“हिँड्न सक्दिनौ । तिम्रा सारमा कैले पुग्ने त्यति टाढा ?” छोरो झर्किंदै बोल्यो ।

“गाडीमा जाने होइन र बा ?”

“थपक्क नबसेर ! व्यर्थैमा दुदुईजनाको खर्च ! म गएर ल्याइदिहाल्छु नि !”

“अनि ! कान्छोले त मैले नै सहीछाप अर्न पर्च भन्थ्यो त ! तीनचारचोटी लिएर नि गा’थ्यो ।”

“त्यसले थाहा नपाएर हो । पर्दैन । मैले कुरो मिलाइसकेको छु ।”

“खै बा ! कानो गोरुलाई औँसी न पुर्ने ! नपर्ने भए तिमी जाऊ त नि !” आमाले अनुमति दिइन् ।

आज देला भोलि देला भन्दाभन्दै डेड दुई महिना बित्यो । तर त्यसका बारेमा कुरोकन्थो भएन । नभएपछि आमाको मनमा खुलदुली मच्चियो ।

“खै त बा ? दिएनन् ?”

“के आमा ? बुझिन नि !”

“भत्ता क्या त !”

“हरे ! कसलाई केको धन्दा कसलाई केको ! बुढीमाउलाई खानैको धन्दा ! बुढेसकालमा किन चाहिएको होला पैसा ?” राजेश भुतभुतायो ।

“पैलाको उजिल्याएर बुहारीको गलामा लाईदिहालेँ । पाँच छ मैनाको जम्मा गरेर एउटा सानो तिलरी हालौँला भनेको ! … दिएनन् र बा ?” आमा आफ्नै सुरमा बोलिन् ।

“दिए नि, आजसम्म रहिरहन्छ त ?”

“के भयो र ?”

“त्यो त मैले उतिबेलै बुहारीको हातमा दिएको हो नि ! नत्र दाल चामल, चिनी, चियापत्ती, ग्यास्ट्रिकको औषधी कहाँबाट आउँछ ? किनी होली र त दाल भात खान पाएकी छ्यौ ।”