गाउँ माथिको चिहान डाँडा छेउमै एउटा अजङको ठुलो बरको रुख थियो । तिनको उमेर साढे एक सय वर्षको भयो भनेर गाउँकै एक जना पाको बाजेले भन्नु भएको थियो । सोही बाजेले भने बमोजिम त्यो बरको रुखलाई अन्तै कतैबाट ल्याएर रोपेको कुरा गर्नु हुन्थ्यो ।
ऋतुअनुसार वर्ण फेर्छ । घाम-पानी, दिन-रातको परवाह गर्दैनन् उनी । आदिम पहाडको खप्पर समाएर उभिएको छ । आफ्नो रक्त नली रुपी जराहरूलाई पहाडको मुटु-कलेजो छेडेर सिमसार सम्म पुर्याएको छ आफ्नो तिर्खा मेटाउन ।
ऊ मानिस जसरी बोल्दैन । ऊ मान्छेले जसरी छलकपट गर्न जान्दैन । ऊ कसैसँग केही माग्दैन । केवल दिन्छ अरूलाई, बटुवालाई शीतल छाया, चरालाई गुँड बनाउन दिन्छ हाँगा । पहाडको शिरमा सजिएको हरियो गुराँसको फूल हुन् जसले पहाडको शान बढाएको छ । पहाडको सौन्दर्य हो । एउटी वयस्क युवतीको जवानी बैँस जस्तो ।
दशक-दशक समयको खादहरू खप्टाएर बनाएको छ उमेरलाई पुरानो । यिनको एउटा जिन्दगीमा भनेर सुनेर जानेको मेरो आफ्नै तीन पुस्ता जिन्दगीले यिनको छहारीमा बसी बिताइसकेको छ । मेरो आफ्नाहरूको धमिलिँदै गएको सम्झना छ । कति हिउँद खेपे कति । अनि सयौँ उष्ण ग्रीष्म । अनगिन्ती बर्सादको भेल बाटो छलेर यिनको अस्तित्व मेटाउन खोजे तर कहिले बगेन, बग्न दिएन खहरेसँगै आफूलाई । अनगिन्ती छन् चैत-वैशाखको हुरी काण्ड । कहिले उसको जग हल्लाए । कति कलिला हाँगो लाछे । कहिले त ठुलै हाँगो भाँचे ।
तर पनि ऊ कहिल्यै डगमगे । आत्तिएन, उभिइरहे पहाडसँगै पहाड जस्तै भएर ।
गज्जबको छ मनोबल । एउटा सिङ्गो डाँडाको अस्तित्व बनेको छ । बतासको चहलपहल नहुँदा मौनतामा डुबेर मौन व्रत बस्छ । बतासको चहलपहल हुँदा बैँसको सुस्केरा मार्दै नाच्छ । अहिले यत्तिको वर्षको उमेर हुँदै गर्दा यत्ति रमणीय छ उनको सौन्दर्य । धेरै वर्ष पहिले पक्का ठिटो तन्नेरी उमेरमा कस्तो थियो होला यिनको रूप,रङ्ग र सौन्दर्य ?
