
‘छिः हावादारी सपनाको पछि लागेर जिन्नकीका उनौला बाह्रवर्ष त्यसै खेर फाल्ले छ नि पुँइचीका बाउ ?’
ऊ आफ्नै सुरमा बोलिरहिछ । मेरो समर्थन लिन उसले यो कुरा बोलेकी हो । तर, मलाई भने समर्थन जनाउन पनि अल्छी लागिरहेको छ ।
अघिअघि डेढ किलोको फरुवाले ड्याङ खन्दै गा’छु । पछिपछि ऊ आलुको बिउ र कुखुराको सुली खसाउँदै हिँडेकी छ । आलुखेतीमा कस्सेर लागेका छौँ हामी बूढाबूढी नै ।
मलाई आज वाहियात संवादमा सरिक हुन भित्रबाटै झर्को लागेर आएको छ । यो कुरा उसले बुझेकी छ । र, पनि बीचमा प्यारप्यार बोलिरहेकी छ । विगतको विद्रुप चित्रलाई कोट्याइकोट्याई निकालिरहेकी छ । मनमा खाटा बसेका घाउका पाप्रा उक्काइरहेकी छ ।
‘खानी भन्ज्याङ र गाईखुर भिडन्तमा त रौँ प्रमाणले बाँचिएको हो नि; हामीसितै भिडेका छत्रे, दुमे, सोमबहादुर र सङ्गीता ठाउँको ठाउँ परमधाम भए । खोइ के पाए त मरेर पनि ?’ उसले सत्य कुरा नै बोलेकी थिई । तर, मलाई भित्रैदेखि झ्वाँक उठ्यो ।
‘मरिजानेले के पाए भनेर पो चिन्ता छ यसलाई ? तँ र म अहिले जीवितै छौँ, पाखुरामा गोलीका खतहरू जीवितै छन् । हामीले चैँ के पायौँ ? त्यो कुरा सोच्न । जिउँदाले त क्यै पाएनन् । मरिजाने लाशले कताबाट पाउनु । तैँले त आफ्नो पाउनुको हक पैरवी गर्न सकिनस् । मुर्दा भै गएका मानिसले कताबाट पैरवी गर्न सकुन् ।’
सायद मेरो यो जवाफ उसको निम्ति अलिकति कठोर भयो होला । अनपेक्षित जवाफले चुप रही । म भने चुपचाप आलुको ड्याङ खन्नुमै निमग्न रहेँ ।
भदौको मसान्ताका दिन धमाधाम आलु रोप्तै छौँ बारीमा । सधैँ असोज बिस बाइसमा रोपिन्थ्यो । यो चोटि अगौटे आलु मङ्सिरकै दिनमा निकाल्न सकियो भने बजार भाउ राम्रै पाइएला कि भन्ने आशा छ ।
तत्काल पानी परेर बिउ कुहिदिएन भने यो आलुलाई शीतलहरले पनि भेट्दैन भन्ने अनुमान छ ।
तालु नै फटाउने गरी टट्यान घाम लागेको छ । तीन दिनदेखि लगातार आलु रोपिरहेका छौँ । आलु रोप्नुअघि भिण्डी, फर्सी, तितेकरेला निकालेर बेचियो ।
कुखुराको सुली, गोबरमल र अन्य घरेलु प्राङ्गारिक मलको प्रयोग गरेर सागसब्जीको उत्पादन गरिने भएकाले यस फेटमा घर डेरा गरी बस्ने कर्मचारी, व्यापारी र विद्यार्थीहरू बारीमै किन्न आउँछन् । हुन त बिचौलिया व्यापारी सस्तो दाममा प्राङ्गारिक उत्पादन उम्काउन नआउने होइनन् । तिनलाई प्राथमिकतामा राखेको छैनौँ अहिले । आफ्नो उत्पादन स्थानीय रूपमै हारालुछ गरी खपत भइरहेको छ भने बिचौलिया ठगहरूलाई माल किन दिइरहनू । फेरि बाहिर पठाउन सक्ने परिणामको उत्पादन पनि त गर्न सकिएको छैन । जे जति निस्केको माल फुटकर किन्नेले नै भ्याइहाल्छन् ।
ऋणपान गरेर गोठमा दुई माउ जर्सी गाई पालेका छौँ । त्यसको दूध बजारमा लगेर बेच्छाैँ । मौसम अनुसारको सब्जी खेती गरेका छौँ । त्यसको आम्दानीले बिहान बेलुका हातमुख जोड्न पुगेकै छ । पुँइची र पूर्णेलाई अङ्ग्रेजी स्कुलमा भर्ना गरिदिएका छौँ । छोरी पुँइचीको कुरा गर्दा युद्ध मैदानमै जन्मिएकी हो ।
बैसठ्ठी साल अघिका बाह्र वर्ष युद्धमा हिँडियो । गरिबको जनवाद ल्याउने महान् सपना थियो । शोषणको सत्ता समूल नष्ट गर्ने आकाङ्क्षा थियो । सपना र आकाङ्क्षाका कारण जीवन अतिशय जोखिममा राखेर भीरपहार हिँडियो । सेना प्रहरीका अनेकन् दुर्गहरूमा आक्रमण बोलियो । नेतृत्वको निर्देशन र मर्जीमा के नै पो गरिएन र ?
