“सुन्नुभो ?”

पुलिस चौकीनेर पुगेपछि कसैले पछाडिबाट बोलाएको सुनें । बजारको दिन, जताततै भीड छ । दशैंको हाट भएर होला, वर्षभरि बजारमा नदेखिएका मान्छे पनि त्यो दिन देखा परेका थिए । बजारमा सामान्य किनमेलपछि घर फर्किन लाग्दा कसैले पछाडिबाट बोलाएको थियो ।

झन्डै तीन गजको दूरीमा सुनिता मुसुक्क हाँस्तै मतिर आइरहेकी थिई । उसलाई देख्नासाथ मभित्र एउटा आँधी आयो । नसोचेको र असम्भवप्रायः भइसकेको त्यो भेट मेरा लागि अत्यन्तै अत्यासपूर्ण र कहालीलाग्दो थियो । शरीरमा भित्रैदेखि एक प्रकारको ‘लुग लुग लुग’ कम्पन छुट्यो । त्यो कम्पन रिसको थियो कि ग्लानिको ? मैले छुट्याउन सकिनँ । कान ताताताता भएजस्तो लाग्यो । घाँटीमा थुक अड्केजस्तो भयो । नजानिँदो खाले कम्पन शरीरमा धेरै बेरसम्म रहिरह्यो ।

ऊ मेरी भूतपूर्व श्रीमती हो- पोइल गइसकेकी । छ वर्षअघि मैले उसलाई झ्याइँझ्याइँ बाजा बजाएर विवाह गरेको थिएँ । दुई वर्षअघि एकाएक उसका आफ्ना सामानसहित बेपत्ता भएपछि मैले उसलाई देखेको त्यो पहिलोचोटि हो । हराएको सातादिनपछि एउटा धनी मान्छेसँग पोइल गएको खबर आएको थियो ।

ऊ मेरो जीवनमा पहिलोचोटि सिधै स्वास्नीको रूपमा आँगन टेकेकी नारी हो । विवाहमा मैले धेरै खर्च गरें त भन्दिनँ तथापि लोकले छिः पनि भन्न सकेन । विवाहपछिका दिनहरू अत्यन्त घनिष्ठतापूर्वक बिते । कहिल्यै, कुनै दिन मेरा तर्फबाट उसले कुनै दुर्व्यवहार पाइन । म सधैं सोच्थेँ- ‘ऊ आफू जन्मेको घरलाई पराई ठानेर पराई घरलाई आफ्नो पार्न आएकी छे ।’

उसकै स्थितिबाट म उसको दर्जा कायम गरिदिन्थें । सम्भव भएसम्म मैले उसलाई राम्रै गरेजस्तो लाग्छ तर अब त्यसो भन्न सुहाउँदैन किनकि ऊ पोइल जानुले उसको दृष्टिमा म अनेक कारणले अयोग्य ठहरिएको कुरा प्रष्ट छ ।

एकपल्ट पोइल गइसकेकी स्त्री कुनै सङ्कोचबिनै यसरी परैदेखि बोलाउँदै आएको देख्ता म आफै पो लाज र घृणाले चुर्लुम्मै भएछु । ऊ मेरो अघि उभिएकी थिई । उसको ओठमा हाँसो थियो, अनुहारमा अनौठो लाली । लाग्थ्यो- ऊ भर्खर जवानीको रङ्गमा च्याप्प डुबाएर निकालिएकी परी हो ।

ऊ एकक्षण अलमल्ल परेर सोधी- “आमालाई कस्तो छ ?”

“आमा पहिलाभन्दा बूढी हुनुभएको छ । प्रायः बिरामी भइरहनुहुन्छ ।”

“भाइबहिनीहरू नि ?”

“उनीहरू अलि ठूला भएका छन्, दुवैले स्कूल पास गरे ।”

“नानीको विवाह गर्नुभो ?”

“उसले तिमीबाट शिक्षा प्राप्त गरी । उसलाई हामीले विवाह गरिदिनुपरेन ।”

“यत्रो वर्षपछि एकाएक मलाई देख्ता तपाईंलाई रिस उठ्यो होला, हगि ?”

