
“जाऊँ गुरुजी जाऊँ !”
बसको ढोकामा झुन्डिएर बाहिरपट्टि ढ्यामढ्याम हान्दै कान्छो भन्छ । उसको इशारामा गाडी अगाडि बढ्छ । सबैजसो गाडीका सहचालकले यस्तै गर्छन् । सहचालककै इशारामा अक्सर गाडी चलेका हुन्छन् ।
धेरै भएको छैन कान्छो गाडीसँग यसरी हिँडेको । तैपनि सबै सिकिसकेको छ । सुनधारानिर सहचालकले बिसौनीका नाउँ फलाके जस्तै सबै गन्तव्य भन्नसक्ने भइसकेको छ । शायद स्कूल पढ्दा यति मिहिनेत गरेको भए राम्रै नम्बर आउँथ्यो र यसरी गाडीको प्यारो बन्नुपर्ने थिएन ।
गाउँको उबोहुनो केटो स्वर्णिम रहर बोकेर चार वर्षअघि बुबासँग चकमन्न शहर छिरेको थियो । बसमा बस्दा सिट्ठी मार्दै जाऊँ, जाऊँ भन्दै ढ्यामढ्याम हानेको देखेको थियो उसले ।
अहिले यसै शहरमा भेटाएको अवसरमा आफूलाई अनुकूल बनाउँदैछ । शहर छिर्दा जे देखेको थियो आज त्यही गर्ने भएको छ । कान्छोले पनि गाडीचालकलाई गुरुजी भन्ने अभ्यास गर्दैछ । उसको पेशा नै हो ढ्यामढ्याम ढोकामा हान्ने र जाऊँ गुरुजी जाऊँ भन्ने ।
यस पेशामा हुनुपर्ने गाडीचालक र सहचालकका साङ्केतिक भाषा पनि सिक्दैछ । एक पटक ढ्याम्म गर्दा गाडी रोकिने, दुई पटक ढ्याम्म, ढ्याम्म गर्दा चलाउनु पर्ने, ढ्यामढ्याम गरी निरन्तर हान्दा पछाडि लैजान सहज छ भन्ने बुझ्नुपर्ने र गाडी पछाडि ल्याउने र ढ्याम्म गर्दा रोकिने ।
गाडी व्यवस्थापनमा सहचालकको भूमिका निकै हुन्छ । तर सहचालक आलोकाँचो उमेरका, भर्खरका केटा त्यसैमा न्यून बेतन पाउने हुन्छन् । खलासीबाटै मालिकको विश्वासपात्र भए कन्डक्टर, ड्राइभरको विश्वास जिते ड्राइभर नै हुने बाटो खुला हुन्छ । एउटा सुन्दर भविष्य हेरेर कमैले रोज्ने खलासी कामको लागि कान्छो त्यहाँ प्रवेश गरेको थियो ।
उसका आफन्त कोही थिएन । जुन गाडीमा खलासी भएर काम शुरू गर्यो त्यसको चालकलाई बुबा बराबर सम्झिन्थ्यो । अन्य गाडीका चालकहरूलाई आफ्ना अग्रज र सहचालकलाई दाजुभाइ मान्थ्यो । सौहार्द्यता पनि हुन्थ्यो एकआपसमा । परिचय गहिरो किसिमको हुन्थ्यो । बाटोमा पनि गाडी रोकेर दुःखसुख पोख्थे खलासीहरू त्यसमा कान्छो पनि पर्थ्यो । अधिकतम खलासीहरूको एकै प्रकृति हुन्थ्यो । पढाइ छोडेर यता आएको, साहुले पैसा नदिएको, ड्राइभर कुट्छ यस्तै यस्तै कुरा हुन्थ्यो । कहिलेकाहीं कष्ट, दुखलाई मनभित्र च्यापेर रमाइलो पनि गर्थे ।
साहुले दिएको भत्ता, मासिक तलबलाई सकभर सुरक्षित राख्ने कोशिश गर्थे खलासीहरू । उनीहरूले खानपिनमा मासु मदिरामा जोड दिएका हुन्छन् । परस्त्री सँगको रासलीला पनि मञ्चन गरिहाल्छन् ।
