एक मात्र मायालु छोरो र पत्नी वसन्तीलाई छोडेर सुनौलो भविष्यको सपना बोकेर खाडी पसेको शरद् कोरोना महामारीको प्रकोप
पछि गत दसैँताका नै गाउँ फर्केको थियो । नेपालमा नै दुःखसुख गरी खाउँला बुढा अब विदेश नजाऊ भनि वसन्तीले सम्झाइबुझाइ गरेपछि शरद्को पनि मन पग्लेको थियो । प्यारो छोरो र पत्नीसँग दुखजिलो गरिरहेकै बेला एकदिन शरद्लाई रुघाखोकी र ज्वरोले
समायो । गाउँकै मेडिकलबाट औषधि लिएर खायो तर बिमार झन् बढ्दै गयो । सहरको अस्पतालमा जचाउँदा कोरोना सङ्क्रमण पुष्टि भयो । व्यथाले च्याप्दै लगेपछि सास फेर्न गाह्रो भएकाले आइसियूमा भर्ना गरियो ।
आइसियूमा भए पनि बेलाबखत वसन्तीसँग फोन सम्पर्क भइरहेकै थियो । दिनहुँ आफ्नो बेडसँगै रहेका बिरामीको मृत्यु भइरहेको र आफ्नै आँखाअगाडि प्लास्टिकमा बेरेर लास निकालेको देख्दा निकै डर लाग्ने र मन हतास हुने कुरा वसन्तीसँग शरद्ले फोनमा
बताउँथ्यो । यता वसन्तीको मन पनि भतभती पोल्थ्यो ।
यत्तिकैमा एक दिन ४ बजेतिर अस्पतालमा अक्सिजन सकिएकाले आफ्नो बिरामीलाई अन्यत्र व्यवस्था गर्नू या त विनाअक्सिजन पनि यहीँ उपचार गराउन मञ्जुर छु भनी कागज गर्न आउनू भनी अस्पतालबाट वसन्तीलाई फोन आयो ।आफ्नो सानो छोरो बोकेर हतार-हतार वसन्ती अस्पताल पुगी ।
अक्सिजन अभावमा कतिपय बिरामीको मृत्यु भै सकेको र कतिपय अन्तिम सास फेर्दै थिए । अस्पताल परिसरमा आफन्तहरूको रुवाबासी चलिरहेको थियो । आफ्नो पतिलाई अक्सिजन अभावमा छटपटाइरहेको देखेपछि वसन्तीको होस उड्यो ऊ पागलजस्तै बनी र छोरोलाई भुईँमा राखी बुढालाई जुरुक्कै बोकेर बाहिर निस्की । छोरो रुँदै पछि लाग्यो ।शरद्लाई अस्पताल परिसरकै पिपलबोट मुनी दुवोको चौरमा सुताई र भक्कानो छोडेर रुन थाली । छोरो पनि बाबा भन्दै रुन थाल्यो ।
सास फेर्न गाह्रो भए पनि शरद्को चेतना हराएको थिएन । अस्पतालको बन्द कोठाबाट पिपलबोटमुनि खुला हावामा आउँदा सास फेर्न केही सजिलो भएको महसुस भयो । वसन्तीको पीडादायी रोदन र छोराको प्यारयुक्त तोते बोलीले दिमागमा एक किसिमको तरङ्ग पैदा गऱ्यो र आत्मबल बढेर आयो । म जसरी पनि बाँच्नुपर्छ भन्ने भावना भित्रैदेखि जागृत भयो र वसन्ती भन्दै शरद्ले जुरुक्कै उठेर वसन्तीलाई अँगालो माऱ्यो । वसन्तीलाई सपनाजस्तै लाग्यो । दुवैको मुखबाट धेरै बेरसम्म वाक्य फुटेन, हर्षाश्रु बगिरहे, खुसीको कुनै सीमा रहेन ।
अमरपुर –गुल्मी, हाल- बुटवल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।