“मलाई तिमीसँग किन रिस उठ्नु ? अर्काकी स्वास्नीसँग रिसाउनु र खुसी हुनु दुवै कुरा हानिकारक हुन्छन् ।”

ऊ निकै बेर मौन थिई । त्यसै बेला एउटा ट्र्याक्टर आयो । त्यसलाई बाटो छोडिदिन म किनारा लागें । ऊ पनि मतिरै सरेर आई । मलाई ऊसँग त्यसरी बजारबीचमा गफ गर्न पटक्कै मन थिएन । ऊ मेरी भूतपूर्व श्रीमतीका रूपमा जोद्वारा पनि चिनिन सक्थी । अर्कैसँग गइसकेकी स्वास्नीसँग मध्यदिउँसो बजारमा खुलेआम दिल खोलेर बात मार्नु अरूले जेसुकै सोचे पनि म स्वयम्लाई समेत उचित लागेको थिएन । थुप्रै आँखाहरूले यस मिलनको सङ्केत पाइसकेका थिए । कतिपय अनुहारहरू मुस्कुराउन पनि थालिसकेका थिए । म भित्रभित्रै भुतुक्क भइरहेथें । अनि ऊ यसरी हतपताएकी देखिन्थी मानौं म उसका जम्मै प्रश्नहरू सुन्न तयार छैन र उसलाई जतिसक्तो चाँडो ती जम्मै प्रश्नहरू गरिसक्नु छ ।

“तपाईंले बिहे गर्नुभो रे नि, हो ?”

मलाई ह्वात्त कसैले चिसो पानी छ्यापेजस्तो लाग्यो ।

उसबाट त्यस्तो प्रश्नको मैले आसै गरेको थिइनँ । आश्चर्य ! उसलाई मप्रति यस्तो चासो किन ? म को हुँ र उसको ? अब ऊसँग मेरो के नाता छ ? कताकता भित्र मलाई त्यस प्रश्नले नमीठो गरी घोच्यो । त्यसको ‘ऐया’ आँखाबाट खस्ला कि भन्ने ठूलो डर भयो । आखिर त्यो प्रश्न गर्ने आइमाईलाई पनि त एक दिन मैले विवाह नै गरेको हुँ ।

उत्तर दिनमा मैले निकै ढिलाइ गरेछु र मेरा आँखाहरू ऊतिर नभएर जमीनतिर केन्द्रित भएछन् ।

“किन लजाउनुभएको ? अझै तपाईंको पुरानो बानी गएको रैनछ हगि ?”

मैले पुलुक्क उसको अनुहारमा हेरें । यसपल्ट उसको अनुहार पहिलेको जस्तो थिएन । त्यस्तो अनुहार त जस्तै पीर परेकाहरूको पनि हुँदैन ।

‘यो गम्भीरताको अर्थ के हुन्छ र ?’ मैले मनमनै विचार गरी भनें- “म किन लजाउने तिमीसँग । तिमीलाई पनि त बिहे नै गरेको थिएँ नि एकपल्ट ।”

“भो, छाड्नोस् ती… पुराना कुरा ।”

यसपल्ट उसमा झन् उदासीनता भरिएको थियो । मैले भनें, “हो एउटी २५ वर्षकी केटीसँग बिहे गरेको छु । किन र ? मैले बिहे गरेर गल्ती भो ?”

“गल्ती त भएन तर ।”

“के ? तर के ?”