शूरताका नयाँनयाँ कीर्तिमान रच्न हाडेबाजी चल्थ्यो । अहिले मरिजाने साथीहरूका अनुहार सम्झिन्छु । कताकता कहाली लागेर आउँछ । उनीहरूले आफ्नो अमूल्य जीवन माटोमा मिलाए । उनीहरूले त केही पाएनन् पाएनन् उनका स्वास्नी छोराछोरीको बिल्लिबाठ छ । घाइते बेपत्ताका परिवारजनको चिहिलबिहिल छ । बाहिर भोक, रोग र अनेकन् अभावको आगो छ, भित्र अकथनीय औडाह र अशान्तिको आगो छ । त्यस आगोले हरक्षण हरमिनेट भतभती पोल्छ । तर, केही दर्जन नेताहरूको जीवनमा साँच्चै नै रोशनी छाएको छ । हिजो खान नपाएर चाउरी परेका गाला यति रातोपिरो भएका छन् । यति मोटाघाटा र चिल्ला भएका छन् । उनीहरु आलिसान महलमा रजगज गरेर बसेका छन् । करोड करोडको चिल्ला गाडीमा हुइँकिन्छन् । मिठो मसिनो सुस्वाद भोजन उनकै चुलोमा पाक्तछ ।
यति ठूलो लडाइँ र बलिदानको अभीष्ट केही थान मान्छेलाई सत्ताको चरम सुखभोग गराउनु मात्र थियो त ? मेरो मनमा यही प्रश्नले बारबार ऐँठन गर्छ । पुँइचीकी आमालाई पनि यही प्रश्नले हिर्काइरहन्छ ।
कोदालो खन्दाखन्दैको म कलमा गएर एक जग पानी खिच्छु । ठाडो घाँटी लाएर घटघट पानी पिउँछु । भित्र अग्निज्वाला बनेर उठेको तिर्खा मेटिन्छ । डिलमा टुसुक्क बसेर एक चिम्टी खैनी माडेर ओठको चेपमा घुर्साछु । पुँइचीकी आमा भने एकसुरमा आलुको बिउ रोप्तैछे ।
उसको मुहार नियाल्छु- ऊ पनि पसिनाले लथपथ भएकी छे । घाम र कामको चापले गाला राता राता भएका छन् । उसको निधारमा बगेको मोतितुल्य पसिनाका दाना देखेर मभित्र करुणाभाव जाग्दछ र बोल्छु- “तिर्खा लागेको छैन, मैले त एकजग पानी घुट्क्याइसकेँ त…। पिउने भए पानी खिचेको छु मैले ।”
आलुको बिउ रोप्तारोप्तैकी पुँइचीकी आमाले पिलिक्क टाउको उठाएर मतिर हेरी । बिउको आरी आलीमा राख्तै भनी, “आफूलाई कस्तो हरहर भएको छ । यीँ लेइदिनु न, एक जग त म पनि सासै नफेरी घुट्क्याउँछु ।”
मैले उसको हातमा पानीको जग थमाएँ । उसले तनतनी सासै नरोकी पानी पिई । सलको फेरले अनुहारका पसिना पुछी ।
“यस्तो घाममा एक ट्वाक मोही पिउन पाए कस्तो मजा हुन्थ्यो ।” उसको कुरामा थोरै खिसी गर्न मन लाग्यो ।
“पिउँलिस् मोही । हाम्रो भागमा परेको यही चिसो पानी हो । यसमै सन्तोष गर पुँइचीको आमा ! आफूसँग नभएको चिज खोजेर दुःखी न हो क्या ।”
“के नभएको चिज ! बिहान बेलुका त्यत्रो दूध दुहिन्छ । सबै डेरीमा पुर्याउनुपर्छ । यसो एकडेढ लिटर घरमै दही जमाउँदा महीपखाल खान नपुग्ने त होइन । मनकै कुरा त हो नि, खै के के ! लोभैले नदिएको होला ।”
“अँ अँ तँलाई त्यति सजिलो छ नि ! दूध दही खान थालिस् भने पुँइची र पूर्णे पढ्छन् कि बोर्डिङ !”
