भीडभाड र कोलाहलभन्दा पर पनि राजधानी शहर छ भनेर धेरैले पत्याउँदैनन् । काठमाडौँ उपत्यककाकै पूर्वी कुनामा हरियालीले भरिएको एउटा सानो नगर छ । म त्यहीँ बसेर आकाश नियाल्छु, आकाशमा विविध आकृतिका बादलका टुक्राहरू यताउता गरेको देख्छु । फराकिलो क्यानभासमा म बादलका टुक्रा मनमनै जोडेर कहिले वायुपङ्खी घोडा, कहिले कुकुर र बिरालोको चित्र कोरिदिन्थेँ । कहिले त कसै गरे पनि जीवजनावरको आकृति बनाउन सक्दैनथेँ । बरू रूख बुटा, पहाड र जङ्गल जस्तो देखिन्थ्यो । जङ्गल देख्ने बित्तिकै मेरो मन अचानक बेचैन भइदिन्थ्यो । मलाई याद छ पहिल्यैदेखि सपनामा म एउटा जङ्गल देख्थेँ । बारबार देख्थेँ । त्यो जङ्गलसँग मेरो त्यस्तो के सम्बन्ध थियो कुन्नि ! हर रात म त्यहाँ पुग्थेँ । कहिले रमाउँथेँ त कहिले कताकता हराएर भौतारिन्थेँ, डराउँथेँ ।
गएको राति पनि म सदा झैं एघार बजे आफ्नो विस्तारामा ढल्किएको थिएँ । खै कतिबेला भुसुक्क निदाएछु ! पत्तै भएन । मैले फेरि त्यही जङ्गल देख्न थालें । जङ्गल साँच्चै विचित्रको थियो । मलाई त्यो सपनाले, त्यो विचित्र जङ्गलले बल्छीमा अल्झिएको मीठो खानाले लोभ्याएर माछालाई ताने झैं तान्दै तान्दै लग्यो ।
दम्स्याइलो दम्स्याइलो परेको उकालो बाटो थियो । घना जङ्गलको कारण घामका किरण समेत भुँइमा पर्न सकेका थिएनन् । नागबेली परेको बाटोको दायाँबायाँ केही चिहानहरू थिए । केही चिहानमाथि मार्बलमा मृतकको विवरण कुँदिएका थिए, पढ्न चाहेमा । तर मलाई त्यसमा कुनै दिलचस्पी भएन । चिहानको नजिक जान मलाई डर पनि लाग्थ्यो ।
म जति उकालो हिँड्दै जान्थेँ त्यति नै चिहानहरू बढ्दै गइरहेका थिए । थकाइ लागेर एकछिन टुसुक्क बस्नु पर्यो भनेर यताउता हेरेँ । निर्जन जङ्गलमा यत्रतत्र चिहान नै चिहान थिए । केही पुराना चिहान थिए । एउटा अलि ठूलो मार्बलमा लेखिएको मृतकको विवरण पढ्न मन लाग्यो । पढ्ने हिम्मत भने अहँ गरिनँ । केही आलै थिए भर्खरै पुरपार गरिए जस्ता देखिन्थे ।
बस्न उपयुक्त ठाउँ नदेखेपछि म एकछिन टक्क अडिएको थिएँ । यसो खुट्टातिर हेर्छु त चिहानमाथि पो ठिङ्ग उभिएको रहेछु ।
अनायासै काँडामा टेकेर खुट्टा हटाए झैं मैले त्यहाँबाट फुत्त खुट्टा हटाएँ ।
बाँदरको झुण्ड यताउता गरिरहेका थिए । खानेकुराको खोजीमा कहिले कता कहिले कता उफ्रिरहेका बाँदर मलाई देखेर ट्वाल्ल परे । मसँग केरा वा कुनै खाने चीज भइदिएको भए दिने थिएँ । तर केही पो थिएन । तिनीहरू मदेखि ठ्याप्पै डराएनन् । मेरो छेउछाउमा आउन थाले । किन किन मलाई डर लाग्न थाल्यो । म उनीहरूबाट बच्न अलिक छिटो पाइला चाल्न थाले ।
अगाडि एउटा अजीवको वृक्ष देखें, जसका जराहरू जमीनभन्दा माथि तीनतिर फैलिएका थिए । मूल जरो काण्ड जसरी सिधा तल भासिएको थियो, त्यो दश हात परबाट प्रष्टै देखिन्थ्यो । दुईवटा जरा भने तेर्सिएर विपरीत दिशातिर गएका थिए । त्यसको वरिपरि पनि चिहानै चिहान थिए । बाँदरहरू जुम्रा हेरिरहेका थिए ।