किनकिन उसको त्यो अपूरो वाक्यमा एउटा गहिरो जिज्ञासा उत्पन्न भयो । भित्रभित्रै एउटा ठूलो कुतूहल उठेर निभ्यो । उसले त्यो वाक्य पूरा गरिन र गर्न नसक्ने गम्भीरताले पनि उसलाई छोपिसकेको थियो । न म पहिले पनि ऊसँग कुनै प्रश्नको जबाफ दोहोऱ्याएर माग्थें न त्यो दिन नै मागें । तर त्यो अन्तिम वाक्यपछि ऊ टोलाएजस्ती भई ।

मैले उसको श्रीमान्‌को सुस्वास्थ्यको कामना गर्दै छुट्टिने तरखर गरेपछि हतारहतार उसले भनी, “एकपल्ट मलाई तपाईंकोमा आउन मन लागेको छ ।”

उसको आँट र साहसप्रति मलाई आहारिस लाग्यो, साथै एउटा कुटिल खुसी पनि जन्म्यो । त्यसैले मैले भनें, “के मेरी दुलही देखाइदिनुपर्यो ।”

“यदि तपाईंलाई कष्ट हुन्छ भने म आउँदिनँ ।” उसले अत्यन्त थाकेको स्वरमा भनी ।

“होइन होइन, मलाई केको कष्ट ? त्यो पनि त एक समय तिम्रै घर त थियो नि ।” मैले जबाफ दिएँ । जबाफ दिन सकेकोमा मलाई आनन्द लाग्यो ।

त्यसपछि ऊ एक शब्द पनि नबोली, सामान्य औपचारिकता पनि पूरा नगरी गई।

सुनितासँग भेट भएको त्यस्तै डेढ महिना बितेको हुँदो हो । समय यस्तै मङ्सिर-पुसतिरको थियो शायद । म विद्यार्थीका उत्तरपुस्तिका धमाधम जाँच्तै थिएँ । भाइबहिनीहरू घरमा थिएनन् । आमालाई बाथले फेरि सताउन थालेको थियो । रात निकै गइसकेको थियो ।

बाहिरबाट कसैले ढोका ढकढक्यायो । मनमा एक किसिमको अज्ञात त्रास भरियो । बिस्तारै ढोकाको छेउमा पुगेर प्रतीक्षा गरें । ढोकाको ढकढकको आवाज सतर्क र सावधानीपूर्ण थियो । बिस्तारै हलुका हातले चुकुल खोलें । अचम्म ! ढोकामा सुनिता उभिएकी थिई । यस बेला, यस्तो अवस्थामा उसलाई देखेर एकपल्ट म आत्तिएँ पनि । अब के गर्ने ? यो आइमाई किन यति बेला यहाँ ? आमाको कोठा नजिकै थियो, त्यहाँ बात मार्ने कुरै भएन । बिस्तारै मैले उसलाई भित्र आउने सङ्केत गरें ।

भित्र आएर ऊ मेरो खाटमा यसरी पल्टी, जसरी दुई वर्षअघि पल्टिने गर्थी । एकक्षण म अलमल्ल परेर उसलाई हेरिरहें । उसको त्यो शृङ्गार, त्यो लावण्य सबै लोग्नेमान्छेको कमजोरीका लागि काफी थियो । साह्रो बोलूँ भने आमा ब्युँझने डर, नबोलूँ भने ऊ आउनाको उद्देश्य थाहा नहुने । निकै बेरपछि बिस्तारै उसको कानमा ओठ लगेर मैले सोधें- “यत्ति राति किन आएकी ? तिमीले यस्तो बेलामा यहाँ नआउनुपर्थ्यो ।”

उसले ओठभरि लाली जस्तै हाँसो पोतेर मेरो काननेर मुख ल्याएर भनी, “उसो भए म गैहालूँ त ?”

मैले उसलाई ‘तुरुन्त गैहाल’ भन्न सकिनँ । बरु मलाई कताकता बितेका वर्षहरूको झझल्को आउन थाल्यो । उसको शरीरबाट आएको गन्ध, नाकबाट निस्किएको तातो हावाको स्पर्श, रोक्तारोक्तै बजेको चुराको आवाजले मलाई दुई वर्षअघिको कुनै रात ह्वात्तै फर्किएजस्तो लाग्यो । एकाएक म भावनामा डुब्दै गएँ ।

अरू आवश्यकीय केही कुराहरू मैले उसका कानमा भनें । त्यसको जबाफ उसले मेरो कानमा दिई । अनि ऊ पनि चूप भई, म पनि चूप । सम्भवतः हामी धेरै बेरसम्म निदाएझैँ भयौं । निकै बेरपछि हामी एकअर्काका अँगालोमा थियौं र त्योभन्दा पनि पछि अर्कैअर्कैतिर फर्किएर सुतेका थियौं ।

