
दार्जीलिङको असारे झरी !
दिन पनि धुम्म छ, अशान्तमन झैं । कचहरीको त्यस अँध्यारो कोठालाई बाहिरको धुम्मले अझ अँध्यारो बनाइरहेछ । मक्किइसकेका पठाइ, लिउन उप्किसकेको भित्ता र माकुराका जालाहरू । कोठाका तीन वटा ठूलाठूला मेल, तिनमाथि दुई वटा धेरै पुराना टाइप मेशिन, यत्रतत्र छरिएका र धूलाले भरिएका फाइलहरू, फाइल नै फाइल चिम्नीमाथि दराजभरी, टेबुलभरी र कोठाको एक कुनामा लहरै ताकमा पर्वत झैं थुपारिएका फाइलहरू – मानो यी जम्मै फाइलहरूको एउटा सानो संसार हो । कोठामा भएको त्यस चिम्नीले त्यस कोठाको विगत इतिहास भन्दछ र आफै इतिहासका खण्डहर झैं उभिइरहेको छ।
‘कस्तो अल्छीलाग्दो दिन पानी परेको छ, परेको छ,’ बाहिरको धुम्म हेर्दै देवान बाबुले भन्यो ।
अर्को मेचमा पुरानो फाइल पल्टाउँदै गरेको बङ्गाली किरानी दत्त बाबुले टाउकै नउठाई उत्तर दियो, ‘एई तो वर्षा शुरू भयो…, अब शेष नेई…’
देवानलाई आफैमाथि रीस उठ्यो यस्तो नीरस मान्छे, फाइलहरू जस्तै सेन्टिमेन्ट नभएको ढुङ्गा मुढा । देवानले आफूअगिको मेच हेर्यो । मिस राई (नैनकला राई, अर्थात एन. के ) को मेच आज पनि खाली छ- उसले घडी हेर्यो एघार बज्न पाँच मिनेट ।
मिस राई सधैं अबेर आउने-एउटा कन्भेनशन नै बनिसक्यो । मिस राईको उपस्थिति रजिस्टरमा प्रायः रातो धर्सा कोरिन्छ- तर ऊ पर्बाह गर्दिन उसको पे प्याकेटमा कतै तलमाथि भएको कसैले सुनकै छैन ।
आज देवानलाई केही गर्ने जाँगर छैन । उसका द्रुतगतिले चल्ने औंलाहरू मानौं जड छन् । उसलाई त्यस अभ्यस्त कोठा पनि आज ज्यादै नै शून्य र सारहीन लागेको छ । अहिले ऊ भएकी भए टाइपका यी खल्ला ध्वनिहरूमा उसले निरन्तर बोलिरहँदा एउटा सङ्गीत र लय थप्ने थियो ।
उसलाई मौन देखेर दत्तबाबुले छेड हान्दै भन्यो, “देवान बाबु मन लागेन, लाग्दैन भने पनि लगाउनै पर्छ यो वर्षाकाल नै यस्तो कवि कालिदासले यस्तैमा मेघदूत रचित गरेको ।’
अनि ऊ चुप्प भयो र पुनः मौन छायो ।
साँच्चै उसलाई केही भन्न मन परेकै छैन । ऊ अघि छाता ‘ओढेर पनि निथ्रुक्क भिजेको चिसा ढाडिएका जुत्ता र प्यान्ट-कोट कुर्सीको अडेसमा झुन्ड्याए तापनि उसलाई नराम्रो चिसोको अनुभव भइरहेको छ । ओसिएको दिन । टक् टक् टक् त्यो जरूरी चिट्ठी उसलाई बुझाउनुछ । अफिसको बूढो चपरासीले काखीमा फाइलहरू च्यापेर भित्र पस्दै भन्यो, “इः यो मिस राईको काम अहिले गर्नुपर्यो- बडी जरूरी छ ।” उसले त्यहीं नै त्यो फाइलहरू टेबलमा थुपार्यो ।
“ए ! अहिलेसम्म पनि…” देवान र दत्तबाट कुनै प्रत्युत्तर नपाएर उसले देवानलाई भन्यो, “बाबु ! भदिनोस् है – जरूरी छ रे ।”
देवान चूपचाप टइप गर्दै बस्यो । टक् टक् मक्किएको पटाइमा मिस राईको स्यान्डलको आवाज प्रष्ट सुनियो । भित्र पस्दै उसले भनी, “यस पानीले गर्दा बाटोमै थुनिएँ । यस सानो छाताले के ओतिन्थ्यो र ?”