यो पटक उसले मेरो कुरामा केही प्रतिवाद गरिन । अर्थात् मलाई जवाफ दिन आवश्यक पनि ठानिन । सुमुसुमु ड्याङमा मल खसाउँदै आलुको बिउ राख्नुमै एकोहोरो भई ।
पुँइचीकी आमाका अनेकौँ भित्री गुणहरू छन् । जसलाई म भित्रै देखि मन पराउँछु । बाहिरी सुन्दरता त त्यति हिस्सी परेको छैन । कल्साउँदी कल्साउँदी रङकी गठिलो शरीर छ उसको । काम गर्न लड्न भिड्न ज्यादै माप्पाकी छे । त्यसै कारणले युद्धमोर्चामा नै यसलाई मैले मन पराएँ । सुरुमा मैले मन पराएको कुरा ऊ सामु राखे पनि ऊ पनि मलाई भित्रभित्रै मन पराउँदी रहिछ । हृदयबाटै मलाई चाहँदी रहिछ । मैले प्रेम-प्रस्ताव राख्ने बित्तिकै के खोज्छस् कानो आँखो भयो दुवैको निम्ति । यसरी लडाइँकै मैदानमा अनायासै हामी प्रेम-प्रणयमा बाँधिएका थियौँ ।
मोहीको तिर्सना मेट्न नपाउनुका आफ्नै पीडा छन् हामीसित । गाई त पालेका छौँ, बिहान बेलुका दुईदुई बाल्टिन दूध पनि दुहुन्छाैँ । तर, डेरीको गाडी हर्न बजाउँदै साँझ बिहान करेसामै हुइँकिएर आइपुग्छ । एक त हामीलाई कृषक सहकारीले ऋणमै दिएको छ गाई । त्यसको किस्ता पनि छिनाउँदै लानु छ । अर्कोतिर पुँइची र पूर्णेलाई महँगै स्कुलमा हालेका छौँ । जहाँ निकै राम्रो पढाइ हुन्छ, त्यसैकारणले बच्चा पढाउन लोभिएका छौँ ।
म सम्झिन्छु- “बरु गुन्द्रुकको झोलसित भात खाने हो, निख्लो पानी पिएर दुःख गर्ने हो, नानीहरूलाई त जुगजमाना अनुरूपको गुणकारी शिक्षा दिनै पर्छ ।”
उसैले कर गरेर भनेकी हो । त्यो अङ्ग्रेजी आवासीय स्कुलमा नानीहरू पढाउनका लागि उसैले पहलकदमी लिएकी हो ।
मान्छे आफू साधारण लेखपढभन्दा माथि उठेकी होइन । तर, नानीहरूलाई जुगजमाना सुहाउँदो शिक्षादिक्षा दिनुपर्छ भन्ने कुरामा औधी सचेत छे । ज्ञान र शिक्षा भन्दा ठूलो चिज दुनियाँमा अरू केही छैन भन्छे ।
अलिकति दूध फुर्मास गरियो भने गाईको किस्ता तिर्ने कुरा र नानीहरूको मासिक फी बुझाउने कुरामा गडबड हुन्छ भन्ने कुरा बुझेकी छ । कहिलेकाहीँ त हामी मनको लड्डु घिउसित खान्छौँ पनि ।
“हेर ! पुँइचीकी आमा सहकारीको किस्ता कुइट गरेपछि बिहान बेलुका खीर पकाएर भक्कु खानुपर्छ ।”
मेरो कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिन्छे । अनि ओठ लेपार्दै भन्छे, “खायौ खीर । तिम्रा खीर खाने दिन गा’का अब ।”
“के भन्छे यो । कसरी जान्छन् खीर खाने दिन ।”
“कसरी जाँदैनन् ? किस्ता सकिने बेलासम्ममा नानीहरू कलेज पढ्ने भैसक्छन् । अनि उनीहरूलाई कति पैसा खेप्नुपर्छ ? हिसाब गरेका छौ के ? अहिले पो स्कुल तहमा छन् । तै बरु कम-कमै खेप्नु परेको छ । भोलिका दिनमा त अझै खर्च बढ्छ क्या ।”
“हो, त्यो कुरा त मैले भुसुक्कै बिर्सेको…।” कतिपय कुरामा उसको अगाडि म कायल कायल हुन्छु । उसमा जुन दूरदृष्टि छ, आफूमा त्यसको अभाव देख्छु । भोलिका दिनमा पनि गाईको दूध बेचेरै नानीहरूलाई कलेज तहको स्तरीय शिक्षा दिने सपना छातीभरि सजाइसकेकी छ उसले ।