पटकपटक देखेकाले त्यो ठाउँ मलाई पूरै परिचित जस्तै भइदिएको थियो । कहाँ के छ ? त्यो ठाउँपछि कुन ठाउँ आउँछ ? सबै सबै थाहा थियो । त्यहाँको घाइते बाँदरदेखि लिएर बाटा वरिपरिका प्रत्येक रूख म चिन्ने भइसकेको थिएँ ।
मलाई यो सपना घरिघरि किन आइदिन्छ ? म सोचेर हैरान हुन्थेँ । अति भएपछि घरमा मैले यसबारेमा कुरा पनि गरेको थिएँ ।
“सपना देखिहालिन्छ नि !’ आमाले भन्नुभएको थियो ।
“सपनालाई लिएर पनि चिन्तित हुने हो त !” म एकोहोरो भएको देखेर श्रीमतीले भनेकी थिईन् ।
“अनि के भयो ? पूरै भन्नु न ….” हरर स्टोरी हेरेर बानी भएका छोराछोरीले चासो देखाउँदै मलाई सोधेर हैरान पारेका थिए ।
मलाई रात नपरे नि आनन्द हुन्थ्यो जस्तो लाग्थ्यो । निदायो कि सधैं त्यही जङ्गल, सधैं त्यही सपना देखिरहन्थें । कुनै मानसिक खराबी पो हो कि भनेर चिन्तामा डुब्न लागेको थिएँ ।
मैले नचाहेर के नै हुन्थ्यो र ! रात पर्यो, खानपिनपछि विस्तारामा जानै पर्यो । सम्झेर निकैबेर त निद्रा परेन । कतिबेला भुसुक्कै भएँ भएँ । निदाएपछि सदा झैं उही सपना दोहोरियो ।
मोबाइलको घण्टीले मेरो निद्रा खुल्यो ।
“शुभप्रभात काफ्लेजी” साथीले भन्यो ।
“शुभप्रभात सुनुवारजी, किन यति बिहानै सम्झिनु भयो त ?” मैले आँखा मिच्दै सोधें ।
“बडो दुःखको कुरा छ काफ्लेजी, त्यो छ नि …. बितेछ । ……” उसको फोन कटिदैं आउँदै थियो । को बित्यो भनेको हो, मैले बुझ्नै सकिनँ ।
“होइन को बित्यो भन्नुभएको ? मैले बुझिनँ त, फेरि भन्नु त !”
“ऊ क्या त ……. । ल ठीक नौं बजे पशुपति पारि मृगस्थलीमा आइपुग्नोस् है ?”
सायद ऊ भीडमा थियो, हुनसक्छ हतारमा पनि थियो । फोन काट्यो । मैले बित्ने साथीको नाम त बुझिनँ तर कुनै साथी बितेको हो र त्यसको मलामी मृगस्थलीमा नौं बजे पुग्नुपर्ने कुरा चाँहि स्पष्ट बुझें ।
अब जानै त पर्यो भनेर घरबाट निस्किएँ । मन भने चौचौ भइरहेको थियो । अघि फोन गर्ने देवीराज सुनुवारलाई नै फोन डायल गरेँ, उठेन । अर्को साथी अजयलाई गरेँ ।
तीन घण्टीमै उसले फोन उठायो । मैले सोधेँ, “होइन को बितेको हो ? तिमीलाई केही थाहा छ ? देवीले फोन गरेर भन्दै थ्यो, केही बुझिनँ ।”
निरास स्वरमा अजयले भन्यो, “ठ्याक्कै नौं बजे मृगस्थली पुर्याउने खबर छ । आउने भए समयमै आउनू त्यतै भेटम्ला ।”
“मरेको चाँहि को हो क्या ? त्यति त बताऊ …” मैले बुझ्न खोजेँ ।
“ल ल उतै भेटम्ला, यहाँबाट खेदाउन आँटे । अहिले राखेँ है ।” उसले फोन च्याट्टै काटिदियो ।
‘लौ त, अब उतै भेटम्ला’ भन्ने सोच्दै म मृगस्थलीतिर लागेँ ।
गौशालामा पुगेपछि म बसबाट ओर्लिएँ । पशुपति मन्दिर पस्ने पूर्वी गेटमा पुगेर देवीराजलाई फोन गरेँ, “कहाँ हो तपाईंहरू ? म त आइसकेँ त ।”
“ए ल ल, त्यतै बस्दै गर्नुस् ल । हामी आइपुग्न त्यस्तै आधा घण्टा जति लाग्छ ।” उसले छोटोमा कुरा सकेर फोन राख्यो ।
लाशको छेउमा बसेर लामो कुरा के गर्नु त ! ठिकै हो भनेर चित्त बुझाएँ ।
एकछिन पशुपति वारिपारि गरें, ब्रह्मनालमा एउटा शवको कपडा खोलिदैँ थियो । भष्मेश्वर घाटमा चारवटा शव जल्दै थिए । हेर्दाहेर्दै अर्को शव पनि ल्याइपुर्याए । एक जना ब्राह्मणले मलाई सोधे, “बाबु, पूजापाठ केही लाउनु छ कि ?”