कान्छोको केसमा भने ऊ मासुभात तथा रासलीला कार्यमा अपरिचित नै थियो भन्दा हुन्छ । कुनै बेला गाउँमा जन्तरी भाउजू र कालेदाइ मस्केको देखेको थियो । सुर्जे र सुन्तलीको प्रेमसंवाद सुनेको थियो । खण्टे काकाले मजाकमा ‘बिहा गर्ने उमेर भयो बिहा गर मज्जा हुन्छ’ भन्दा ऊ निकै लजाएको थियो । एक पटक बिर्मा दिदीसँग गाउँ जाँदा ऊ भएनिरै पिसाब गर्न बसिदिइन् । लाजले भुतुक्कै भएको थियो । यस्तै तरिकाको एउटा घटना भने उसले बिर्सन सक्दैन । हिमा खोलामा पेटिकोट छातीमा बाँधेर नुहाउँदै थिई एकाएक इँजार फुस्केछ, पेटिकोट भुइँमा पुग्यो । प्रत्यक्ष रूपमा वयस्क महिलालाई बिनालुगा देख्यो । हेर्न गाह्रो मान्दै पछाडि फर्कियो । हिमा सम्हालिई । हत्तपत्त भुइँमा पुगेको पेटिकोट उठाई यताउता हेरी धन्न कसैले देखेन भन्दै नुहाउन लागी ।
बिन्दुसँग त प्रेम भन्ने खेल नै चल्यो । ऊ लजाउँथ्यो । बिन्दु खुलेर कुरा गर्न खोज्थी । उसले गालामा म्वाइँ खाई । अन्तरङ्ग कुरा पनि भए तर छाडा थिएन ।
अश्लील हेराइमा भने बस्तुभाउ बाहेक मान्छेको कान्छोलाई अनुभव थिएन । बोकाले गरेको हल्लाकुल्लाले सबैलाई जानकारी नै हुन्थ्यो । गरेका क्रियाकलाप सहज रूपमा हेरिरहेका हुन्थे गाउँलेहरू । बहरहरू, गोरुहरू एउटा गाईको पछाडि दौडिरहेका हुन्थे । दौडिरहेकै बेला सामर्थ्य साँढे काम फत्ते गर्थ्यो । भैंसीले राँगो खोज्यो भनी घरमा चर्चा हुन्थ्यो । यस्ता बस्तुभाउका संसर्ग क्रियाकलापलाई सहज र सामान्य मानिन्थे ।
त्यही मान्थ्यो कान्छो पनि तर गाडी लाइनको जमघटबाट उसको विश्वास भताभुङ्ग भयो । छाडा संसार देख्यो । उसको दिदी, काकी, आमा, फुपू जस्ता लाग्ने महिलाहरू ड्राइभर, खलासी सँगको रतिरागमा देख्यो । सुरा र सुन्दरीमा लिप्त हुन्थे अधिकांश जसो गाडी लाइनका मान्छे ।
बिदाइको क्षण सबैको नरमाइलो नै हुन्छ । बिदाइको दही अक्षता लगाइँदै बज्यैले “मटिखण्ण माटी छञ्ञा जी जागि रएइ, केलाकी थुमडी जानी रोकी रएइ, दुवाकी जसेरी फैलिएइ, गुवाकी जानी फुलेइ, बाग जति बलियो भएइ, भोट माल चरि खाएइ, बुवाको नाउँ राखेइ, कुलको इज्जत बचाएइ, कुल देवता दाइना होउन, जाँ गयालेलै रक्षा अरुन ।”
त्यस्तै आमाले टीको लागाइँदै फूल सिउरिन टोपीको छेउमा दायाँ कानतिर “चोरी र जारीले मानिसलाई समाप्त गर्छ । यी दुई विकृतबाट बचे है ।”
हिंडेर आउने बाटोमा पल्लो खोलामा घाँस काट्ने निहुँ पारेर पुगेकी बिन्दुले बिदाइका लागि रुमालको फट्को हान्दै, “शहरका सुरा, सुन्दरीमा मलाई नभुल्नु है ।”