देवान र दत्तले यस्तो ऐक्स्प्लानेशन सुन्दै आएकाले कुनै कमेन्ट गरेनन् । उसले देवान छेउ आएर भनी, “के साह्रो व्यस्त भएको । जहिले पनि काम काम ।”
देवानले ठान्यो यो पनि उसैको कोटेशन मध्ये एउटा हो । देवानले टाउको उठाएर हेर्यो र जिल्ल पर्यो । आज ऊ साह्रै बनिएर आएकी छ – पक्कै सिनेमा वा कतै जाने प्रोग्राम होला ।
दत्तले हाँस्दै भन्यो, “मिस राई – भालो तो ।” ऊ त्यसलाई टेर्थी । देवानले चपरासीले जरूरी कागज टाइप गर्न छोडेको फाइल देखायो ।
उसको सारा उत्साह मन्द भयो, झर्केर भनी, “यत्ति धेरै काम । ए म ता एक बजेसम्म बस्छु । आज आधा दिन छुट्टी लिन्छु ।”
“होइन – आधा दिन छुट्टी लिन्छु ।” अनयुजुअल होइन, पवाइट कमन – देवानले टाइप गर्दै सोच्यो ।
ऊ बडो गम्भीर भएर टाइप गर्न थाली हत्तपत्त । अरू बेला भए ऊ देवानकै टेबलमा घण्टौं बस्थी, तर आज उसलाई बाहिर जानु छ । तर देवान उसलाई सोध्दैन । कारण उत्तर ऊ जान्दछ ।
ऊ भन्छे- “मेरी मलायाबाट आएकी साथी पर्सि जान्छे । उसैसित प्रोग्राम छ, अथवा एउटा साथीको इनगेजमेन्ट, अथवा… ।”
“यो के लेखेको हँ देवान बाबु ? म ता साबको अक्षर नै बुझ्दिनँ ।” मिस एन. के. देवानको टेबुलमा आई र केही तल निहुरेर देखाउन थाली । देवान पनि टाइप छोडेर निहुर्यो । देवानको फोक्सोभित्र तेलको सुगन्ध भरियो । एउटा हात अचानक मिस एन. के. को हातमाथि पर्न गयो । देवानले एउटा सन्तोषको अनुभव गर्यो । उसले ठान्यो एन. के. को प्रत्येक कुरो नै सुरुचिपूर्ण, केश कोराइ, लुगा फाटा लगाइ, रङ्गको चुनाव र साडी चयन ।
…तर रूपा – हिजोआज के भएको छ तिम्लाई ? सानो सानो कुरामा झर्किनु, ठुस्सिनु, रिसाउनु, मुखलाग्नु । आज बिहान पनि वा एउटा सानो कुरामा त्यत्रो झगडा ! आज मात्र उन्नाइस तारिख । फेरि नानीको ग्लाक्सो किन्ने पैसा चाहियो । ग्लाक्सोको दाम बढेको छ । मैना नपुगेर जन्मिएकी रम्भालाई डाक्टरले नै ता ग्लाक्सो दिने सल्लाह दिएको तर उफ् ! कत्ति चाँडै चाँडै सिद्धिन्छ ग्लाक्सो ! दाम पनि कत्ति बेसी । तर के गर्नु रम्भालाई ग्लाक्सो नदिई हुँदैन । अरू तीन जना ग्लाक्सो नखाई हुर्के । अनि त्यही ग्लाक्सोको पैसा निम्ति झगडा पर्यो । उसले के भन्यो, थाहा भएन तर रूपाले कराउँदै भनेकी थिई – मैले केही न केही काम गर्नैपर्छ, एउटाको कमाइले पुगेन । आफूले धेरै पढेको भए पो । साग-सब्जी नै बेच्छु बरु आफूलाई पनि हुने । रूपा अघि त्यस्ती होइन । राम्री, स्वस्थ तर अहिले कसरी लत छाड्छे कपाल कोर्न फुर्सद पनि पाउँदिन जाँगर नभएको होइन…।
“खइ ! ता देवान बाबु ।” एन. के. ले भनी, “दत्तबाबु हेर्नोस् ता बाज देवान बाबु खूबै मूडमा हुनुहुन्छ – आज पनि भाउज्यूसित ठटाक् ठुटुक भयो कि ?”