शरद ऋतुको आगमनसँगै बुढ्यौलीले चुमेको बूढो रुखमा एक प्रकारको रौनक छाउँछ । उसको पुरानो बलियो पाखुराहरू लिङ्गे पिङको लागि तम्तयार हुन्छ । बाबियोको डोरीमा झुलेर लिङ्गे पिङको पारखीहरू खुसीको मेला बसाउँछ । लोकमा आसीन मान्छेको लागि भरपर्दो मनोरञ्जनको साधन बनेको छ ।
भरिया दाइको भारी बिसाउने बिसौनी बनेको छ । भारी बिसाएर उराठ जीवनको मीठो स्वरमा गुनगुनाउँदै भरिया दाइको यात्रा सहज बनाइदिएको छ । अल्लारे ठिटा-ठिटीको लागि प्रेम गर्ने उत्कृष्ट गन्तव्य बनेको छ ।
तामाङहरूको “धुर्सा” चिहान छेउमा भएकोले जिन्दगी बिसाएर मुक्तिको बाटो जाँदै गर्दा निर्जीव भौतिक देह अन्त्येष्टि गर्ने घाट भएकोले । मृत्यु वरण गरेको शून्यतामा विलीन जिन्दगीको लागि अन्तिम पटक साथ दिन मलामी बनेर गएका बाँचेका मान्छेहरू बस्नको निम्ति राम्रो ठाउँ बनेको छ ।
उनले दिन मात्रै जानेको छ । लिन जानेको छैन । प्रचण्ड गर्मीमा शीतल छहारी दिएको छ । सहनशीलताको उदाहरण बनेको छ । मनसुनले रुझाउँछ । ऊ रुझेर बस्छ चुपचाप । ग्रीष्मले जलाउँछ । ऊ चुपचाप सहेर बस्छ । धर्तीले दिएको भर अनि आकाश बनेको छ ओत त्यहीँ नै काफी छ उनलाई ।
उनको शीतल छहारीमा कति बसे कति । हिसाबकिताब छैन ।
कति बितेर गए । कति उ तन्नेरी हुँदै गर्दाको साक्षी बुढाबाहरू जिउँदै हुनुहुन्छ । सुनाउनु हुन्छ उहाँहरूले तन्नेरो बरको रुखको बखान ।
म खुद जिन्दगीको आधा बाटोतिर आइपुगी सकेको छु । मैले सम्झेदेखि त्यो बरको रुख उस्तै छ । खुब छान मार्यो उनको अङ्ग-अङ्गमा । सानो छँदा सानै सुरको तालमा निक्कै छुल्या काम गरे त्यहीँ बरको रुखमा चढेर बसेर लुकेर ।
बिस्तारै-बिस्तारै समयको वेगमा बग्दै-बग्दै भौतिक विकासको नाममा चुपचाप बसिरहेको पहाडहरूको निधारमा डोजरको दाँतले खोस्रेको छ ।
मेरो गाउँ छेउको चिहान डाँडा पनि अछुतो रहन सकेन बोक्रे विकासको प्रलयबाट । गाउँ-ठाउँको ठालुहरूको निर्णयलाई अङ्गीकार गरेर राक्षस डोजर छिर्यो दाह्रा देखाउँदै ।
विकासको नाउँमा जोते खने अनि सुन्दर प्रकृतिको सुन्दर रूपलाई कुरूप बनाइछाडे । गाउँ तिरकै अवैध सिभिल इन्जिनियरहरूको आदेश पालन गर्दै डोजर ड्राइभरले बनाए बाटो । बाटो त्यहीँ बरको रुखछेउ हुँदै खने । बाटो बन्यो । बाटोमा कहिलेकाहीँ रिजर्भ प्राइभेट गाडी पनि कुदे ।
जमिनमुनि लुकेर बसेको प्राण धान्ने बरको जरामा बाटो खन्दै गर्दा डोजरको दाह्रा झुक्किएर डस्न पुगेछ ।
डोजरको डसाइले ऊ घाइते भएछ । ऊ घाइते भएको तत्काल कसैले थाहा पाएनन्। उनले आफ्नो पीडा सुनाउने कुरा भएन । बिस्तारै उनको पातले रङ्ग फेर्न थाल्यो ।
सदाबहार हरियो रङ्गको पात पहेँलिँदै गयो । उनको वेदना कसैले बुझेनन् । पहेँलिँदै गएको पातहरू बिस्तारै सुकेर झर्न थाल्यो । कसैको आँखा परेन उनीमाथि । जब उनको सबै पात झरेर क्यान्सर पीडित मान्छेको शिर जस्तो भयो । तब थाहा भयो गाउँलेहरूलाई । थाहा हुँदा निक्कै ढिलो भैसकेको थियो । अब उनलाई बचाउन सक्ने उपाय थिएन ।