“छैन छैन, म त मलामी आ’को । बरू यहाँबाट मृगस्थली जाने छोटो बाटो कुन छ ?” मैले सोधें ।
“जान त यहाँदेखिन् सिँढी नै सिँढी उकालो गए नि पुगिन्छ । उ त्यहाँ राम मन्दिरबाट माथितिर जाने त हो । तर छोटो चैं हेर् त्यहाँबाट हुन्छ ।” भनेर पूर्वी गेटतिर देखाए ।
धन्यवाद दिएर म पूर्वी गेटतिर गएँ । थकित केही बसहरू पार्किङ गरिराखेको रहेछ । जब मैले त्यहाँबाट जङ्गलतिर पस्ने गोरेटो बाटो देखें तब म सधैं आइरहने, हिँडिरहने परिचित ठाउँ देखेर छक्क परें ।
त्यही दम्स्याइलो परेको उकालो बाटो जुन म सपनामा देखिरहन्थे; म उकालो लागें । जतिजति उकालो चढ्थें म झनै अचम्ममा पर्थें । त्यही घना जङ्गल, तिनै चिहान, तिनै बाँदर त थिए जसलाई म हर रात देख्ने गर्थें ।
एउटा बाँदर चिहानमा सुतिरहेको मान्छेमाथि चढ्यो । बाँदरले उसको कान समातेर तान्यो । मस्त सुतिरहेको ऊ तर्सेर उठ्यो ।
त्यही घाइते बाँदर, त्यही अजीवको रूख जसका तीनवटा जरा जमिनमाथि थिए ।
मैले देख्ने गरेको सपना यहीँको त थियो ।
एउटा युवक गाँजा तानिरहेको थियो । मलाइ डर डर पनि लाग्यो । त्यहाँबाट अलिक फटाफट अघि बढें । अर्को एकजना चिहानमाथि नै मस्त सुतिरहेको थियो ।
डाँडामा पुगें । सपनामै देखेको मन्दिर रहेछ । छक्क पर्दै यताउता हेरें ।
आइपुगे कि भनेर देवीराजलाई फोन गरेँ जसले मलाई त्यहाँ आउन भनेको थियो, उसको फोन नट रिचेबल भन्यो । त्यसपछि अजयलाई फोन गरेँ । उसले दुई घण्टीमै फोन उठायो र भन्यो, “हामी आइपुग्न लागेका छौं है, बस्दै गर्नुस् ।”
एक्लै कति बस्नु ? विश्वरूप मन्दिरतिर जाउँ कि ! सोच्दै हिँडेँ । खुलेकै रहेनछ । त्यहाँबाट अझै अघि गएँ । तारजालीभित्र मृग, हरिणहरू थिए । केही बसेका केही उठेका । अलि परतिर ठूल्ठूला बोका र एउटा भेडो पनि देखेँ । बाँदर त कति हुन् कति !
म त्यतै हेरिरहेको थिएँ, गाउँलेहरू एउटा बाकस बोकेर आइपुगे । त्यहाँ अधिकांश चिनजानकै मान्छेहरू थिए, गाउँलेहरू । कतिलाई यसो हात उठाएर त कतिलाई आँखा र मुहारको हाउभाउले औपचारिकता निभाएँ ।
देवीराजलाई पनि देखेँ, ऊ के केमा व्यस्त थियो । तर अजय कता अलमलिएछ त ! मेरा आँखा उसैलाई खोजिरहेका थिए ।
अघि नै देखि आएको छु तर खासमा कसको मलामी आएको छु ? त्यो थाहा नपाएकोले म हैरान थिएँ । हर रात देख्ने जङ्गल र चिहानघारी यथार्थमा देखेर पनि मेरो मन बेचैन भइराखेको थियो ।
खाल्डो खन्नेहरू खन्नमै व्यस्त थिए ।
मलामीहरू गाईँगुईँ गर्न थाले, “लौ त्यहाँ त चिहान पो रहेछ !”
“हो त रहेछ त, उः खप्पर हेर त ….”
“अहो ! लु नली खुट्टै पो रहेछ !”
“नली खुट्टो त धामीलाई काम लाग्छ । लु त्यो विशाल लैजाऊ ।” गोकुलले विशाललाई पाखुरामा तान्दै भने । विशाल जण्डा धामी थियो भन्ने कुरो उपस्थित प्रायः सबैलाई थाहै थियो ।
“लगेर के गर्नु ! त्यसलाई पाल्नै गाह्रो हुन्छ ।” उसले तर्किदैं भन्यो ।
अरूले पनि के के कुरा थपे । विशालले पनि उट्पट्याङ हुन् कि साँच्चिकैका कुरा हुन् नानभाँती भन्दै गयो ।
बाकस खोलियो, अन्तिमपटक मृतकको मुहार हेर्नेको घुइँचो लाग्यो ।
म पनि घाँटी तानेर लम्किएँ ।
तर्सिने पालो अब मेरो थियो, ‘आम्मा हो, त्यो त अजय पो थियो, जोसँग म बिहानदेखि अघिसम्म कुरा गरिरहेको थिएँ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










