँ।

सेवाग्राहीको भिडले खचाखच थियो परिसर। भिडभाडमा धक्कमधक्का समेत देखिन्थ्यो।

“पकेटमारदेखि सावधान ! आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला !” जस्ता जनहितमा जारि सन्देशहरु पनि लेखिएका थिए। तर मेरा आँखा र खुट्टाहरु शौचालयकै खोजीमा थिए।

परिसरको अलि पर  देखेँ शौचालय। दुई ढोका मध्ये एकापट्टि पुरुष र अर्कोपट्टि महिला लेखिएको थियो।

हाते झोला भिरेकी थिएँ। समाउन दिने परिचित कोही थिएनन्। हत्तपत्त शौचालय भित्र छिरेँ। सार्वजनिक  शौचालय सफा हुने त कुरै थिएन। त्यसमाथि साँघुरो।

साडी फोहरमा चोबिएला कि भन्ने पिर त छँदै थियो, उसै माथि हाते झोला। जसोतसो साडी सम्हालेर मुस्किलसँग हल्का भएँ। शरीर त हल्का भयो तर मन चाहिँ भारी।

सोचेँ, ‘शौचालयको भित्तामा एउटा किला भएको भए हाते झोला झुण्डाउने सुविधा त हुन्थ्यो। सायद शौचालय निर्माण गर्ने निर्णायक, नक्शा कोर्ने डिजाइनकर्ता, निर्माण गर्ने मिस्त्री सबै पुरुष थिए ।’