म आलीमा टुसुक्क बसेर नानाभाँती विचारमा रुमल्लिइरहेको बेला उसका वचन-वाण कर्णविवरमा आइथुर्रिए, “के झोक्राई बसेको होला । आज साँझसम्म त यो तीन कठ्ठाको प्लट रोपिसक्नुपर्छ । भोलि दिनभरि त खोरियाबाट सेउला ल्याएर छोपिसक्नुपर्छ त ।”
उसको कुराले मेरो मनोशरीरमा एक अतिरेक ऊर्जा प्रवाहित बन्यो ।
फरुवाको बिँड समातेर एक सुरले ड्याङ खन्नमा दत्तचित्त भएँ । ऊ पनि मल छाप्ने र आलुको बिउ रोप्ने काममा एक सुरले लागिरही । बाँस झ्याङमा रुपीका हुल चरिबिराउन थालेपछि मेलोबाट निस्क्यौँ । त्यतिन्जेलमा धर्ती मातालाई रातको कालो घुम्टोले लपेटिसकेको थियो ।
० ० ० ०
“पुइँचीका बाउ ! म त घाँस हिँडे है । भात-तिहुन गर्नु है ।” पुँइचीकी आमाका वचन मेरो कर्णविवरमा ठोक्किए । म भने बिहान उठेर फरुवाको बिँड खुर्किँदै थिएँ । पुरानो बिँड भाँच्चिएकोले नयाँ बिँड चिल्याउँदैछु । मुन्टो हल्लाएर हुन्छ हुन्छ भनेँ । ऊ आफ्नो बाटो लागी । म एक सुरमा फरुवाको बिँड गोल्याउँदैछु । मलाई विगत जीवनदेखि न गौरव छ, न पश्चात्ताप नै छ । विगत प्रति निस्पृह रहेर वर्तमान बाँचिरहेको छु । हिजो आदरका आँखाले हेरेका मान्छे आज पतनको खाल्डोमा खस्तैछन् । हिजो जुन मान्छेसित भेट्ता श्रद्धाले शिर निहुरिन्थ्यो । त्यो मानिस स्खलित छ आज । र त्यस्ता मान्छे बाटोघाटोमा भेट्दा पनि भित्रैबाट दिङमिङ लागेर आउँछ ।
हाम्रा सपना काँच्चै चबाइखाने मान्छेप्रति आदरभाव राखिरहनु पर्ने जरुरी पनि भएन । जुन प्रयोजनको लागि मैले र पुँइचीकी आमाले बन्दुक बोकेर झोरजङ्गल छिचल्यौँ, त्यो बलिदानी भावले अरूलाई के के दियो थाहा छैन । तर, हाम्रो वैयक्तिक जीवनमा प्रत्यक्ष अनुभूति गर्न मिल्ने गरी त्यसको मधुरो ज्योतिसम्म पनि काहीँकतै देखिएन ।
हुन त निजी सुख-स्वर्ग रच्न हामी युद्धमा होमिएका थिएनौँ । तमाम विपन्न वर्गको मुक्तिका खातिर त्यो महाभियानमा जुटेका थियौँ । तर, सोचेजस्तो परिणाम हासिल हुन सकेन । हामीलाई नेताहरूले काम लागुन्जेल भाँडो त्यसपछि आफल तेरो ठाँडोको रूपमा परित्यक्त पारे । त्यसैले काँधमा बोकी आएको थोत्रो बन्दुक फालेर फरुवाको बिँड समातेँ । बरु यसले साँझबिहानको रोटी, कपडा र नानीहरूलाई अक्षर जुटाइदिएको छ । त्यसैले यही फरुवाप्रति पो दिन प्रतिदिन आस्था र आदर पन्छिँदै गएको छ । फरुवाको बिँडप्रति नै जीवनको विश्वास चुलिँदै गएको छ ।
बन्दुक बिसाएपछिका पहिलो, दोस्रो र तेस्रो चुनावसम्म खटेका हाैँ हामी । चुनावमा पुँइचीकी आमा र मैले भोट हालेका हौँ । भोट माग्न पार्टीको अभियानमा पनि हिँडेका हौँ । तर, राजनीतिका नाममा अनेक विकृत दृश्यहरू हेर्नुपर्यो । जनताले अनेकन् विरोधाभाषी विसङ्गतिहरू व्यहोर्नु पर्यो । त्यसपछिको परिदृश्यले त मलाई राजनीतिबाट पुरै विरत बनायो । गाईपालन र आलुखेतीमा लागेपछि भने कतिवटा चुनाव आए, गए त्यो पनि थाहा भएन ।