ब्युँझदा बिहानको सवा तीन बजेको थियो । ऊ जुरुक्क उठेर आफ्नो रूप समाल्न थाली । म पनि उठेर बसें । उसलाई घरअगाडिको सडकसम्म पुर्‍याएर बिदा गर्न लाग्दा ऊ मेरो छातीमा घोप्टो परी । मैले उसलाई आफूबाट छुट्याएर फर्की आएँ ।

० ०

आज हुलाकीले एउटा चिठी दिएर गयो-

हजुर !

यो चिठी म खुशी र बेखुशीको दोसाँधमा लेखिरहेकी छु । यो कुरा थाहा पाएर तपाईंलाई नराम्रो लाग्नेछ, तापनि म यो जानकारी दिन विवश छु हजुर ! क्षमा पाऊँ ।

मलाई तपाईंसँग बितेका एकएक क्षणहरूले सताइरहेका छन् । म यस वर्तमानका हरेक क्षणहरूलाई आत्महत्या गरेसरह बिताइरहेकी छु । पश्चात्तापभन्दा ठूलो रोग संसारमा अरू हुँदो रहेनछ ! म पश्चात्तापका एकएक झिल्काले डामिंदै आएकी छु । समाजमा सबै प्रकारका भुलहरूको प्रायश्चित्त हुन्छ भन्छन् तर एउटी नारीले आवेशमा आएर गरेको यस भुलको प्रायश्चित्त गर्ने ठाउँ किन नराखेको होला हजुर ? किन ? मलाई थाहा छ, मैले ठूलो भुल गरेकी छु तर बाँचीबाँचीकन पनि कुनैकुनै नाताहरू मरेको भन्दा पनि चार खण्ड नराम्रो गरी चुँडिएको पाउँदा म आत्महत्यापछि पनि शान्ति पाउन नसक्ने अवस्थामा छु ।

यदि मैले तपाईंकी नयाँ दुलहीलाई गर्भवती भएकी नदेखेकी भए शायद यी कुनै पीरहरूले मलाई छुन सक्ने थिएनन् । अपसोच, मैले त्यो देखें, त्यही बजारमा देखें । थाहा छ ? त्यसपछि म पागलसरह भएर तपाईंलाई खोज्न लागेकी थिएँ, भेटे पनि ।

मेरो हजुर ! मलई माफ दिनोस् । कृपया मप्रति हजुरको जुन घृणा छ, त्यो मात्र नभइदिए, मलाई जीवन जतिसुकै असह्य भए पनि सन्तोषजनक नै हुनेछ ।

यो सब हुनुको पछि एउटा लामो कथा छ । म आज भन्छु-

मसँगै विवाह भएका सबै साथीहरूले छोराछोरी पाइसकेका थिए । म आफै पनि छब्बीस वर्षकी भइसकेकी थिएँ । मलाई पनि छोराछोरीको रहर दिन प्रतिदिन तीव्र हुँदै थियो । साथीहरू मलाई तर्साउँथे- ‘तेरो लोग्ने कमजोर छ, उसबाट छोराछोरी हुँदैनन् ।’ सत्ते होला, म भड्किँदै गएँ । अनि हजुरसँग मुखामुख पनि हुन थाल्यो, किनकिन हजुरलाई देख्नासाथ रिस उठ्न थाल्यो । एक प्रकार म पागल जस्तै हुँदै गएँ । कसरी, कहिले, किन म यो बूढो मान्छेसँग पोइल आएँ ? मलाई थाहा छैन ।

बिस्तारै मैले दोस्रो जिन्दगी स्वीकार्दै गएँ । सबैभन्दा बढी माया गर्ने हजुर र माइती सबैतिरबाट म बहिष्कृत भएँ । अहिलेको जिन्दगीको म कुनै कुरा गर्न चाहन्न प्रभु ! बस, मलाई सुख छ ।

 