एक रात ड्राइभर तथा खलासीहरूको मनोरञ्जन कार्यक्रम भइरहेको थियो । कान्छो भने बिन्दुको यादले बिझिरहेको थियो । त्यस रमाइलो साँझमा सबै आआफ्नो मेलोमेसो मिलाएर व्यस्त भए । कान्छोलाई अमनचयन थिएन ।
“के हो कान्छू झोक्राएको किन ? नून खाएको कुखुरा जस्तै ।” एउटा खलासी साथीले भने ।
“रमाइलोमा रम्नु सिक्नुपर्छ । हामी पनि नामुद जँड्याहा त कहाँ हो र ? हल्का मनोरञ्जन गर्ने न हो ।” अर्कोले थप्यो ।
“श्रीमतीसँग छुटेको धेरै भयो । यस्सो प्यास मेटेको मात्र हो ।” तेस्रोले कुरा मिलायो ।
कान्छोलाई फकाउनु धेरै उसका साथीले अनेक उपाय अपनाउन लागे । सबैको जोड कान्छोलाई मदिरा पान गराउने सँगै कान्छीसँग लहसिन प्रेरित गरिरहेका छन्l बज्यै र आमाले बिदाइ दिएको आशीर्वाद र बिन्दुको आँसुले कुलतको मार्ग रोज्न रोक्यो ।
“मलाई सन्चो छैन ।” भन्दै गाडीभित्र पस्यो । त्यो गाडीको सहचालक भएदेखि त्यही घर भएको थियो ।
ढोकामा झुन्डिएर जानु जति जोखिम छ त्यो भन्दा बढी कुलतबाट जोगिन । बाटोभरि निश्चित स्थान हुन्थे गाडी रोकिने । त्यसमा ड्राइभर र कन्डक्टरको कुनै न कुनै स्वार्थ जोडिएको हुन्थ्यो । खाना, चिया, खाजाका रोकिने ठाउँमा या त सुन्दर साहुनी, साहुनीकी छोरी हुन्थे या त राम्रो भत्ता या स्टाफलाई सित्तैमा खाना खाजा हुन्थ्यो । कान्छोले पेशाको गोप्य ब्यहोरा बुझिसकेको थियो । गुरुजीले गन्तव्यमा गति कम गर्ने बित्तिकै झरेर साइडको विचार पुर्याउँथ्यो । कान्छोको इशारा बमोजिम गाडी पार्किङ हुन्थ्यो । पार्किङ निश्चित भएपछि ओट लगाएर छोड्थे । साहुनीसँग मस्किन पुगेका गुरुजीसँगै हुन्थ्यो सहचालक ।
कान्छो पनि त्यस्तै गाडीको मात्र सहचालक हुनु परेको थिएन ड्राइभरको हरेक गतिविधिमा पनि सहचालक हुनु परेको थियो । मातेर लट्ठिएको अवस्थामा डोर्याएर कोठा पुर्याउनु पर्ने । आइमाईले अति भयो भनी झर्किएर तथानाम गर्दा त्यहाँबाट बचाएर सुरक्षित ठाउँमा पुर्याउनुपर्ने नोकर झैं काम हुन्थ्यो कान्छोको । गुरुजीको सेवा, सम्मान गरे कहीं कुनै बेला गाडीको स्टेरिङ समाउन दिन्छन् कि भन्ने आश कान्छोमा थियो जुनै पनि खलासीमा भएजस्तो । यसै खलासीको धर्मकर्म पूरापूर कान्छोले निभाएको छ ।
कान्छोलाई कहिलेकाहीं गाडी लाइनको पेशा नरक जस्तै लाग्थ्यो । ज्यूँदै नरक पुगेको आभास हुन्थ्यो । ऊ आएदेखि एकै गाडीमा एकैजना गुरुसँग छ । गुरुको नालीबेली सबै थाहा भैसकेको छ । हरेक पोष्टमा गाडी दर्ता गर्न जाँदा गाडी नम्बर, ड्राइभरको नाम फोन नम्बर, लाइसेन्स नं भन्नुपर्थ्यो । त्यो सबै कण्ठस्थ गरिसकेको छ उसले ।