दूषित राजनीतिले परिवेशलाई दंशित पारेपछि यसप्रति हामी दुवैमा गहिरो विरक्तिबाेध जाग्यो । अब अन्याेल र अनिश्चित भविष्य आँ मुख बाएर हामीलाई निल्न आतुर थियो । लामो समय के गर्ने, कसो गर्ने किंकर्तव्यविमूढ भएर बित्यो । हाम्रा सामु दुइटा नानीहरूको जीवन निर्माणको सवाल थियो । अव रुमानी सपनाको पछाडि बतासे पाराले दौडिने समय थिएन हामीसित । रोजीरोटीको सहज व्यवस्थापन र नानीहरूको शिक्षादीक्षालाई मूल प्राथमिकतामा राखेर गौपालन र आलुखेतीको बाटो रोज्यौँ ।
हाडतोडा मिहेनत गर्दै गैयो । नभन्दै सन्तोषका साथ बिहान बेलुकाको गाँस जुटाउने र बच्चा पढाउने धुनमा लवलीन भएर लागेका छौँ ।
नेताका कुरा पुरै नक्कली लाग्न थाल्यो मलाई । उनीहरूका सिद्धान्त र व्यवहारमा ठिक विपरीत दृश्य देखेँ । भन्ने कुरा एउटा गर्ने कुरा अर्कै । बोलीमा एउटा चिज काममा अर्कै चिज । आफू सोझो मनले लागियो । यिनीहरूका सिद्धान्त र व्यवहारमा भारी विरोधाभास भेटेँ । मेरो छातीलाई राजनीतिप्रतिको वितृष्णा बोधको कुहिरोले छोप्दै लग्यो । गौसेवा र आलुखेतीलाई नै जीवनको मूलमार्ग बनाएँ ।
० ० ० ०
सत्तरी सालको चुनावमा हिजोका साथीहरू पटक पटक भेट्न आए । मलाई फकाउनको निम्ति । फेरि राजनीतिमा सक्रिय बनाउनको निम्ति । मैले फेरि उनीहरूको पछुवा बनेर हिँड्नुमा कुनै सार्थकता देखिनँ । हामीलाई पछुवा बनाएर अगुवाहरू माथि जाँदा रहेछन् । मनमौजी तर मार्दा रहेछन् । सत्ताको सुस्वाद भोजन अपच होउन्जेल डकार्दा रहेछन् । हामी हनुमाने कार्यकर्ता भएर तल लडिदियो, भिडिदियो तर, उपलब्धि शून्य ।
गुवालीमा ड्वाँ गरेर गाई करायो । त्यही बेला यामानको घाँसको भारी सिकुवा छेउमा पुँइचीकी आमाले डङ्ग्रङ्ग लडाई । अनि पो म झसङ्ग ब्युँझेँ । फरुवाको बिँड मठार्नमै सोचाइको प्रेमिल तन्द्रामा मजाले नै बगेछु ।
“यतिखेरसम्म पानी पनि भरेका छैनौ ? फरुवाकै बिँड सुमसुम्याई राख न । के खालको मान्छे ।” पुँइचीकी आमाको आवाजले झसङ्ग भएँ । हतार हतार निदालमा फरुवाको बिँड घुसारेर सिलिबरे गाग्री टिपेर धारातिर हिँडेँ ।
“होइन होइन ल्याइहाल्छु नि !” मैले सक्पकिँदै दिएको जवाफमा उसले खोइ के बुझी कुन्नि ? टेढो आँखाले हेरेर मुसुक्क हाँसी ।
म धारातिर कुदेँ ।
पानी भरेर घर आइपुग्दा उसले बारीबाट भिण्डी र घिरौँला टिपेर काटिसकेकी थिई । मैले चामल चौल्याएर चुलोमा भात टेकाएँ । ऊ तरकारीको धन्दातिर लागी । म भने आँगनमा कुखुराको खोर टाल्न थालेँ । दुई माउ लोकल पोथी पालेका छौँ, नानीहरूलाई अण्डा खुवाउनका लागि । एकजोर हाँस पनि हालेका छौँ । बेच्ने गरी व्यावसायिक प्रयोजनका लागि त होइन । आफैँलाई कहिले काहीँ मासु अण्डा खान सजिलो भएको छ । गर्यो भने के हुँदैन र ?