छोराछोरी पाउने रहरले मलाई त्यस ठाउँमा ल्याएर थुपार्‍यो, जहाँ त्यो सम्भावनासमेत निमोठिएको थियो । उनी पहिले नै छोराछोरीको रहर पुर्‍याएर ठेगान लागिसकेका रहेछन् । म फगत उनकी रखौटी मात्र हुन आइछु ।

र जुन दिन मलाई हजुरप्रतिको मेरो धारणा गलत भएको थाहा भयो, त्यही दिन मेरो संसार डढेर खरानी भइसकेको पनि होस आयो । जसरी भए पनि सन्तानको मुख हेर्ने मेरो रहर त्यसपछि त झन् उग्र भएर उठ्यो । जुन अक्षमताको आरोप गरी तपाईंबाट म पलायन भएकी थिएँ, एक दिन फेरि त्यही सक्षमताको सम्मान गर्न म तपाईंकहाँ आएँ ।

त्यहाँ आउनुअघि मैले धेरै दिनसम्म सोचें- सन्तान प्राप्ति जसरी पनि गर्न सकिन्छ तर त्यत्तिका लागि वेश्या नै कसरी हुने ? त्यसैले सोचें तपाईं भनेको मेरा बाबुआमाले विश्वास गरेर, पुजेर मलाई जिम्मा लगाइएको मान्छे । मेरो शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्गहरूलाई संवेदित, उत्तेजित र स्पर्श गर्ने पहिलो मान्छे । तपाईं, जसले मलाई पुरुषसँगको सहवासको प्रथम रात दिनुभएको थियो । त्यो गुण, त्यो योगदान, त्यो महत्त्वलाई म कसरी भुलूँ ? कसरी लत्त्याऊँ ? स्पष्ट छ, मैले नराम्रै कर्म गरेकी हुँ तर त्यसको पश्चात्ताप पनि त भइसकेको छ नि मलाई । तसर्थ हजुरको वंशले मेरो गर्भमा हुर्कने पूरापूरा अधिकार छ । यही ठानेर म त्यो रात त्यहाँ आएथे । आज तीन महिनापछि त्यो खुशी पाएको पूर्ण विश्वासका साथ यो पत्र लेख्न बसेकी हुँ ।

अरू साथीहरूजस्तै अब म पनि आमा बन्ने भएँ हजुर । मेरो गर्भले पनि यस धरतीलाई शोभायमान पार्ने भयो । हजुरको वंश मेरो कोखमा हुर्कंदै छ । अब सात महिनापछि उसले शिवका आँखा खोल्नेछ ।

विश्वस्त रहनोस् ! म हजुरको जीवनमा कुनै भूकम्प ल्याउन चाहन्नँ । यो मेरो प्रायश्चित्त हुनेछ । यो पनि स्पष्ट छ, अहिले म जुन घरमा छु, लगत्तै मैले यस घरलाई त्यागेर घरविहीन भइहाल्नुपर्छ । र यो परिचित दुनियाँबाट टाढा, निकै टाढा जहाँ मलाई कसैले चिन्दैन, त्यहाँ पुगिहाल्नुपर्छ । म हजुरको जीवनमा पुनः कहिल्यै नआउने गरी बिदा चाहन्छु !

उही

सुनिता

 

पत्र पढ्दापढ्दै अनेक भावहरूले मलाई छोप्तै ल्याए । कताकताबाट अनौठो प्रकारको आवेशले गाँज्दै ल्यायो । पत्र च्यातेर टुक्राटुक्रा पारेछु । एकछिनपछि भुइँमा टुक्रुक्क बसेर च्यातिएका कागजका एकएक टुक्रा टिपेर जोड्ने कोशिश गर्न थालें । धेरै बेरसम्म पनि पत्रका टुक्राहरू ठीक ठाउँमा बस्न सकेका थिएनन् ।

श्रीमती अलिक पर चियाको गिलास हातमा लिएर उभिएर एकोहोरो हेरिरहेकी थिइन् ।

(कृष्ण धरावासीको कथासंग्रह ‘झोला’बाट)