कान्छो चन्द्रवीर गुरुलाई मनैदेखि आदर गर्थ्यो । अभिभावक मान्थ्यो तर चन्द्रवीर हेयको नजरले हेर्थ्यो र सधैं गाली गरिरहन्थ्यो । मात्र तुच्छ, छाडा गाली, मायाको म सम्म उसले गुरुबाट पाएन । प्रतिवाद गरे परिणाम कुटाइ खानू, निर्मम व्यवहारलाई सहनुको विकल्प पनि थिएन कान्छोसँग ।
त्यसै रात संवेदनशील अवस्थामा रहेको आफ्नो गुरुजीलाई सम्हालेर डोर्याउँदै कोठा पुर्याउँदै गर्दा कान्छोलाई तथानाम गालीको असिना वर्षा भयो । गाली गर्दागर्दै कुट्न पनि शुरु गर्यो चन्द्रवीरले । कान्छोले प्रतिकार शुरू गर्यो । ईंटका जवाफ पत्थरले भने जस्तै कुरामा कुरा फर्कायो । चन्द्रवीरको ज्यादतीको प्रतिकार सँगै ऊसँग एकै बाटो थियो त्यो पेशा छोडेर जानु । सर्प जस्तै कान्छोमा पनि इख उम्लेर आयो । आखिर पेशाको लोभ हुँदाहुँदै पनि उसले त्यहीँ बाटो रोज्यो । रातभरि निद्रा लागेन कान्छोलाई । त्यो पेशा प्रवेश देखिको नरमाइलो दिन त्यही थियो त्यो उसका लागि ।
एका बिहानै चन्द्रवीर गाडीको हर्न बजाउँदै गाडी स्टार्ट गर्छ । ‘कान्छो’ भनी बोलाउँछ । यसैगरी बोलाउँदा कान्छो पुगिसकेको हुन्थ्यो । तर आज आएन । फेरि जोरसँग ‘कान्छो’ भन्दै हर्न बजाइरह्यो तर देखिएन ऊ । गाडी बन्द गरेर यताउता हेर्यो । बसभित्रै सुत्ने बनाएको सिरक डसना देख्यो । बाहिर गएर होटेलमा सोध्यो ।
साहुनीले भनिन्, “राति गुरुजी भन्दै तपाईंलाई डोर्याउँदै थियो । खै कता गयो कता ?”
“कान्छो खै” भन्दै सोध्यो सबैसँग । कसैले प्रतिउत्तर दिएन ।
अलि परको अर्को गाडीका मान्छेलाई सोध्यो, “कान्छो देख्यै तिमीले ?”
कसैलाई थाहा छैन । चन्द्रवीरलाई हिजोको कुरा धिमा तरिकाले याद हुन थाल्यो । पश्चात्ताप लाग्न लाग्यो । मनमनै लजायो पनि उसका अश्लील चर्तिकला सबै कान्छोले देखेको थियो । कान्छो उसलाई बुवा जत्तिकै सम्मान गर्थ्यो । तर ऊ सधैं तिरस्कार हेयको रूपमा हेर्थ्यो । कुनै दिन आफू पनि यस्तै खलासीबाटै अगाडि बढेको धरातल बिर्स्यो । निर्मम व्यवहारप्रति ग्लानि लाग्यो । यताउति हेरेर गाडीभित्र पस्यो । चन्द्रवीरले गाडी स्टार्ट गर्ने बितिक्कै टुप्लुक्क आइपुग्ने कान्छो आज आएन । कता लाग्यो ? फेरि हर्न बजायो । आई पो हाल्छ कि भन्ने आशले फेरि बोलायो, फेरि हर्न बजायो । कान्छो जस्तो आकार कतै पनि देखिएन । चारैतिर हेरेर चन्द्रवीर टोलायो ।
टोलायो अनि ‘कान्छो’ भनी बोलायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