दुई माउ पोथीका चल्ला, पोहोरा र भालेले घरलाई रनघन बनाएका छन् । तर, कुखुराको जात रुखो जात हुँदो रहेछ ।
घुर्यान र करेसाबारीको सागसब्जी एकैदिनमा चुँडेर खोस्रेर खाएर स्वाहा बनाइदिन्छ । दिनभरि खोरभित्रै थुन्यो । भित्रै दानापानी राखिदियो । आफूलाई फुर्सद हुँदा घरीघरी आफ्नै निगरानीमा चौरी र घाँसेबारी चराउन निकाल्यो । चारवटा दुईदुई केजीका भाले बेचेँ । यसरी अण्डा, भाले र पोहरा बेच्दा नानीहरूको महिनाभरि फि तिर्न पुग्छ ।
० ० ० ०
महिनादिनअघि पार्टीका पुराना नेता कमरेड आकाश आएका थिए । उनले त्यो रात यतै बास बस्ने इच्छा देखाए । एउटा भाले बाँकी थियो, त्यही भाले काटेर मासुभात खुवाएर पठाएँ ।
रातभरि गफियाैँ । हिजोका युद्धकालमा हामी सँगसँगै सङ्घर्षमा होमिएका थियौँ । त्यतिखेर पनि कमरेड आकाश हाम्रो अगुवा नेता नै थिए । अहिले पनि उनी पार्टीको सक्रिय नेतृत्वमै छन् ।
खानापछि रात्रि विश्रामको बेला निकै लामो गन्थन-मन्थन चल्यो ।
कुराको पोयो फुकाउँदै कमरेड बोले, “होइन ! कमरेड तपाईं जस्तो बहादुर योद्धाले राजनीतिप्रति पुरै वितृष्णा राख्नु भएन । हिजो हतियार उठाएर लडेको मानिस आज गुमनाम हुनुभयो, यो हाम्रो पार्टीको निम्ति चिन्ताको विषय भयो । अब फेरि सक्रिय हुनुपर्छ ।”
जुँगा चल्यो कुरा बुझ्यो भने झैँ उनी किन बास बस्तै मलाई खोज्दै आएका रहेछन् भन्ने कुरा थाहा पाउन कुनै गाह्रो भएन । उनी फेरि मलाई प्रलोभन दिन आएका थिए । सिधासिधी भन्ने हो भने मलाई फकाउन आएका रहेछन् भन्ने थाहा पाइहालेँ ।
“महाशय ! मलाई अब त्यो फोहोरी दलदलमा नतान्नुस् । परिवर्तनका धेरै दृश्य देखिसकेँ । अब मलाई कुनै भ्रम छैन । यिनीहरू आफ्नै गोजेरो भर्न र पजेरो चढ्न युद्ध गरेका रहेछन् । हिजो आत्म-बलिदान गर्नेले पनि नाहकमै ज्यान फालेछन् । आफैँ भित्रको सामन्तवाद र पुँजीवादसित लड्न नसक्नेले के जनवाद ल्याउँछन् ल्याउन सक्तैनन् कमरेड ।”
मेरो कुराले उनी गहिरो सोचमा डुबे । मलाई भित्रैबाट आश्वस्त गर्ने हिसाबले फेरि बोले -“क्रान्तिको लामो यात्रामा यस्तो हुन्छ कमरेड । विकृति विसङ्गति पनि देखा पर्छन् । आन्दोलनमा खराब प्रवृत्ति र पात्रहरू पनि उदाउँछन् । तीसँग जुझ्दै मुकाबिला गर्दै अगाडि बढ्नुपर्छ …।”
“यो पाराको राजनीतिले म र मेरो परिवारलाई तातो भात र न्यानो लुगा दिलाउँछ । मेरो बालबच्चालाई अक्षरको उज्यालो दुनियाँमा सयर गराउँछ भन्ने विश्वास नभएरै मैले फरुवाको बिँड समातेको हुँ । भर्खर भर्खर म आफ्नो पसिनाको बलमा बाँच्ने र उभिने चेष्टा गर्दै छु । मेरो सपनाको फूलबारी भत्काउने चेष्टा नगर्नुहोला । मेरो आलुखेतीको यो यात्रा, बिथोल्ने कोसिस नगर्नुहोला । तपाईँहरूको राजनीतिबाट विरक्तिबोध भएर म आफ्नै श्रममा शरणागत पात्र हुँ । राजनीतिको नाममा मभित्र कुनै पनि प्रकारको तुजुक, विश्वास र भरोसा बाँकी छैन । प्लिज मलाई अब मेरो कृषिकर्मबाट नबिथोल्दिनुस् ।”
मेरा कुराले उनी छाँगाबाट खसेतुल्य बने । मैले दिएको जवाफ उनका लागि सर्वथा अनपेक्षित थियो । त्यसपछि पनि उनले अरू बहस गर्न नखोजेका होइनन् । तर्कका तरबार चलाएर मलाई कायल बनाउन नखोजेका होइनन् ।