ठ्याक्कै थाहा छैन कति वर्ष हुन्छ होला रुखको आयु । आयु यकिन थाहा नभए पनि अझै निक्कै वर्ष जीवित रहन्छ होला जस्तो लागेको थियो ।
तर त्यस्तो हुन सकेन उमेर नपुगेरै अल्प आयुमै मरे ती सुन्दर बरको रुख । उनको सुकेको हाँगा-बिगालाई लुछालुछ गरे बाठो मान्छेहरूले । आ-आफ्नो अगेना तताउन । बाँकी रहेको मुडुलो हाँगा-बिगा विहीनको सुकेको रुखको मूल्य तोके गाउँले बन उपभोक्ता समितिमा आसीन सदस्यहरूले ।
तन्नेरी हुँदा कति धेरै मानिस आउँथे अनि बस्थे । तर अब सुकेर कुरूप भएको रुखको छेउमा कोही आएर बस्ने कुरा भएन । हिजोअस्ति उसको छत्रछायामा हुर्केका पन्छी बाटो बिराएर गए ऊतर्फ फर्केर हेरेन । ऊ एक्लै भए। ठ्याक्कै बूढो भएको मान्छेजस्तै । जसरी उमेर हुँदा मान्छेको साथमा धेरै कुरा हुन्छ वरपर धेरै साथहरू रहन्छ । साथको जरुरी नभए पनि ढोङ प्रदर्शन गर्नकै निम्ति भए पनि अघिपछि धेरै हुन्छ । हुनुपर्ने ,नहुनुपर्ने अनगिन्ती साथहरू ।
तर जब साथको जरुरी पर्छ त्यत्ति बेला कोही हुन्न साथमा । त्यस्तै आज सुकेर ढल्न आँटेको बूढो बरको रुख एक्लो भएको छ । बिरानो बनेको छ । मान्छेको जीवन जस्तै । मान्छे बोल्छ ऊ बोल्दैन । मन्छेलाई सजीव भनिन्छ क्यारे ! उनलाई निर्जीव ।
“आखिर उस्तै -उस्तै होइन र ?
एउटा रुखको जिन्दगी र मान्छेको जिन्दगी ? ऊ मरेपछि फेरि बर्केर जीवित हुँदैन । मृत्यु ग्रहण गरेको मान्छे जस्तै ।
खैर !
“धेरै डुबेछु एउटा बरको रुखको जिन्दगीमा” ।
डुब्न पाइन्छ, र त यति धेरै डुबेँ कल्पनामा । यथार्थमा जुन ठाउँमा थियो त्यो बरको रुख आज खाली नाङ्गेको डाँडा मात्रै बाँकी छ डोजरे विकासको प्रलयले मनसुनको झरीको भार थेग्न नसकेर पाखा-पखेरीको ठाउँ-ठाउँमा पैरो गएको छ । पैरो रोक्ने जराहरूको हत्या पछि प्रलय पल्केको छ । बर्सेनि दोहोरिने गर्छ पैरोको कथा ।
गाउँमा पैरो पस्छ । पैरोसँगै कति बाठो मान्छे बगेर गएको छ । कहिल्यै नभेट्ने गरी पैरो बनेर । उष्ण ग्रीष्मको उग्र गर्मीमा निक्कै सताउँछ बरको छायाको यादले । सोचाइमा उम्रन्छ ठ्याक्कै त्यस्तै अजङको बरको रुख । तितो सत्य साथमा पाउँछु उहीँ पैरोले कुरूप बनाएको फुस्रे डाँडा । पहिले-पहिले आँखाको दुरीले हेर्न सक्ने टाढा-टाढाको ढिकदेखि देखिने झम्मको बरको रुखले गर्दा चौतारी डाँडा नामले चिनेको ठाउँको नाउँ नै परिवर्तन भएर पैरो डाँडा नामले चिनिँदै छ ।
थाहा छैन अब त्यो ठाउँमा फेरि त्यस्तै गजबको बरको रुखले जन्म लिन्छन् या लिँदैनन् । लिए पनि त्यतिको ठुलो हुन धेरै वर्षहरू पर्खनु पर्छ ।
डाँडाको शिरमा फुलेको हरियो गुराँसको फूल झरिसकेको छ । कहिल्यै नफक्रिने गरी । शोकाकुल बनेको पहाडको थुम्की । एक हुल चरा विरहको गीत गाउँदै अन्तै बसाइँ सरेको छ । बाटो हिँड्ने नयाँ बटुवाले थाहा पाउने कोसिस गर्दैनन् अब त्यो ठाउँमा ठुलो बरको रुख थियो भन्ने कुराको ।
अब मात्रै कल्पनामा सीमित रहनेछ त्यो ठुलो बरको रुख । मैले नदेखेको मेरो बा को बराजु जस्तै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।