दत्तले ङिच्च दाँत देखाएर भन्यो, “आज तपाईं साह्रै ढिलो आउनुभयो कि ।”
देवानले गम्भीरतासित भन्यो, “खोइ के। एः यो एक्सटेनशन-एक्सटेनशन अफ द प्रोग्राम’ ।
ए बूझें, “म ता एसोसिएशन कि एफिलिएशन भन्दै थिएँ,” एन. के, ले आफ्नो टेबुलतिर जाँदै भनी ।
त्यस अँध्यारो कोठामा टाइपको आवाज मात्र सुनियो । देवान पुनः विचारमग्न भयो – रूपा…, नानीहरू…, ग्लाक्सो किन्ने पैसा…, आज बेलुकी रम्भालाई ग्लाक्सो नलगी हुन्न यता मिस एन. के. आफ्नै शृङ्गार र प्रोग्राममा मक्ख उता दत्त बूढा विचरा उसका रङ्ग खुइलिसकेका थोत्रा कोट यस कोठाको थोत्रोपन सित साह्रै म्याच गर्छ ।
दत्तले आफ्नो जीवनका सुनौला दिनहरू यस्तै चिसो, थोत्रो र मक्किइसकेको कोठामा बिताएको छ । देवानका औंला टक्क अडिए रिबन खुस्केछ । त्यसैलाई मिलाउँदै देवानले सोच्यो यस्तै अमिल्दा जीवनलाई मिलाउँदै जानु कत्ति सारो ।
दत्तको रिटायर्ड हुने दिन आयो तर उसले त्यस दिन भनेको थियो, “रिटायर्ड भएर के गर्नु ?” मिस एन. के. को टेबुलबाट टाइपको चर्को आवाज आउँदै छ – उसलाई एक बजेअघि काम सक्ने हतार छ । आज देवानको हात चलेको छैन – मन दौडिरहेछ, घरमा रूपा, रम्भा र नानीहरू । रूपासितको प्रथम भेट, विवाह – छोराछोरी ।
ध्वार्र…, एन. के. चौकी पर सारी, कागज पत्रहरू मिलाई । ती जम्मै बोकेर बाहिर गई । बरु बेला भए ऊ घण्टौं देवानलाई काम गर्ने नदिने थिई, सम्भव छ यी कागजहरू देवानलाई साबकहाँ पुर्याउन लाउने थिई तर आज उसलाई स्वयं नै पुर्याएर छुट्टी माग्नु छ ।
आँधी जस्तै तुरुन्तै हत्तपत्त ऊ कोठामा पसी र हाँस्दै भनी, “छुट्टी मन्जुर, म हिंडें । देवान बाबु ! यी बाँकी चिट्ठीहरू तपाईंले टाइप गरी दिनुपर्यो – साबले भन्नुभएको ।”
देवानको नौ नारी गल्यो ।
दत्तलाई कराएर भनी, “दत्तबाबु तपाईंलाई साबले बोलाउन भएको छ झट्टै ।”
“हँ !” दत्त हत्तपत्त हडबडाएर उठ्यो र कोठाबाट हानिंदै गयो, मानो उसबाट कुनै ठूलो अपराध भएको छ ।
मिस एन. के. ब्यागबाट एउटा सानो ऐना झिकेर आफ्नो केश मिलाउन थाली । रुमालले मुख पुछेर एउटा सानो पफ मुखमा दल्न थाली । अरू के के गरी फेरि देवानले उता हेरेन ।
एकै अथवा चर्को आवाजमा बोलाई, “देवान बाबु, म गएँ । भोलि भेट होला ।”
देवानले हाँस्दै भन्यो, “पिक्चर कस्तो छ भन्नु होला ।”
एन. के. ले फर्कंदै भनी, “म पिक्चर गएको हो र ? जहिले पनि डाउट गर्ने बानी ।”
ऊ रिसाउँदै ठक् ठक् गर्दै गई । तर जाँदाजाँदै भनी, “गएँ है ।”
देवानलाई शून्य लाग्यो । टेबुलअघि एक रास टाइप गर्ने कागजहरू देख्दा उसलाई रीस उठ्यो – “कोई मरी मरी, कोई परि परि ।’
उसले शून्य दृष्टिले हेर्यो – तल मैला पटाइमा के को कागज ।
देवान उठ्यो । अरे दश रुपियाँको नोट ! अघि एन. के. को ब्यागबाट मेकअप गर्दा झरेको हुनुपर्छ । उसले ठान्यो – एन. के. कचहरी कम्पाउन्डबाट धेरै टाढा पुगेको छैने होली, उसलाई दगुरे भेट्टाउन सकिन्छ । तर झट्ट उसले ठान्यो रम्भाको ग्लाक्सो । ऊ चारैतिर हेर्छ – दत्तको चौकी खाली देख्दा उसलाई सन्तोष लाग्छ र हत्तपत्त उसले त्यो नोट आफ्नो तातो गुट्ठीभित्र बन्द गर्छ ।
(‘भारतीय नेपाली कथा’ संग्रहबाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