मैले उनलाई स्पष्ट भनेँ, “कुरा गर्नलाई राजनीति बाहेक अनेकन् विषयहरू छन् । बरु ती विषयमा विमर्श गरूँ । चिन्तन गरूँ । यो विकृत राजनीतिको विषयमा कुरै नगरूँ ।”
मैले कुराको बिट मार्ने हिसाबले नै यो कुरा गरेको थिएँ । पुँईचीकी आमाले पनि उसलाई अक्क न बक्क पार्ने हिसाबले तर्क गरी । एक किसिमले हामी बुढाबुढीको कुराले कमरेड आकाश पराजित बने ।
त्यो रात मेरो दलानमा सुतेर भोलिपल्ट झिसमिसेमै आफ्नो बाटो लागे ।
० ० ० ०
तालु नै फुटाउने किसिमको गर्मी छ । सिङ्गो प्रकृति घामको परितापले आलस-तालस छ । गाउँ र सहर चुनावको सरगर्मीले बाफिएको छ । चर्को घामको रत्तिभर प्रवाह नगरी पार्टीहरू नेताहरू भोट माग्ने अभियानमा होमिएका छन् । कतै घरदैलो अभियानको पैदल यात्रा छ । कतै टेम्पु र अटोमा माइक घन्काउँदै कार्यकर्ताहरू फिलिली कुदिरहेका छन् । कतै ट्याक्सी र ठूलै गाडीमा नेताहरू हुइँकिरहेका छन् ।
भोट माग्नु, भोजभतेर लाउनु र भाषण लडाउनु पार्टीहरूको दिनचर्या बनेको छ । कुनै पनि घरको छाना झन्डाविहीन छैनन् । स-साना झण्डी र चुनाव चिन्हले आपूरित छ सिङ्गो बस्ती ।
सबैलाई चुनावको नशा लागेको समयमा म भने यी सबै कुराबाट बेखबर बनेर बारीको झार जिल्याउँदैछु । फरुवा चलाउँदैछु । यही वैशाखमा रोप्नु छ भिण्डी र काँक्राको बिउ । फर्सी र घिरौँला पनि यतिखेरै उमार्नु छ । बेमौसमी टमाटर उब्जाउनका लागि टनेल घर पनि यतिखेरै उभ्याउनु छ । यी काम यतिखेर कुशलतापूर्वक सम्पन्न गर्दा मात्र निक्लिँदो असारमा काँक्रा, तितेकरेला, गट्टा र भिण्डी बजार पठाउन सकिन्थ्यो भन्ने ध्याउन्नमा छु । बूढीले पनि मेरा हर कदममा काँधमा काँध थापिरहेकी छ ।
नानीहरू भने पढाइमै व्यस्त छन् । दुईटैले वार्षिक परीक्षामा प्रथम स्थान हासिल गरेका छन् । यो कुराले हृदयमा अपार सन्तुष्टि प्रदान गरेको छ ।
बिहान झिसमिसेमा घरबाट निस्किन्छु, बेलुका घुर्मैलो अँध्यारो खस्तासम्मै मेलोमा हुन्छु । चुनावी घरदैलो गर्नेहरू सुरुमा मेरो घरमा ठोक्किन्छन् । तर, मलाई भेट्दैनन् ।
विगत केही दिनदेखि खानपिन पनि मेरो मेलोमै चल्न थालको छ । पुँइचीकी आमाले खाना बनाएर नानीहरूलाई खुवाइपियाई गरी स्कुल पठाउँछिन् । अनि मलाई खाना लिएर बारीमै आउँछिन् । उनी गाईलाई घाँस काट्न थाल्छिन् । आफू भने सब्जी खेतीको लागि बारी तयारीमै व्यस्त छु ।
भोट माग्नेहरूको हुल सोधीखोजी गर्दै घरमा निस्किँदा रहेछन् । मलाई घरमा नभेटेपछि सोधीखोजी गर्दै बारीमै ढोग्न आइपुग्छन् । हाँस्दै नमस्कार फर्काउँछु । उनीहरूसित शिष्टाचारवश एकाध कुरा गरेर म फरुवाकाे बिँड समातेर खन्न थाल्छु । भोटप्रति त्यति सारो रुचि र रस नदेखेपछि उनीहरु आफ्नो उम्मेदवारलाई कसै गरी मतदान गरिदिनु होला भन्दै बाटो लाग्छन् ।
मेरो छानोमा पनि सबै पार्टीले आ-आफ्ना झण्डीहरू सिउरी दिएका छन् । पाँच वर्ष अघिको चुनावमा पनि म बारीको बारीमै व्यस्त रहेँ । त्यो पटक पनि भोट दिइनँ । आफ्नै काममा व्यस्त रहेँ । भोट दिएर खासै केही होला जस्तो लागेन । मैले भोट नहालेको कुरा थाहा पाएपछि केही डेढ अक्कली मनुवाहरूले एउटा कुरो हावामा उडाए, “पुइँचीको बाउ त बहिष्कारवादी पार्टीको गुप्ती नेता हो । त्यसैले भोट हाल्न नगएको हो ।”
यो कुराको मैले कुनै प्रतिवाद पनि गरिन । स्वीकार भाव पनि जनाइन । मेरो बारेमा जे जस्ता टिप्पणी गरे पनि वा अफवाह फैल्याए पनि त्यसलाई हाँसोमा उडाइदिन्छु । बेकार माथापच्चिसी गरिराख्नुमा कुनै तुक देख्दिन ।
फेरि यस्तो चुनावको बेला मलाई आफ्नो कित्तामा तान्ने पार्टीहरूको बिचमा ठूलै कसरत चल्छ । सबैलाई हुन्छ हुन्छ त भनिदिन्छु तर, फरुवाको बिँड मुसार्न कहिल्यै छोड्दिन ।
विगत केही वर्षदेखि यही बारीको माटो र यै फरुवाप्रति आस्था चुलिएर आएको छ । यसैप्रति विश्वास र भरोसा जागेको छ । मैले युद्धमा बगाएको रगत भन्दा बारीमा बगाएको पसिनाले मेरो जीवनमा हाँसो र मुस्कान उमारेको छ । बन्दुक बोकेर या भोट हालेर कसैलाई सत्ता-सुखको शिखर चढाउने भर्याङ बन्नु सिवाय, कसैका फोहोरी खुट्टा अड्याउने खुटकिला बन्नु सिवाय केही होइन भन्ने निष्कर्षमा पुगेको छु । यो निष्कर्ष सही छ या गलत छ ? त्यो त समय र यसका चलायमान पात्र तथा चरित्रहरूले बताइरहेका छन् । अनि मेरो मनोगत पूर्वाग्रह पनि होइन नि । अहिलेको वर्तमान परिदृश्य र नेताहरूका व्यवहारले मेरो मनमा कोरिदिएको छाप हो ।
० ० ० ०
संयोग कस्तो पर्यो भने देशैभरि स्थानीय तहको निर्वाचनमा वयस्क नागरिकहरू मतदान गर्न मतदान केन्द्रतिर एकाबिहानै देखि लर्को लागेर जाँदै छन् । बुथमा खचाखच लाइन लागेर उभिँदै छन् । सबैलाई मतदान गर्नुको चासो र हुटहुटी छ । म भने बिहानको शीतलमा एक हलको मेलो बारी खन्न पसेँ । किनभने भर वैशाखमा तितेकरेलाका बेर्ना उमार्नु छ । अफसोच ! खन्दाखन्दै फरुवाको पुरानो बिँड प्याट्टै भाँच्चियो ।
खन्दाखन्दैको कोदालोको बिँड भाँच्चिएपछि म खुत्रुक्कै भुइँमा बसेँ । छ महिना पनि टिकेन यो बिँड । हुन त खमारीकै बिँड हलेको थिएँ । कस्तो कफल्लो जातको काठ रहेछ । घर आएँ । चार गाँस तातो टिपेँ । भरेदेखि नै बारी खन्न हर्जा हुने भो भन्ठानेँ । अलिकति पनि विलम्ब नगरी लागेँ फरुवाको बिँड काट्न बनतिर । डोको बोकेर मलाई नै पछ्याउँदै आई पुइँचीकी आमा पनि । भान्सामा दाउरा सकिएर अस्तिदेखि गनगन गर्दै थिई ।
बूढाबूढी बनतिर छड्केको दृश्यले भोट दिन हुल कसेर हिँडेका छिमेकीहरूका जमातले अवाक् मुद्रामा हामी जोईपाेइलाई हेरिरहे । सन्तु दर्नालले त विस्मित भाव पोखिहाल्यो, “होइन, दाजुभाउजू नै चुनावको चटाराका दिनपनि कता जङ्गलतिर कुद्या नि ?”
मैले सिधासिधी जवाफ दिए, “होइन, सन्तु भाइ ! फरुवाको बिँड भाँच्यो क्या !”
“तपाईं त जनयुद्ध लड्या मान्छे हो । यतिखेर बिँड ठूलोको कि भोट ठूलो हो ?”
“मेरो लागि त यतिखेर फरुवाकै बिँड ठूलो भो भाइ !”
सन्तुसित अरू बढी तर्क-वितर्क नगरी म सुमुसुमु बनतिर लागेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

